Wednesday, February 12, 2025

-->

परेवासँग नजिकिँदा रोगको जोखिम, ज्यानै लिन सक्छ फोक्सोको संक्रमणले

परेवा मानिसको आसपास बस्न रुचाउँछ। घरमा पालिने यो चरो धार्मिकस्थलमा पनि छाडिन्छ। तर परेवा पाल्ने, खुवाउने र मल व्यवस्थापन गर्ने मात्र नभई संसर्गमा पुग्नेलाई पनि फोक्सो संक्रमणलगायत रोगको जोखिम हुन्छ।

परेवासँग नजिकिँदा रोगको जोखिम ज्यानै लिन सक्छ फोक्सोको संक्रमणले

काठमाडौँ— विभिन्न मन्दिरमा पूजा गर्न पुगिरहने र ज्यातिष कर्मसमेत गर्ने एक व्यक्ति तीन वर्षअघि स्वास्थ्य जाँचका लागि अस्पताल पुगे। उनलाई लगातार खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने समस्या थियो। अस्पतालले स्वास्थ्य जाँचपछि मधुमेहको औषधि दियो। तर समस्या झन् बल्झिँदै गयो।

त्यसपछि उनी छातीरोग विशेषज्ञ डा. राजु पंगेनीलाई भेट्न धूमवाराहीस्थित ह्याम्स अस्पताल पुगे। उनलाई फोक्सोसम्बन्धी रोग ‘हाइपरसेन्सिटिभिटी न्युमोनाइटिस’ भएको पत्ता लाग्यो। यो रोगको कारण थियो– परेवा।

दैनिकजसो परेवाको आसपास हुने व्यक्तिलाई यस्तो रोग सर्ने जोखिम रहेको डा. पंगेनी बताउँछन्। उनका अनुसार यस्तो रोग लागेपछि फोक्सो सुक्दै जान्छ। श्वासप्रस्वासमा समस्याले अक्सिजनको मात्रा कम हुँदै जान्छ। 

ती व्यक्ति संक्रमित भएको लामो समयपछि मात्र पत्ता लागेको कारण अक्सिजन नै दिनु पर्ने आवश्यकता भइसकेको थियो। “अहिले उहाँको रोग नियन्त्रणमा छ, तर निको भइसकेको छैन,” डा. पंगेनी भन्छन्।

परेवा मानिसको आसपास बस्न रुचाउने चरा हो। यसलाई घरमा पनि पालिन्छ। हिन्दू धर्म मान्नेले भाकल गरेर धार्मिकस्थलहरूमा उडाउँछन्। त्यही कारण मन्दिर तथा अन्य धार्मिकस्थलमा परेवाहरू प्रशस्तै हुन्छन्।

ती परेवालाई भक्तजनले नै आहारा खुवाउँछन्। कतिपय भिडियो र तस्वीर लिन्छन्। तर तिनै परेवाबाट मानिसलाई रोग सर्ने जोखिम हुन्छ।

छातीरोग विशेषज्ञ डा. अच्युतभक्त आचार्यलाई भेट्न अस्पताल गएका एक बिरामीलाई श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने, लगातार सुक्खा खोकी लाग्ने जस्ता समस्या थिए। स्वास्थ्य जाँच गर्दा उनलाई पनि हाइपरसेन्सिटिभिटी न्युमोनाइटिस भएको पत्ता लाग्यो। समयमै अस्पताल गएको कारण अवस्था जटिल थिएन।

अहिले पनि उनी उपचारका लागि निरन्तर अस्पताल धाइरहेका छन्। “उनको घर नजिक परेवा पालिने रहेछ। त्यहाँ सफा गर्दा वा परेवा उड्दा हावाबाट संक्रमण सरेको हुनसक्छ,” डा. आचार्य भन्छन्, “दैनिक थोरै–थोरै गर्दै पनि असर परिरह्यो र लक्षण देखियो।”

परेवाबाट सर्ने रोगलाई ‘पिजन ब्रिडर्स डिजिज’ भनिन्छ। डा. आचार्यका अनुसार यो रोग परेवाको मल वा प्वाँखमा भएको रसायनबाट सर्छ। यस्तो रसायन श्वासनली हुँदै फोक्सोमा पुग्छ। यसले श्वासनली र फोक्सोमा जाली बनाउँछ।

यसको लक्षण कसैमा ढिलो र कसैमा छिटो देखिन्छ। रोग प्रतिरोधात्मक क्षमता कम भएका र दीर्घरोगीलाई लक्षण छिटै देखिने डा. आचार्य बताउँछन्। “दैनिक परेवाको संसर्गमा आउँदा असर गरिरहे पनि लक्षण देखिँदैन। लक्षण देखिँदासम्म ठूलो समस्या निम्त्याउने गर्छ,” उनी भन्छन्, “सबैभन्दा उत्तम उपाय भनेको सके परेवाबाट, नभए परेवाको मलबाट टाढै रहनु हो।”

परेवाको सुकेको मल फाल्दा उड्ने धुलोबाट रोग सर्ने सम्भावना धेरै हुन्छ। विशेषगरी परेवाको नजिक हुने, पाल्ने वा मल व्यवस्थापन गर्नेलाई रोग सर्ने सम्भावना अधिक हुन्छ। 

पिजन ब्रिडर डिजिज पनि हाइपर्सेन्सिटिभिटी न्यूमोनाइटिसको एक रूप मात्र मानिन्छ। न्यूमोनाइटिस ढुसी, कुखुरालगायतको सुलीबाट पनि हुन्छ। त्यसबाहेक, सिमेन्ट तथा बालुवाखानीमा काम गर्ने, धानबाली भित्र्याउने, कोइलाखानीमा काम गर्नेमा पनि यो रोगको जोखिम धेरै हुन्छ। 

परेवाको मलबाट हाइपरसेन्सिटिभिटी न्युमोनाइटिस मात्र नभई ‘क्रिप्टोकोकल मिनेन्जाइटिस’ पनि हुन सक्छ। यो भनेको फंगल संक्रमण हो, जुन फोक्सोबाट मस्तिष्कसम्म फैलन्छ। अमेरिकाको न्यूयोर्क सिटी हेल्थले गरेको अनुसन्धान प्रतिवेदनअनुसार परेवाको मलबाट यीबाहेक फोक्सोको संक्रमणसम्बन्धी अन्य रोग पनि लाग्न सक्छ।

पिजन ब्रिडर डिजिजको पहिलो पहिचान सन् १९६५ मा भएको थियो। यसलाई अमेरिकन अनुसन्धानकर्ता डा. चार्ली रिड, डा. एब सोसमन र डा. रोबर्ट बार्बीले पत्ता लगाएका थिए। उनीहरूले यो अवस्थालाई ‘पिजन ब्रिडर लङ’ नाम दिएका थिए।

नेपालमा रोगको अवस्था
नेपालमा हाइपरसेन्सिटिभिटी न्यूमोनाइटिस रिपोर्ट भएका बिरामीको संख्या धेरै छैन। त्यसमा पनि परेवाबाट सर्ने रोगबाट ग्रसित बिरामी कमै रहेको डा. आचार्य बताउँछन्। “न्यूमोनाइटिसका बिरामी नै थोरै छन्, त्यसमा पनि १.५ प्रतिशत मात्रै पिजन ब्रिडर डिजिजका छन्। यसखाले बिरामी मलाई भेट्न महिनामा एकदेखि दुई जनासम्म आउँछन्,” उनी भन्छन्।

उनका अनुसार नेपालमा पिजन ब्रिडर डिजिजबारे कुनै अध्ययन भएको छैन। यसका बिरामीको तथ्यांक पनि यकिन छैन। व्यक्तिगत रूपमा आएका बिरामी कम छन्। 

बिरामी अस्पताल नपुग्ने कारण र पुगेका बिरामीमा पनि रोग पत्ता नलाग्दासम्म तथ्यांक सानो देखिने हुँदा बिरामी धेरै हुन सक्ने उनको अनुमान छ। “कतिपय बिरामी अस्पतालसम्म नपुगेका हुन सक्छन्। कोही पुगेर पनि रोग पत्ता नलागेका हुन सक्छन्,” उनी भन्छन्।

अर्का छातीरोग विशेषज्ञ डा. राजु पंगेनी नेपालमा हालसम्म यो रोगका कारण मृत्यु भएको तथ्यांक नभएको बताउँछन्। उनी भन्छन्, “यो रोग लागेका केही बिरामीको मृत्यु भए पनि यही मात्र कारणले होइन, अन्य रोगहरू पनि थपिएका छन्। यही रोगका कारण मृत्यु भएको भने मलाई थाहा छैन।”

उनी पनि आफूलाई भेट्न महिनामा एकदेखि दुई जनासम्म यस्ता रोगका लक्षण भएका बिरामी आउने बताउँछन्। यस रोगबारे जानकारी नहुँदा बिरामी सिकिस्त भएपछि मात्रै आउने उनको भनाइ छ। “कतिपय अस्पतालमा स्वास्थ्य उपकरणसमेत छैन, जसका कारण रोग पत्ता लाग्दैन,” पंगेनी भन्छन्, “प्राथमिकतामा नपर्दा र नयाँ विषय हुँदा रोग पत्ता लाग्न गाह्रो हुन्छ।” 

भारतमा नियन्त्रण गरिँदै परेवा
भारतको महाराष्ट्र राज्यमा पर्ने पुणे महानगरले गत मंसिर २० गते सार्वजनिक स्थानहरूमा परेवालाई दाना खुवाउने व्यक्तिलाई कारबाही गर्ने घोषणा गर्‍यो। दाना खुवाउँदा परेवाको संख्या बढ्ने र रोग फैलाउने भन्दै त्यस्ता व्यक्तिलाई ५०० देखि ५ हजार भारुसम्म जरिबानाको घोषण गरेको छ। 

राजधानी दिल्लीमा पनि परेवालाई आहारा खुवाउन निषेध गर्ने योजना बनेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। भारतमा न्युमोनाइटिसका बिरामी निरन्तर बढेपछि यस्तो योजना बनाइएको बताइएको छ। पछिल्लो पाँच वर्षमा भारतमा परेवाको सम्पर्कबाट हुने रोग १० देखि १५ प्रतिशतले बढेको एक अध्ययनले देखाएको छ।

भारतमा ‘इन्टरस्टिसियल लङ डिजिज’बारेको अध्ययनमा फोक्सोका बिरामीमध्ये आधा हाइपरसेन्सिटिभिटी न्युमोनाइटिसका भएको भेटिएका छन्। ४७.३ प्रतिशत बिरामी न्युमोनाइटिसका रहेको तथ्यांक छ। यसमा पनि परेवाको मलबाट हुने संक्रमणका बिरामी धेरै छन्।

भारतका अधिकांश यस्ता बिरामी परेवा फार्ममा काम गर्ने, परेवा ब्रिडर र परेवा पाल्नेहरू छन्। नेपालमा पनि त्यस्तै व्यक्तिलाई यस्तो रोग लाग्ने डा. पंगेनी बताउँछन्। “भारतसँग हावापानी सबै मिल्ने भएकाले त्यो अवस्था यहाँ लागू हुन सक्छ। अध्ययन नभएकाले वास्तविक अवस्था के छ भन्न सकिँदैन,” उनी भन्छन्। 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत जोनोटिक तथा सरुवा रोग नियन्त्रण शाखाका प्रमुख डा. हेमन्तचन्द्र ओझा हालसम्म त्यस्ता रोगबारे रिपोर्ट नआएको बताउँछन्। “कुनै पनि नयाँ रोग देखिए त्यसको प्रमाणसहित महाशाखामा रिपोर्ट हुन्छ। तर यसबारे (पिजन ब्रिडर्स डिजिजबारे) कुनै रिपोर्ट आएको जानकारी छैन,” उनी भन्छन्।

कस्ता छन् लक्षणहरू?
पिजन ब्रिडर्स डिजिज लागे लगातार सुक्खा खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने, गहिरो श्वास फेर्दा र खोक्दा छाती दुख्ने, थकान लाग्ने जस्ता लक्षण देखिन्छन्। ज्वरो आउने, राति सुत्दा पसिना आउने, भोक कम हुने, टाउको दुख्ने र वान्ता हुने पनि हुन्छ।

डा. पंगेनीका अनुसार सबै बिरामीलाई सबैखाले लक्षण नदेखिन पनि सक्छ। छिटै देखिने लक्षणमा ज्वरो आउने, सुक्खा खोकी लाग्ने हुन्छ।

उनका अनुसार बिरामीको लक्षण थाहा भएपछि परेवासँग संसर्गमा रहे÷नरहेको सोधिन्छ। संसर्ग रहेको अवस्थामा रगत जाँच, फोक्सोको इन्डोस्कोपीलगायत परीक्षण हुन्छ। यस रोगबारे समयमै सचेत गराउन सके परेवासँग नजिक हुनु पर्ने बाध्यता भएकाहरूले आफ्नो स्वास्थ्यको ख्याल गर्न सक्ने उनको भनाइ छ।

यो रोगबाट बच्ने सजिलो उपाय भनेको परेवाको संसर्गमा नआउनु नै हो। परेवा पालकहरूले परेवाको मल व्यवस्थापनमा ध्यान दिनु पर्ने डा. पंगेनी बताउँछन्। उनका अनुसार मल व्यवस्थापन गर्दा र परेवालाई छुँदा पञ्जाको र मास्क प्रयोग गर्ने, सकेसम्म परेवाको मललाई नसुकाइ व्यवस्थापन गर्ने गर्नु पर्छ। परेवा छोएपछि राम्ररी सरसफाइ गर्नु पर्ने उनी बताउँछन्।


सम्बन्धित सामग्री