मेरो जिन्दगी धूप–छायाझैँ रह्यो। विशेषतः आर्थिक संकट र गरिबीको कुरा गर्दा त्यो ‘छाया’ धेरै पछि पढी-बढीकन काठमाडौँमा त्रिचन्द्र क्याम्पसमा २०२५ सालतिर प्राध्यापन गर्दासम्म रहिरह्यो। औसत नेपालीको परिवारझैँ हिजोसम्म मध्यम वर्गीय हैसियतमा रहेकोमा भोलिपल्ट बिहान उठ्दाखेरी निम्न–मध्यम वर्गीयमा झरिसकेको हुन्थ्यो। कतिसम्म भने पेस्की रकम लिएरै महिना गुजार्ने क्रममा मासिक तलब २७५ रुपैयाँसमेत कटौतीमा पर्दैपर्दै महिनाको अन्तिममा एक पटक १० रुपैयाँ पचास पैसा पनि हातमा लिएको छु। तर ती अनुभव ऊर्जाशील रहे, कथा–उपन्यास लेखनका खुराकझैँ।
आज जीवनको यो मोडमा आइपुग्दा सम्झिन्छु— वीरगन्जको मेरो समाजमा सुरुमा भोजपुरी भाषाको रजगजमा थिएँ, परिवारभित्र नेपाली बोलिन्थ्यो। र, विद्यालय गएपछि सम्पूर्ण पढाइ हिन्दी भाषामा हुन्थ्यो। मेरो पुरानो गाउँ गौतमपुर, बेतौना (बारा) त निख्खुर भोजपुरी इलाका हो। केही भाषा वैज्ञानिकले भन्ने गरेको म सम्झन्छु— एउटा व्यक्तिको भाषिक पकड र पहुँच त्यस बेला दरिलो हुन्छ, जब उसले सुरुमा मातृभाषा र त्यसपछि अरू सहायक भाषामा भिज्ने मौका पाउँछ। मेरा हकमा भोजपुरी र नेपाली मातृभाषासरह भयो। पछि हिन्दी राम्रैसँग थपियो। अंग्रेजी त धेरै बल गरेर अलिक पछि मात्रै आएको थियो। त्यो पनि म अंग्रेजीमा अलिक कमजोर विद्यार्थी थिएँ, त्यो स्वीकार्नैपर्छ। तर, कविता लेख्न सुरु गर्दा भने नेपालीमै सुरु भयो। हिन्दीमा पनि केही कविता लेखेको छु। क्याम्पसमा आइए पढ्दासम्म हिन्दी नै सम्पूर्ण माध्यम थियो।
म सधैँ भन्ने गर्छु–लेखनकै आधारमा पनि म आठ दशकको लेखन यात्रामा छु— १०/१२ वर्षकै उमेरमा लेखिएका रचना गणना गर्दा। मैले १६ वर्षकै छँदा आफ्नै लय भर्दै गीत लेख्न थालेको थिएँ। म स्टेजमा गाउने र आफैँ प्रस्तुति दिने स्वभावमा रत्तिएको थिएँ। खोज्ने हो भने यस्ता गीतहरू निकै छन्। म चाहन्छु, एउटा गीतसंग्रह पनि निकालौँ। कतिसम्म भने विद्यालय पढ्दाताक जीवनमा के बन्न चाहन्छस् भनेर सोधिएको कुनै प्रश्नमा ‘म आफूलाई गायक बन्न चाहन्थेँ’ भनेर लेखेको थिएँ। तर, पछि गर्दैभन्दै जाँदा लेखन विधा मेरो पहिलो ‘च्वाइस’ बन्यो, झन्डै पूर्ण कालिक लेखकझैँ।
पछि संयोगले आफ्नै शब्द–संगीतमा केही गीतहरू एकल वा मिरा राणा, ज्ञानु राणाजस्ता स्थापित गायकहरूसँग युगल पनि गाउन पाएँ, २०३५ सालतिर। त्यो मेरो अवसर र सौभाग्य थियो। त्यो पनि धेरैपछि भारतको पुनामा पीएचडी गरेर आएपछि रेडियो नेपालमा वरिष्ठ सङ्गीतकार नातिकाजीको सहयोगमा मैले गीत रेकर्ड गर्न पाएको थिएँ। पिएचडी गर्दै गरेको र क्याम्पसमा पढाउने प्राध्यापक भनेर हो कि, स्वर परीक्षा पनि नलिईकन रेडियोमा गाउन मलाई दिइएको थियो। पछि नारायण गोपालले समेत मसँग गीत मागेर लगेका थिए, त्यो रेकर्ड हुन सकेन।
म जीवनमा ठूलो सपनाप्रेमी रहिनँ। सपना–जपना भनेकै भेटसम्मका फिल्महरू हेर्ने हुन्थे। वीरगन्ज पारि रक्सौलका फिल्म हलमा पनि चिनजान हुन्थ्यो। कति त फ्री, पैसै नतिरी फिल्म हेरिन्थ्यो। होइन भने टिकटको मोल ६ आना थियो। सिनेमामा मेरो उत्कट रुचि थियो, कतिसम्म भने कुनै हलमा त लगातार १२–३, ३–६, ६–९ का लगालग फिल्महरू पनि हेर्थेँ। मैले कोलम्बो प्लानमा पिएचडी गर्ने क्रममा ठाउँ (विश्वविद्यालय) खोज्दा पनि बम्बे युनिभर्सिटी छानेको थिएँ, बलिउडको दुनियाँमा। तर त्यहाँ विषय र मौका नमिलेकाले म पुना युनिभर्सिटी गएको थिएँ। बम्बे (अहिलेको मुम्बई) गएर पटकथा लेखनमा लाग्नुपर्ला भन्ने थियो। कलाकार बीएस थापा, अर्का एक लामिछाने (विनोद खन्ना, नितु सिंहका सेक्रेटरी) नजिकको चिनजानमा थिए— त्यही आधारमा म बम्बे गएको थिएँ। तर, त्यताको सपना पुरा भएन।
काठमाडौँ फिरेर पुष्कर शमशेरको कथा ‘परिबन्द’माथि पटकथा लेखेको थिएँ, त्यो टेलिफिल्म रमेश बुढाथोकीले निर्देशन गरेका थिए। तारिणीप्रसाद कोइरालाको एक कथामाथि पटकथा र निर्देशनको काम गरेँ। पछि आफ्नै उपन्यास ‘निमित्त नायक’माथि पटकथा लेखेँ, त्यो एकदमै पपुलर बन्यो। विनोद दीक्षितको कथा ‘राप’माथि पटकथा लेखेँ, त्यो पनि निकै चल्तीमा आयो। बीपी कोइरालाको ‘शत्रु’ कथामाथि समेत पटकथा र निर्देशनको काम गरेँ। त्यसपछि मात्रै ‘वासुदेव’ (कट्टेल सरको चोटपटक)मा कथा, पटकथा र संवादमा म जोडिएँ, निर्देशक निर शाहसँग।
⁎⁎
एउटा बेला थियो, मलाई लाग्थ्यो— म जे पनि लेखिदिन सक्छु। कविता त भित्रबाट आउने कुरा थियो, स्वतःस्फूर्त। अरू पनि जे भेटे पनि लेखिन्छ भन्ने थियो। कहिले कवितामा काव्य–नाटक लेखेँ, कहिले छाया–नाटक लेखेँ। एक पटक नारायण गोपाल राष्ट्रिय नाचघरमा जीएम हुँदा मलाई नृत्य नाटिका (ब्याले) र गीति नाटक (ओपेरा) लेख्न लगाए। मैले ब्याले ‘दुर्गा अवतार’ र ओपेरा ‘कृष्ण अवतार’ लेखेको छु, त्यो मञ्चन पनि भयो—वसन्त श्रेष्ठको निर्देशनमा। ती दुवै खुबै चले। त्यसबापत त्यही १ हजार रुपैयाँ गोटागन्ती पारिश्रमिक पाएको थिएँ। ओपेरामा अलिक बढी रकम पाएको थिएँ क्यार। ओपेरा ‘कृष्ण अवतार’को किताब पनि निस्किएको थियो।
त्यो बेला पैसाको कुरा थिएन, आशा पनि हुन्थ्यो। कतैबाट आइहाल्यो भने बेग्लै कुरा। ‘वासुदेव’ फिल्ममा कथा, पटकथा र संवादका लागि निर शाहबाट ९ हजार रूपैयाँ पाएको थिएँ। त्यो बेलाको हिसाबमा त्यो पनि निकै गतिलो रकम थियो।
मेरो जीवनमा काम, अनुभव र भोगाइ अनन्त तथा विविधतायुक्त रहे। एकवारको जीवन पनि बहुत बारको झैँ भयो— भोगाइ र व्यवहारमा। तर, अरू कामकुरा नेपथ्यमा रहेझैँ जतै पनि मलाई ‘अलिखित’ लेखकका रूपमा चिन्ने गरेको क्षण भने त्यति रुचिकर लाग्दैन। अथवा, भनौँ— मेरा लागि २०२४ सालमा आएको ‘अन्त्यपछि’ देखि हालै आएको ‘गाँती’ सम्मका कृतिहरू मेरा लागि ‘जोर हातका दश औला’ भनेझैँ हुन्, काट्न–छाँट्न नमिल्ने। पुरस्कार पाएका आधारमा वा सामाजिक ख्यातिका आधारमा कुनै अलिक अगाडी आएका होलान् तर म भने यो ठिक वा त्यो बेठीक भन्ने ठाउँमा छैन। मेरा २९ वटा उपन्याससहित ५९ वटा कृति प्रकाशित भइसकेका छन्। अब रत्न पुस्तक भण्डारबाट प्रकाशोन्मुख संस्मरण कृति ‘बँहेडा’ले संख्या ६० पुग्नेछ।
सधैँजसो म खुलासा गर्ने पक्षधर नभए पनि एउटा खुलासा गरिहालौँ। २०४३ सालमा प्रकाशित ‘निमित्त नायक’को सिक्वेलका रूपमा ‘निमित्त नायिका’ पनि अहिले लेखनका क्रममा छु। आशा गरौँ, आगामी वर्ष यो आउन सक्छ। यो प्रयोग र शिल्पी, कथाभाव र स्वैरकल्पनामा अलग कृति रहने मेरो आफ्नै बुझाइ छ।
⁎
लेखनमा मैले प्रयोग गर्दै आएको ब्ल्याक–ह्युमर (श्याम–ब्यांग्य, समालोचक मोहनराज शर्माले दिएको नाम) का बारेमा धेरैले मलाई जिज्ञासा राख्ने गरेको पाएको छु। खासमा म बाहिरी पुस्तकहरू पनि खुबै पढ्ने भएकाले ब्ल्याक–ह्युमर त्यहीँबाट सिकेको थिएँ। सन् ६० को दशकमा खुबै चलेको प्रयोग थियो त्यो। एन्थोनी बर्गरदेखि स्यामुवल बेकेटसम्मका फरक लेखनीबारे मैले पढेरै थाहा पाएको थिएँ। बेकेटले प्रयोग गरेको ट्राजिक–कमेडी भनेकै ब्ल्याक–ह्युमर रहेछ भन्ने पछि थाहा भयो। यो मेरो लेखनको ‘ढव’ हुन सक्छ भनेर मैले ‘त्यो एउटा कुरा’ (नाटक, २०३०) मा पनि ब्ल्याक–ह्युमर प्रयोग गरेको छु। पछि ‘डापी, २०३३’ मा पनि प्रयोग भएको छ।
त्यसअघि २०२५ सालमा छापिएको ‘श’ कथा (रचनामा प्रकाशित) मा पहिलो पटक ब्ल्याक–ह्युमर राम्रैसँग प्रयोग गरेको छु। मैले पारिजात, भूपी, नारायण गोपालजस्ता असल सिर्जनशील पात्रहरूको जे जसरी साथसंगत पाएँ, धेरै अर्थमा त्यो पनि फलदायी बन्यो—सिर्जना पर्गेल्ने कुरामा। जस्तो— पारिजात, सुकन्या र मैले बसाल्ने गरेको ‘बैठकी’ गफगाफ पनि धेरै अर्थमा फलदायी र स्मरणीय रहेको छ। खानपिन सहितको गफैगफ उत्सव भनौँ न। पुतलीसडक नजिकै पारिजातको बास थियो। ‘बैठकी’मा म हिन्दी गीत धडाधड गाउँथे, सुकन्या पनि गाउने। पारिजात स्वयम समेत लोकगीत गाउने। पारिजात अनेक पुस्तकका किस्सा वा रोचक प्रसङ्गहरू निकालिरहने। बुधवार प्रायजसो मःम डे हुन्थ्यो पारिजातकहाँ, मलाई निम्तो आइहाल्थ्यो। आत्मीयतासहित त्यस्तो विशिष्ट बसाइको कल्पना फेरि भएन, गरिएन— भूतो न भविष्यती।
यस्ता स्मृति, संयोग र घटनाहरू मेरो जीवनमा पर्याप्त छन्। हुन त ८२ बर्से वयमा आइपुग्दा पक्कै पनि स्मृतिहरू त्यति नै धेरै हुन्छन् नै। अनेक अवसरहरूका माझ धेरैले मलाई सोध्ने गरेका छन्— तपाईँको जीवनमा कुनै पछुतो छैन र?
अहँ, छैन। म प्राध्यापन पेसामा रहेँ, सन्तुष्ट रहेँ। सुरुमा २०२३ सालमा रत्नराज्य क्याम्पसमा पढाउँथे, जुन उतिखेर छात्राहरूको कलेज थियो। यत्ति हो, त्यहाँ छात्राका माझ पढाउन मलाई निकै हम्मे पर्थ्यो। भित्तो हेरेरै पढाउँथे, संकोचका कारण। पछि त्रिचन्द्रमा गएँ— त्यहाँ विद्यार्थीहरूले बहुतै माया गर्थे। यता संगत, साथीभाइ, सर्कल पनि मनपर्दो थियो— एकदमै हार्दिक। लेखनमा त असन्तोष रहने वा पछुतो मान्ने कुरै रहेन। यत्ति हो कि लेखेर जीवन धान्ने अवस्था भने कहिल्यै आएन। अर्को कुरा, यो उमेरसम्म आइपुग्दा पनि भरपर्दा र परेका बेला भरथेग गर्ने पुस्तक प्रकाशक मैले पाएको छैन। प्रकाशन र प्रकाशकका हिसाबमा भने मेरो भोगाइ ‘नकारात्मक’ छ, धेरै अर्थमा। साझा प्रकाशनले आफ्नै हविगत बेहोरिरहेको छ।
मलाई लिएर भन्ने गरिन्छ— जहाँ प्रयोग छैन, त्यहाँ ध्रुवचन्द्र छैन। मैले यही भनाइलाई ‘निमित्त नायिका’को एक संवादमा पनि राखेको छु। तर, यसो भन्दैमा लेखन जगतमा म आफूलाई ‘नायक अमिताभ बच्चनझैँ आफूबाटै लाइन सुरु हुने’ दर्जामा राख्न चाहन्न, राख्न मिल्दैन पनि।
संयोगले उमेरको यो ढल्केबरमा आइपुग्दा र बुढ्यौलीले छोपेपछि भने विगतमा कहिल्यै नगरिएका र नसोचिएका कर्मकाण्डहरू गर्ने अभ्यास बढ्दै गएको अनुभव गर्दै छु। मेरो हकमा यो जन्मदिन मनाउने वा ह्यापी बर्थडे भन्दै केक काट्ने काम कहिल्यै भएनन्। तर, आज बढेको सामाजिक सञ्जाल वा थोरबहुत चिनारी आदिले अहिले आएर पुस २ लाई धेरै आफन्त र शुभेच्छुकले सम्झने गरेका छन्।
मेरो जन्मदिन पुस २ मा आफ्नै आगत–विगत सम्झिरहेको छु। आफ्नै जीवन, समय र विगत सम्झेर आफैलाई सम्बोधन गर्दै लेखेझैँ एउटा सूक्ति सम्झन्छु र आफैलाई सान्त्वना दिन्छु—
‘तिमी मेरा लागि घाम हौ
जुन अवकाशप्राप्त बुद्धलाई अझ प्यारो हुन्छ।’