काठमाडौँ– अर्घाखाँची, धारापानी गाउँका पीताम्बर भुसालका लागि कुनैदिन बटौली बजार झर्न पाउनु जीवनकै ठूलो उपलब्धिझैँ हुने गर्थ्यो। गाउँले आफन्त बटौली परको सुनौली वा गोरखपुर पुगेर आए रे भन्ने सुन्दा पनि उल्का लाग्ने गर्थ्यो।
घरगाउँमा सानोतिनो खेतबारी थियो। केही गाईबस्तु र थलो–भकारोको दैनिकी हुन्थ्यो। ‘पढेर केही हुन्छ’ भन्ने चेत धेरैमा पलाएकै थिएन, जस्तो पिताम्बरका बाआमासँग पनि थिएन। सानो छँदाको रहर र लहैलहैमा पीताम्बरले ५ कक्षासम्म मात्रै पढे। त्यहाँबाट आफन्त र गाउँले जाने उही बाटो पक्रिए– नौतनवा हुँदै दिल्ली!
संयोगले धारापानी गाउँका कतिपय आफन्त दिल्लीमा, बसन्तबिहारस्थित कुटनीतिक वृत्त (इन्इक्लेभ)का डिप्लोम्याटकहाँ काम गर्थे। कोही बाबर्ची थिए, कोही बगैंचे। “अनि म नि दिल्ली नै पुगें के रे,” वर्षौंपछि मनको बह कहन पाएझैँ गरी सामुमा बसेका थिए पीताम्बर भुसाल, ६५।
दिल्लीबाट शुरू भएको यो गुर्खा, बहादुर, बाबर्ची, हेड–कुकको कथा पश्चिम एशियाको इरानमा गएर टुंगिन्छ जहाँ पीताम्बरले बिताएका छन् वर्षौवर्ष। “दिल्लीमैं मुश्किल परिहालो—न आर्कोले बोलेको प्रकष्टै बुझिन्छ, न अरूले गरेको कामको मेसो पाइन्छ,” बिस्तारै खुल्दै थिए पीताम्बर, “अनि, मार्किटमा एउटा हिन्दी–इंग्लिस टिचर भन्ने किताब पाइँदो रहेछ, त्यही किताब किनेर आफैँ पढ्दै र लेख्दै धेरै कुरा सिकेँ, बोल्न सक्ने भएँ।”
बसन्तबिहारस्थित इरानी दूतावासका कूटनीतिक कर्मचारीका घरमा सहयोगी भएर यो अलग दुनियाँमा छिरेका पीताम्बरलाई कुरोको चुरो समाउन उतिबेर लागेन। उनी जे सिकायो, त्यही खानेकुरा पकाउन–तुल्याउन यति खग्गु भए कि इरानी डिप्लोम्याटले उनलाई तेहरान नै लैजाने स्थिति सामुमा आइदियो।
“म झण्डै पाँच वर्ष दिल्ली बसेँ हुँला, महिनाको २५ भारु तनाखामा। पछि त ४०० भारुसम्म पुगेको थियो। अनि, डिप्लोमेटका साथमा तिनकै देश जाने भएपछि गाउँ फर्केर प्रधानपञ्चलाई भेट्दै नागरिकता र पासपोर्टका लागि चिर्कटो लेखाइमागेँ। यो सन् १९७६ तिरको कुरा हो कि ?,” आफ्ना ती रुमानी दिन औँलामा भाँचेर गन्दै सम्झिरहेका थिए पीताम्बर भुसाल।
⁎⁎⁎
उसो त धारापानी गाउँबाट इरान, तेहरान जानेमा पीताम्बर पहिलो थिएनन्। उनका काका–बडाका छोरा इरानी लाहुरे बन्न गइसकेका थिए। उनी पनि १९७७ को शुरूआतमा नै तेहरान पुगेका थिए– डिप्लोम्याटको संगतमा। त्यसमा पनि मिनिस्टर–काउन्सेलरको सानसौगत र हैसियत निकै राम्रो हुन्थ्यो।
गाडी मर्सिडिज थियो। दिल्लीबाट बम्बई, अनि पाकिस्तान र अफगानिस्तान। चौथो दिनमा मात्रै तेहरान पुगेका थिए पीताम्बर। कताकति पहाडी अर्घाखाँचीको छेउकुनो जस्तो, कतै नक्सामा देखेको काठमाडौँ जस्तो पनि। चिसो भने निकै हुँदो रहेछ। तल हिउँ जमेको छ, माथि पिउने पानी भने मुस्किल पर्ने ठाउँ!
“शुरूका केही महिना भने अलिक मुस्किलै भयो नि। दिल्लीभन्दा झनै ओरिजिनल खालको इरानी खानेकुरा पकाउन–चाख्न सिक्नुपर्यो,” उनले सम्झिए, “तर, साता दिनमा एक पटक अरू नेपाली कुक आफन्तसँग पनि भेट हुन्थ्यो। अनि खान्की, स्वाद र अरू व्यवहारका आइडिया पाइहाल्थेँ।”
पीताम्बर सम्झनामा डुबेका थिए पुरापुर। राजधानी तेहरानमा त्यसबेला विदेशी पर्यटकको भरिभराउ माहोल थियो। तेहरानमा विदेशीको घुइँचो देखेर वरपरका गाउँबाट सर्वसाधारणलाई राजधानी आउजाउ गर्न राजाले नै रोक लगाइदिएका थिए। शायद हुलमुल नबढोस्, झैझगडा र अशान्ति नहोस् भनेर हुन सक्छ। राजा मोहम्मद रेजा शाह (पहल्भी)को हुकुम एकछत्र थियो, प्रभावकारी पनि। उनी सन् १९४१ देखि १९७९ सम्म शासनमा थिए। तर, १९७९ को इस्लामिक जनविद्रोहपछि इरानबाट राजतन्त्र उखेलियो।
“राजतन्त्रको त्यो चर्को युगमा म तेहरान पुगेको रहेछु। म पुगेलगत्तै इस्लामिक अतिवादी समूहले अनेक खालका जुलुस, प्रदर्शनी, आन्दोलन चर्काएको थियो। सडक आन्दोलनकारीले भरिएका हुन्थे। म त डिप्लोम्याट घरको छतबाटै तेहरान शहरको रमिता हेरिरहेको हुन्थेँ,” पीताम्बरले सुनाए।
त्यसपछि त इरानको भू–राजनीति मात्रै होइन, पीताम्बरको जिन्दगानीमा पनि धेरै हेराफेरी भयो। आफू कुक रहेको घरका मालिक र डिप्लोम्याट रातारात युरोपेली मुलुक वा इटालीतिर भाग्न थाले। मासिक रूपमा आउने ३०० डलरसम्मको तनाखाको टुंगो रहेन। घर फर्केर नेपाल आइजाऊँ भने पनि सबै नाकामा कडिकडाउ वा आउजाउ प्रक्रिया रोकिएको अवस्था थियो।
“पुरै रमित हुन्थ्यो। अमेरिकाका राष्ट्रपति कार्टर भन्ने इरान आएर राजा मोहम्मदलाई देश छाड्न भनेका थिए अरे भन्ने हामीले किचेनभित्रै सुनेका हौँ। अनि, इमर्जेन्सी भनेर पुरै तेहरान बन्दाबन्दी भएथ्यो,” पीताम्बरले खुइँ काढ्दै सम्झिए। अनि, आफूले चिनेका डिप्लोम्याटकै भरमा तेहरानस्थित ओमानी राजदूतको घरमा गएर उनले वेटर काम गर्न थालेका रहेछन्। झण्डै एक वर्ष ती राजदूतको घरमा सेवक बनेपछि फेरि अर्को दशा आइपुगेछ– सन् १९८१ मा।
“यी ठूला मुलुकको कुरै ठूलो हुने क्या! हाम्रा घरभित्र सासू–बुहारी सम्बन्ध बिग्रेझैँ अरू देशसँग पनि के–के खटपट परिरहने! अनि, फेरि इरानको ओमानसँग पनि सम्बन्ध बिग्रिएछ,” आफ्नो जीवनमा आइपरेको ‘साँढेको जुधाइ बाच्छाको मिचाइ’ संयोग सम्झिरहेका थिए पीताम्बर, “त्यसपछि तिनै ओमानी डिप्लोमेटको सहयोगमा तेहरानकै सिरियन राजदूतकहाँ काममा गएँ। त्यहाँ त लगालग छ वर्ष काम गरेँ। ओमान डिप्लोलेमटकहाँ कुक काम गर्दा २५० डलर मासिक तनाखा थियो, सिरियनकहाँ पुग्दा बढेर २८४ डलर भएथ्यो।”
इरानसहित आसपास मुलुकमा प्रायजसो इस्लामिक परिवार थिए। खानपिन हलाल हुन्थ्यो, छाकैपिच्छे माछामासु चल्ने। पीताम्बरले थोरबहुत फार्सी भाषा सिकेका थिए, हिन्दी र अंग्रेजीको मिसमास थियो नै। “म ३/४ बर्षको फेरमा नेपाल आइरहन्थेँ। दिल्लीमा बैंक खाता खोलेको थिएँ। उता कमाएको पैसो पठाउन दिल्लीमा सजिलो हुन्थ्यो। अनि, दिल्ली आएका बेला पैसो बोकेर गाउँ धारापानी पुगिहाल्थेँ,” पीताम्बरले सम्झिए।
जिन्दगी भन्नु यस्तै त रहेछ। त्यसपछिका वर्ष खाडी मुलुकका कतारी, बहराइनी डिप्लोम्याटसँग पनि उठबस गरेकाले पीताम्बर अलिअलि अरबी भाषाका तुक्का पनि मिसाएर बोलिरहेका हुन्थे।
“होइन, तपाईंका गोडामा हिँडिरहने जोरचक्र छन् कि कसो?,” जिज्ञासा झर्न नपाउँदै पीताम्बर जवाफी बनेका थिए, “खोइ...गोडामा चक्र थियो–थिएन, यो त कहिल्यै थाहा भएन। तर सबै तकदीर हो जस्तो लाग्छ। जिन्दगी भनेको केही होइन हजुर, आफू खुश रहनुपर्यो– त्यत्ति हो। अरबीमा भन्छ नि– सबैकुरा, माफी मुस्किल!”
⁎⁎⁎
आफूलाई राजा वीरेन्द्रको पालाको मान्छे भन्न रुचाउँछन् पीताम्बर। त्यो जमानामा दिल्ली हुँदै इरान जान नपाएको भए राजाको गाउँ काठमाडौँतिर आएर केही तरक्की गरौँला भन्ने उनी यदाकदा सोच्ने गर्थे। तर, उनकै बोलीमा– सोचेजस्तो हुन्न जीवन, यो सब तकदीर खेला न हो।
उसो त तेहरानमा छँदै पनि आफूलाई कहिल्यै दुरोदेशमा रहेको अनुभूति उनले गर्नु परेन। विभिन्न डिप्लोम्याट र अफिसरका घरमा अर्घाखाँचीबाटै गएका ३० जना जति आफन्त थिए। कोही कुक थिए, कोही हेल्पर। तीसँग पनि साता–दश दिनमा भेटघाट हुन्थ्यो। त्यसबाहेक, नेपाल–इरान राजतन्त्र साइनोका कारण सन् १९७६ मा तेहरानमा नेपाली दूतावास खुलिसकेको थियो। केही वर्षअघि तेहरानमा राजा महेन्द्र र तत्कालीन प्रधानमन्त्री नगेन्द्र रिजाल पनि पुगेका थिए रे भन्ने पीताम्बरले सुनेका थिए। “नेपाली राजदूतले दशैँ–तिहार र अरू चाडपर्वमा पनि दूतावासमा बोलाइरहन्थे, हामीलाई लिन गाडी नै पठाउँथे,” पीताम्बर भन्छन्, “एक पटक यस्तै माहोलमा तेहरानको परराष्ट्र मन्त्रालयमा गएर इरानका राजा मोहम्मद रेजा शाहसँग हात मिलाउने मौका पनि पाएका थियौँ।”
पछि इरानबाट राजतन्त्र हटेपछि सन् १९८१ मा नेपाली दूतावास पनि बन्द भयो। ती वर्षमा कार्यवाहक राजदूतका रूपमा काम गरेका ईश्वरीराज पाण्डे, केदारप्रसाद कोइराला र विश्वेश्वरप्रसाद रिमालसँग पीताम्बरको राम्रै चिनजान थियो। तर, दूतावासलाई कार्यकारी तहमा अझ विस्तार गर्ने र कार्यवाहकको सट्टा ‘अधिकारसम्पन्न’ राजदूत पठाउने कूटनीतिक पहल चलिरहेकै बेला दूतावास बन्द भएको थियो। त्यसपछि भने इरानको कूटनीतिक सहप्रमाणीकरण मामला पाकिस्तानको इस्लामावादस्थित नेपाली दूतावासले हेर्दै आएको छ।
यसरी नसोचेका अनेक परिबन्द थपिँदै गएपछि सन् १९८७ मा पीताम्बर नेपाल फर्किए। खासमा तेहरान बस्नलाई ‘रेजिडेन्ट पर्मिट’ नवीकरण नभएपछि (बहराइन दूतावास बन्द भएकाले) बाध्यतामा उनी घर फिरेका थिए। “धेरै समय उतै बिताएर होला, उतैको खानपिन र रसरंगमा रमाएकाले हो कि? म त पाएसम्म इरानमै बस्थेँ भन्ने थियो तर, पारा मिलेन,” उनले मनको थकथकी सुनाए। इरानी भूमिमा कुक र हेल्पर बनेर कमाएको पैसाले उनले यता आएर बटौलीमा जमिन र घर जोडे, काठमाडौँ पनि आइजाइ थाले। तर, यो पीताम्बर–कथा यत्तिकैमा टुंगिदैन।
उनले इरानमा जागिरे भएकै बेला सन् १९८३ तिर गाउँ धारापानी आएर घरजम गरेका थिए। “अलिक फुर्सतमा बढी समय लिएर त खाना पकाउन सिक्ने र पकाउने काम मात्रै गरिएछ कि जस्तो लाग्छ,” ढल्के नेपाली टोपी मिलाउँदै पीताम्बरले सुनाए, “अरू धेरै कुराका लागि समय रहेन, हतारमै भए धेरै कुरा।” यही सधैँको हतारका कारण छोराछोरी जन्माउने मेलो पनि अलिक ढिलै शुरू भयो। पीताम्बरका दुई छोरा र एक छोरी हुर्किसकेका छन्।
अघि नै भनियो– पीताम्बरका गोडामा जोर–चक्र हुनुपर्छ। शायद उनले पकाएको खान्कीको सुगन्ध यसरी देश–विदेशमा फैलिएको थियो होला कि धारापानी गाउँ आएर बसेको एक वर्ष पनि भएको थिएन, फेरि बोलावट आइहाल्यो दिल्ली हुँदै खाडीको कतारबाट।
“अब घरपरिवारमा यतै बसौँला भन्ने थियो, अहँ भएन,” रसिक बनेर पीताम्बरले सुनाए, “दिल्लीमा रहेका कतारी राजदूतले बोलाइहाले। शुरूमा दिल्ली गएँ, हेड–कुक बनेर। अनि उतैबाट दोहा, कतार लागेँ। दोहामा स्वास्थ्य मन्त्रालयको डाइरेक्टरकहाँ सात वर्ष बसेँ, रियाल तनाखा हिसाब गरेर।”
यसरी सरासरी सन् १९९५ सम्म पीताम्बर कतारमै बसे। उता कामदामको चापाचाप थियो। तर, खबर आयो कि फेरि पीताम्बरका लागि तेहरानबाटै ‘डिमान्ड’ आएको छ। “मेरा सानिमाका छोरा तेहरानको मोरक्को एम्बेसीमा काम गर्थे। उनैले तेहरानमा श्रीलंकन राजदूतका लागि कुक चाहिएको खबर पठाए। तिनै राजदूतले दिल्लीमा मेरा लागि भिसा पठाइदिए, अनि म फेरि तेहरान पुगेँ, उही भान्से पेसामा,” आफ्नो भान्से–यात्रा सुनाउँदै पीताम्बरले भने, “मासिक तनाखा २५० डलर थियो, त्यहाँ बस्ने माहोल राम्रै भएकाले लगातार सात वर्ष श्रीलंकनकहाँ बसेँ। आफ्नो कार्यकाल सकिएर त्यो राजदूत घर फर्किने भएकाले म उसैको सम्पर्कमा तेहरानकै बहराइनी राजदूतकहाँ काममा खटिएँ। त्यहाँ भने तनाखा पनि बढाएर मासिक ७५० डलर पुगेको थियो।”
पीताम्बरले ‘पढेर होइन, परेर’ सिकेको काम एउटै थियो– अनेक खानेकुरा पकाउने र पकाइरहने। कहिले बहराइनी स्वाद, कहिले कतारी त कहिले सिरियन स्वाद। इरानकै मसलेदार खान्की त भइहाल्यो, श्रीलंकन स्वादका सी–फुड पनि भान्सामा आइरहन्थ्यो। “मैले सिकेको कुरो के हो भने इरानी खाना दुनियाँमै मीठो र स्वादिलो हो भन्ने मलाई लाग्छ,” पीताम्बरले रहस्यमयी बनेर सुनाए, “तर, तिनीहरूको सब्जी बनाउँदा, शिकार वा अरू खानेकुरा पकाउँदा पनि त्यसमा हालिने मसलाको सूत्र भने सधैँ गोप्य रहन्थ्यो। के मसलामा के कुरा मिसाएको हो भन्ने थाहा पाउन बर्षौं लाग्थ्यो, त्यही पनि मैले पत्तो पाउनै सकिन।”
⁎⁎⁎
पीताम्बरका जीवनमा जेजसरी देश–दुनियाँ चहारिरहने ‘चक्र’ले काम गरेको छ, उसैगरी देश–देश बीच चलिरहने असजिलो सम्बन्धले पनि उनको ‘तकदीर’मा बदलाव ल्याइदिने गरेको छ। तेहरानमा श्रीलंकन राजदूत हिँडेपछि उसैको सिफारिसमा पीताम्बर पुनः बहराइनी डिप्लोम्याटकहाँ पुगेका थिए जहाँ उनी लगातार १३ वर्ष (सन् २०१६ सम्म) बसे। तर, एकाएक बहराइनसहित केही खाडी मुलुक र इरानबीचमा निकै नराम्रो कूटनीतिक भाँडभैलो मच्चिएपछि यसको मार फेरि उनै पीताम्बरमा गएर सिधै ठोक्किन पुग्यो।
“खोइ, के–के भएको थियो, तर गोलमाल थियो। इरानले बहराइनबाट आफ्ना राजदूत फिर्ता बोलाउने र बहराइनले इरानबाट बोलाउने खेला शुरू भयो। तेहरानमा साउदी अरेबियाको दूतावासमा बमबारी भयो, अनि हामी भान्सामा काम गर्नेलाई पनि निकै तनाव भयो,” पीताम्बरले सम्झिए, “तेहरानबाट बहराइनको दूतावास हटे पनि सानो कार्यालय भने बसेकै थियो। बहराइनी राजदूतले आफू फिर्ता हुनुअघि त्यही कार्यालयमा बस्दै गर्नु भनेर सुविधा दिएका थिए। अनि, सानोतिनो काम गर्दै त्यही कार्यालयमा लोकल कर्मचारीसँग बसेर २०२४ अप्रिलसम्मका अलिक मुस्किलका दिनरात बिताएको थिएँ।”
त्यो बढ्दो अन्यौल र देश–देशबीचको कठीनको सम्बन्धका माझ अब फेरि सजिला दिन आइहाल्लान् भन्ने थिएन। अर्घाखाँचीबाट गएका अरू आफन्तजन पनि आफ्नै तारतम्य मिलाएर तेहरानबाट घर फिरिरहेका थिए। तर, ‘रेजिडेन्ट पर्मिट’ र भिसासमेत नवीकरण हुन नसक्ने एकप्रकारले ‘गैर कानूनी हैसियत’मा पीताम्बर तेहरानमा बसिरहेका थिए। यसरी नै गुपचुप बितेका थिए झण्डै आठ वर्ष।
एउटा विश्वस्त सूचनामा, आफ्नो उद्धारमा पाकिस्तानस्थित नेपाली दूतावासले केही सहयोग गर्न सक्छ भन्ने सुइँको पीताम्बरले पाएका रहेछन्। “अनि मैले इस्लामाबादमा राजदूत तापस अधिकारीलाई सम्पर्क गरेँ। मेरो हालत बताएँ, आठ वर्षयताको कागजातहीन अवस्थाका कारण लाखौँ रुपैँया जरिबाना तिर्नुपर्ने अवस्था उब्जिएको कठिनाइबारे सुनाएँ,” कृतज्ञता जनाउँदै उनले भने, “मेरो जरिबाना मिनाहा गराउन र देश छाड्ने अनुमति (एक्जिट–पर्मिट)को प्रबन्ध गराउन राजदूत अधिकारी ६ महिनाजति लाग्नुभयो क्यार। अनि, सहीसलामत तेहरान–सारजहाँ हुँदै गएको अप्रिल २८ (वैशाख १६)मा नेपाल पाइला टेकेँ, साँच्चै पुनर्जन्म पाएझैँ!”
पीताम्बरका अनुसार, तेहरानमा अहिले पनि अर्घाखाँचीका उनका केही आफन्तजन सिरिया, युनाइटेट अरब इमिरेट्स र भारतको कूटनीतिक नियोगमा कार्यरत छन्। तर, पहिलेजस्तो सजिलोगरी तेहरान आउजाउ गर्न भने अब मुस्किल छ। “यो सबै मेरो नसीव होला के रे, म ज्यास्ती नपढेको मान्छे हुँ। म अरू कुनै कुरामा लागिन। मुस्लिम देशमा बसे पनि जात, धर्म, वर्ग मलाई केही मतलबै रहेन। जेजहाँको परिस्थिति छ, त्यसै अनुसार मिलेर चल्नुपर्छ भन्ने लाग्छ। उता छँदा मेरो जिउमा ‘जनै’ थिएन, यता आएपछि ‘हलाल’ खाना भेटिन्न,” हाँसखुस लवजमा पीताम्बर भन्छन्।
जीवनको झन्डै आधा शताब्दी उमेर मध्यपूर्वी मुलुकमा बिताएर ढुक्कै हिसाबमा घर फिरेका पीताम्बर अहिले बटौली, रामनगरको आफ्नै श्रम–पसिनाले उभिएको घरमा आराम गरिरहेका छन्। उनी सम्झिरहेका छन्– दर्गादिशा धेरै थाहा नभईकन इरान भन्ने देशमा लाहुरे बनेर गएको थियो एउटा बाहुन ठिटो। केही वर्ष बिराउँदै ठूलो ट्यांकामा सरसामान हालेर तुजुकमा घर फिर्दै गर्दा त्योबेला धारापानी गाउँका आफन्तले भन्ने गर्थे– “ऊ हेर, इराने आयो!”
अहिले पनि त्यही गाउँको सम्झना र अपनत्व लिएर पीताम्बर धारापानी पनि गए। तर, गाउँ रित्तोरित्तो देखेर त्यहाँ अडिन सकेनन्। उनलाई चिन्ने–जान्ने पुस्ता पनि गाउँमा एउटै भेटिएन। आफ्नो देशमा राजपरिवार खलकै मारिएको, राजतन्त्र गएको र गणतन्त्र आएको शासनका अनेक मिहिन कुरा पनि बाहिर छँदै सतहमा मात्रै सुने। पञ्चायत न प्रजातन्त्र वा गणतन्त्र, कहिल्यै पनि कुनै नेतालाई भोट हाल्ने अवसरबाट उनी जहिल्यै बाहिर परे। तैपनि यसबारेमा केही भन्नु थिएन, फेरि पनि भने– माफी मुस्किल!
झण्डै वृद्धभत्ता थाप्ने उमेरमा घर फर्किएका पीताम्बरलाई अझै केही महिना यता फेरिएको नेपाली समाज, राजनीति र चालचलन बुझ्नैमा समय लाग्नेछ। आफ्नो जीवन संघर्ष र यात्रा जो–जस्तो भयो–भयो भन्ने धारणामा आफैसँग ढुक्क छन्। अहँ, पछुतो केहीमा नि छैन। बरु मुड चलेमा, बटौलीमा भेटिने आफन्तलाई इरानी जगतका बारेमा अनेक किस्सा सुनाइरहेका भेटिन्छन्। “उताको खानेकुराको बखान यहाँ जहान–केटाकेटीलाई सुनाउने गरेको छु। मलाई इरानी खाना पकाउन–तुल्याउन भनिरहेका छन्। तर, अब नेपाल आएपछि यतैको ढिँडो–गुन्द्रुक, दालभात खानुपर्छ भनेर म तर्किरहेको छु,” दशैँ रमझमका माझ पीताम्बरले बटौली, रामनगरको आराम–गृहबाट सुनाए, “इरानी स्वाद त मरिगए नि भुल्दिन के रे ! फसेन्सन, जुजे कवाव, कवाव कोबिदे, कवाव बार, काजवी–सुन्नाटी...के खाने ? यी खानपिन सम्झिँदा मात्रै पनि मेरो जिब्रो चनाखो भइहाल्छ।”
यसरी अर्घाखाँचीका पीताम्बर भुसालले अर्कै सिराबाट नचिताएको देश–दुनियाँ देखे। त्योभन्दा बढी उनले संसारकै राम्रा मान्छे र दुनियाँकै मीठो खानपिनको जगतमा रम्न–रमाउन पाए। उनका भोगाइमा स्वादिष्ट खानेकुरा, रूपवती (महिला) र मनोरम हावापानीको हकमा दुनियाँकै दामी ठाउँ हो– इरान।
यही कारण बटौलीका बासिन्दा पीताम्बर भुसाल सबैले सुन्नेगरी, निकै उँचो स्वरमा भनिरहेका छन्– इरान इज द बेस्ट!