Wednesday, May 01, 2024

-->

क्रिकेटर बन्ने सपना त्यागेर भलिबल खेलाडी बनेका कप्तान मानबहादुर

मानबहादुर घरभन्दा ६० किमि टाढा नवलपरासीमा भएको राष्ट्रिय भलिबल प्रतियोगिता हेर्न पुगेका थिए। तर मध्यपश्चिमका एक खेलाडी खेलअघि नै घाइते भएपछि मानबहादुरको जिन्दगीको बाटो नै मोडियो।

क्रिकेटर बन्ने सपना त्यागेर भलिबल खेलाडी बनेका कप्तान मानबहादुर

काठमाडौँ- एक महिनाअघि किर्गिस्तानको बिस्केकमा भएको काभा नेसन्स भलिबल लिगमा नेपाली टोलीको कप्तानी हरिहजुर थापाले गरेका थिए। असोज पहिलो साताबाट चीनको हानझाउ शहरमा हुने १९औँ एशियाली खेलकुद प्रतियोगितामा पनि उनैले कप्तानी गर्ने निश्चितजस्तै थियो।

तर एकाएक हरिहजुर कप्तानबाट बर्खास्त भए। प्रतियोगिताको लागि साउन ४ गते घोषित १२ सदस्सीय टोलीमा त परे, तर कप्तानको जिम्मेवारी भने मानबहादुर श्रेष्ठले पाए।

हरिहजुरको कप्तानी नै खोसिने घटना सातौँ प्रधानमन्त्री कप एनभीए राष्ट्रिय क्लब लिग प्रतियोगितामा भएको थियो। गएको असार २५ गते त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा गण्डकी प्रदेशविरुद्ध भएको खेलमा आर्मीको कप्तान हरिहजुर नै थिए। उक्त खेलमा दर्शकले बोतल प्रहार गरेपछि दर्शकदीर्घामै गएर आर्मीका खेलाडीले दर्शकमाथि मुक्का प्रहार गरेका थिए।

उक्त कार्यमा हरिहजुर सहभागी नभए पनि भलिबल संघले कर्तव्य विमुख भएको भन्दै उनलाई असार ३० गते कप्तानबाट बर्खास्त गर्‍यो। आर्मीकै मानबहादुर श्रेष्ठले त्यो जिम्मेवारी पाएका छन्। २०७१ सालमा राष्ट्रिय टोलीमा डेब्यू गरेका मानबहादुर ११औँ कप्तान बनेका छन्।

यसअघि मानबहादुरसँग आर्मीको कप्तानी गरेको अनुभव छ। तर आफूले यति छिटै कप्तानी पाउँछु भनेर नसोचेको उनी बताउँछन्। उनले उकालोसँग फोनमा भने, “टोलीको कप्तान अर्को हुँदाहुँदै म नै बन्छु भनेर सोच्नु कसरी? त्यस्तो घटना हुन्छ भन्ने नै कल्पना थिएन। जे नहुनु भएपछि टिमको नेतृत्व गर्न सक्छ र सही बाटोमा लैजान सक्छ भनेर मलाई विश्वास गर्नुभयो, यो ठूलो कुरा हो।”

क्रिकेटर बन्ने सपनाको अन्त्य
सन् १९९६ मा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को मान्यता पाएसँगै नेपालले शुरूका १२ वर्षमा धेरै फड्को मारिसकेको थियो। नेपाल सन् २००० को एसीसी ट्रफी प्रतियोगितामा हङकङ, मलेसिया, यूएई र जापानलाई पराजित गर्दै सेमिफाइनल पुगेको थियो। सन् २००२ मा पहिलोपटक एशिया कपमा छनोट भयो। २००८ मा डिभिजन फाइभमा तेस्रो बन्यो। क्रिकेटले फड्को मार्दै जाँदा धेरै खेलाडी चर्चित बन्दै गए। 

क्रिकेटको लोभलाग्दो ‘ग्राफ’ देखेका नवलपरासी कावासोतीका मानबहादुरलाई पनि क्रिकेटर बन्ने रहर जाग्यो। उनी कक्षा ८ सम्म साथीभाइ बटुलेर क्रिकेट खेल्थे। तर लामो समयसम्म क्रिकेटलाई निरन्तरता दिन सकेनन्।

“त्यो बेला फुटबल र क्रिकेट धेरै खेलिन्थ्यो। यिनै खेलको चर्चा धेरै हुन्थ्यो। चर्चित भएकै कारण क्रिकेटमै भविष्य छ जस्तो लाग्यो। विद्यालयमा खुब क्रिकेट खेलियो," उनी भन्छन्, "तर हामीले आफ्नो प्रतिभा विद्यालयभन्दा बाहिर देखाउन पाएनौँ। त्यसैले क्रिकेट छाडेर भलिबलतिर लागेँ।” 

मानबहादुरको उचाइ ८/९ कक्षातिर पुग्दा ५.८ फिट भइसकेको थियो। उनको उचाइ देखेर नवलपरासीको कावासोती बजारस्थित जीवनज्योति माविका खेलकुद शिक्षक नीराजन महतोले क्रिकेट छाडेर भलिबल खेल्न सल्लाह दिए।

नीराजन पनि नवलपरासीमा कहलिएका खेलाडी थिए। त्यसैले मानबहादुर भलिबलतिरै लागे। क्रिकेटभन्दा भलिबलका प्रतियोगिता पनि धेरै हुन्थे। भलिबल सिक्दै गएपछि मानबहादुर यसैमा आशक्त हुन थाले। 

तर उनलाई विद्यालयमा सिकेर मात्र पर्याप्त नहुने लाग्यो। बाहिर पनि अभ्यास गर्न पाए अझै उम्दा हुन सकिन्छ भन्ने उनलाई लाग्थ्यो। तर, बाबुले सानै उमेरमा छाडेका कारण आर्थिक अवस्था राम्रो थिएन।

उनले जुक्ति लगाए। बाटोमा फालिएका मोजा टिप्थे र भित्र कागज तथा थ्रोत्रा लुगा कोचेर भलिबल बनाउँथे। अनि मैदानमा दुई वटा बाँस गाडेर डोरी टाँग्थे र भलिबल सिक्थे। त्यही च्यातिएको मोजाको धागो उनको सपनासँग गासिएको थियो। अनि उनी क्रिकेटतर्फ कहिल्यै मोडिएनन्।

तर उनको स्तरका अरू खेलाडी नहुँदा जीवनज्योति मावि वीरेन्द्र शिल्ड (पछि राष्ट्रपति रनिङ शिल्ड)मा सेमिफाइनलबाट कहिल्यै अगाडि बढ्न सकेन। “हाम्रो टिममा म एक्लैजस्तो खेल्ने भएको कारण विद्यालय विद्यालयबीच हुने प्रतियोगितामा हामी कहिले पहिलो चरणबाटै आउट हुने त कहिले सेमिफाइनलबाट आउट हुने हुन्थ्यो। त्यो खेलेपछि पोखरामा जुनिअर क्षेत्रीय गेममा जान पाइन्थ्यो,” उनी भन्छन्, “टोली अगाडि नबढे पनि २०६५ मा पोखरामा भएको जुनिअर क्षेत्रीय भलिबल प्रतियोगिता खेल्न नवलपरासीबाट छनोट भएको थिएँ।”

त्यसअघि उनले पोखरा कहिल्यै देखेका थिएनन्। पोखरा देख्न पनि पाइने र खेल्न पनि पाइने भएपछि उनलाई भलिबलमा करिअर अगाडि बढ्ला झैँ लाग्न थाल्यो।
“नवलपरासीको हाम्रो टिम पोखरामा विजेता भयौँ। म उत्कृष्ट खेलाडी भएँ। त्यसपछि पश्चिमाञ्चलबाट काठमाडौँ आयौँ र विजेता भयौँ। त्यसमा पनि उत्कृष्ट खेलाडी हुँदा भुइँमा खुट्टा हुन्न थियो,” उनी भन्छन्।

खेल हेर्न गएर कोर्टमै उत्रिए
काठमाडौँबाट जुनिअर राष्ट्रिय भलिबल प्रतियोगिता खेलेर फर्किँदा एसएलसी पनि सकिइसकेको थियो। मानबहादुर कलेज भर्ना हुने तरखरमा थिए। त्यही बेला नवलपरासीमा राष्ट्रिय भलिबल प्रतियोगिता आयोजना हुँदैथियो। प्रतियोगितामा विभागीय टोलीले पनि सहभागिता जनाउँदै थिए। राष्ट्रिय टोलीबाट खेल्ने खेलाडी पनि आउने प्रतियोगिता हेर्न उनका गुरु नीराजनले टिकट काटिदिएर पठाए। 

घरबाट करिब ६० किलोमिटर टाढा आयोजना भएको प्रतियोगिताले उनको जीवन नै बदलिदियो।

प्रतियोगिता खेल्न गएको मध्यपश्चिमाञ्चलका एक खेलाडी खेलअगाडि नै घाइते भएछन्। उनको स्थान लिने खेलाडी खोजिरहँदा मध्यपश्चिमाञ्चलका एक पदाधिकारीको ध्यान मानबहादुरतिर गयो। काठमाडौँमा भएको प्रतियोगिताबाट उनले मानबहादुरलाई चिनेका थिए। “मलाई देखेपछि 'हाम्रो एक खेलाडी घाइते भएको छ, तिमी खेल्न तयार छौ' भनेर सोध्नुभयो। राष्ट्रिय भलिबल प्रतियोगिता खेल्न पाउँदा कसले नाइँ भन्छ र? फुरूङ्ग भएर मैले हुन्छ भन्दिएँ,” उनी भन्छन्। 

उनी मध्यपश्चिमाञ्चलको जर्सी पहिरिएर कोर्टमा उत्रिए। उनको खेल नेपाल पुलिस क्लबका तत्कालीन प्रशिक्षक स्व.सुदेश रिमालले पनि नियालिरहेका थिए। खेलपछि उनले मानबहादुरलाई भने, “विभागमा छिर्छौँ त?”

मानबहादुरले पहिलो भेटमै 'हुन्छ' भन्न सकेनन्। परिवारलाई सोधेर निर्णय गर्ने बताए। पहिला मामामाइजूलाई सुनाए। माइजूले भनिन्, “ओहो भान्जाले पनि तलबमा खेल्ने हुनुभयो। जानुस् जानुस्।” 

त्यसपछि उनी काठमाडौँ ओर्लिएर पुलिसमा आबद्ध भए। उनी करारमा करिब दुई वर्ष पुलिसबाट खेले। पुलिस टिममा परेपछि उनले आर्मी, एपीएफ, गण्डकी र अन्य प्रदेशसँग खेल्ने अवसर पाए।

शुरूशुरूमा १२ जनाको टिममा परे पनि मौका भने पाइहालेनन्। उनी भन्छन्, “म छिर्ने बित्तिकै टिममा परेँ। तर, प्लेइङ सिक्समा परिनँ। त्यति बेला सञ्जय अर्यालजस्ता सिनियर खेलाडी हुनुहुन्थ्यो। बाहिरबाट हेरेर धेरै सिकेँ। धेरै अभ्यास गर्न थालेँ। करिब एकडेढ वर्ष बिताएपछि मात्रै प्लेइङ सिक्समा पर्न थालेँ।”

खेलेकामध्ये दुईचार खेलमा ‘बेस्ट स्पाइकर’को पुरस्कार पाएपछि आर्मीका प्रशिक्षक दीप खड्काको नजरमा परे। दीपले उनलाई आर्मीमै बोलाए। त्यसपछि उनी आर्मीबाट खेल्न थाले। त्यहीँ जागिर पाएपछि उनलाई खेल्न सहज हुन थाल्यो। आर्मीबाट खेलेको करिब एक वर्षपछि मानबहादुर राष्ट्रिय टिमको महत्त्वपूर्ण सदस्य बने। २०७१ मा बंगलादेशमा भएको एशियाली सेन्ट्रल जोन भलिबलमा उनले बंगलादेशविरुद्ध राष्ट्रिय टोलीमा डेब्यू गरे।

नेपाली पुरुष भलिबल टोलीले २०७३ चैतमा माल्दिभ्समा सम्पन्न एसियाली सेन्ट्रल जोन भलिबलमा कास्य पदक जित्दा मानबहादुर टोलीका महत्त्वपूर्ण सदस्य थिए। त्यस प्रतियोगितामा नेपाली टोलीले पदक मात्रै जितेन, इतिहास नै कायम गर्‍यो। 

सन् १९७६ मा पाकिस्तानमा काइदे आजम च्याम्पियनसिपबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाउन थालेको पुरुष भलिबल टिमले सन् १९७८, १९८२ र १९८६ मा एशियाली खेलकुदमा भाग लिएको थियो। सन् १९८७ को तेस्रो दक्षिण एसियाली खेलकुद (साग)देखि नियमित रूपमा सहभागिता जनाउँदै आए पनि पुरुष भलिबलमा अन्तर्राष्ट्रिय पदक आएको थिएन। अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन थालेको करिब ४१ वर्षपछि नेपालले माल्दिभसलाई पराजित गर्दै कास्य हात पारेको थियो। मानबहादुरले ‘बेस्ट आउट साइड हिटर’ को उपाधि पाए।

त्यसपछि आर्मीले उनको काँधमा कप्तानी जिम्मेवारी थपिदियो। घरेलु प्रतियोगितामा अब्बल मानिएको आर्मीले उनको कप्तानीमा राखेप च्याम्पियनसिप, प्रधानसेनापति कप र एनबीए कपको उपाधि उचाल्यो।

त्यसपछि नेपालले चौँथो एशियाली सेन्ट्रल जोन भलिबलमा पनि सहभागिता जनायो। तर राम्रो प्रदर्शन गर्न सकेन। नेपाली टोलीले आशा गरिएअनुरूप प्रदर्शन नगरे पनि मानबहादुरले माल्दिभ्सका विपक्षी खेलाडी ओली हुजामको मन जिते। उनले आफूले पाएको पदक मानबहादुरलाई दिए। 

पैसाको लोभले खोसिएको कप्तानी र राष्ट्रिय टोलीमा स्थान
करिअरले उचाइ लिँदै गर्दा मानबहादुर आफूले आफैँलाई प्रमाणित गर्न चाहन्थे। उनले अन्तर्राष्ट्रिय प्रतियोगिता खेले पनि छैटौँ र सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता खेलेका थिएनन्। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुखैमा उनलाई विदेशमा गएर आफूलाई प्रमाणित गर्न मन लाग्यो। त्यही धुनमा उनले २०७६ मा आर्मीको कप्तानी गुमाए भने राष्ट्रिय टोलीको स्थान पनि। 

जापानमा एक च्यारिटी खेल खेल्दा उनले करिब ५ लाख कमाए। तर गणमा कागजी प्रक्रिया नमिलाइ जापान घुमेको निहुँमा उनी कारबाहीमा परे। ६ दिन जापान बसेपछि आर्मीले दुई वर्षसम्म तलब ग्रेड नबढ्ने गरी कारबाही गर्‍यो। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नै राष्ट्रिय टोलीको छनोट प्रतियोगिता भएको कारण उनले स्थान बनाउन सकेनन्। नेपालमै भएको पाँचौँ संस्करणको सेन्ट्रल जोन र १३औँ दक्षिण एसियाली खेलकुद (साग) पनि खेल्न पाएनन्। उक्त सागमा उनले ‘बिच भलिबल’ भने खेल्न पाए। 

त्यसैगरी, सेन्ट्रल जोन भलिबल प्रतियोगिता पनि मानबहादुरले त्रिपुरेश्वरस्थित कभर्डहलको दर्शकदीर्घामा बसेर हेरे। त्यति बेला कोर्टमा नेपाली टोलीले अंक गुमाइरहँदा दर्शकदीर्घामा बसेका मानबहादुरको आँखा रसाइरहेको हुन्थ्यो। हरेकपटक नेपालले अंक गुमाउँदा दर्शकहरू मानबहादुरको पक्षमा खुब नारा लगाइरहेका थिए।
“एनभीएले पहिल्यै आठौँ (राष्ट्रिय खेलकुद)बाट सेलेक्सन गर्ने भनेको थियो, तर मैले खेलिनँ। विभागले नमान्दा नमान्दै गएको हुँदा मलाई कुनै गुनासो थिएन,” उनी भन्छन्। 

२०७५ सालमा इन्डोनेसियामा भएको एशियन गेम्स खेलेका उनी त्यसको तीन वर्षपछि बंगलादेशमा आयोजना भएको एशियन मेन्स सिनियर सेन्ट्रल जोन भलिबल च्याम्पियनसिप कपमार्फत टोलीमा फर्किए। त्यसयता उनी नियमित राष्ट्रिय टोलीमा पर्दै आएका छन्।

मानबहादुरको अबको लक्ष्य नेपाललाई कुनै पनि प्रतियोगितामा उपाधि दिलाउने छ। नेपाली महिला टोली पछिल्लो समय लगातार उत्कृष्ट लयमा रहे पनि पुरुष टोलीले त्यस्तो लय समाउन सकेको छैन।

गत महिनामात्रै हरिहजुरको कप्तानीमा रहेको नेपाल काभा नेसन्समा ६ खेलमै जितविहीन भएको थियो। त्यसयता नेपालले अन्तर्राष्ट्रिय मञ्चमा कुनै प्रतियोगितामा सहभागिता जनाएको छैन। अब नेपालले १९औँ एशियाली खेलकुद खेल्ने छ। एशियाली खेलकुदलाई अनुभव बटुल्ने माध्यमको रूपमा लिएका मानबहादुरको लक्ष्य भने यसपछिका कुनै पनि प्रतियोगितामा उपाधि जित्ने छ। 

“५ वर्षअगाडी हामी तेस्रो भएका थियौँ। त्यसपछि हामीले अन्तर्राष्ट्रिय स्तरमा धेरै प्रतियोगिता खेल्यौँ। तर उपाधि जित्न सकेको छैन। मेरो कोशिश आफ्नै कप्तानीमा देशलाई उपाधि दिलाउने नै रहने छ। आशा छ त्यो पूरा गर्छु,” उनी सुनाउँछन्।


सम्बन्धित सामग्री