दश पटक सगरमाथाको सफल आरोहण गरेकी लाक्पा शेर्पाको भोगाइमा आधारित वृत्तचित्र हो– माउन्टेन क्विन। शेर्पा समुदायका आरोहीले भोग्नुपर्ने कष्टको कथा हो यो वृत्तचित्र।
माउन्टेन क्विनकी मुख्य पात्र लाक्पा शेर्पा हुन्। उनकी ‘आइडल’ पासाङ ल्हामु हुन्। पासाङबाट प्रेरित भएर लाक्पा पनि हिमाल चढ्न थालिन्। संयोग मान्नुपर्छ, पासाङमाथिको वृत्तचित्र ‘पासाङ : द स्याडो अफ एभरेस्ट’ पनि यसै साल सार्वजनिक भएको छ। यी दुवै वृत्तचित्रले हिमाल चढ्ने महिलाको अठोट र आत्मविश्वासलाई लोभलाग्दो तरिकाले पस्किएका छन्।
माउन्टेन क्विनमा लाक्पाले भनेकी छन्, “हिमाल आरोहण खतरनाक हो तर म छाड्ने छैन।...मसँग हिम्मत छ, म साहसी छु।”
वृत्तचित्रमा हिमाल आरोहण पृष्ठभूमि मात्र हो। वास्तविक कथा त कठिन हिमाली भेगमा हुर्किएका महिलाले भोग्नुपरेका पारिवारिक, सामाजिक र आर्थिक पक्षको हो। उनीहरूले समाजमा झेलेका आरोह–अवरोहले बेलाबेला दर्शकका आँखा टिल्पिलाउँछन्। आँसु कहिले दुःख देखेर रसाउला, कहिले खुशीले। जब वृत्तचित्रमा लाक्पाले दशौँ पटक चुचुरोमा पाइला राखिन्, मेरा आँखा पनि गौरवले रसाएका थिए।
लाक्पा हिमालको काखमा जन्मिइन्। अग्लाअग्ला सेताम्मे हिमाल हेर्दै हुर्किइन्। र सपना देखिन्– एकदिन संसारको अग्लो चुचुरो चुम्छु।
हिमाल चढ्ने सपना र अठोटका कारण उनको भेट एक विदेशी आरोहीसँग हुन्छ। उनको नाम हो, जर्ज डिज्मरेस्कु। उनीहरूको भेट आत्मीयतामा परिणत हुँदै पछि विवाहसम्म पुग्छ। लाक्पाको प्रेममा परेका जर्जले उनलाई नेपालबाट अमेरिका बोलाउँछन्। दुई जना मिलेर संसारका अग्लाअग्ला हिमाल चढ्ने जर्जको सपना हुन्छ। हिमाल चढ्न भनेपछि हुरूक्क हुने लाक्पाले उनको प्रस्ताव सहजै स्वीकार गर्छिन् र अमेरिका पुग्छिन्।
जर्जसँगको सम्बन्धबाट लाक्पाले नाफाघाटा दुवै व्यहोर्नुपर्यो। यो सम्बन्धले एकातिर हिमाल चढ्ने उनको सपनालाई साकार पारिदियो, अर्कातिर आफ्नो अगाडि पीडाको हिमाल खडा गरिदियो।
उनले श्रीमान्बाट अनगिन्ती घरेलु हिंसा व्यहोरिन्। आफूले आदर्श ठानेको एउटा पर्वतारोही समयक्रममा रिसाहा मान्छेमा परिणत भएको लाक्पा बताउँछिन्। हिमाल आरोहणका क्रममा एकपटक जर्जले लाक्पालाई मराणासन्न हुनेगरी कुट्छन्। त्यो कुटाइ यति भयानक हुन्छ कि छेउछाउका टेन्टमा बस्नेहरूले समेत सुन्छन्। लाक्पा अचेत हुन्छिन्, जर्जले उनको शरीर घिसार्दै टेन्ट बाहिर ल्याउँछन् र चिच्याउँछन्, “यो फोहोरको थुप्रोलाई बाहिर मिल्काइदेऊ।
लाक्पाले जर्जलाई हिमालको शत्रुवत् मौसम र बन्दुकको गोलीसँग तुलना गर्छिन्। उनले भनेकी छन्, “ऊ मेरो यती हो, ऊ मेरो राक्षस हो।”
वृत्तचित्र अवधिभर लाक्पा बारम्बार श्रीमान्ले आफूलाई दिएको यातना उल्लेख गर्छिन्। “उसले मलाई यस्तो व्यवहार गर्यो, मानौँ म उसका लागि कोही पनि होइन। म यति धेरै रोएँ, मेरा आँखा ओभाना थिएनन्,” उनले भनेकी छन्।
सन् २००८ मा माइकल कोडासको ‘हाई क्राइम’ नामक पुस्तक प्रकाशित भयो, जसमा जर्जले लाक्पामाथि देखाएको हिंस्रक व्यवहारबारे उल्लेख छ। त्यसले दुई दम्पतीको सम्बन्धमा झन् दरार आयो। जर्जले लाक्पालाई बारम्बार कुट्न थाले र आइन्दा हिमाल नचढ्न आदेश दिए।
जर्जले जतिसुकै कष्ट दिए पनि श्रीमान्प्रति लाक्पाको प्रेम अथाह छ। जर्ज क्यान्सरले थलिएका बेला लाक्पाले कत्ति पनि झिँजो नमानी उनको स्याहार गर्छिन्– कपाल कोरिदिन्छिन्, मालिस गरिदिन्छिन्, श्रीमान्लाई मनपर्ने ‘चेरी’ ख्वाइदिन्छिन्। सन् २०१० मा जर्जलाई क्यान्सर देखिएको थियो। त्यति बेला उनलाई बचाउन आफू जस्तोसुकै मद्दत गर्न पनि तयार रहेको लाक्पा बताउँछिन्।
हुन त जर्जप्रति लाक्पाको प्रेम शुरूआतदेखि नै देखिन्छ। जर्ज कहाँका नागरिक हुन् भन्ने पनि थाहा नभई लाक्पा उनीसँग नजिकिन्छिन्। गोरो छाला भएका कारण अमेरिकी हुन् कि भन्ने उनको शुरूआती अनुमान थियो। सबै गोरा अमेरिकन हुँदैनन् भन्ने उनलाई के थाहा! त्यतिबेला नेपालमा, खासगरी ग्रामीण भेगमा सेतो छाला भएका र अंग्रेजी बोल्नेहरू अमेरिकन भइहाल्थे। तर उनी रोमानियाका रहेछन् भन्ने लाक्पाले धेरैपछि मात्र थाहा पाइन्।
जर्जले सानो उमेरमा नै रोमानियाका तत्कालीन तानाशाह निकोलस चौचेस्कुको शासनबाट उम्कन डेन्यूब नदी पौडेर सीमा पार गरेर इटली पुगेका रहेछन्। त्यहाँ अस्थायी राजनीतिक शरणार्थी भएर अन्ततः शरणका लागि अमेरिका पुगेछन्। शायद जर्जको यो आघात उनले लाक्पामाथि देखाएको रिस र हिंसाका कारक थिए।
अमेरिकाको ‘सेन्टर फर डिजिस कन्ट्रोल एन्ड प्रिभेन्सन’का अनुसार अमेरिकामा हरेक चार महिलामा एक जनाले जीवनमा आफ्नो पार्टनर (वैवाहिक वा अवैवाहिक)बाट शारीरिक, लैंगिक वा मानसिक हिंसा भोगिरहेका हुन्छन्। विश्वको तथ्यांक हेर्ने हो भने हरेक तीन महिलामा एक जनाले हिंसा भोगिरहेका हुन्छन्।
नेपालजस्तो पितृसत्तात्मक मुलुकमा महिलालाई ‘पीडा सहनुपर्छ’ भनेर हुर्काइएको हुन्छ। ‘युरोपियन इन्स्टिट्युट फर जेन्डर इक्वालिटी– २०२२’ को रिपोर्टअनुसार युरोपियन मुलुक रोमानिया महिला हिंसाको सन्दर्भमा बद्नाम छ। रोमानियन समाजमा पनि नेपालमा जस्तै महिलाको काम घर र परिवारको देखभाल गर्ने हो भन्ने मान्यता छ। दूरीका हिसाबले नेपाल र रोमानिया टाढा भए पनि सामाजिक मान्यता उस्तैउस्तै रहेछन्। यो चपेटामा लाक्पा पनि परिन्।
बाबु आमाको सम्बन्धले बालबच्चालाई प्रभाव पार्छ। खासगरी शारीरिक वा मानसिक हिंसा प्रत्यक्ष देखेमा बालबच्चामा तनाव हुने र उनीहरू लागुपदार्थको लतमा फस्ने अध्ययनहरूले बताउँछन्। लाक्पाकी जेठी छोरी कम बोल्ने र एकान्तपन रुचाउने स्वभावकी छन्। जेठी छोरीले बाबुको क्रूरता देखिरहेकी हुन्छे तर विरोध गर्न सक्दिन। लाक्पा बारम्बार आफ्नी छोरीलाई खुशी हुन आग्रह गर्छे। वृत्तचित्रमा लाक्पाकी जेठी छोरीले भनेकी छ, “बच्चाहरूले यस्ता झगडा हेर्नु हुँदैन। बच्चाका लागि यो दर्दनाक कुरा हो।”
लाक्पा आफ्नो श्रीमान्, जर्जसँग अमेरिका पुगिन्। सफल आरोही बनिन्। वृत्तचित्र हेर्दै जाँदा लाक्पाको सफलताले शायद क्यान्सर पीडित जर्जलाई ईर्ष्यालु बनाएको हो कि जस्तो लाग्छ। जतिजति लाक्पाले प्रगति गर्दै जान्छिन्, उतिउति जर्ज आफ्नी श्रीमतीप्रति क्रुद्ध हुँदै गएको बुझिन्छ। सम्बन्ध झन्झन् बिग्रन थाल्छ। वैवाहिक सम्बन्ध बिग्रँदै गर्दा लाक्पाको मनमा ‘म जर्जको ९ सफल आरोहणको रिकर्ड तोड्छु’ भन्ने भावना पलाउँछ। लाक्पाको महत्त्वकांक्षाबाट सहजै बुझ्न सकिन्छ, उनी जर्जको अहंलाई धुलिसात् पार्न चाहन्छिन्।
समाजशास्त्रमा ‘एकल्चरेसन’ सिद्धान्तअनुसार आप्रवासीले नयाँ ठाउँमा सामाजिक र पारिवारिक सहयोग नपाउँदा र ‘सोसल क्यापिटल’मा कमी हुँदा वा पूर्णरूपले टुट्दा कमजोर महसुस गर्छन्। उनीहरू थप एक्लोपन महसुस गर्छन्। त्यसमाथि विभिन्न सीमितताले सधैँ असुरक्षित महसुस गर्छन्। भाषामा पकड हुँदैन। पैसाको अभाव हुन्छ। नयाँ समाजमा पूर्णरूपमा भिज्न सकिँदैन। ‘डिपोर्टेसन’को त्रास हुन्छ। नयाँ समाजमा पुगेकी लाक्पा पनि परको देशमा सधैँ असुरक्षित महसुस गर्छिन्। उनी देश फर्किन चाहिन्छन्।
मातृभूमि छाडेर अर्को देशमा जाँदा जोकसैले मानसिक रूपमा असहज महसुस गर्छ। विभिन्न अध्ययनले समेत त्यसलाई प्रमाणित गरेका छन्। राजनीतिक, आर्थिक, पारिवारिक र सामाजिक कारणले नेपाल छाड्नेहरू धेरै छन्। देश छाड्ने बित्तिकै रातारात सुख मिल्दैन। भौतिक सुविधाले मात्र जीवनको हरेक समस्या हल गर्न सक्दैन। आफ्नो परिवार, छरछिमेक, साथीसंगी, भाषा, संस्कृतिले मानिसलाई सुख दिने हो। नयाँ ठाउँमा पुग्दा मानिसले यस्ता चिज गुमाउँछन्।
अहिले हरेक दिन सयौँ मानिसले देश छाड्ने गरेको तथ्यांकले बताउँछ। आर्थिक बोझले थिचिएर धेरै नेपाली विश्वका विभिन्न कुनामा पुगेका छन्। लाक्पा पनि बाध्यताले विदेश पुगेकी हुन्। आफ्नो देशले माया गरे शायद लाखौँ नागरिक आर्थिक बोझले बिदेसिन पर्दैन थियो कि!
वृत्तचित्र हेरिरहँदा राज्यमाथि बारम्बार प्रश्न गर्न मन लाग्छ। राज्यको भूमिकामाथि प्रश्न उठाउन मन लाग्छ। अहिले समाजमा बिदेसिने नेपालीबारे सकारात्मक भाष्य छैन। त्यसलाई चिरेर आफ्ना देशका प्रतिभाशाली व्यक्तित्वहरूलाई आफ्नै देशमा काम गर्ने वातावरण सिर्जना गर्न जरुरी छ।
लाक्पा अमेरिकाको उत्तरपूर्वी प्रान्त कनेक्टिकटको न्यु हेभन शहरमा बस्छिन्। जीवन चलाउन उनी नजिकको एउटा ग्रोसरी स्टोरमा घण्टौँ काम गर्छिन्। उनको अमेरिकी जीवन नेपालको भन्दा तात्त्विक फरक छैन। संसारको सबैभन्दा अग्लो हिमालमा १० पटक पाइला टेकिसकेकी उनको जीवन अझ कति संघर्षपूर्ण छ भनेर देखाउन वृत्तचित्र सफल भएको छ।
सगरमाथाको टाकुरा पुग्नु लाक्पाको ठूलो सफलता हो। एडमन्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथाको आरोहण गरेदेखि आजसम्म ६ हजार ६६४ जनाले सफल आरोहण गरेका छन्। तुलनात्मक हिसाबले सफल आरोही महिलाको संख्या ज्यादै कम छ, झन् एक पटकभन्दा धेरै चढ्ने महिला त नगण्य छन्।
हिमाल आरोहणका भित्री तौरतरिका, घटना र ‘संस्कार’बारे धेरै किताब लेखिएका छन्। त्यहाँ हुने अस्वस्थ प्रतिस्पर्धा, अनैतिक क्रियाकलाप र महिलामाथि भएका दुर्व्यवहारबारे बारम्बार कुरा सुनिन्छ। न्युयोर्क टाइम्सले केही समयअगाडि निर्मल पुर्जाको दुर्व्यवहार सार्वजनिक गरिदियो। महिलाका लागि हिमाल विगतमा पनि सुरक्षित थिएन र अहिले पनि सुरक्षित छैन भन्ने यसले पुष्टि गर्छ।
लाक्पा आफ्नो कर्मभूमिमा जाँगरिलो छिन्। उनको मुहारमा देखिने त्यो ऊर्जाशीलता, त्यो हाँसो, अनि त्यो उत्साह नेपाल आउँदा अझ चुलिएको देखिन्छ। नेपालमा आफ्नी कान्छी छोरीलाई आफन्त भेटाउँदा होस् वा शहर घुमाउँदा, उनी उत्साहित देखिन्छिन्।