Tuesday, April 16, 2024

-->

६३ वर्ष र चार व्यवस्था : कहिले सकिएला कान्ति लोकपथको निर्माण?

नेपाली सेनाले २०१३ सालमा काठमाडौँ–हेटौँडा जोड्ने मुख्यसडकको रूपमा ट्र्याक खोल्न थालेको कान्ति लोकपथ अहिले वैकल्पिक मार्गसमेत हुन सकेको छैन।

६३ वर्ष र चार व्यवस्था  कहिले सकिएला कान्ति लोकपथको निर्माण
सबै तस्वीर : किसन/उकालो

काठमाडौँ– ललितपुर काल्चेका स्थानीय विष्णुप्रसाद घिमिरे (५५) जन्मिनुअघि नै कान्ति लोकपथ (ललितपुर–हेटौँडा सडक) नियमित सञ्चालनमा आएको थियो। घिमिरेले सडक नियमित सञ्चालन भएको भने देख्न पाएनन्। काल्चेमा पहिरो झरेर सडक अवरुद्ध गरेपछि सञ्चालनको दुई–तीन वर्षमा नै बन्द भयो।

सडकबारे आमाले सुनाएको कथा भने उनले अझै सम्झिरहेका छन्। यही सडक भएर राजा महेन्द्रको ‘सवारी’ चलेको थियो। २०१३ सालमा ट्रयाक खोल्न थालिएको सडकको निर्माण २०१६ सालमा सकिएको थियो। त्यसपछि महेन्द्र आफैँ गाडी चलाएर सडक हेर्न आएको आफूले सुनेको घिमिरे बताउँछन्।

स्तरोन्नति हुँदै जानुपर्ने सडकमा अहिले त गाडी गुड्नै छाडिसके। फाट्टफुट्ट चल्ने गाडीले पनि जोखिम मोलेर दर्जनौँ ठाउँमा पहिरो पन्छाउँदै गुड्नुपर्छ। गाडी नचल्ने भएपछि स्थानीयले सडकमै बिस्कुन सुकाउने गरेका छन्। कतै त सडक चरन क्षेत्रजस्तो छ, जहाँ स्थानीयले बाख्रा चराउँछन्।

२०५४ सालमा काल्चेका विष्णुकै घरअगाडि बसपार्क बन्यो। ललितपुरबाट काल्चेसम्म सार्वजनिक सवारी चल्न थाले। पहिरोका कारण त्यहाँभन्दा अघि सडक दुरवस्थामै थियो। २०५७ सालमा पृथ्वी राजपथ अन्तर्गत काठमाडौँ–मुग्लिङ सडकखण्डको कृष्णभिरमा पहिरो गयो। पहिरोले १० दिनसम्म सडक अवरुद्ध भयो। त्यसपछि वैकल्पिक राजमार्गको रूपमा कान्ति लोकपथको चर्चा हुन थालेको विष्णु बताउँछन्।

कान्ति राजमार्ग सडक योजनाका अनुसार यस सडकलाई हेटौँडा–काठमाडौँ जोड्ने वैकल्पिक लोकमार्गको रूपमा विकास गर्न २०५९ सालमा कोरियन सरकारको सहयोगमा विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ। तर काठमाडौँलाई तराई जोड्ने फास्ट ट्र्याक र काठमाडौँ–हेटौँडा सुरुङ मार्गको अवधारणा आएपछि यो सडक प्राथमिकतामा नपरेको योजनाको पछिल्लो समीक्षा प्रतिवेदनमा उल्लेख छ।

ललितपुरदेखि हेटौँडासम्म ९६ किलोमिटर लामो सडकमा अब १० किलोमिटर कालोपत्रे हुन बाँकी छ। तर, यो सडकमा एकतर्फी मात्र सवारी सञ्चालन हुनसक्छ। ललितपुर खण्डमा पर्ने लप्से, टुकुर्चे र काल्चेमा पहिरो जाँदा एकतर्फी सवारी सञ्चालन हुन पनि मुस्किल छ।

यो सडकलाई दुई लेनको बनाउन २०६५/६६ देखि छुट्टै योजना बनाइएको छ। त्यसपछि हरेक वर्ष ५ करोड रुपैयाँ विनियोजन भइरहेको योजनाको प्रतिवेदनमा उल्लेख छ। उक्त बजेटबाट पर्खाल लगाउने, मोड सुधार गर्ने, टीकाभैरवदेखि तीनपानेसम्मको १० किलोमिटर सडक चौडा गर्ने काम भएको पनि उल्लेख छ।

कान्ति लोकपथ मकवानपुर सडकखण्डमा ४१ किलोमिटर कालोपत्रे भइसकेको छ। कालोपत्रे हुन बाँकी सडक ललितपुरमा पर्छ। यस आर्थिक वर्षमा १० मध्ये ६ किलोमिटर कालोपत्रे सक्नेगरी काम अघि बढेको कान्ति राजमार्ग सडक योजनाले जनाएको छ।

सडक स्तरोन्नति गरेर दुई लेन बनाउन भने आर्थिक वर्ष २०७२/७३ मा ठेक्का सम्झौता भएको हो। दिवा एमके हनुमान, दिवा–हनुमान जेभी र बिरुवा एसएल जेभीलगायत सात कम्पनीले फरक–फरक खण्डको ठेक्का लिएका थिए। अन्यले ठेक्का लिएको काम सकाए पनि बिरुवा एसएलले अलपत्र पारेको छ।

बिरुवा एसएल जेभीले ठेक्का प्राप्त गरेको खण्डमा उसले साउथ ललितपुर कन्स्ट्रक्सन (एसएल) लाई कामको जिम्मेवारी दिएको छ। सडक विभागको तर्फबाट सुपरभाइजर रहेका माधवप्रसाद घिमिरे एसएलले सुस्त गतिमा काम गरिरहेको बताउँछन्। करिब ६ किलोमिटर सडक विभिन्न बहानामा सात वर्षमा पनि स्तरोन्नति गर्न नसकेको उनको भनाइ छ।

एसएलका सञ्चालक भगीरथ तिमल्सिना निर्माण व्यवसायी संघ तत्कालीन प्रदेश–३ का महासचिव थिए। उनी नेकपा माओवादी केन्द्रका जिल्ला नेता पनि हुन्। एसएलकै गीता शाही निर्माण व्यवसायी महासंघको केन्द्रीय सदस्य छिन्। राजनीतिक संरक्षणका कारण एसएलले ठेक्का लिएर पनि काममा बेवास्ता गरेको सडक विभागका एक कर्मचारीले बताए।

५० वर्षपछि बन्यो पुल
२०१६ सालमा ललितपुर–हेटौँडा ट्रयाक खुलिसके पनि पुलहरू निकै ढिला गरी मात्र बनेका हुन्। पुल नहुँदा हिँउदमा पहिरो पन्छाएर केही सवारी साधन बागमती तरेर वारपार गर्थे। 

यो सडकमा जम्मा नौ वटा पुल छन्। यीमध्ये ललितपुर र मकवानपुर जोड्ने बगुवास्थित बागमती पुल सडकको ट्र्याक खुलेको ५० वर्षपछि मात्र बनेको हो। यो पुल आर्थिक वर्ष २०६४/६५ मा ठेक्का सम्झौता भई २०६९ मा निर्माण सम्पन्न भएको हो। पप्पु कन्स्ट्रक्सनले निर्माण गरेको ८५ मिटरको पुलको कुल लागत ६ करोड रहेको योजनाको प्रतिवेदनमा उल्लेख छ।

कान्ति लोकपथ बन्न थालेको ६३ वर्ष भयो। २०१३ सालमा नेपाली सेनाले सडक बनाउन थालेको थियो। सडक खन्न शुरू हुँदा राणा शासन ढलेर प्रजातन्त्र आएको ६ वर्ष भएको थियो। त्यसपछि पञ्चायती व्यवस्था आयो। महेन्द्रको ठाउँमा वीरेन्द्र राजा भए। प्रजातन्त्र आयो। वीरेन्द्रपछि ज्ञानेन्द्र राजा भए। त्यसपछि गणतन्त्र आएको पनि १५ वर्ष भइसकेको छ। तर, हेटौँडा जोड्ने मूलसडकको रूपमा बनाउन थालिएको र अहिले वैकल्पिक सडक हुनसक्ने बताइएको कान्ति लोकपथको निर्माण सकिएको छैन।

यो सडकमा अहिले हेटौँडा बजारदेखि जितपुरसम्म दोहोरो तथा जितपुरदेखि ठिंगनसम्म एकोहोरो गाडी सञ्चालन भैरहेका छन्। त्यस्तै ठिंगनदेखि बागमतीसम्म एकोहोरो हल्का सवारी मात्र संचालन हुन्छन्। हिउँदमा ललितपुर खण्डको बगुवादेखि तीनपानेसम्म एकोहोरो र तीनपानेदेखि टीकाभैरवसम्म दोहोरो यातायात सञ्चालन हुन्छ।

खर्च धेरै, उपलब्धि नगन्य 
कान्ति राजमार्ग सडक योजनाका अनुसार आर्थिक वर्ष २०६५/६६ देखि २०७१/७२ सम्ममा यो आयोजनामा ४७ करोड ६९ लाख ७९ हजार ६४० रुपैयाँ खर्च भएको थियो। भौतिक प्रगति भने १६ दशमलव १८ प्रतिशत मात्रै थियो।

२०७२/७३ मा १६ किमि सडक स्तरोन्नति र कालोपत्रे गर्न दुई प्याकेजमा ४० करोड ४४ लाख ४१ हजारमा ठेक्का दिइएको छ। कान्ति लोकपथ ९० किमि ट्र्याक निर्माण, ४५ किमि चौडा र २८ किमि कालोपत्रे गर्न अनुमानित लागत ३ अर्ब ३३ करोड ७१ लाख २४ हजार हो। त्यसमध्ये २ अर्ब खर्च भइसकेको छ।

मकवानपुरतर्फको सडकको मर्मत तथा सुधारको ठेक्का आर्थिक वर्ष २०७४/७५ मा नागार्जुन सर्वशक्ति जेभीले पाएको थियो। मकवानपुरतर्फ कान्ति लोकपथ ५१ किलोमिटर लामो छ। सडक योजना प्रमुख सुरेश न्यौपानेका अनुसार यो सडक खण्डमा पनि ठेकेदार कम्पनीले समयमा नै काम सम्पन्न गर्न सकेन। उनका अनुसार त्यहाँ अहिले ८१ प्रतिशत भौतिक प्रगति छ।

यता ललितपुर खण्डमा कालोपत्रे गर्न सूर्य वाइबा कन्स्ट्रक्सनलाई २०७४/७५ मा ठेक्का दिइएको थियो। ४० किलोमिटर लामो सडक कालोपत्रेको भौतिक प्रगति ७२ प्रतिशत भएको योजना कार्यालयले जनाएको छ। 

पछिल्लोपटक सार्वजनिक खरिद ऐनको १२औँ संसोशन भएपछि ठेक्का अवधि स्वतः एक वर्ष म्याद थप भएको थियो। यसभन्दा अगाडि कोभिड र मूल्यवृद्धिलगायत कारण देखाउँदै म्याद थप भएको कार्यालयको भनाइ छ।

ललितपुर खण्डमा पहिरो नै चुनौती 
बागमती गाउँपालिका–३ भट्टेडाँडा क्षेत्रमा वर्षेनी पहिरो गएर सडक बन्द हुने गरेको छ। पहिरो खसेकै ठाउँबाट ढुंगा र गिट्टी तस्करी हुने गरेको छ। तर, सरकारले पहिरो र तस्करी दुवै रोक्न चासो नदेखाएको त्यहाँका निवर्तनमान वडाध्यक्ष विष्णुप्रसाद तिमल्सिना बताउँछन्।

भट्टेडाँडाकै तल्लो भेगमा बालुवा धुने प्लान्ट सञ्चालनमा छ। यो प्लान्ट गैरकानूनी रूपमा सञ्चालन गरिएको भन्दै स्थानीय प्रशासन र स्थानीय तहमा  बारम्बार पत्राचार गरे पनि सुनुवाइ नभएको योजना प्रमुख न्यौपाने बताउँछन्। उनी भन्छन्, “बालुवा खानीले सडक बिगारेको छ। योजना कार्यालयलाई कारबाही गर्ने अधिकार छैन। हामीले बारम्बार पत्राचार गर्दा पनि कुनै कारबाही हुन सकेको छैन। नामै तोकेर पत्र लेख्दासमेत सुनुवाइ भएन।”

सडक नै बिगार्ने गरी भालुखोला वासिङ नामको बालुवा खानी चलाउन बागमती गाउँपालिका वडाध्यक्ष नवराज खड्कासहितको संलग्नता छ। खड्काले त्यहाँ आफ्नो १५ प्रतिशत लगानी रहेको, तर अहिले बालुवा खानी नचलेको दाबी गरे। “हामीले दर्ता गरेर प्रक्रियागत रूपमा सञ्चालन गरेको हो। यसबाट सडक बिग्रिएको पनि छैन। प्लान्टभन्दा तल वा माथिबाट सडक लैजान हामीले भनेका छौँ”, खड्काले भने। 

तर, बालुवा खानीकै कारण बारम्बार पहिरो गएको योजनाले जनाएको छ। त्यहाँ बलौटे माटो भएकोले बिरुवा रोपेर हरियाली बनाउँदा पनि पहिरो नरोकिएको योजना प्रमुख न्यौपाने बताउँछन्। सरकारले सडकका लागि मात्र बजेट विनियोजन गर्दा पहिरोको समस्या समाधान नभएको उनको भनाइ छ। “सडकका लागि मात्र बजेट हाल्ने काम व्यवहारिक होइन। पहिरोको उच्च जोखिमयूक्त  क्षेत्रमा रक बोल्डिङ विधि अपनाउने तथा अन्य दीर्घकालीन उपाय अपनाउन सकिन्छ,” न्यौपाने भन्छन्।

सडक निर्माण नसकिँदा छैन रुट पर्मिट
१३ वर्षअघि बगुवास्थित बागमती पुल बनेसँगै बाटो छिचोलिएको छ। हिउँदमा सीमित बस र निजी सवारी साधन गुड्छन। अधिकांश समय भने सडक सुनसान हुन्छ। बरु ढुंगा, गिट्टी बोक्ने टिप्परले सडक भत्काइरहन्छन्। सार्वजनिक यातायात चल्न रुट पर्मिट नभएको योजना प्रमुख न्यौपानेको भनाइ छ।

अर्बौँ लगानी भएको सडक निर्माण सम्पन्न हुँदा पनि रुट पर्मिट नपाउनु आश्चर्य भएको न्यौपाने बताउँछन्। उनी भन्छन्, “योभन्दा खराब सडकहरूमा पर्मिट पाएर सार्वजनिक सवारी सञ्चालन भइरहेका छन्। तर, अर्बौँ लगानीको यो सडक बनेको ६ दशकसम्म पनि रुट पर्मिट छैन।” यद्यपि, उनले भनेजस्तो सडक सार्वजनिक यातायात सञ्चालनका लागि योग्य भने छैन।

भौतिक पूर्वाधार मन्त्रालयका प्रवक्ता शिवप्रसाद नेपालका अनुसार रुट निर्धारण गर्न सडकको निर्माण सम्पन्न भएको हुनुपर्छ। सडक बनिसकेपछि यातायात सञ्चालकहरूबाट माग भए रुट निर्धारण हुन्छ। अहिलेसम्म सडक सम्पन्न भैनसकेको र कसैले रुट माग पनि नगरेको हुँदा पर्मिट नदिएको उनले बताए।


सम्बन्धित सामग्री