Saturday, April 20, 2024

-->

सडक छेकेर किन ठिंग उभिइरहेका छन् देवता?

कुनै समय बाटो किनारमा राखिएका मूर्ति तथा मन्दिर अहिले सडकको बीचभागमा आइपुगेका छन्। कतिपय मन्दिरमा विशेष दिन पूजा र भोज हुँदा सडक नै अवरुद्ध हुन्छ।

सडक छेकेर किन ठिंग उभिइरहेका छन् देवता
लैनचौरस्थित मन्दिर। तस्वीर: अमित मचामसी/उकालो

काठमाडौँ– महाराजगन्ज, सोह्रखुट्टे र जमलबाट आउने सडकको मिलन विन्दु हो लैनचौर दोबाटो। यो चोकमा प्रायः सवारी साधनको चाप हुन्छ। तर, सडकको बीचमै रहेको मन्दिरका कारण ट्राफिक व्यवस्थापनमा समस्या हुने गरेको छ।

मन्दिरलाई फलामेबारले घेरिएको छ। लहरै राखिएका पुराना मूर्तिहरूको सुरक्षाका लागि मार्बलको पर्खाल लगाइएको छ। यो मन्दिर स्थानीय ज्यापु समुदायको कुल देवताको भएको इतिहासकार डा. त्रिरत्न मानन्धर बताउँछन्। यहाँ क्वयः बहालका ज्यापु समुदायले पूजा गर्छन्। कुलपूजापछि सडकपेटीमै बसेर भोज खाने चलन छ।

कुनै समय यो मन्दिर समाज कल्याण परिषद् परिसरमा थियो। “मन्दिर जहाँ थियो, त्यहीँ छ। तर, मन्दिर आसपासका संरचना फेरिए,” डा. मानन्धर भन्छन्, “मन्दिर सडकमा बनाएको होइन, सडक मन्दिर परिसरमा पसेको हो।”

सडक विस्तार हुँदा शुरुमा मन्दिर सडकपेटीमा परेको थियो। सडक अझै विस्तार भयो र मन्दिर बीचभागमा पर्‍यो। अहिले मन्दिर वरिपरिको पर्खाल हटाइएको छ।

प्राचीनकालदेखि नै देवीदेवताको मूर्ति बाटो किनारमा रहँदै आएको इतिहासकार मानन्धर बताउँछन्। विभिन्न कालखण्डमा विकासका पूर्वाधार निर्माणले गति लिँदा मन्दिर भएका स्थान फेरिँदै गए। पहिलाका बाटालाई फराकिला सडक बनाइए। मन्दिर पनि सडकमै आइपुगे।

सडकमा जति पनि मूर्ति तथा मन्दिर छन्, प्रायः मल्लकाल (१३औँदेखि १८ वा १९औँ शताब्दी)मा राखिएको मानन्धर बताउँछन्। केही मूर्ति भने प्राचीनकालका पनि रहेको उनको भनाइ छ।

हनुमानढोका दरबार स्क्वायर परिसरदेखि यटखा बहाल हुँदै पूर्वतर्फ देशेमरु झ्याःतर्फ बढ्दा १०० मिटरअघि बाटोमै त्यंग गणेशको मन्दिर पर्छ। सडक किनारमा रहेको मन्दिरको जग्गाजमिन हालसम्म पनि कायम छ। यद्यपि, सडक विस्तारले मन्दिरको सौन्दर्यमा असर परेको पुजारी पुष्परत्न महर्जन बताउँछन्।

त्यंग गणेशको मन्दिर।

“तत्कालीन राणा प्रधानमन्त्री चन्द्रशमशेरले यहाँका स्थानीयलाई जबर्जस्ती हटाएर जग्गा पाण्डेहरूलाई बक्सिस दिएका थिए। त्यतिबेला यो बाटो बग्गी गुडाउन मात्र उचित थियो,” उनले भने, “मन्दिर भने यथास्थानमै रह्यो। सडक विस्तारले मन्दिरलाई भौतिक क्षति नगरे पनि मन्दिरको परिवेश भने प्रदूषित बनाएको छ।”

विशेषतः बच्चालाई रुन्चे लाग्दा, जिद्दी हुँदा र अन्य विभिन्न रोग लाग्दा तथा बालबच्चा हराउँदा यस मन्दिरमा पूजा, आराधना गरे समाधान हुने जनविश्वास रहेको मन्दिरका नाइके धनबहादुर महर्जन बताउँछन्। मन्दिर करिब ५०० वर्ष पुरानो हुनसक्ने उनको अनुमान छ।

दरबार क्षेत्रभित्र र नगरको सीमामा देवल तथा मूर्ति हुनु स्वाभाविक भएको इतिहासकार डा. मानन्धर बताउँछन्। “पहिले बग्गी जाने गरी बाटो बनेका हुन्थे। यस्ता बाटोको दायाँबायाँ मूर्ति राख्ने चलन पनि थियो। कुनै पनि दरबार क्षेत्रमा सडक विस्तार नगरिएका कारण त्यहाँका मूर्ति सकुशल छन्। तर, अन्य ठाउँमा सडक विस्तारका क्रममा मठमन्दिर तथा मूर्ति विस्थापित भएका छन्,” उनी भन्छन्।

लिच्छवि र मल्लकालका व्यवस्थित शहर
लिच्छविकालमा शहर विकास गर्न देवताका मूर्ति स्थानान्तरण गरेर मानव बस्ती व्यवस्थित बनाइएको संस्कृतिविद् डा.सुदर्शनराज तिवारी बताउँछन्। उनी भन्छन्, “शहरका सबै बाटो ज्यामितीय हिसाबले बनेका थिए। चौबाटो चौकको चार कुनामा मूर्ति राखेर कतिपय ठाउँमा मन्दिर पनि बनाउने गरिन्थ्यो। सडक विस्तारका क्रममा चौकका चारै कुनाका मन्दिर तथा मूर्ति प्रभावित भए।”

इतिहासकारहरूका अनुसार काठमाडौँको हाँडीगाँउ लिच्छविकालीन राजधानी हो। यहाँ पुरातात्त्विक महत्त्वका मूर्ति तथा स्मारक धेरै छन्। ढल्कुबाट हाँडीगाउँतर्फ जाँदा काठमाडौँ महानगरपालिका–५ को वडा कार्यालयअघिको सडक किनारामा भीमसेनको सानो मन्दिर छ। उक्त मन्दिरको विपरीतपट्टि संकटाको अर्को मन्दिर छ। यी दुई मन्दिर र यहाँका मूर्ति  लिच्छवि वा मल्लकालीन हुनसक्ने डा. तिवारी बताउँछन्।

वडा कार्यालयबाट अझ अगाडि बढ्दा थतु मार्ग टुंगिने चौबाटोमा भुतेश्वर भैरवको मूर्ति छ। यो मूर्ति दोस्रो वा तेस्रो शताब्दीतिरको हुनसक्ने डा. तिवारी बताउँछन्। जनविश्वास अनुसार, बालबच्चालाई ‘भूत लागे’ यहाँ पूजा गर्ने चलन थियो। भुतेश्वर मन्दिर सोही मूर्तिको जमिनमुनि रहेको जनश्रुति पनि छ।

हाँडीगाउँस्थित भुतेश्वर भैरवको मूर्ति।

हाँडीगाउँका सडक छेकेर ठडिइरहेका मन्दिर तथा मूर्तिहरू लिच्छविकालीन वास्तुअनुसार राखिएको डा. तिवारी बताउँछन्। “विशेषतः जात्रा र पर्वमा बाटोमा रथ अथवा खट रोक्नका लागि चौकका चार कुनामा देवीदेवताका मूर्ति राख्ने गरिन्थ्यो। यसरी राखिएका कतिपय मूर्ति सडक विस्तारको क्रममा हराए। कतिपय अन्यत्रै सारिए। कति भाँचिए। चौडा हुँदै गएको सडकसँगै काठमाडौँ शहरको सभ्यता चिनारी मासिँदै गयो,” उनले भने। 

डा. तिवारीका अनुसार दरबार क्षेत्र परिसर र नगरका सीमामा गरी दुई स्थानमा मन्दिर राखिने गरिन्थ्यो। “नगरभित्र मठमन्दिर, मूर्ति देखिएमा ती दरबार क्षेत्रभित्रका देवता हुन् भन्ने बुझ्नु पर्छ”, उनी भन्छन्, “नगरका सीमामा रहेका देवताको आफ्नै ऐतिहासिक महत्व हुन्छ।” 

सीमा तथा दरबार परिसरका सडकमा पाइने देवीदेवताको मूर्तिको स्थापनाकाल पत्ता लगाइएको छ। ती मूर्तिबाट तत्कालीन समयको ऐतिहासिक तथा समसामायिक पाटोबारे जानकारी पाइने डा. तिवारी बताउँछन्। “ती मूर्तिले ऐतिहासिक कालक्रमको अभिलेखको काम पनि गर्छ।”, उनी भन्छन्।

तिवारीका अनुसार सडक विस्तारको क्रममा लिच्छविकालीन कतिपय शिलालेख भाँचिए, डबली, सत्तल खुँडिए, मूर्तिहरूका मुखाकृति बिग्रिए। अब सडक विस्तार गर्दा पुरातात्त्विक महत्त्वका मठमन्दिर, मूर्ति भत्काउने र स्थानान्तरण गर्नेभन्दा पनि विकासको वैकल्पिक योजना ल्याउनु पर्ने उनी बताउँछन्।

किन हुन्छन् सडकमा देवताका मूर्ति?
मठमन्दिर वा मूर्ति कि अग्ला, कि होचा स्थानमा राखेको पाइन्छ। यस्तो परम्परा हिन्दूमा मात्र नभई बौद्ध धर्ममा पनि छ। गुम्बा र चैत्यहरू त्यसरी नै राखिएका हुन्छन्।

हाँडीगाउँस्थित सडक किनाराको शिवलिङ्ग।

मानव बस्तीबाट केही पर अग्ला वा होचा स्थानमा गुम्बा वा चैत्य हुनुको प्रमुख कारण उक्त स्थानको पवित्रतासँग गाँसिने बौद्ध धर्ममा विद्यावारिधि गरेका डा. अजितमान तामाङ बताउँछन्। यद्यपि, यसमा धर्म सम्प्रदाय विशेषका भिन्न मान्यता हुनसक्ने उनको भनाइ छ।

सडकमा मठमन्दिर अथवा देवीदेवताको मूर्ति रहनुको कारण धार्मिक नै रहेको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। उनी भन्छन्, “हाम्रो धर्ममा केही यस्ता देवीदेवता छन्, जसलाई घर वा मन्दिरभित्र राख्न मिल्दैन। यस प्रकारको देवदेवी अलि डरलाग्दा, रिसाहा प्रकृतिका र बलि लिने किसिमका छन्।” 

यस्ता देवदेवीका मूर्ति खुल्ला आकाशतर्फ फर्काएर राखिने धौभडेलको भनाइ छ। “परम्पराअनुसार यस्ता देवीदेवतालाई दोबाटो, चौबाटोमा पाइन्छ वा स्थापना गरिन्छ। यस्ता धार्मिक स्थलमा हामी नकारात्मक ऊर्जालाई मन्साउने पनि गर्छौं,” उनले भने। 

घरको मूलढोकामै हुने पिखालाखु
नेवार समुदायको घरको मूलढोकाअघि सानो गोलाकार ढुंगा पुजिएको पाइन्छ, जुन देउतालाई पिखालाखु अर्थात् ‘घरको क्षेत्रपाल’ भनिन्छ। पिखालाखुले घरभित्र नकारात्मक शक्ति प्रवेश गर्न रोक्ने जनविश्वास छ। मूलढोकाअघि हुने भएकाले यसको सम्बन्ध पनि सडकसँगै हुन्छ।

बागबजारको बज्रवीर गल्लीका घरका मूलढोकाअघि लस्करै पिखालाखु छन्। सानो गल्लीमा गाडी पनि छिर्छन्। गाडीका लागि सडक फराकिलो पार्दा अहिले पिखालाखुको स्थान हराउन थालेको यहाँका स्थानीय बताउँछन्। अहिले हरेक घरले सानो ढुंगा वा इँटालाई त्यहाँका स्थानीयले पिखालाखुको रूपमा पुज्ने गरेका छन्।

त्यंगलमा पसल जाने बाटो छेकेर उभिएको मन्दिर।

नेवाः सभ्यता शुरु भएसँगै पिखालाखुले मूलढोकाअघि स्थान पाएको संस्कृतिविद् ओम धौभडेल बताउँछन्। तर, बढ्दो शहरीकरण र सडक विस्तारले यस्ता पिखालाखुको महत्त्व घट्दै गएको उनको भनाइ छ। गल्ली फराकिला सडक बन्दा पिखालाखु संकटमा परेका हुन्।

सूर्यविनायक निवासी संस्कृतिविद् तेजेश्वर बाबु ग्वंगको घरअघिको पिखालाखु सडक विस्तारको क्रममा बिनासूचना हटाइएपछि उनी रुष्ट बनेका छन्। संस्कृतिविद् धौभडेल भन्छन्, “विकास आजको आवश्यकता हो, यससँगै सांस्कृतिक–सामाजिक जीवनशैलीसँग जोडिएका यस्ता मूर्त वा अन्य अमूर्त सम्पदाको विषयमा सम्बन्धित निकाय जानकार तथा सचेत हुनुपर्छ।” 

दिगो र व्यवस्थित विकास योजनाको कमी
कुनै सांस्कृतिक सम्पदा समाप्त गर्नका लागि विकासका काम नगरिने सडक विभागका पूर्वमहानिर्देशक इन्जिनियर शिवहरि सापकोटा बताउँछन्। उनी भन्छन्, “केही दशकयता ७७ जिल्लाका मानिसको अधिक बसाइँसराइ काठमाडाँैमा भयो। जनघनत्व बढेसँगै नयाँ घर, सवारी र ट्राफिकको चाप पनि बढ्छ। अनि सडक विस्तारको आवश्यकता हुन्छ।”

दिगो विकासको योजना व्यवस्थित नहुँदा कतिपय पुरातात्विक क्षेत्रका सम्पदा मासिएको उनको भनाइ छ। “कोर एरियाको बस्ती आफैँमा सम्पदा हो। त्यहाँको सडक विस्तार गर्नु नै गल्ती भयो कि भन्ने लाग्छ। जबकि, त्यसको विकल्प खोज्न सकिन्थ्यो,” उनी भन्छन्, “व्यवस्थित दिगो विकासको योजना नहुँदा आज धेरै पुरातात्विक महत्वका मठमन्दिर, मूर्तिको अवस्था यस्तो हुन पुग्यो।”

सडक विस्तार गर्न पुरातात्विक महत्वका वस्तुलाई विशेष ध्यान दिनुपर्ने उनको भनाइ छ। इतिहासकार डा. मानन्धर पनि विकासका पूर्वाधार निर्माण गर्दा ऐतिहासिक मन्दिर वा मूर्तिलाई जोगाउने गरी योजना बनाउने वा त्यस्ता सम्पदा सुरक्षित स्थानान्तरण गरिनुपर्ने बताउँछन्।


सम्बन्धित सामग्री