Friday, May 23, 2025

-->

खेलाडीको जर्सी र प्लेइङ किटमै ‘कमाउ धन्दा’ चलाउँछन् एन्फा पदाधिकारी

अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारीले खेलाडीका लागि जर्सी र खेल सामग्री किन्दा आपूर्तिकर्तालाई नै आफ्नो खल्ती भर्न कसरी बाध्य पार्छन्? एन्फाभित्रको बेथिति झल्काउने एउटा केस स्टडी:

खेलाडीको जर्सी र प्लेइङ किटमै ‘कमाउ धन्दा’ चलाउँछन् एन्फा पदाधिकारी

काठमाडौँ— “एन्ड रेस्ट हि मेड अ डिल सेइङ टु सेन्ड द इमेल टु एन्फा द्याट वी विल बी स्पोन्सरिङ वान्ली १५ पर्सेन्ट इन बिट्वीन एन्ड टु गिभ द रेस्ट अफ द २० पर्सेन्ट टु हिम् इन द रेस्टुरेन्ट इन ठमेल नेम्ड अस्ट्रेक पार्क... द डिल वाज मेड, नट गिभन सो द क्यास वाज नट डेलिभर्ड टु हिम्। इट्स अन पेन्डिङ।”

यो शेर्पा आउटडुअर स्पोर्ट्स गुड्स इन्डस्ट्रिज प्रालिका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निमा शेर्पाले आफ्नै कम्पनीका प्रतिनिधि राजु सिंहलाई ह्वाट्सएपमा पठाएको मेसेज हो। शेर्पा आउटडुअर अखिल नेपाल फुटबल संघ (एन्फा)लाई राष्ट्रिय फुटबल टिमका खेलाडीका लागि जर्सीलगायत खेल सामग्री आपूर्ति गर्ने जिम्मा लिएको कम्पनी हो जसले ‘केटीएम सिटी’ ब्रान्डका खेलकुद सामग्री उत्पादन गर्छ।

मेसेजमा शेर्पाले अर्का व्यक्तिको नाम नखुलाई उनीसँग ‘१५ प्रतिशत रकम मात्र आफूहरूले प्रायोजन गर्ने भनेर अखिल नेपाल फुटबल संघ (एन्फा)लाई इमेल गर्ने, प्रायोजनको बाँकी २० प्रतिशत रकम ठमेलको अस्ट्रेक पार्क रेस्टुरेन्टमा भेटेर उनैलाई नगद नै दिने’ सहमति भएको उल्लेख गर्दै तर एन्फाबाट भुक्तानी नभएकाले नगद नबुझाएर पेन्डिङ रहेको उल्लेख गरेका छन्।

२०७७ सालमा एन्फाले वार्षिक चार करोड २३ लाख ८७ हजार रुपैयाँका खेलकुद सामग्री खरिद गरेमा शेर्पा आउटडुअरले त्यसको ३५ प्रतिशत रकम एन्फालाई प्रायोजन स्वरूप नगद दिने सम्झौता भएको थियो। उल्लिखित मेसेजले प्रायोजनबापत एन्फालाई नगद दिनुपर्ने यो रकममध्ये २० प्रतिशत अरूले नै बुझ्न खोजेको देखाउँछ।

योभन्दा अघि र पछिका घटनाक्रम र कागजातले एन्फाले पाउनुपर्ने रकम हात पार्न खोज्ने व्यक्ति अरू कोही नभई एन्फाकै महासचिव किरण राईलाई इंगित गर्छन्। राजु सिंह तिनै व्यक्ति हुन् जो एन्फाले शेर्पा आउटडुअरलाई खेलकुद सामग्री आपूर्ति गरेबापत दिनुपर्ने भुक्तानी नदिँदा उत्पन्न समस्या सुल्झाउन शेर्पा आउटडुअरले नियुक्त गरेका प्रतिनिधि हुन् जो आफूलाई एन्फामा राम्रो सम्बन्ध भएको बताउने गर्थे। 

एन्फाको बेथिति नियाल्ने त्यो सम्झौता
२०७७ सालमा एन्फाले राष्ट्रिय टोलीका फुटबल खेलाडीका लागि खेलकुद सामग्री आपूर्ति गर्न इच्छुक कम्पनीलाई सार्वजनिक सूचनामा जारी गरेपछि शेर्पा आउटडुअरसहित जेएनएस इन्टरनेसनल प्रालि, लेबल स्टोर प्रालि र आक्साम ग्लोबल इम्पोर्टले प्रतिस्पर्धामा भाग लिएका थिए। तीमध्ये सस्तो र गुणस्तर भएको निष्कर्षसहित शेर्पा आउटडुअरको प्रस्ताव स्वीकृत गरियो। बोलपत्र प्रक्रियासँग सम्बन्धित कुनै कमिसन, उपहार वा शुल्क नलिने प्रस्तावमा उल्लेख गरेको शेर्पाले सम्झौताको आधार बलियो बनाउन राष्ट्रिय वाणिज्य बैंकमार्फत २०७७ फागुन १९ गते १३ लाख ६९ हजार ३७२ रुपैयाँको बैंक ग्यारेन्टीसमेत एन्फालाई बुझायो। अनि एन्फा र शेर्पा आउटडुअरबीच फागुन २४ गते सम्झौता भयो।

एन्फा र शेर्पा आउटडुअरबीचको पहिलो सम्झौतापछिको दृश्य। तस्वीर : केटीएमसिटीडट्कम

तीन वर्षका लागि, २०८० फागुन २५ सम्म लागू हुने उल्लेख गरिएको सम्झौतामा दुवै पक्षले आपसी समझदारीमा हरेक वर्ष सम्झौता नवीकरण गर्ने विकल्प खुला राखिएको थियो। जसअनुसार शेर्पा आउटडुअरले वार्षिक चार करोड २३ लाख ८७ हजार ४३० रुपैयाँका खेलकुद सामग्री एन्फालाई आपूर्ति गर्ने, त्यसबापत शेर्पा आउटडुअरले प्रायोजनका रूपमा वार्षिक एक करोड ५० लाख रुपैयाँ (नगद नै) एन्फालाई दिने। 

सम्झौतामा एन्फाका तत्कालीन महासचिव इन्द्रमान तुलाधर र शेर्पा आउटडुअरका प्रतिनिधि रविन केसीको हस्ताक्षर छ। तुलाधर भन्छन्, “हामीले एन्फाको अवस्था, खेलाडीको सहजता लगायतलाई विचार गरेर गुणस्तर पनि भएको र सस्तो पनि भएपछि शेर्पा आउटडुअरसँग सम्झौता गरेका थियौँ।” 

२०७८ चैत ६ (२०२२ मार्च २०) मा एन्फा र शेर्पा आउटडुअरबीच सम्झौता अवधि २०२२ मार्च ८ देखि २०२३ मार्च २० सम्म एक वर्षका लागि थप्ने अर्को सहमति भयो जसमा एन्फाबाट तुलाधर र शेर्पा आउटडुअरबाट सीईओ निमा शेर्पाले हस्ताक्षर गरेका छन्। सम्झौतामा खेलकुद सामग्रीको मूल्य पुनः निर्धारणसम्बन्धी समझदारी गरिएको उल्लेख भए पनि मूल्य के आधारमा निर्धारण गर्ने भन्नेबारे अस्पष्टता हुँदा त्यसबेला नै एन्फाका केही पदाधिकारी र कर्मचारीले प्रश्न उठाएका थिए। एन्फाका एक कर्मचारी भन्छन्, “सार्वजनिक निकायले गरेका सम्झौतामा पारदर्शिता र जबाफदेहिताको अपेक्षा गरिन्छ। अस्पष्ट सम्झौताबारे प्रश्न गर्दा हामीलाई उल्टै धम्क्याइयो।” 

नभन्दै यही अस्पष्टताले त्यसपछि जटिलता थप्दै गयो। जटिलता फुकाउन २०७९ मंसिर १९ (२०२२ डिसेम्बर ५) मा अर्को सम्झौता गरियो जसमा ‘ड्रेनिङ बल पियु’ नामको उत्पादनको मूल्य पुनः निर्धारणलाई केन्द्रमा राखिएको छ। “पुनः निर्धारित मूल्यअनुसार ड्रेनिङ बल पियुको नयाँ मूल्य नेपाली रुपैयाँ एक हजार २०० (भ्याटसहित) तय गरिएको छ,” सम्झौतामा लेखिएको छ। 

यो सम्झौता हुँदासम्म एन्फाको टिम फेरिइसकेको थियो। अध्यक्ष पंकजविक्रम नेक्वाङको प्रस्तावमा २०७९ असार ८ गते बसेको नवनिर्वाचित एन्फा कार्यसमितिको पहिलो बैठकले किरण राईलाई महासचिव नियुक्त गरेको थियो। सम्झौतामा राई र शेर्पा आउटडुअरका सीईओ निमा शेर्पाको हस्ताक्षर छ। 

कागजात केलाउँदा शेर्पा आउटडुअरले पहिलो सम्झौतालगत्तै खेलकुद सामग्री आपूर्ति गर्न थालेको, त्यसपछि १९ महिनासम्म एन्फालाई निरन्तर खेलकुद सामग्री आपूर्ति गरेको देखिन्छ। शेर्पा आउटडुअरका वर्तमान सीईओ सविन महत भन्छन्, “एन्फाबाट खेलकुद प्रतियोगिता आइसकेकाले सामान दिनुपर्‍यो भनिन्थ्यो, ढिलो हुँदा खेलाडी र प्रतियोगितामै असर पर्न सक्छ भनेर हामी तुरुन्तै सामान पठाउँथ्यौँ। तर सामान पठाइसकेपछि भुक्तानीका लागि एन्फालाई कैयौँ पत्र लेख्नुपर्‍यो। तैपनि समयमै एन्फाबाट भुक्तानी आएन।” 

एन्फाले शेर्पा आउटडुअरसँग सम्बन्धित कारोबारबारे गरेको निर्णय।

यसले एन्फा र शेर्पा आउटडुअरबीच अविश्वास बढाउँदै गयो। एन्फाले भने अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट रकम नआएकाले भुक्तानी गर्न नसकेको दाबीसहित शेर्पा आउटडुअरलाई पत्र लेखेको देखिन्छ। तर एन्फाका कर्मचारी भने आफ्नो ढिलासुस्ती फिफामा थोपर्ने प्रयास एन्फा पदाधिकारीहरूले गरेको बताउँछन्। “नेतृत्वले आफ्नै वैकल्पिक व्यवस्था पनि गर्नुपर्‍यो नि। त्यसो नगर्नुको स्वार्थ के हो बुझ्न सकिएन,” एक कर्मचारीले भने। 

एन्फाले खेलकुद सामग्री आपूर्ति गरेबापत शेर्पा आउटडुअरलाई कहिलेसम्म कति रकम भुक्तानी गर्नुपर्ने हो भन्नेबारे छलफल गरेको, बिलको रेकर्डसमेत राखेको देखिएन। बरु प्रायोजनबापतको रकम चाहियो भन्दै शेर्पा आउटडुअरलाई दबाब दिएको देखिन्छ। सम्झौताअनुसार प्रायोजनको दायित्व पूरा नगरेको आरोप लगाउँदै एन्फाले २०८० जेठ ३० गते शेर्पा आउटडुअरलाई पत्र लेखेर प्रायोजनबापतको तीन करोड रुपैयाँ आफूलाई दिन बाँकी रहेकाले तत्काल उपलब्ध गराउन भन्यो। 

जवाफमा २०८० असार ११ गते शेर्पा आउटडुअरका अपरेसन इन्चार्ज अजय राईले एन्फा महासचिव किरण राईलाई पठाएको पत्रले यसको नालीबेली प्रस्ट्याउँछ। पत्रमा शेर्पा आउटडुअरले एन्फालाई वार्षिक चार करोड २३ लाख ८७ हजार ४३० रुपैयाँको खेलकुद सामग्री आपूर्ति गर्ने सम्झौता सम्झाउँदै त्यो परिमाणमा सामग्री खरिद गरेपछि मात्र वार्षिक एक करोड ५० लाख रुपैयाँ प्रायोजन स्वरूप उपलब्ध गराउने सहमति भएको उल्लेख गरेको छ। तर पहिलो वर्ष एन्फाले तीन करोड ५४ लाख १९ हजार ९१३ रुपैयाँको मात्र सामग्री खरिद गरेको, दुई वर्षमा जम्मा पाँच करोड १६ लाख सात हजार ४०५ रुपैयाँको सामग्री मात्र माग गरेपछि त्यति मात्र आपूर्ति गरिएको भन्दै पत्रमा एन्फाले तीन करोड रुपैयाँ प्रायोजनबापत पाउनुपर्ने माग गरेकोमा आपत्ति जनाइएको छ।

“पाँच करोड १६ लाखको सामग्री खरिद गर्दा तीन करोड फिर्ता गर्नू भन्ने तर्क न यथार्थ हो न समझदारीअनुसारको। सम्झौताको आशय त्यो थिएन,” एन्फालाई पठाएको पत्रमा उल्लेख छ, “कम्पनी कुल कारोबारको ३५.८ प्रतिशतले हुन आउने वार्षिक एक करोड ८२ लाख ५८ हजार ६९९ रुपैयाँ प्रायोजनबापत भुक्तानी दिन तयार भएको हो।” त्यसमध्ये ५० हजार रुपैयाँ २०७९ असार ३० गते भुक्तानी भइसकेको, बाँकी एक करोड ३२ लाख ५८ हजार ६९९ भुक्तानी गर्न तयार रहेको बताएको शेर्पा आउटडुअरले पत्रमा त्यो बेलासम्म सामग्री आपूर्ति गरेबापत दुई करोड ७६ लाख ८६ हजार ८०५ रुपैयाँ मात्र भुक्तानी पाएको र दुई करोड ३९ लाख २० हजार ६२५ रुपैयाँ एन्फाबाट पाउन बाँकी रहेकाले तत्काल भुक्तानी गर्न आग्रह गरेको छ।

एन्फाका एक पदाधिकारीले भने, “सम्झौताको उद्देश्य राष्ट्रिय टोलीका लागि स्थिर आपूर्ति प्रणाली बनाउनु थियो। व्यवहारमा भने यसलाई कमाइखाने भाँडा बनाउन खोजिएपछि सम्झौता नै गिजोलियो।”

आर्थिक कारोबारलाई लिएर विवाद उत्पन्न भइरहेका बेला शेर्पा आउडुअरले एन्फालाई पत्र पठाएको देखिन्छ।

अनि शुरू भयो चलखेल
हामीले २०८० असार ८ गते शेर्पा आउटडुअरका नाममा जारी एउटा भौचर फेला पार्‍यौँ जसमा कृषि विकास बैंकबाट प्रकाश ओझाको नाममा पाँच लाख रुपैयाँ झिकिएको, त्यो रकम ‘एन्फालाई तिर्न’ कम्पनीका सीईओ निमा शर्पालाई हस्तान्तरण गरिएको उल्लेख छ। भौचरमा चेक नम्बर उल्लेख गरेर लेखिएको छ, “चेक इस्यूड इन द नेम अफ प्रकाश ओझा फर द पेमेन्ट अफ निमा सर फर एन्फा।” भौचरबारे थप खोजबिन गर्दा खुल्यो, शेर्पा आउटडुअरको कृषि विकास बैंकमा रहेको खाता नम्बर ०२१०१०१९१२४२४०१८ बाट त्यस दिन ओझाको नाममा पाँच लाख रुपैयाँ निकालिएको रहेछ। बुझ्दै जाँदा ओझा शेर्पा आउटडुअरकै कर्मचारी रहेको भेटियो।   

२०८० असार १७ को मितिमा जारी शेर्पा आउटडुअरको अर्को भौचरमा मनोज श्रेष्ठको नाममा कृषि विकास बैंकबाट नौ लाख ९५ हजार रुपैयाँ निकालेको भेटियो। भौचरमा लेखिएको छ– “चेक इस्यूड इन द नेम अफ मनोज श्रेष्ठ फर द पेमेन्ट अफ निमा सर– एन्फा।” भौचरको तल्लो भागमा एडीबीएल (कृषि विकास बैंक)– नौ लाख ९५ हजार रुपैयाँ’ र चेक नम्बर ००२६४५२४०० लेखिएको छ। भौचरको हस्ताक्षर खण्डमा ‘निमा सरलाई हस्तान्तरण गरिएको’ भनेर लेखिएको छ जसको तलपट्टि शेर्पाले नै हस्ताक्षर गरेका छन्। खोज्दै जाँदा यो रकम शेर्पा आउटडुअरको कृषि विकास बैंकमा रहेको खाता (०२१०१०१९२७१६३०२४) बाट सोही मितिमा झिकिएको देखिन्छ। रकम झिक्ने श्रेष्ठ पनि शेर्पा आउटडुअरकै कर्मचारी रहेछन्।  

२०८० साउन ७ गते शेर्पा आउटडुअरकै नाममा जारी गरिएको अर्को भौचरमा ३५ प्रतिशत प्रायोजनबापतको ६ लाख ९२ हजार ७८२ रुपैयाँ एन्फालाई तिरिएको उल्लेख छ। बैंकको नाम नखुलाएर चेक नम्बर ३०२३२६०५९७ मात्र लेखिएको भौचरको रकम शीर्षकमा भने दुई लाख ४२ हजार ५०० रुपैयाँ लेखिएको छ। हस्ताक्षर खण्डमा ‘क्यास हयान्डेड टु निमा सर’ उल्लेख छ। 

यसरी शेर्पा आउटडुअरका तत्कालीन सीईओ शेर्पाले १७ लाख ३७ हजार ५०० सय रुपैयाँ ‘एन्फालाई दिने’ भन्दै बुझेका थिए। यो रकम शेर्पाले एन्फालाई तिरे कि तिरेनन्? एन्फालाई तिर्ने रकम खाताबाट निकालेर सीईओले किन लिए? यसबारे बुझ्न हामीले शेर्पालाई सम्पर्क गर्न खोज्यौँ। चुच्चेपाटीस्थित कम्पनीको कार्यालय पुग्दा उनी अमेरिकामा रहेको जानकारी मिल्यो। कम्पनीका लगानीकर्ता काजी शेर्पाका नातेदार रहेका उनी सीईओ छँदै अमेरिकामा सेटल भइसकेका रहेछन्। कम्पनीका वर्तमान सीईओ सविन महतले भने, “उहाँको पालामा भएका कारोबारबारे म जानकार छैन।” 

एन्फालाई बुझाउनका लागि शर्पा आउटडुअरका तत्कालीन सीईओ निमा शेर्पाले सोही कम्पनीबाट रकम लिएको भनेर लेखेको भौचर।

उनले तीनवटै भौचर आफ्नो कम्पनीका भएको पुष्टि गरे।  

शेर्पाले एन्फालाई बुझाउने भन्दै लिएको रकम एन्फाको अभिलेखमा भने भेटिएन। एन्फाका कोषाध्यक्ष रवीन्द्र जोशीले भने, “एन्फाले शेर्पा आउटडुअरसँग सम्झौताअनुसार बैंक खातामार्फत आर्थिक कारोबार गरेको थियो। अरूसँग पनि बैंकिङ कारोबार नै गर्ने हो। तपाईंले भन्नु भएजस्तो रकम शेर्पा आउटडुअरबाट एन्फामा आएको छैन।” 

एन्फाका वार्षिक लेखा परीक्षण प्रतिवेदनमा पनि यो रकमबारे कुनै रेकर्ड फेला परेन। 

शेर्पा आउटडुअरको खाताबाट झिकेर तत्कालीन सीईओ शेर्पाले बुझेको रकम कहाँ गयो त? एन्फाकै अधिकारीहरू भन्छन्, “त्यो रकम एन्फालाई नभई एन्फाका पदाधिकारीलाई बुझाइएको होला।”

खोज्दै जाँदा शेर्पा आउटडुअरका तत्कालीन सीईओ शेर्पाले आफ्नै कम्पनीका प्रतिनिधि राजु सिंहलाई ह्वाट्सएपमा पठाएका केही सन्देश फेला परे जसबाट शेर्पाले त्यो रकम एन्फा महासचिव किरण राईलाई बुझाएको संकेत मिल्छ।

शेर्पा आउटडुअरले एन्फालाई खेलकुद सामग्री आपूर्ति गरे पनि भुक्तानी नपाइरहेका बेला ‘एन्फामा मेरो बलियो पहुँच छ, अड्किएको पैसा निकाल्न सघाउन सक्छु’ भन्दै शेर्पाको सम्पर्कमा आएका थिए राजु सिंह। शेर्पा आउटडुअरका एक कर्मचारी भन्छन्, “निमा सरले कुन नेटवर्कमार्फत ल्याउनुभएको हो भन्ने त थाहा छैन। उहाँ (सिंह)ले अड्किएको पैसा निकाल्न सघाउँछु भनेको हामीले पनि सुनेका हौँ।” 

एन्फाका एक कर्मचारीका अनुसार एन्फा महासचिव राई र शेर्पा आउटडुअरका सीईओ शेर्पाबीच पटक–पटक गोप्य छलफल हुन्थ्यो। शेर्पा आउटडुअरका एक कर्मचारीले पनि कम्पनीका तर्फबाट महासचिव राईसँग आर्थिक व्यवहार शेर्पाले नै हेरेको बताउँछन्। “कुनैबेला शेर्पा सरले आफै एन्फा महासचिवसँग डिल गर्नुहुन्थ्यो, कुनैबेला एजेन्ट (राजु सिंह) लाई लगाउनुहुन्थ्यो,” उनले भने। 

यहीक्रममा शेर्पा र सिंहबीच भएका ह्वाट्सएपका च्याट सिंहले नै अरू कसैलाई फरवार्ड गरेपछि यसको गुत्थी कुरा उजागर भएको हो। च्याटमा शेर्पाले सिंहलाई लेखेका छन्, ‘फाइभ लाख पेड अन २३ जुन २०२३ इन दरबारमार्ग वल्ड आउस एट डे टाइम २ः२० पीएम।’ यो त्यही मिति हो जुन दिन शेर्पा आउटडुअरको बैंक खाताबाट कर्मचारी प्रकाश ओझाको नाममा ५ लाख रुपैयाँ झिकिएको थियो। 

शेर्पाले त्यसपछि २०८० असार १७ गते सिंहलाई पठाएको मेसेज छ, ‘१० लाख पेड अन २ जुलाई २०२३ इन बानेश्वर रेस्टुरेन्ट नेम्ड हट ब्रेड एट इभिनिङ अफ्टर द अफिस आवर्स।’ त्यही मितिमा हो शेर्पा आउटडुअरको बैंक खाताबाट कम्पनीकै कर्मचारी मनोज श्रेष्ठको नाममा ९ लाख ९५ हजार रुपैयाँ झिकिएको। 

उनको अर्को मेसेज छ– ‘एन्ड रुपिज् १० लाख इन बानेश्वर रेस्टुरेन्ट नेम्ड रातो भाले आफ्टर द अफिस आवर्स इन द इभिनिङ।’ अर्को मेसेजमा सेप्टेम्बर २० देखि २५ सम्म २५ लाख रुपैयाँ नगद बुझाएको उल्लेख गर्दै लेखिएको छ– ‘इन बिट्वीन सेप्टेम्बर २० टु २५, टोटल २५ लाख।’

शेर्पा अउटडुअरका तत्कालीन सीईओ निमा शेर्पाले सोही कम्पनीका एजेन्ट राजु सिंहलाई ह्वाट्सएपमा पठाएको मेसेज।

शेर्पा र सिंहबीच आदानप्रदान भएको यो मेसेजले भौचरमा उल्लेख भएभन्दा पनि धेरै रकम शेर्पाले एन्फा पदाधिकारी (कागजात र घटनाक्रमले महासचिव राईलाई संकेत गर्छन्) लाई व्यक्तिगत रूपमा बुझाएको देखाउँछ। त्यहीक्रममै हो एन्फाले प्रायोजनबापत प्राप्त गर्ने रकमसमेत पदाधिकारीले आफै हत्याउन खोजेको तथ्य खुलेको। शेर्पाले मेसेजमा एन्फालाई प्रायोजन गर्नुपर्ने ३५ प्रतिशत रकममध्ये १५ प्रतिशत मात्र प्रायोजन गर्ने भनेर एन्फालाई इमेल गर्ने र बाँकी २० प्रतिशत ठमेलको अस्ट्रेक पार्क रेस्टुरेन्टमा नगद बुझाउने सहमति भएको उल्लेख गरेका थिए जसले एन्फा पदाधिकारी आफ्नो लाभका निम्ति संस्थालाई नै धराशायी पार्न कसरी लागिपर्छन् भन्ने देखाउँछ। 

त्यही च्याट मेसेजमा शेर्पाले ती व्यक्ति (सम्भवतः एन्फा महासचिव राई नै) ले आफूले एन्फाका अध्यक्षलाई समेत रकम दिनुपर्ने भनेको उल्लेख गर्दै लेखेका छन्– ‘हि इज सेयरिङ द्याट हि निड्स टु गिभ टु द प्रेजिडेन्ट सो द्याट हि विल गिभ अस अल द कमिङ्ग कन्ट्रयाक्ट अकर्डिङ टु द डिल हि मेड विथ मी।’

सिंहलाई पठाएको मेसेजको अन्त्यतिर शेर्पाले लेखेका छन्– ‘आइ डन्ट वान्ट टु मेक हिम लुक ब्याड एज आइ एम नट द पर्सन हु डज अल दिस बट आइ एम जस्ट टायर्ड एन्ड अपसेट द वे हि युज्ड मी। सो आइ एम टेलिङ अल दिस। आइ ह्याभ नेभर सिन अ पर्सन लाइक हिम इन अल माइ लाइफ।’ 

त्यसपछि, २०८० माघ १५ गते शेर्पाले आफ्नो नेपाली मोबाइल नम्बर हटाएर अमेरिकाको नम्बरबाट ह्वाट्सएप प्रयोग गर्न थालेको देखिन्छ। ह्वाट्सएप मेसेजबारे कुरा गर्न खोज्दा सिंह सम्पर्कमै आउन चाहेनन्। 

चुपचाप पदाधिकारी, रातारात मेलमिलाप
२०८० फागुन १४ गते एन्फाको नियमित साधारणसभा शुरू भएको थियो। सभाको प्रारम्भमै उपाध्यक्ष विराटजंग शाही, कुमार केसी केन्द्रीय सदस्यहरू अनिल मल्ल, भोजराज शाही, रमेश व्यञ्जनकार, रूपेश अधिकारी, पेमा डोल्मा लामालगायत नौ पदाधिकारीले महासचिव राईसँग खेल सामग्री खरिदसँग जोडिएको यो प्रकरणबारे जवाफ मागे। उनीहरूले चित्तबुझ्दो जवाफ नआए सभा नै अवरुद्ध गर्ने चेतावनी दिएपछि तीन घण्टासम्म सभा स्थगित भएको थियो। 

दबाब बढेपछि महासचिव राईले आफू त्यसमा प्रत्यक्ष संलग्न नरहेको दाबी गर्दै भनेका थिए, “यदि म दोषी भएको प्रमाणित भयो भने जुनसुकै सजाय भोग्न तयार छु।” 

त्यसपछि भने प्रश्न उठाउने पदाधिकारीहरू चुपचाप भए। “महासचिवले मेरो कुनै दोष छैन, हामी सबै मिलेर काम गर्ने हो। यस्ता संवेदनशील मुद्दा उचाल्दा हाम्रो सहकार्यलाई समेत असर पुर्‍याउँछ भन्दै घुमाउरो रूपमा चेतावनी दिनुभयो,” साधारणसभामा उपस्थित एक सदस्यले भने, “त्यसपछि विरोधमा उत्रिएका पदाधिकारी चुप लागे।” 

एन्फा महासचिव राई आफूमाथि लागेका आरोप निराधार रहेको दाबी गर्छन्। “पूर्वाग्रही उजुरी हुन्, त्यसमा कुनै सत्यता छैन। प्रमाण र आधार छैन। त्यसैले त केही भएन,” राईले उकालोसँग भने। 

शेर्पा आउटडुअरले उत्पादन गर्ने खेलकुद सामग्री। तस्वीर : केटीएमसिटीडट्कम।

त्यसपछि नै एन्फा पदाधिकारीहरूले शेर्पा आउटडुअरसँग तीन वर्षदेखि चासो नदेखाएको आपूर्ति र भुक्तानीको हिसाबकिताब गरेको देखिन्छ। २०८१ भदौ ११–१३ गते बसेको एन्फा कार्यसमिति बैठकका भदौ २७ गते वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरू तथा कार्यसमिति सदस्यहरूलाई पठाइएको निर्णयमा यसको विवरण छ। “एन्फा र शेर्पा आउटडुअरबीच २०७७ फागुन १४ गतेको सम्झौता अनुरूप एन्फाले चार करोड २३ लाख ८७ हजार ४३० रुपैयाँको खेलकुद सामग्री खरिद गर्नुपर्ने र शेर्पा आउटडुअरबाट प्रत्येक वर्ष एक करोड ५० लाख नगद प्रायोजन गर्ने सहमति भएको छ। तर कोभिड महामारीका कारण फुटबल खेल कम भएकाले सम्झौताका वर्षहरूमा पाँच करोड दुई लाख ६५ हजार ४२२ रुपैयाँको मात्र खेलकुद सामग्री खरिद भएको,” निर्णयमा उल्लेख छ, “सम्झौता बमोजिमको बोलकबोल पूरा हुन नसकेकाले चार करोड २३ लाख ८७ हजार ४३० रुपैयाँ बराबर एन्फाले प्राप्त गर्नुपर्ने प्रायोजन रकम एक करोड ५० लाख भएको, एन्फाले खरिद गरेको बाँकी रकम ७८ लाख ७७ हजार ९९२ रुपैयाँको सम्झौताबमोजिम ३५ प्रतिशतले हुन आउने २७ लाख ५७ हजार २९७ रुपैयाँसमेत एन्फाले प्राप्त गर्ने नगद प्रायोजन एक करोड ७७ लाख ५७ हजार २९७ रुपैयाँ प्राप्त गर्नुपर्ने देखिएको, त्यसमध्ये ६५ लाख रुपैयाँ मात्र प्राप्त गरेको हुँदा एक करोड १२ लाख ५७ हजार २९७ रुपैयाँ प्राप्त गर्न बाँकी रहेको।” 

निर्णयमा शेर्पा आउटडुअरलाई सम्झौता अवधि सकिएपश्चात् कार्यसमितिको निर्णयअनुसार जुनियर महिला टिमलाई निःशुल्क खेल सामग्रीको प्रायोजनलगायत विभिन्न प्रकारले छुट गराई खरिद भएका खेल सामग्रीको भुक्तानी गर्न बाँकी रकम ५२ लाख ५० हजार ५६६ रुपैयाँ र सम्झौता अवधिको भुक्तानी गर्नुपर्ने एक करोड दुई लाख ६१ हजार २७४ रुपैयाँसहित एक करोड ५५ लाख ११ हजार ८४० रुपैयाँ एन्फाले भुक्तानी गर्नुपर्ने देखिएको उल्लेख छ। 

एन्फा महासचिव किरण राईले यो निर्णयबारे जानकारी गराउँदै २०८१ कात्तिक २७ गते शेर्पा आउटडुअरलाई पत्र पठाए। भुक्तानीका लागि एन्फासँग हारगुहार गर्दागर्दै थाकेको शेर्पा आउटडुअरले त्यसपछि एन्फाकै हरहिसाबमा सहमति जनाएर पत्र पठायो। “भुक्तानीलाई लिएर एन्फासँग हाम्रो सम्बन्ध असाध्यै जटिल बनेको थियो। एन्फामा राजनीति मात्र थियो, कसरी हुन्छ घोटाला गर्ने भन्ने चासो मात्र थियो। बरू घाटा सहने, अबदेखि एन्फा पदाधिकारीहरूसँग कारोबार नगर्ने भनेर एन्फाले जति भन्यो त्यति नै स्वीकारेको हो,” शेर्पा आउटडुअरका सीईओ सविन महतले भने। 

शेर्पा आउटडुअरले २०८१ मंसिर १८ गते पठाएको पत्रमा उल्लेख छ, “सो (एन्फाको) पत्रमा उल्लेखित शेर्पा आउटडुअरले एन्फाबाट पाउनुपर्ने रकम एक करोड ५५ लाख ११ हजार ८४० रुपैयाँ र शेर्पा आउटडुअरले एन्फालाई एक करोड १२ लाख ५७ हजार २९७ रुपैयाँ भुक्तानी गर्नुपर्ने देखिएको हुँदा सो हिसाबलाई मिलान गर्दा ४२ लाख ५४ हजार ५४३ रुपैयाँ एन्फाले तिनुपर्ने देखियो।”

खेलकुद सामग्री आपूर्ति र भुक्तानीसम्बन्धी एन्फा र शेर्पा आउटडुअरबीच आदानप्रदान गरिएका पत्र।

त्यो रकम तत्कालै भुक्तानीका लागि चेक तयार गरिदिन शेर्पा आउटडुअरले पत्रमार्फत एन्फालाई आग्रह गरेको थियो।  

तर पाँच महिना बित्दा पनि एन्फाले यो रकम भुक्तानी गरेको छैन। बरु एन्फाले खेलकुद सामग्री आपूर्तिका लागि अर्कै कम्पनीसँग सम्झौता गरिसकेको छ। शेर्पा आउटडुअरका सीईओ महतले पटक–पटक ताकेता गर्दा पनि एन्फा महासचिव किरण राईले विभिन्न बहाना गरेर भुक्तानी रोकेको बताए।

“हाम्रा कर्मचारी प्रकाश ओझाले एन्फा पुगेर महासचिवलाई भुक्तानी चाँडो गरिदिन अनुरोध गर्दा उहाँले ‘तिमीहरूको मुख्य मान्छे आउनुपर्‍यो’ भन्दै थर्काएर पठाउनुभो,” महतले भने, “त्यसपछि मैले नै सम्पर्क गर्दा उहाँले म बाहिर जाँदै छु, आएपछि भुक्तानी हुन्छ भन्नुभयो। तर अहिलेसम्म सम्पर्कमा आउनु भएको छैन।” 

राई भने एन्फाले शेर्पा आउटडुअरलाई रकम दिन र लिन दुवै बाँकी रहेको दाबी गर्छन्। दिनुपर्ने रकमबारे उनले भने, “फिफाबाट रकम आउन ढिलो भएकाले भुक्तानी हुन नसकेको हो।” 

एन्फाका पूर्वमहासचिव इन्द्रमान तुलाधर भने एन्फाले अन्य निकायसँग गर्ने सम्झौता र आर्थिक कारोबारको नेतृत्व महासचिवले नै गर्ने बताउँछन्। उनी भन्छन्, “हामीले कारोबार गर्दा कम्पनीका प्रतिनिधिसँग कहिल्यै अनौपचारिक भेट या च्याट गरेनौँ। एन्फालाई दिने भन्दै कम्पनीको भौचर काटिएको छ, एन्फाको खातामा रकम आएको छैन। दुई निकायमध्ये एउटा निकायका व्यक्तिहरूले गलत त गरेकै छन्। तर, छानबिन कसले गर्ने?”


सम्बन्धित सामग्री