Monday, April 21, 2025

-->

खुलामञ्चपछि टुँडिखेल: खुला क्षेत्रमा धावा बोल्ने काठमाडौँ महानगरको ‘मास्टर प्लान’

काठमाडौँ महानगरले तयार पारेको टुँडिखेलको ‘मास्टर प्लान’ कार्यान्वयनमा गयो भने काठमाडौँवासीको फोक्सो मानिने अहिलेको टुँडिखेल यस्तै रहने छैन। किन ल्याइयो टुँडिखेललाई खण्डीकरणमा लैजाने यस्तो योजना?

खुलामञ्चपछि टुँडिखेल खुला क्षेत्रमा धावा बोल्ने काठमाडौँ महानगरको ‘मास्टर प्लान’

काठमाडौँ– “अब खोला मात्र हैन, टुँडिखेल, खुलामञ्च पनि आफ्नो कार्यकर्तालाई दिने अध्यादेश पास भएछ। बधाई छ सरकारमा रहेका कार्यकर्ताहरूलाई।”

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गत माघ २ गते प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको तस्वीर राखेर सामाजिक सञ्जाल फेसबुकमा लेखे। सामाजिक सञ्जालमार्फत बेलामौकामा प्रमुख दलका शीर्ष नेताविरुद्ध लेखिरहने बालेनले यसपालि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले जारी गरेको भूमिसम्बन्धी अध्यादेशलाई लक्षित गरेर लेखेका थिए।

त्यसयता एक महिना बितिसकेको छ। बालेनले यसबीचमा यो विषयमा थप केही लेखेका वा बोलेका छैनन्। तर मुलुकको संघीय राजधानी काठमाडौँको प्रमुख र एक मात्र खुला क्षेत्रका रूपमा रहेको टुँडिखेल मास्ने एउटा योजना भने बालेन स्वयंले अघि बढाएको खुलेको छ। सामाजिक सञ्जालमा (एमाले र कांग्रेसका) नेताहरूले कार्यकर्ता पोस्न टुँडिखेल र खुलामञ्चको जग्गा पनि नामसारी गर्न खोजेको आक्षेप लगाएका बालेनले खुला क्षेत्र टुँडिखेल भने आफ्ना समर्थकलाई खुशी पार्नकै लागि मास्न खोजेको भेटिएको छ।

बालेनकै पहल र जोडबलमा काठमाडौँ महानगरले टुँडिखेलमा आँखा लगाएको पछिल्लो दृष्टान्त हो– महानगरले तयार पारेको टुँडिखेलसम्बन्धी नयाँ गुरुयोजना (मास्टर प्लान)। यो त्यस्तो मास्टर प्लान हो, जसलाई कार्यान्वयनमा ल्याइयो भने टुँडिखेल खुला स्थान रहने छैन। 

करिब दुई महिना लामो प्रयत्नपछि उकालोले प्राप्त गरेको महानगरको मास्टर प्लानअनुसार टुँडिखेलमा क्रिकेट स्टेडियम, फुटबल ग्राउन्ड र फुटसलसमेत सात वटा अलग–अलग संरचना बनाउन लागिएको छ। 

आकार मात्र होइन, प्रयोजनका हिसाबले पनि टुँडिखेल काठमाडौँको सबभन्दा महत्त्वपूर्ण खुला स्थान हो। यहीकारण टुँडिखेललाई काठमाडौँको ‘फोक्सो’समेत भन्ने गरिन्छ। काठमाडौँ उपत्यका विकास प्राधिकरणले २०७१ सालमा निकालेको मानचित्र (एटलास) मा टुँडिखेलको क्षेत्रफल एक लाख ३९ हजार ६७८ वर्गमिटर उल्लेख छ। यो वर्तमान टुँडिखेलको भाग हो। खासमा टुँडिखेल योभन्दा धेरै ठूलो छ, जसको कैयौँ भाग सरकारका विभिन्न संयन्त्रले अतिक्रमण गरेर मासिसकेका छन्। 

नेपाली सेनालगायतले अतिक्रमण गरेर बचेको अहिलेकै टुँडिखेलमा काठमाडौँ महानगरले करिब १२५ मिटर चौडाइ र २५० मिटरको लम्बाइको ‘फुटबल ट्र्याक’ बनाउन लागेको छ। त्यसभित्र करिब १०० मिटर चौडाइ र १५० मिटर लम्बाइको फुटबल ग्राउन्ड बनाइँदै छ। यो फुटबल ग्राउन्ड काठमाडौँ मलको उत्तर–पश्चिम भागमा बन्नेछ।

त्यस्तै, शहीद गेटको दक्षिणपूर्वमा १५० डायमिटरमा क्रिकेट स्टेडियम बन्नेछ। यी दुई संरचना बनिसकेपछि बीचमा रहेको खाली स्थानमा ७० मिटर चौडाइ र १३० मिटर लम्बाइको फुटसल डिजाइन गरिएको छ। 

टुँडिखेलमा बनाउन लागिएका यी तीन संरचना प्रमुख हुन्। बाँकी चार वटा स–साना संरचना पनि मास्टर प्लानमा समावेश गरिएको आर्टिटेक्ट इन्जिनियर सुसन वैद्यले उकालोलाई बताए। 

टुँडिखेल क्षेत्रसमेत पर्ने वडा नम्बर २८ का वडा सदस्य वीरेन्द्र महर्जनले पनि टुँडिखेलमा ‘बहुपयोगी खेल मैदान’ बन्न लागेको पुष्टि गरे। 

२०८० फागुनमा टुँडिखेलसँगै जोडिएको खुलामञ्चमा दुई वटा फुटसल ग्राउन्ड बनाउन महानगर जुटेको थियो। मेयर बालेनकै पहलमा महानगरले त्यसको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) समेत तयार पारेको थियो। यो योजना सार्वजनिक भएसँगै ‘अकुपाइ टुँडिखेल’ अभियानका सदस्य र सम्पदा विज्ञहरूले विरोध गरेका थिए। 

विरोध चुलिएपछि मेयर बालेन आफ्नो योजनाबाट पछि हटेका थिए। त्यसपछि उनले सामाजिक सञ्जालमा ‘खुलामञ्च खुल्लै रहने’ भनेर पोस्ट गरेका थिए। विरोधकै कारण खुलामञ्च मास्ने महानगरको योजना रोकिएको थियो।

अमृत बहादुर चित्रकार कलेक्सन/नेपाल पिक्चर्स लाइब्रेरी

घुम्दै फिर्दै टुँडिखेल
टुँडिखेलभन्दा पहिले खुलामञ्चमा फुटसल बनाउने महानगरको योजनाको शुरूआत रोचक छ। २०८० पुस २४ गते संकटा फुटबल क्लबले वडा नम्बर २८ कार्यालयलाई ‘युवा खेलाडीलाई प्रशिक्षणका लागि खुलामञ्चमा मैदान उपलब्ध गराइदिन’ पत्राचार गर्‍यो। क्लबका अध्यक्ष इन्द्रमान तुलाधरले खुलामञ्च नियमित अभ्यासका लागि उपलब्ध गराइदिन पत्राचार गरिरहँदा त्यतिञ्जेल क्लबले हरेक शनिबार टुँडिखेलमै युवा खेलाडीलाई प्रशिक्षण गराउँथ्यो। 

टुँडिखेल जत्तिको खुला मैदान छाडेर संकटाले खुलामञ्चमा आँखा किन लगायो? तुलाधरले टुँडिखेलमा विभिन्न कार्यक्रम भइरहने र त्यसले प्रशिक्षण प्रभावित हुने भएकाले खुलामञ्च नै उचित स्थान भएको दाबी गरे।

वडा कार्यालयले दुई दिनमै, पुस २६ गते जवाफ पठाउँदै भन्यो, “खुलामञ्च साझा सम्पत्ति भएकाले कुनै व्यक्ति वा संस्थालाई नियमित उपयोग गर्न दिन मिल्दैन।” 

तर त्यसको १८ दिनपछि, २०८० माघ १० गते खुलामञ्चमा व्यायाम तथा खेलकुद सुधारका नाममा विनियोजित १ करोड रुपैयाँबाट फुटसल मैदान बनाउने योजनासहित वडा कार्यालयले महानगरको सार्वजनिक निर्माण विभागलाई पत्राचार गरेको देखिन्छ। पत्रमा ‘संरक्षण, संवद्धन र सुधारको कार्य गर्नुपूर्व कामपा वडा नम्बर २८ कार्यालयको सहमति लिएर मात्र गर्न’ उल्लेख गरिएको थियो।

अर्थात् वडा कार्यालयले चलाखीपूर्ण तरिकाले खुलामञ्च संकटा क्लबलाई नै दिने संकेत गरेको थियो। मेयर बालेनकै पहलमा यस्तो पत्राचार गरिएको महानगर स्रोतको भनाइ छ।

यद्यपि, अकुपाई टुँडिखेलका अभियन्ता तथा सम्पदा विज्ञहरूको खबरदारीपछि दुई वटा फुटसल ग्राउन्ड बनाएर संकटा क्लबलाई सञ्चालन गर्न दिने योजना रोकियो। यो योजना रोकिए पनि खुलामञ्चमा निर्माणको काम भने रोकिएको छैन। महानगरले त्यहाँ हरियाली चौर र छेउछाउमा हिँड्ने ट्र्याक निर्माण गर्ने बताइरहेको छ। 

खुलामञ्चमा के बन्छ भन्ने अझै प्रष्ट छैन, तर त्यहाँ फुटसल ग्राउन्ड बनाउने योजना विफल भएपछि महानगर त्यही योजना टुँडिखेलमा सार्दै छ। “खुलामञ्चलाई खुलै राख्नुपर्छ भन्ने हाम्रो जोड हो,” वडा नम्बर २८ का वडा सदस्य वीरेन्द्र महर्जन भन्छन्, “खेलमैदानको लागि चाहिँ सेनाको पुस्तकालय भवन रहेको माथिल्लो भागमा रहेको ‘सानो तिंख्य’ टुँडिखेलमा डीपीआरको काम भइरहेको छ।”

तर मास्टर प्लानले महर्जनले भनेको ठाउँ सानो टुँडिखेल नभई ठूलो टुँडिखेलमै फुटबल ग्राउन्ड, क्रिकेट स्टेडियम र फुटसल ग्राउन्ड बनाउन लागिएको देखाउँछ। महानगरको शहरी योजना आयोग (सीपीसी)अन्तर्गत डिजाइन (मास्टर प्लान) तयार पारिएको, अहिले त्यहाँ माटो सम्म्याएर खाल्डो पुर्ने काम भइसकेको उनले उकालोलाई बताए। “बिस्तारै घाँस रोपेपछि त्यहाँ काम शुरू हुन्छ होला। खुलामञ्च भने खुल्लै हुन्छ,” उनले भने।

यो सब भइरहँदा काठमाडौँ महानगरका प्रवक्ता नवीन मानन्धर भने खुलामञ्च र टुँडिखेलमा कुनै संरचना नबन्ने दाबी गरिरहेका छन्। हामीले सूचनाको हकसम्बन्धी ऐनबमोजिम महानगरसँग यसबारे सूचना माग गर्दा स्पष्ट जानकारी दिइएन। महानगरले ‘माटो सम्म्याउन लागेको कुरा मात्र आफ्नो जानकारीमा रहेको’ दाबी गर्दै मास्टर प्लानको डिजाइनबारे शहरी योजना आयोगसँग विस्तृत जानकारी माग्न भन्यो। 

खासमा महानगरले चलाखीपूर्ण हिसाबले सूचना दिन इन्कार गरेको थियो। किनभने शहरी योजना आयोग महानगरकै एउटा इकाई हो।  

सीपीसीका प्रमुख सुमन राजभण्डारीले टुँडिखेलमा बहुउपयोगी खेलमैदानको डिजाइनमा काम भइरहेको त बताए, तर विस्तृत जानकारी दिन चाहेनन्। एक महिना अझै डिजाइनमा काम गर्नुपर्ने भन्दै उनले विस्तृत जानकारी दिन सकिने अवस्था नभएको उकालोलाई बताए। 

“अहिले पनि हामीले काम गरिरहेकै भएर डिजाइनबारे विस्तृतमा केही भन्न सक्ने अवस्था छैन। पहिले पनि अलिअलि काम भएको रहेछ, मलाई चित्त नबुझेर रिभाइज गर्न लगाएको छु,” उनले भने, “क्रिकेट, फुटबल, फुटसल ग्राउन्ड त्यहाँ हुँदा पनि स्पेस धेरै हुने देखिएकाले अरू सानातिना काम गर्न अझै बाँकी छ।” 

वडा नम्बर २८ का अध्यक्ष भाइराम खड्गीले टुँडिखेलमा बन्न लागेको योजनाको पुष्टि गरे। तर टुँडिखेललाई खुला राख्नेमा आफू कटिबद्ध रहेको, त्यहाँ कुनै प्रकारको संरचना नबन्ने दाबी उनले गरे।

काठमाडौँ उपत्यका प्राधिकरणले २०७१ सालमा तयार पारेको खुल्ला ठाउँको मानचित्र।

‘डिजास्टर डिजाइन, महानगरको ब्लन्डर’
काठमाडौँको खुला स्थान टुँडिखेलमा अहिलेको मास्टर प्लान अनुसारका संरचना बनेमा के होला? हामीले शहरी योजनाकार डा. विजयकृष्ण श्रेष्ठलाई सोध्यौँ। श्रेष्ठले यो डिजाइन (मास्टर प्लान) नै ठूलो ‘डिजास्टर’ भएको बताए। टुँडिखेलमा गर्नै नहुने काम गर्न लागिएको उल्लेख गर्दै त्यसले टुँडिखेल मासिने उनले बताए। संरक्षण गर्नुपर्ने निकायबाटै यस्ता योजना आउनु निराशाजनक भएको उनको टिप्पणी छ।

लैनचौरमा बनेको फुटसल ग्राउन्डको उदाहरण दिँदै उनले भने, “यस्ता संरचना चाहिन्छ, तर समस्या के हो भने कहाँ र कस्तो ठाउँमा बनाउने? एक छिनलाई खुला स्थान पनि छाडिदिऊँ, सूक्ष्म रूपले हेर्ने हो भने मैदानमा खेल्दा हानिने बल ग्राउन्डबाट बाहिर जाँदा सिधै व्यस्त सडकमा पुग्छ। सडक सुरक्षा आफ्नो ठाउँमा छ, खेलाडीसमेत खुलेर खेल्न पाउँदैनन्।”

श्रेष्ठका अनुसार यसले ट्राफिक व्यवस्थापनमै संकट निम्त्याउन सक्छ। “टुँडिखेल अहिले ट्राफिक आइल्यान्डबाहेक केही बनेको छैन,” उनले भने, “एकतर्फी रुट प्रणाली भएको टुँडिखेल क्षेत्रमा कुनै कार्यक्रम हुँदा हेभी ट्राफिकको समस्या आइरहेको छ। यस्ता डिजाइनले ट्राफिकको समस्या झन् जटिल हुँदै जानेछ।”

सबभन्दा महत्त्वपूर्ण चाहिँ टुँडिखेल निश्चित समूहको नभई सबैको सांस्कृतिक केन्द्र रहेको, जनचेतनामूलक कार्यक्रमदेखि विपत् व्यवस्थापनमा काम लाग्ने साझा थलो भएकाले यसमाथि खेलाँची गर्नै नहुने श्रेष्ठको मत छ। यस्तो महत्त्वपूर्ण ठाउँलाई फैलाउने र जोगाउनेमा लाग्नुसाटो बिगार्ने र थप खुम्च्याउने काम हुनु विडम्बना भएको उल्लेख गर्दै उनले भने, “पालिकामा बजेट प्रशस्त छ। अनि विज्ञको सल्लाहसुझावमा नभई पसर्नल आइडियाबाट बजेट खर्च गर्ने यस्ता डिजाइन आउँछन्। अहिलेका मेयरका योजनामा आफू पपुलर हुने उद्देश्य मात्र देखियो।” 

टुँडिखेलको नयाँ मास्टर प्लानबारे नगर कार्यपालिका बैठकमा छलफल भए पनि अस्पष्ट र अपूरो कुरा मात्र जानकारी गराइएको वडाध्यक्षहरू बताउँछन्। टुँडिखेल आसपासमा पर्ने वडा नम्बर २३ का अध्यक्ष मचाराजा महर्जन त्यहाँ बन्ने संरचनाबारे कार्यपालिकाको बैठकमा स्पष्ट कुराकानी नभएको बताउँछन्। “बजेटको कैफियतमा कार्य सुधार भनेर राखिएको छ,” उनले भने, “योजना के हो भन्ने पनि हामीलाई थाहा छैन, बुझ्न खोज्दा जानकारी नै दिइँदैन।”

पृष्ठभूमिसहित आउनुपर्ने योजनामा ‘कार्य सुधार’ मात्र भन्ने अचम्मको अभ्यास भइरहेको उनले बताए। कार्यपालिका बैठक अहिले बुझ्ने र बोल्ने भन्दा आफूहरूका लागि सुन्ने ठाउँ मात्र बन्न थालेको उनको भनाइ छ। “केही सोधे जवाफ आउँदैन। बाहिर सुन्नमा आउँछ, हामीले सोध्दा उत्तर आउँदैन। भित्र अर्को किसिमले योजना बनिरहेको हुन्छ,” उनी भन्छन्।

वडा नम्बर २२ का अध्यक्ष चिनिकाजी महर्जनले पनि यसमा सहमति जनाए। खुलामञ्च, टुँडिखेल प्रशासनिक हिसाबले आफ्नो क्षेत्रमा नपरे पनि भौगोलिक र सांस्कृतिक रूपमा भने आफ्नो क्षेत्रमा पर्ने उनले बताए। “यो खुला स्थान हो, खुला ठाउँ भनेको कुनै निश्चित समूह र वर्गको मनोरञ्जनस्थल नभई लौरो टेक्ने वृद्धवृद्धादेखि बालखसम्मका लागि हो,” उनले भने। 

तस्वीर : अकुपाई टुँडिखेल

सबैको साझा टुँडिखेल, सीमित समूहको हालीमुहाली भए के होला?
७७ वर्षीय सिंहबहादुर लामा र उनकी श्रीमती दिलमाया केही समयअघि सोनाम ल्होसार मनाउन टुँडिखेलमै आएका थिए। रामेछापबाट २०१६ सालमा घ्यु बेच्न काठमाडौँ आएका उनी असनमा सामल बेच्थे। त्यसबेला रामेछापबाट सुकामा एक माना घ्यु ल्याउने उनी एक रुपैयाँमा बेच्थे। त्यहीबेलादेखि नै आउँदाजाँदा टुँडिखेल उनको टहलिने ठाउँ थियो। 

टुँडिखलेमा लाग्ने पहारिलो घाममा ढाड सेक्थे। त्यो अनुभव उनलाई अझै पनि उस्तै लाग्छ। काठमाडौँमा यही एउटा ठाउँ हो जहाँ उनी निर्धक्क भएर पस्छन्, मन लागुन्जेल बस्छन्। त्यहाँ घण्टौँ बिताउन सक्छन्। तर बदलिएको टुँडिखेलको अहिलेको स्वरूपले भने उनको मन चसक्क पार्छ। 

“यहाँ खासै घरहरू थिएनन्। सुन्धारामा बग्ने धारामा मानिसहरू नुहाइधुवाइ गर्थे। यो फलामे बार पनि थिएन,” टुँडिखेल वरिपरि लगाइएको छेकबार देखाउँदै सिंहबहादुरले भने, “यस्तो ठाउँमा रोकछेक गर्नु राम्रो होइन।”

पछिल्लो समय सिंहबहादुर काठमाडौँमै बस्छन्। काठमाडौँको सेतो गुम्बा क्षेत्र उनको अहिलेको ठेगाना हो, त्यहाँबाट ल्होसारमा झाँक्री र लामा नाच हेर्न टुँडिखेल आइपुग्छन्। 

हिमाल र पहाडका जनजातिको संस्कृति मानिने ल्होसार मात्र होइन, सुदूरपश्चिमको पर्व देउडा, पूर्वको धान नाच, तराईका थारु समुदायको माघी जस्ता पर्व र उत्सव मनाउने साझा थलो हो टुँडिखेल। एक हिसाबले भन्दा यो बहुजातीय र बहुसांस्कृतिक समावेशी थलो नै हो। अनि यो काठमाडौँको सास फेर्ने ठाउँ पनि हो जहाँ एकाबिहानै काठमाडौँवासी हिँडडुल गर्न पुग्छन्। बालबालिका खेल्न पुग्छन्। कोही दौडिन्छन् त कोही पहारिलो घाममा बदाम, सुन्तला खाँदै समय काट्छन्।

टुँडिखेललाई काठमाडौँका रैथानेको शक्तिपीठ पनि मानिन्छ जहाँ दुईमाजू पीठ छ। फागु पूर्णिमाको दिन इतुम्बहालबाट प्रचलित किंवदन्तीअनुसार राक्षसलाई खाना खुवाउने प्रचलन पनि छ। घोडे जात्रा, शिवरात्रि र सैनिक दिवसमा त यहाँ सेनाले विभिन्न सैन्य र युद्धकलाको प्रदर्शनी नै गर्छ। 

तस्वीर : प्रबिता/उकालो

टुँडिखेल सबैको साझा हो भन्ने २०७२ सालको भूकम्पका बेला अझ धेरै प्रष्ट भयो। भूकम्पपछि काठमाडौँका बसोबासी धेरैको आश्रयस्थल टुँडिखेल बनेको थियो। १९९० सालको भूकम्पमा पनि टुँडिखेल यस्तै साझा थलो बनेको तीर्थ नारायण मानन्धरको पुस्तक ‘काठमाडौँ उहिले र अहिले’ मा उल्लेख छ। पुस्तकमा उनले भूकम्पमा भत्किएका घरको माटो नयाँ घर नबनाउँदासम्म टुँडिखेलमै थुपारिएको उल्लेख गरेका छन्। 

यति महत्त्वपूर्ण टुँडिखेलमा सीमित समूहको स्वार्थका निम्ति विभिन्न संरचना बनाउने डिजाइन तयार भएसँगै टुँडिखेल संरक्षण गर्नुपर्ने अभियान चलाइरहेका अभियन्ताहरू आक्रोशित बनेका छन्। खुला स्थानमा यस प्रकारको हस्तक्षेप अमान्य रहेको उनीहरूको भनाइ छ। अकुपाई टुँडिखेलका अभियन्ता गणपतिलाल श्रेष्ठ जनप्रतिनिधिसँग नै निरन्तर लडाइँ लडिरहनुपर्ने अवस्था आएको उल्लेख गर्दै भन्छन्, “कित्ता नम्बर ८६३ (टुँडिखेल) जनताको नासो हो। यो सबैको हो, कोही मात्रैको होइन।”

काठमाडौँ महानगरकै शहरी योजना आयोगका पूर्वकर्मचारी सरोज बस्नेत तीव्र बसोबास र बस्ती विकासले सास फेर्नसमेत उकुसमुकुस बनेको काठमाडौँमा बचेका खुला स्थानलाई जोगाउनुपर्नेमा त्यहाँ पनि संरचना बनाउन थाल्ने हो भने निसास्सिने अवस्था आउने बताउँछन्। “हामीले गरेको अध्ययनमा आधारभूत रूपमा १५ देखि ३० प्रतिशत शहरी क्षेत्र खुला हुनुपर्छ,” बस्नेत भन्छन्, “न्यूनतम पनि ५ प्रतिशत त हुनैपर्छ, तर काठमाडौँमा खुला क्षेत्र ०.५१ प्रतिशत मात्र छ।”

खोलानाला वा करिडोरलाई खुला स्थान मान्न नसकिने, यसका लागि बृहत् आकारमा फैलिएको चौर जस्ता स्थान हुनुपर्ने, त्यो सबैको सुलभ पहुँचमा हुनुपर्ने, टुँडिखेल त्यसकै उदाहरण भएको उनी बताउँछन्। 

तस्वीर : अमृतबहादुर चित्रकार कलेक्सन/नेपाल पिक्चर लाइब्रेरी

शहरी योजनाकार डा. विजयकृष्ण श्रेष्ठ पनि टुँडिखेलमा संरचना निर्माण गर्न थाल्ने हो भने कुनै बेला टुँडिखेल नै निजीकरण हुने जोखिम देख्छन्। यस्ता स्थान कुनै पनि संस्था अथवा व्यक्तिलाई सहुलियतमा दिन नसकिने उनको भनाइ छ।  

काठमाडौँ महानगरका एक कर्मचारीका अनुसार स्थानीय क्लबलाई हेरेर टुँडिखेलमा संरचना निर्माण गर्न लागिएको हो। क्लब र युवाको समूहलाई प्रभावमा लिने कामलाई मेयर बालेनले प्राथमिकता दिँदै आएका छन्। महानगरको शहरी योजना आयोगका प्रमुख सुमन राजभण्डारीको तर्क पनि यही छ।

“धुलामय रहने टुँडिखेलमा आउने, खेल्नेको स्वास्थ्यमा असर पर्ने कुरालाई ध्यानमा राखेर खुलामञ्चकै जस्तो मोडालिटीमा स्लोप मिलाउने र घाँस रोप्ने योजना हो। त्यसपछि ३–४ वटा पोल गाड्ने त हो नि,” उनले भने, “हामीले कब्जा गर्ने पनि होइन। महानगरले त संरक्षणको हिसाबले मात्र काम गर्छ।” 

अकुपाई टुँडिखेलका अभियन्ता इन्जिनियर सुसन वैद्य भने खेलकुदमैत्री वा स्वास्थ्यमैत्री जस्ता आवरण दिइने यस्तो शैली ‘सुगरकोटिङ’ बाहेक केही नभएको बताउँछन्। सीमित क्लबलाई खुशी पार्न महानगरबाट निरन्तर यस्ता कार्य भइरहेको र यसले दीर्घकालीन रूपमा गम्भीर प्रभाव पार्ने उनको भनाइ छ। “अबका १०–२० वर्षसम्म त महानगरले पनि अहिले भने जस्तै गरी चलाउन देला, जुनसुकै क्लबले पनि केही वर्ष त सबैका लागि साझा गराउला। जब व्यवस्थापन गर्नुपर्ने समय आउँछ, तब क्लबले बिस्तारै आफ्नो खर्च, लगानीको बहानामा भोगचलनमा कडाइ गर्न थाल्छ,” उनले भने, “२० वर्षपछि आफूले भोगचलन पाएको भन्दै अरूलाई प्रवेश निषेध गर्न थाल्छन्।”

उनले सेनाले कब्जा गरेको सानो टुँडिखेललाई त्यसका उदाहरणका रूपमा प्रस्तुत गरे। “अर्को २० वर्षमा नयाँ पुस्तालाई टुँडिखेल सेनाको हो कि क्लबको हो कि जनताको हो भनेर कसरी बुझाउने?” उनको प्रश्न छ।

अकुपाई टुँडिखेल।

टुँडिखेलमा आँखा: चौर मिचाहा सेनापछि महानगर
कुनै बेलाको विशाल टुँडिखेल अहिले खुम्चिँदै जानुमा यस्तै गतिविधि प्रमुख कारण देखिन्छन्। हुन पनि टुँडिखेललाई विभिन्न कालखण्डमा ‘आवश्यकता’का नाममा खण्डीकरण गर्ने काम भइरहेको छ। काठमाडौँ महानगरको शहरी योजना आयोगका पूर्वउपप्रमुख सरोज बस्नेतलाई ५० वर्ष अघिसम्म पनि टुँडिखेल, भृकुटीमण्डप क्षेत्रमा भएका खेत र ठूला फाँटको सम्झना छ। 

लेखक निरणकुमार राजवंशीको पुस्तक ‘नेपालका संस्कृति र संग्रहालय’मा उल्लेख भएअनुसार प्राचीनकालमा अहिलेको टुँडिखेललाई नेवारी भाषामा ‘तुंगु ख्यो’ भनिन्थ्यो। त्यो ठाउँ ‘दलदल क्षेत्र’ थियो। ‘तुंगु ख्यो’ शब्द पछि ‘तुं ख्यो’ कहलिँदै टुँडिखेल भएको राजवंशीले लेखेका छन्। 

‘ख्यो’ को अर्थ ‘चौर’ पनि हो। जावलाखेल, लगनखेल यी सबै पहिलेका ‘ख्यो’ अर्थात् चौर नै हुन्। यस्ता खुला चौरहरू शहरको बस्तीभन्दा बाहिर हुने गर्थे। त्यहाँ जात्रा, पर्व मनाइन्थ्यो।

लेखक पर्सिभल ल्यान्डनको पुस्तक ‘नेपाल’को पहिलो भागमा टुँडिखेलबारे पनि उल्लेख छ। पुस्तकमा उनले राजा प्रताप मल्लले सोही स्थानको एक भागमा रानीपोखरी स्थापना गरेको, त्यसबाहेक प्रधानमन्त्री भीमसेन थापाले त्यहाँ धरहरा बनाएको, पछि जंगबहादुर राणाले यसलाई परेड मैदानको रूपमा प्रयोग गरेको उल्लेख गरेका छन्। चन्द्रशमशेरले पनि सिंहदरबार बनाउन टुँडिखेलकै कब्जा गरेका थिए।

राणाकालीन समयमा टुँडिखेल सैन्य परेड मैदानदेखि विभिन्न महत्त्वपूर्ण घोषणा गर्ने स्थान पनि थियो। चन्द्रशमशेरले दासप्रथा उन्मुलनको घोषणा टुँडिखेलबाटै गरेको इतिहासकार त्रिरत्न मानन्धर बताउँछन्। टुँडिखेलमा रहेको खरीबोटबाट विभिन्न राजनीतिक परिवर्तनको बिगुल फुकिएको पनि उनले बताए।

तस्वीर : प्रबिता/उकालो

मानन्धरका अनुसार सिंहदरबार निर्माण भइसकेपछि भद्रकाली मन्दिर खुला स्थानमै थियो। त्यो सानो ढिस्कोमाथि थियो। भद्रकालीबाट अहिलेको नेपाल टेलिकम र त्रिपुरेश्वरतर्फ जाने बाटो पनि चौर नै थियो। तर सेनाले परेडसँगै यसको भोगचलन शुर गरेको, अहिले नेपाल वायुसेवा निगमको कार्यालय रहेको ठाउँमा ८० वर्षअघि सेनाका स–साना टेन्ट भएको इतिहासकार मानन्धर सम्झन्छन्। पछि सैनिक मञ्च, लाइब्रेरी हुँदै हेडक्वार्टर नै सेनाले टुँडिखेलमा बनायो। त्यसपछि आर्मी अफिसर्स क्लब र सेनाका फुटबल मैदान जस्ता संरचना टुँडिखेलमै बने।

अहिले जहाँ सैनिक मुख्यालय छ, त्यो सानो टुँडिखेल हो। “२०१५–१६ सालतिर शहीद गेट राखियो। दक्षिणतर्फ ओरालो भागमा स्टेडियम बन्यो,” काठमाडौँ महानगरको शहरी योजना आयोगका पूर्वकर्मचारी सरोज बस्नेत भन्छन्, “वास्तवमा भूगोलको हिसाबले त्यहाँ स्टेडियम बन्नु उपयुक्त स्थान थियो। त्यसपछि सेनाले कब्जा गर्दै गयो। यसरी भिन्न आवश्यकताको पूर्ति गर्दागर्दै टुँडिखेल जस्तो खुला क्षेत्र खुम्चिँदै गएको हो।”

अकुपाई टुँडिखेलले प्रकाशन गरेको विवरणमा सन् १९६७ मा टुँडिखेलको ५२ प्रतिशत भूभाग खुला क्षेत्र थियो। सन् १९९० मा आइपुग्दा यो खुम्चिएर ३३ प्रतिशतमा पुग्यो। सन् २००० मा २५ प्रतिशत हुँदै २०१७ सम्म आइपुग्दा १४ प्रतिशतमा खुम्चिन पुगेको अकुपाई टुँडिखेलको दाबी छ। अहिले पनि अतिक्रमण हुनेक्रम जारी छ। 

राणाकालदेखि पञ्चायत हुँदै गणतन्त्रकालसम्म आइपुग्दा पनि सत्तासीनबाट टुँडिखेल अतिक्रमणमा परिरहेको बस्नेत बताउँछन्। 

पाँच वर्षअघि टुँडिखेललाई ‘विशाल पार्क बनाउने’ भन्दै राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पनि एउटा योजना अघि सारेको थियो। तीन वर्षअघि प्राधिकरण नै विघटन भएपछि टुँडिखेल संरक्षणमा जुटिरहेका अभियन्ताको एउटा ठूलो चिन्ता हट्यो। तर अहिले काठमाडौँ महानगर त्यसभन्दा अगाडि बढेपछि अभियन्ताको चिन्ता बढेको छ।


सम्बन्धित सामग्री