र्याली
काठमाडौँमा यौनिक अल्पसंख्यकको ‘प्राइड परेड’
काठमाडौँ– प्राइड मन्थका अवसरमा शनिबार राजधानी काठमाडौँका सडकमा लैंगिक तथा यौनिक अल्पसंख्यक समुदाय (एलजीबीटीक्यूआई प्लस)ले र्याली निकालेका छन्। विश्वभर ‘जुन’ महिनालाई गौरव महिना (प्राइड मन्थ)का रूपमा मनाइने गरिन्छ। लैंगिक तथा यौनिक अल्पसंख्यक समुदायका लागि यो महिना विशेष हुने गरेको छ। यस अवसरका शान्तिवाटिकाबाट दिउँसो २ बजे शुरू भएको यो र्यालीमा सहभागी नाच्दै, गाउँदै, रमाउँदै र आफ्ना पहिचान तथा स्वतन्त्रतालाई गर्वका साथ सार्वजनिक रूपमा प्रदर्शन गर्दै अगाडि बढ्यो। शहरका विभिन्न सडक हुँदै नारायणचौरमा पुगेर र्याली समापन भयो। सहभागीका हातमा रङीचङी प्राइड झन्डा, आकर्षक पोस्टर र प्लेकार्ड देखिन्थे। सडकमा कसैले गीत गाउँदै थिए, कसैले नाच्दै, त कसैले साथीहरूसँग हात समाएर उल्लास प्रकट गरिरहेका थिए। नारायणचौरमा पुगेर र्याली सांस्कृतिक कार्यक्रममा परिणत भयो। यहाँ प्राइड समूहका विभिन्न सदस्यले नृत्य, गायन र अभिनय प्रस्तुत गर्दै भीडलाई रोमाञ्चित बनाए। सबै जना एकअर्कालाई अँगालो हाल्दै, खुशी साट्दै, आफ्नो पहिचान र अधिकारको उत्सव मनाएका थिए। –ममून केसी/नेपाल फोटो लाइब्रेरी
प्रकाशित मिति:
6/14/2025 5:24:38 PM