फूल
ढकमक्क लालीगुराँस
पहाडी क्षेत्रका वनपाखा लालीगुराँसले राताम्मे देखिन थालेका छन्। काठमाडौँ उपत्यकासहित देशभरका पहाडी क्षेत्रमा विभिन्न प्रजातिका रंगीविरंगी लालीगुराँसले वनपाखा ढकमक्क बनेका हुन्। त्यस्तै, गोरखाको धार्चे गाउँपालिकाको गुप्सिपाखा क्षेत्रमा फुलेको लालीगुराँसले हरियो जंगल रंगीविरंगी देखिएको छ। लालीगुराँसको सुन्दरताका कारण सो क्षेत्रमा पर्यटकहरूको आकर्षण पनि बढ्न थालेको छ। रातो र गुलाबी, सेता र पहेँला रङका गुराँस यहाँ पाइन्छ। जिल्लाकै दुर्गम र उत्तरी भेगमा पर्ने यस क्षेत्रमा लालीगुराँस र हरियाली पहाडले पर्यटक तान्ने गर्छ। वनस्पतिविद्हरूका अनुसार लालीगुराँस समुद्री सतहबाट एक हजार तीन सयदेखि चार हजार ६ सय मिटर उचाइमा पाइन्छ। लालीगुराँसको रूख १० सेन्टीमिटरदेखि ३० मिटरसम्म अग्लो हुन्छ। चैतको पहिलो सातादेखि फुल्ने यो फूल जलवायु परिवर्तनको असरले अचेल माघ–फागुनमै फुल्न थालेको छ।
तस्वीर : नेपाल फोटो लाइब्रेरी।
प्रकाशित मिति:
3/22/2025 3:01:24 PM