Saturday, April 20, 2024

-->
भोटोजात्राको रौनक
यो कसको भोटो हो?

वर्षा र सहकालका देवता रातो मत्स्येन्द्रनाथको भोटो बिहीबार देखाइएको छ। गुठी संस्थान ललितपुरका प्रतिनिधिले राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा भोटो देखाएका हुन्। मत्स्येन्द्रनाथको जात्रा करिब एक हजार ३०० वर्षअघि नै शुरू भएको पञ्चांग निर्णायक विकास समितिका पूर्वसदस्य कीर्तिमदन जोशी बताउँछन्। किम्बदन्तीअनुसार यो यात्रा शुरू भइसकेपछि नागराज कर्कोटककी रानीको आँखा दुख्यो। कर्कोटक वैद्यको खोजीमा लागे। खेतमा काम गरिरहेका किसानलाई वैद्य ठानी नागलोक अर्थात् टौदह लगे। डराएका किसानले मत्स्येन्द्रनाथको प्रार्थना गरी हात माडेर मयललाई औषधिका रूपमा कर्कोटकलाई दिए। औषधिले रानीको आँखा दुख्ने रोग निको भयो। पुरस्कार स्वरूप मणि माणिक्यले युक्त भोटो किसानलाई दिएर मनुष्यलोकमा फर्काइयो। किसानले भोटो खेतको डिलमा राखेर काम गर्न थाले। मनुष्यरुपी भूत आएर भोटो लग्यो। किसानले खोजी गर्दा पाउन सकेनन्। मत्स्येन्द्रनाथको जात्रा हेर्न जाँदा आफूले पुरस्कारस्वरूप पाएको भोटो मनुष्यका रूपमा आएको भूतले लगाएको देखेर किसानले दाबी गरे। भूतले दिन नमानेपछि विवाद भयो। कर्कोटक नागलाई समेत बोलाएर सोधखोज गरियो। अन्तिममा भोटोको अधिकारी दुवै हुन नसक्ने निष्कर्ष निकाली मत्स्येन्द्रनाथको जिम्मा लगाइयो। आधिकारिक प्रमाणसहित आउनेलाई भोटो दिन रातो मत्स्येन्द्रनाथको रथ यात्रा सकेपछि भोटो जात्रा गर्ने परम्परा छ। तस्वीरहरू: फोटो लाइब्रेरी

प्रकाशित मिति: