Friday, March 29, 2024

-->
रातो मच्छिन्द्रनाथ
जावलाखेल पुर्‍याइयो रातो मत्स्येन्द्रनाथको रथ

रातो मत्स्येन्द्रनाथ (मच्छिन्द्रनाथ)को रथ लगनखेलबाट जावलाखेलसम्म तानिएको छ। लगनखेलबाट सोमबार दिउँसो ३ बजेर ४९ मिनेटमा रथ जावलाखेलसम्म तानिएको हो। वर्षा र सहकालका देवताका रूपमा पुजिने ऐतिहासिक रातो मत्स्येन्द्रनाथको रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाइन्छ। विद्या, धनसम्पत्ति, शान्ति समृद्धि लगायत सबै कुरा मागे पनि मेरो रूप रङ राम्रो होस् भनेर माग्न नहुने संस्कृतिविद्हरू बताउँछन्। रातो मत्स्येन्द्रनाथको जात्रा नेपालमा मनाइने जात्रा मध्येकै सबैभन्दा लामो जात्रा हो। मत्स्येन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदाबाट शुरू भएर असार शुक्ल चतुर्थी (दुई महिना)सम्म चल्छ। मत्स्येन्द्रनाथको रथ यात्राको अन्तिम दिन भोटो देखाउने जात्रा हुन्छ। पुल्चोकमा रथारोहण गरी शुरू भएको मत्स्येन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ। यससँगै मत्स्येन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिएपछि जात्रा समापन हुन्छ। पौराणिक कथनअनुसार १२ वर्षसम्म अनिकाल लागेपछि भक्तपुरका तत्कालीन राजा नरेन्द्र देवले यो जात्राको शुरूआत गराएका थिए। तस्वीरहरू : क्रिष्पा श्रेष्ठ

प्रकाशित मिति:  


Topics