Friday, March 29, 2024

-->

न्यूजलेटर
२०७९ कात्तिक २७, आइतबार

आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक २७ आइतबार

एमाले अध्यक्ष ओलीको पूर्व सहकर्मी नेपाललाई 'घर फिर्ता' आउन आह्वान

नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललाई पुनः एमालेमा फर्किन सार्वजनिक रूपमा आह्वान गरेका छन्।

आइतबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाललाई पहिले गरेका गल्ती सच्याएर एमालेमै आउन आग्रह गरेका थिए। "हामी ती गल्ती बिर्सिएर महत्त्वपूर्ण जिम्मेवारी दिन्छौँ," आमसभालाई सम्बोधन गर्दै ओलीले भने।

एमाले अध्यक्ष ओली अहिले निर्वाचन लक्षित अभियानमा सहभागी हुने क्रममा कर्णाली प्रदेश पुगेका छन्।

यसमा साथै, वीरेन्द्रनगरको सभामा उनले नेकपा एमालेले बहुमत ल्याएर सरकार बनाउने उनले दाबी गरेका थिए भने गठबन्धन गरेका दलहरू राजनीतिका बिचौलिया भएको आरोप लगाउँदै जनताले उनीहरूलाई मत नदिने दाबी गरेका थिए।

एमालेलाई हराउनका लागि देशी–विदेशी प्रतिक्रियावादीहरू मिलेर घेराबन्दी गर्न खोजिरहेको उनको भनाइ थियो। "तर सय वटा स्यालले पनि एउटा सिंहलाई घेराबन्दी गर्न सक्दैन," ओलीले भने।

कर्णाली प्रदेशमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रचण्डको पछि लागेर प्रचण्डकै बोली बोल्न थालेका र गठबन्धनले प्रधानमन्त्रीको साझा उम्मेदवार एवं घोषणापत्र दिन नसकेको भनेर आलोचना गरेका थिए।

गत शुक्रबार राति राजधानीको सबैभन्दा चर्चित क्लब एलओडी पुगेर पूर्वप्रधानमन्त्री ओलीले एमालेको प्रचार सामाग्री 'केपी बा' नामक र्‍याप गीत सार्वजनिक गरेका थिए, जुन खबर सप्ताहान्त भरी निकै नै लोकप्रिय भएको थियो। 

चितवनमा स्वतन्त्र पार्टीको प्रचार टोलीमाथि आक्रमण
चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको प्रचारप्रसारमा हिँडेको गाडीमाथि आक्रमण भएको छ। बा १४ च ७६८४ नम्बरको गाडीमा मानिस सवार रहेकै बेला आक्रमण भएको पार्टीले जनाएको छ।

निर्वाचन प्रचार गरिरहेका गठबन्धन दलका कार्यकर्ताले उक्त गाडीमा तोडफोड गरेका रास्वपाले बताएको छ। तोडफोडबाट गाडीको अगाडिको सिसा फुटेको छ।

यसैबीच माओवादी केन्द्र चितवनले सो घटनामा आफूहरूको कुनै संलग्नता नरहेको स्पष्टीकरण दिएको छ। यसैबिच, जिल्ला प्रशासन कार्यालयले भने दुवै पक्ष चुनावी प्रचारमा रहँदा भनाभन भएर तोडफोड भएको र यसबारे थप छानबिन भइरहेको बताएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय अध्यक्ष रवि लामिछाने सो पार्टीबाट चितवन क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्। उक्त क्षेत्रमा प्रचारका सिलसिलामा हिँडेका उनी आक्रमणमा परेको जिप भन्दा अगाडीको गाडीमा सवार थिए।

यस घटनापश्चात् लामिछानेले प्रहरी मूकदर्शक बनेको र आफू सुरक्षित नभएको बताएका छन्।

अर्कोतर्फ, नेपाली कांग्रेस चितवनका अनुसार चुनावी अभियानबाट फर्किरहेका गठबन्धनको टोलीतिर अर्को साइडमा रहेका स्वतन्त्र पार्टीका प्रचार समूहका व्यक्तिले हात देखाउँदै घण्टी बजाउन थालेपछि भनाभन भएको थियो। 

उकालो विचार: प्रवासी श्रमिकको रगत पसिनामा ठडिएका स्टेडियम र विश्वकप फुटबल
फुटबलको महामेला–विश्वकप फुटबलका लागी स्टेडियमहरू बनाउने क्रममा कतारमा झन्डै चार हजार मजदुरको ज्यान गएको अनुमान छ। अबको एक हप्तापछि शुरू हुने यो फुटबल भिडन्तका लागि सात वटा त नयाँ स्टेडियम बनेका छन्। कतारमा विश्वकप गर्ने निर्णय भएपछि हामी ट्रेड युनियनको प्रतिनिधिमण्डल सन् २०११ मा फिफाको हेडक्वार्टर जुरिच (स्विट्जरल्यान्ड)  गएका थियौँ। 

उतिखेर एक वर्षमा सरदर २०० त नेपालीले मात्रै कतारमा ज्यान गुमाउँथे। त्यही कुरालाई मात्रै आधार मानेर हेर्दा पनि सन् २०२२ सम्म आइपुग्दा दुई हजार नेपालीले कतारमा ज्यान गुमाएका हुन सक्छन्। फुटबल र यसको पूर्वाधारमा मात्रै काम गरेकाहरूको बारेमा भने हामीसँग अलग्गै  तथ्याङ्क छैन। 

फुटबलको महाउत्सवमा सहभागी हुँदै गर्दा पूर्वाधार बनाउने क्रममा ज्यान गुमाएका हजारौँ श्रमिकहरूका लागि नेकपा एमाले नेता तथा श्रमिक अधिकारकर्मी बिन्दा पाण्डेसँगको कुराकानीका आधारित लेख: प्रवासी श्रमिकको रगत पसिनामा ठडिएका स्टेडियम र विश्वकप फुटबल

पाकिस्तानलाई फाइनलमा हराउँदै इङ्गल्यान्ड बन्यो टी-२० विश्वविजेता
अस्ट्रेलियामा सम्पन्न आईसीसी टी-20 विश्वकपको उपाधि इङ्ग्ल्यान्डले जितेको छ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभर खेल्दै इङ्ग्ल्यान्डलाई १३८ रनको मध्यम लक्ष्य दिएको थियो जसलाई इङ्ग्ल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो।

इङ्ग्ल्यान्डको जीतमा बेन स्टोक्सले अर्धशतक महत्त्वपूर्ण रह्यो जसमा उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५२ रन जोडे। उनी अन्तिमसम्म नट आउट रहेका थिए।

पाकिस्तानका लागि शान मसुदले सर्वाधिक ३८ रन बनाएका थिए  भने कप्तान बाबर आजमले ३२ रन बनाए।

विजयी टिमका लागि साम करनले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। उनी प्लेयर अफ दि म्याच पनि घोषित भएका थिए।

उकालो विशेष : चीन–अमेरिका सम्बन्धमा ‘ब्रेक थ्रु’ : जलवायु समस्यामाथि आशाको सञ्चार
अमेरिकासँग जलवायुका विषयमा सहकार्य नगर्ने घोषणा गरेको चीनले कोप–२७ का दौरान अमेरिकासँग पुनः अनौपचारिक संवाद थालनी गरेको छ। योसँगै दुई देशका राष्ट्रपतिबीच वार्तासमेत हुने भएको छ। बिस्तृतमा पढ्नुहोस्: उकालो विशेष : चीन–अमेरिका सम्बन्धमा ‘ब्रेक थ्रु’ : जलवायु समस्यामाथि आशाको सञ्चार

बाबुराम रणनीति : छोरी जिताउन कार्यकर्ताको बेवास्ता, हारे नेसपा जिते माओवादी
नवगठित नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष बाबुराम भट्टराईले गएको असोज १७ गते गोर्खाका जनतालाई सामाजिक सञ्जालमार्फत आगामी निर्वाचनमा आफू उम्मेदवार नहुने सन्देश दिए। राजनीतिमा त्याग गरेर नयाँलाई अवसर प्रदान गर्नुपर्ने पक्षमा वकालत गर्दै आएका भट्टराईको यो घोषणालाई धेरैले सकारात्मक रूपमा लिए। 

भट्टराईले सो क्षेत्रबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई समर्थन गर्ने घोषणा गरेका थिए। उनले उम्मेदवार नबन्ने घोषणा गरेको पाँच दिनपछि माओवादी केन्द्रको चुनाव चिह्न लिएर छोरी मानुषि यमि भट्टराई काठमाडौँ–७ बाट उम्मेदवार बन्ने निश्चित भयो। नेसपाले छुट्टै नभई माओवादी केन्द्रको चिह्नमा केही क्षेत्रमा उम्मेदवार बनाउने भयो।

आफूलाई साथ दिँदा राजनीतिक ‘करिअर’ नै सिद्ध्याएका नेता कार्यकर्ता पन्छाएर छोरी जिताउने बाबुरामको चाहनाले भर्खर बन्दै गरेको पार्टी कसरी विघटनको सङ्घारमा पुगेको छ भन्नेबारे मुकेश पोखरेलको विश्लेषण: बाबुराम रणनीति : छोरी जिताउन कार्यकर्ताको बेवास्ता, हारे नेसपा जिते माओवादी

दार्चुलामा एमाले-गठबन्धनबीच झडप, एक घाइते 
आइतबार दिउँसो दार्चुलाको नौगाड गाउँपालिकामा नेकपा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ, जसमा गठबन्धनका जयसिंह धामी सख्त घाइते भएका छन्।

घाइते धामी नेकपा (माओवादी केन्द्र) दार्चुला-काठमाडौं सम्पर्क समन्वय समितिका अध्यक्ष हुन्। जिल्लामा माओवादी कार्यकर्ताका अनुसार एमालेका कार्यकर्ताले धामीमाथि सामूहिक आक्रमण गरेका थिए।

धामीको टाउकोमा रडले प्रहार गरिएको हुँदा अझै होस नआएको जानकारी प्राप्त भएको छ ।

आयोगको मतदाता शिक्षा कार्यक्रम तारे होटेलमा, मतदाता भर्चुअल सिकाइको भरमा
गएको कात्तिक २१ गते निर्वाचन आयोगले ठमेलस्थित चारतारे होटेल एलफ्टमा कलाकारसँग अन्तरक्रिया कार्यक्रम गरेको थियो। आयोगले कलाकारलाई बोलाएर मतदाता शिक्षाका लागि सहयोग गर्न आग्रह गरेको थियो।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मुख्य सात विषयमा कलाकारबाट सहयोगको अपेक्षा गरेको बताएका थिए। चुनावी माहौल बनाउने, निर्वाचनसम्बन्धी झूटो र गलत समाचारप्रति सजग गराउनेसहित उनले 

भनेका धेरै बुँदा मतदाता शिक्षासँग सम्बन्धित थिए। उनले कलाकारलाई मतदान गर्ने तरिका पनि सिकाएका थिए।

निर्वाचन आयोगका पूर्वप्रमुख आयुक्त अयोधीप्रसाद यादव मतदाता शिक्षा महत्त्वपूर्ण हुने बताउँछन्। मतदातालाई सुसूचित गर्नु निर्वाचन आयोगको महत्त्वपूर्ण जिम्मेवारी भएको उनको भनाइ छ। तर, निर्वाचनको १५ दिनअघि मतदाता शिक्षा दिँदा जनता सुसूचित नभई ‘कन्फ्युज’ उनी बताउँछन्

बजेट अभावमा मतदाता शिक्षा कार्यक्रमका लागि घरदैलो कार्यक्रम गर्न नसकिएको बताउने निर्वाचन आयोगले कलाकारहरूलाई राखेर चारतारे होटेलमा मतदान गर्ने तरिका सिकाउँदै प्रचार गरिदिन आग्रह गरेको थियो। निर्वाचन आयोगको मतदाता शिक्षा प्रतिको हलुका रवैयाबारे प्रबिता श्रेष्ठको लेख: मतदाता शिक्षा : आयोगको कार्यक्रम तारे होटलमा, मतदाता भर्चुअल सिकाइको भरमा


सम्बन्धित सामग्री