Friday, April 26, 2024

-->

न्यूजलेटर
२०७९ मंसिर १६, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ मंसिर १६ शुक्रबार

स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवाद अनुसन्धानको घ‌ेरामा
काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकतामाथि छानबिन गर्ने सम्बन्धमा नेपाल प्रहरीलाई पत्राचार गरेको छ।

उक्त पत्रका माध्यमद्वारा  प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले जिल्ला प्रहरी परिसरलाई चितवन-२ बाट निर्वाचित सांसद लामिछानेको नागरिकताल‌े जन्माएको विवादमाथि छानबिनका लागि अनुरोध गरेका छन्।

प्रशासन कार्यालयको पत्र प्राप्त हुने बित्तिकै अनुसन्धान प्रक्रिया प्रारम्भ भएको प्रहरी परिसरले बताएको छ।

गृह मन्त्रालयमा लामिछानेको नागरिकतामाथि छानबिनका लागि उजुरी परेपछि मन्त्रालयको आदेशमा जिल्ला प्रशासन कार्यालयले सम्बन्धित निकायमा पत्राचार गरेको जानकारी प्राप्त भएको छ।

अमेरिकी पासपोर्ट त्यागेका रवि लामिछानेले नेपाली नागरिकता लिने प्रक्रियामा त्रुटी रहेको भन्दै गृह मन्त्रालय र निर्वाचन आयोगमा उजुरी परेको थियो। लामिछानेले भने आफ्नो नागरिकताको विषय यसअघि नै समाधान भइसकेको दाबी गर्दै आएका छन्।

विदेशी नागरिकता त्याग्नु भन्दा अगाडि नै वा झुटो विवरण दिएर नेपाली राहदानी लिएको देखिए लामिछानेलाई कानूनबमोजिम जरिबाना र कैद सजाय हुन सक्छ।  

माओवादीसँग एकता गर्ने खबरको एकीकृत समाजवादीले गर्‍यो खण्डन
नेकपा (एकीकृत समाजवादी)ले नेकपा माओवादी केन्द्रसँग आफ्नो पार्टीको एकता हुने समाचार निराधार भएको बताएको छ।

शुक्रबार पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै महासचिव वेदुराम भुसालले माओवादी केन्द्रसँग पार्टी एकताबारे छलफल, वार्ता वा संवाद केही पनि प्रयास नभएको जानकारी दिएका छन्। 

'नेकपा एकीकृत समाजवादी र नेकपा माओवादी केन्द्रबीच तत्काल एकता हुँदैछ भन्ने प्रचारप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको स्पष्ट पार्न चाहन्छौँ। यो प्रचार पूर्णत: निराधार हो। यसमा कुनै सत्यता छैन। हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले त्यस्तो भ्रममा नपर्न सबैमा अनुरोध छ,' विज्ञप्तिमा उल्लेख छ।

सरकार गठनलगायत विषयमा सबै दलसँग संवाद गर्न एमाले तयार : सुभाष नेम्वाङ
नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले उनको पार्टी सरकार गठनलगायत का मुद्दामा सबै राजनीतिक दलसँग वार्ता र संवादका आधारमा अघि बढ्ने बताएका छन्।

शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेम्वाङले निर्वाचनबाट प्राप्त जनादेशअनुरूप विगतका सबै गल्ती कमजोरीलाई बिर्सेर सबै राजनीतिक दलसँग संवाद शुरू गरेको जानकारी दिए।

जनताले निषेधको राजनीतिलाई अस्वीकार गरेको भन्दै उनले सबै दलले जनअभिमतलाई बुझेर एकअर्कासँग छलफल गरेर आगाडि बढ्नुपर्ने भनेका ‌छन्। “एमाले जनताको यही सन्देशलाई आत्मसात गरेर नेपाली कांग्रेसलगायत सबै राजनीतिक दलसँग छलफल गरेर निष्कर्षमा पुग्छ” उनले भने।

अब सबै दलले एकअर्कासँग पानी बराबार गरेर अघि बढ्ने स्थिति अहिले नभएको उनले बताए। त्यस्तो कुनै बेला भए पनि अहिले त्यो चरण सकिसकेको र अब सबै सुझबुझका साथ अगाडि बढ्नुपर्ने उनले बताए। 

कैलालीमा शनिबार बिहानसम्म निषेधाज्ञा
कैलालीमा ग्रेडरको ठक्करबाट विद्यार्थीको मृत्यु भएपश्चात ‌चर्किएको आन्दोलन मत्थर पार्न प्रशासनले जारी गरेको निषेधाज्ञा शनिबार बिहानसम्म कायम रहने भएको छ।

कैलाली जिल्ला प्रशासन कार्यालयले एउटा सूचना प्रकाशित गर्दै शनिबार बिहान ४ बजेसम्म निषेधाज्ञा कायम रहने जानकारी दिएको छ।

शुक्रबार दिउँसो प्रहरीले आन्दोलनरत विद्यार्थीले निषेधाज्ञा तोड्दै प्रदर्शन गरेपछि उनीहरूलाई नियन्त्रणमा लिएको थियो। बिहीबार बिहान धनगढीमा ग्रेडरको ठक्करबाट १५ वर्षीया छात्राको मृत्यु भएको थियो। घटनापश्चात् स्थानीयबासी र विद्यार्थीले गरेको प्रदर्शन नियन्त्रणभन्दा बाहिर गएपछि प्रशासनले निषेधाज्ञा जारी गर्ने निर्णय लिएको थियो।

नेपाली ग्राहकले गुल्जार रक्सौल : बालेन शाह ‘पोष्टर बोई’, पसलका साइनबोर्ड नेपालीमा
वीरगन्जस्थित नेपालको सीमाबाट नजिकै पर्ने भारतीय शहर रक्सौलको मुख्य बजार बैंक रोडमा एउटा चश्मा पसल छ। त्यसको साइनबोर्डमा काठमाडौँ महानगरका मेयर बालेन शाहको चश्माधारी तस्वीर राखिएको छ। उनको तस्वीर राख्नुको एउटै उद्देश्य हो नेपाली ग्राहकलाई आकर्षित गर्नु।

रक्सौलका कतिपय पसलका नाम पनि नेपालीबाटै राखिएका छन्। ‘जय नेपाल साडी शोरुम’, ‘नेपाल इलेक्ट्रोनिक’ जस्ता पसल रक्सौलकै पुराना मानिन्छन्। साइनबोर्डमा पनि हिन्दी वा स्थानीय भोजपुरी भाषाको दोकान शब्द नराखेर ‘पसल’ लेखिएको छ। ‘हामी कहाँ फलानो बस्तु पाइन्छ’ जस्ता जानकारी पनि नेपालीमै लेखिएका छन्। 

नेपाल–भारत सीमा दशगजापारिको रक्सौल स्टेसनमा ओहोरदोहोर गर्ने रेलको आवाज वारि वीरगन्जमा स्पष्टै सुनिन्छ। सीमावारि वीरगन्जका स्थानीय दैनिक उपभोग्यलगायत अन्य सामान किन्न रक्सौल पुग्छन्। उताको रहनसहन, संस्कृति, भाषा र जीवनशैली यताको जस्तै छ। त्यसैले पनि पारि गएर सामान किन्न नेपाली उपभोक्तालाई समस्या छैन।

नेपाली ग्राहकका लागि वीरगन्जपारिको भारतीय बजार रक्सौलका व्यापारीले साइनबोर्ड पनि नेपालीमा लेख्ने गरेका छन्। नेपालतर्फ दैनिक उपभोग्य मात्र नभई अन्य सामानसमेत महँगो हुँदा उताको बजार गुल्जार बनेको छ। रितेश त्रिपाठीको स्टोरी, सविस्तार: नेपाली ग्राहकले गुल्जार रक्सौल : बालेन शाह ‘पोष्टर बोई’, पसलका साइनबोर्ड नेपालीमा

अर्थ: किन सुस्तायो नेपालको निर्यात व्यापार?
निर्यात घटेको आन्तरिक उत्पादनका कारणले वा अन्तर्राष्ट्रिय बजार नपाएर भने होइन। मुलुकमा उत्पादन नै नहुने पाम तेल, न्यून परिमाणमा मात्र उत्पादन हुने भटमास र सनफ्लावर तेलले निर्यात व्यापारको ठूलो हिस्सा ओगट्दै आएकामा भारतले करको दर हेरफेर गरेसँगै यसको प्रभाव देखिएको हो।

इन्डोनेसिया, मलेसिया, फिलिपिन्स लगायतका मुलुकबाट पाम तेलको कच्चा पदार्थ आयात गरेर प्रशोधन गरी व्यवसायीहरूले भारत पठाउँदै आएका छन्। भारतले आफ्नो बजार मूल्य नियन्त्रणका लागि सार्क मुलुकबाहेकका देशबाट तेलको आयातमा लाग्ने सीमा शुल्क घटाएपछि नेपालबाट हुँदै आएको तेल निर्यात घटेको हो।

आयात र निर्यातको खाडल बढ्दै जाँदा चालु आर्थिक वर्षमा देखिएको व्यापार घाटाबारे  केशु लामिछानेको रिपोर्ट : किन सुस्तायो नेपालको निर्यात व्यापार?


सम्बन्धित सामग्री