Friday, March 29, 2024

-->

न्यूजलेटर
२०७९ मंसिर १५, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ मंसिर १५ बिहीबार

आम निर्वाचन २०७९: मतगणना अपडेट
मंसिर ४ मा सम्पन्न आम निर्वाचनमा पहिलो हुने निर्वाचित हुने र समानुपातिक प्रणालीतर्फ खसेका मत गन्ने प्रक्रिया अन्तिम चरण प्रवेश गर्दै गर्दा नेपाली कांग्रेस सबैभन्दा धेरै सिट सुरक्षित गर्दै प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल हुने बाटोतर्फ उन्मुख छ।

प्रत्यक्ष निर्वाचन भएका १६५ क्षेत्रमध्ये हालसम्म १६३ सिटको नतिजा आइसकेको छ, जसमध्ये कांग्रेसले सबैभन्दा धेरै ५५ सिट जितेको छ भने एउटा क्षेत्रमा अग्रता लिएको छ। यसैगरी, समानुपातिक निर्वाचनमा अहिलेसम्म १ करोड ३ लाख ५९ हजार ५५० मत गणना भएका छन् जसमध्ये कांग्रेसले २६ लाख ३५ हजार ८५२ (२५.६ %) मत हासिल गरेको छ।

यद्यपि, समानुपातिकतर्फ भने नेकपा एमालेले सबैभन्दा धेरै २७ लाख ६६ हजार ९७६ (२६.९%) मत पाएको छ। प्रत्यक्षतर्फ भने उक्त दलले ४४ सिट जितेको छ‌।

यसैगरी, प्रत्यक्षतर्फ १७ र समानुपातिकतर्फ  ११ लाख ६० हजार ८९८ (११.३%) मत ल्याएको नेकपा माओवादी केन्द्र तेस्रो स्थानमा छ भने ७ क्षेत्रमा जित र ११ लाख १४ हजार ६३९ समानुपातिक मतका साथ भर्खरै दर्ता भएको राष्ट्रिय स्वतन्त्र पार्टी चौथो ठूलो दल बन्ने पक्का पक्की भएको छ।

नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षतर्फ १० स्थानमा जित हासिल गरे तापनि समानुपातिकतर्फ थ्रेसहोल्ड कटाउन संघर्षरत रहेका कारण राष्ट्रिय दलको मान्यता नै प्राप्त नहुने सम्भावना प्रबल छ। यस दलले हालसम्म २ लाख ९३ हजार र९५७ मत (२.८९%) पाएको छ भने राष्ट्रिय दलको हैसियत प्राप्त गर्न सदर मतको कम्तीमा ३% मत पाउनुपर्ने हुन्छ।

एकीकृत समाजवादीको 'दुर्दशा'को प्रत्यक्ष/अप्रत्यक्ष फाइदा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई भएको छ जसले हालसम्म ७ प्रत्यक्ष सिट र समानुपातिकतर्फ ५ लाख ८५ हजार २५७ मत पाएको छ।

यसका साथै जनता समाजवादी पार्टी ७ सिट र ४ लाख २० हजार ९२४ मतका साथ छैठौं र जनमत पार्टी १ सिट र ३ लाख ९४ हजार २७६ मतमा साथ सातौँ राष्ट्रिय दल बन्ने पक्का भएको छ।

प्रत्यक्षतर्फ चार सिट जितेको लोकतान्त्रिक समाजवादी पार्टी, तीन सिट नागरिक उन्मुक्ति पार्टी र एक सिट जितेको राष्ट्रिय जनमोर्चा भने समानुपातिकतर्फ थ्रेसहोल्ड नकट्ने भएपछि राष्ट्रिय दलको मान्यता प्राप्त हुनबाट वञ्चित हुने लगभग निश्चित भएको छ‌। दलगत परिणाम हेर्नुस्: मतगणना अपडेट

प्रधानमन्त्री: कुर्सी एक, दाबी अनेक
आम निर्वाचनको मतगणना प्रक्रिया सम्पन्न हुनै लाग्दा नयाँ सरकार गठन गर्नका लागि विभिन्न सम्बन्धित पक्ष सक्रिय हुनु नौलो कुरा होइन। लोकतन्त्रमा सरकारको सर्वोच्च कार्यकारी पदमा आसीन हुने आकांक्षा पाल्नु पनि कुनै गैरसंवैधानिक कार्य होइन‌।

तर, अहिले नेपालमा प्रधानमन्त्री पदका लागि भइरहेको बहुपक्षीय दाबी र दौडले यसै पनि रोचक राजनीतिक परिदृश्यमा 'कमेडी अफ ऐरर्स'को सम्भावनालाई निम्ता दिइरहेको भान हुन्छ‌।

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा सत्ताको बागडोर 'तेस्रो पुस्ता'ले सम्हाल्नु अपरिहार्य छ भन्दै सकेसम्म सर्वसम्मति नभए संसदीय दलको चुनाव गराउने तर्फ केन्द्रित छन्‌। उनीहरूको सक्रियताले उनीहरूभन्दा उमेर र अनुभवले पाका कांग्रेसी नेताहरूलाई झस्काएको छ‌। पार्टीका वरिष्ठ नेता 'पहिलो पुस्ता'का रामचन्द्र पौडेल र 'दोस्रो पुस्ता'का प्रकाशमान सिंहले पनि प्रधानमन्त्री पदको लागि आफ्नो दाबेदारी दिइरहेका छन्।

कांग्रेसका नेता पूर्वमन्त्री मिनेन्द्र रिजालले थापाहरूले अहिले हतार गर्न नहुने र उनीहरू सरकार हाँक्नेभन्दा पार्टी बनाउनतिर लाग्नुपर्ने बताएका छन्।

यसैगरी, पार्टीका उपसभापति पूर्णबहादुर खड्काले सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्रीका लागि सर्वस्वीकार्य हुने र‌ उनले संसदीय दलको नेता हुने 'चाहना राखेपछि अरू दायाँबायाँ नहुने' बताएका छन्। बिहीबार मिडियासँग कुरा गर्दै उनले अहिले देउवाको विकल्प नरहेको अभिव्यक्ति दिएका हुन्।

खड्काले आजै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता पनि गरेका छन्। उक्त भेटमा सत्ता गठबन्धनलाई निरन्तरता दिने विषयमा छलफल भएको थियो भने माओवादी अध्यक्ष दाहालले गठबन्धनकै नेतृत्वमा सरकार बनाउने कुरामा कुनै द्विविधा नरहेको बताएको खड्काले जनाएका छन्।

साथै, अर्का कांग्रेसी नेता शेखर कोइरालाले संसदीय दलको नेता चयनमा संख्याको कुरा निर्णायक हुने भन्दै अहिलेको अवस्थामा सभापति शेरबहादुर देउवा बलियो रहेको बताएका छन्। महामन्त्री थापालाई समर्थन गर्ने कि नगर्ने भन्ने सन्दर्भमा उनले अहिले त्यो विषयमा प्रवेश गर्ने बेला नभइसकेको बताए।

अर्कोतर्फ, नेकपा एमाले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्ने सम्भावना केलाउँदै विभिन्न पक्षहरूसँग वार्तारत छ भने माओवादी अध्यक्ष दाहालले पनि आफ्नो दलका कार्यकर्तासमक्ष अब गठन हुने सरकारको नेतृत्व आफूले गर्ने मनसाय प्रकट गरेका छन्‌।

उकालो संवाद: युवाले प्रधानमन्त्री हुन दौडिनुभन्दा पार्टी निर्माणमा लाग्नुपर्छ
आमनिर्वाचनको परिणाम अन्तिम चरणमा पुग्दा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ नेपाली कांग्रेसले धेरै सिट जितेको छ। २०७४ मा वाम गठबन्धन हुँदा प्रत्यक्षमा २३ सिट मात्रै जितेको कांग्रेसले यसपटक ५५ स्थान जितिसकेको छ। तर, निर्वाचनअघि कांग्रेसकै कतिपय नेता गठबन्धन गर्न नहुने पक्षमा थिए। तीमध्येका एक डा. मिनेन्द्र रिजालसँग निर्वाचनपछि कांग्रेसको अवस्था, चुनौती र आगामी सरकार गठनका विषयमा उकालोका लागि दिपा दाहालले गरेको कुराकानी: युवाले प्रधानमन्त्री हुन दौडिनुभन्दा पार्टी निर्माणमा लाग्नुपर्छ

स्याङ्जा : नेपाली कांग्रेस अगाडि
निर्वाचन सम्पन्न भएको ११ औँ दिनसम्म पनि मतगणना शुरू हुन नसकेको स्याङ्जा क्षेत्र नम्बर २मा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले अग्रता लिएका छन्।

कांग्रेस उपसभापति गुरुङले नेकपा एमालेका सचिव पद्मा अर्यालसँग २ हजार बढी मतको अग्रता कायम गरेका छन्। हालसम्म गुरुङले ८ हजार ४२ मत प्राप्त गरेका छन् भने अर्यालले ६ हजार ७ मत पाएकी छिन्।

एमालेकी उम्मेदवार अर्यालले मतदान प्रक्रिया सम्पन्न हुनेबित्तिकै पत्रकार सम्मेलन गर्दै उक्त क्षेत्रमा धाँधली भएको भन्दै पुनः मतदानको माग गरेकी थिइन्।

निर्वाचन आयोगको बुधबार बसेको बैठकले स्याङ्जा र बाजुरामा पुनः मतदान नगर्ने निर्णय गरेपछि त्यहाँ आजबाट गणना शुरू भएको छ ‌।

सुनसरी- बाट नेपाली कांग्रेसका ज्ञानेन्द्र कार्की निर्वाचित
मतगणना शुरू भएलगत्तै निकै नै रोमाञ्चक प्रतिस्पर्धा भएको सुनसरी-४ मा अन्ततः सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधिसभा सदस्य चुनिएका छन्‌।

कार्कीले नेकपा एमालेका उम्मेदवार जगदीश कुसियैतलाई ११२ को झिनो मतान्तरले पराजित गर्दै निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि पत्रकारहरूसँग कुरा गर्दै उनले कांग्रेस नेतृत्वकै गठबन्धनको सरकार बन्ने र शेरबहादुर देउवाले नै सरकारको नेतृत्व गर्ने बताएका छन् ।

जनमत पार्टी सत्ता गठबन्धन सरकारमा सामेल हुने
नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष चन्द्र कान्त (सीके) राउतबीच आज भेटवार्ता भएको छ। भेटको मध्यस्थता कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले गरेका थिए।

उक्त भेटमा जनमत पार्टी सत्ता गठबन्धन र संघीय र प्रदेश दुवै तहको सरकारमा सहकार्य गर्दै सामेल हुने सहमति भएको छ।

निधि र राउतबीच बुधबार निधिको वानेश्वरस्थित निवासमा पहिलो चरणको भेटवार्ता भएको थियो।

अन्तर्राष्ट्रिय: रोमन म्यागसेसे विजेता भारतीय पत्रकार रविश कुमारले यूट्युबमा यात्रा जारी राख्ने
एनडीटीभीमा भारतको व्यावसायिक घराना अडानी समूहको प्रवेशपछि बुधबार उक्त च्यानलको कार्यकारी सम्पादक पदबाट राजीनामा दिएका चर्चित भारतीय पत्रकार रविश कुमारले आफ्नो पत्रकारिताको यात्रालाई युट्युबबाट निरन्तरता दिने भएका छन्।

बिहीबार बिहानै दर्शकलाई भिडियोमार्फत् सम्बोधन गर्दै रविश कुमारले छोटो समयका लागि आराम गरेर युट्युबमार्फत आफ्नो पत्रकारिता जारी राख्ने जानकारी गराएका थिए।

‘मैले राजीनामा दिएँ’ शीर्षकको २४ मिनेट लामो भिडियो अपलोड भएको केही समयमा नै लाखौँले हेरेका थिए। हालसम्म उक्त भिडियो २.२ मिलियन पटक हेरिएको छ‌।

भारतका अधिकांश सञ्चारमाध्यममा सरकार र भारतीय जनता पार्टीको अतिप्रभाव भइरहँदा रविश कुमार एनडीटीभीमार्फत लगातार सत्तामाथि कडा प्रश्न गरिरहन्थे जसका लागि उनले उत्तिकै प्रशंसक र आलोचक कमाएका छन्। 

खेलकुद: जर्मनीकोस्टारिका भिडन्त : जित्नैपर्ने दबाबमा दुवै टिम
बिहीबार अल बेयत स्टेडियममा कोस्टारिकाविरुद्ध मैदान उत्रिँदा भने जर्मनीलाई अघिल्ला खेलहरूमा गरेको जस्तो गल्ती गर्ने छुट हुनेछैन। किनभने बिहीबारको खेल अंक तालिकाको पुछारमा रहेको जर्मनीको लागि फाइनल सरह हुनेछ र जित नै निकाल्नैपर्ने बाध्यता हुनेछ।

जारी कतार विश्वकपमा समूह ‘ई’ का दुई खेल सकिँदा स्पेन ४ अंकका साथ शीर्ष स्थानमा छ। यता, जापान र कोस्टरिका ३ अंकको साथ क्रमशः दोस्रो र तेस्रो स्थानमा रहँदा १ अंक जोडेको जर्मनीको पनि अन्तिम १६ मा पुग्ने सम्भावना जीवितै छ। थप जानकारी: जर्मनीकोस्टारिका भिडन्त : जित्नैपर्ने दबाबमा दुवै टिम

 विचार- बासस्थान : प्रत्येक नागरिकको अधिकार
देशभर लाखौँ भूमिहीन सुकुमबासी र अव्यवस्थित बसोबासी छन्। आफ्नो कुनै जग्गाजमिन र सम्पत्ति नभएर सरकारी जग्गामा आवास बनाएर बस्नेलाई सुकुमबासी भनिन्छ। अन्त घरजग्गा भएर पनि अन्यत्रको सरकारी जग्गामा लगातार दश वर्षदेखि अव्यवस्थित रूपमा बसोबास गरेर बसेको व्यक्ति या परिवारलाई 'अव्यवस्थित बसोबासी' भनिन्छ। को  अव्यवस्थित बसोबासी र को सुकुमबासी भनेर तोक्ने अधिकार स्थानीय निकायसँग छ। देशभरको भूमिहीनको समस्या अन्त्यका लागि अहिले भूमि आयोग सक्रिय छ। देशभरकै तथ्यांक त अहिलेसम्म संकलन भएको छैन। तरतथ्यांक हेर्दा सुकुमबासीभन्दा धेरै अव्यवस्थित बसोबासी नै छन् भन्ने देखिन्छ।

गाउँठाउँमा आफ्ना समस्या समाधान हुने कुनै उपाय नदेखेपछि नै हो मान्छे शहर पस्ने। शहर पस्नेमध्ये आर्थिक रूपमा अत्यन्त कमजोरहरूचाहिँ सार्वजनिक जग्गामा टिन बारेर बस्न आइपुग्छन्। विस्तृतमा पढ्नुहोस्, उदय सुवेदीको विचार : प्रत्येक नागरिकको अधिकार


सम्बन्धित सामग्री