Friday, April 26, 2024

-->

न्यूजलेटर
२०७९ मंसिर ०४, आइतबार

आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ मंसिर ०४ आइतबार

निर्वाचन सम्पन्न, ६१ प्रतिशत मत खस्यो
प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चयनको निर्वाचन सम्पन्न भएको छ। निर्वाचन आयोगका अनुसार मताधिकार पाएका ६१ प्रतिशतले आज संघीय र प्रादेशिक संसद्का तल्लो सदनका लागि मतदान गरेका थिए। 

आइतबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले अहिलेसम्म निर्वाचन आयोगको प्रणालीमा प्रविष्ट भएको विवरणअनुसार यति प्रतिशत मत खसेको तथ्यांक प्राप्त भएको बताए।

आयोगले सबै विवरण प्राप्त भएपछि संख्या बढ्न सक्ने बताएको छ भने हाल प्राप्त भएको तथ्यांक अपेक्षा गरेको भन्दा पनि कम भएको बताएका थिए।

प्रधानमन्त्रीले दिए निर्वाचन सम्पन्न भएकोमा धन्यवाद
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन शान्तिपूर्ण एवं भयरहित वातावरणमा निष्पक्ष, धाँधलीरहित र उत्साहपूर्ण रूपमा सम्पन्न भएकोमा सबै पक्षलाई धन्यवाद दिएका छन्।

"प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। यसका लागि निर्वाचन आयोगलाई विशेष धन्यवाद दिन चाहन्छु। साथै, निर्वाचन सफल गराउन अहोरात्र खटिनु भएका राष्ट्रसेवक कर्मचारी, सुरक्षा निकाय, राजनीतिक दल, संचारकर्मी र पर्यवेक्षकहरूमा धन्यवाद तथा आभार व्यक्त गर्दछु," देउवाले भनेका छन्।

कुन नेताले कहाँबाट गरे मतदान
शेरबहादुर देउवा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले गृहजिल्ला डडेलधुराको गन्यापधुरा गाउँपालिका–१ रूवाखोलास्थित असिग्राम केन्द्रबाट मतदान गरे। उनी सोही क्षेत्रका उम्मेदवार हुन्। 

केपी शर्मा ओली : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित महेन्द्र शान्ति मावि मतदान केन्द्रमा पुगेर मत दिएका छन्। उनी आफूले भने झापा-५ बाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका छन्।

पुष्पकमल दाहाल : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले चितवन निर्वाचन क्षेत्र नंं. ३ को शिवनगरस्थित मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी गोरखा-२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हुन्। 

माधव कुमार नेपाल : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभूत विधालय मतदान केन्द्रबाट मतदान गरेका छन्। उनी सोही क्षेत्रका उम्मेदवार हुन्। 

राजेन्द्र लिङ्देन : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले झापाको हल्दीबारी गाउँपालिका वडा नम्बर १ को वडा कार्यालयको मतदान केन्द्रबाट मतदान दिएका छन्। उनी झापा क्षेत्र नम्बर ३ का उम्मेदवार हुन्। 

उपेन्द्र यादव : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विराटनगर-१४ जतुवा मतदान केन्द्रमा मतदान गरेका छन्। उनी सप्तरी-२ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।

रामकुमारी झाँक्री: नेकपा एकीकृत समाजवादीकी नेता रामकुमारी झाँक्रीले गुल्मीको मदाने-४ म्यालपोखरीको मेहलेपोखरी माविको मतदान केन्द्रबाट मत दिएकी छन्। उनी यसै क्षेत्रकी उम्मेदवार हुन्। 

रवि लामिछाने : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौंको महांकाल चौरस्थित उपत्यका खानेपानी लिमिटेड केन्द्रबाट मतदान गरेका छन्।
उनी चितवन २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवार छन्। 

न्यून मतदान र मतदातामा असन्तुष्टिको सन्देश : ठूला पार्टीमा सुधार झन् कठिन
मूलधारका दलप्रति जनताको असन्तुष्टि आमनिर्वाचनमा देखिएको छ। तर, ठूला नेताहरूको शैलीमा भने खासै परिवर्तन आउने छैन।

विगतका निर्वाचनको तुलनामा यसपालिको निर्वाचनमा मतदाता उपस्थिति घटेको पाइयो। २०७४ को निर्वाचनमा झन्डै ६९ प्रतिशत मत खसेको थियो भने यसपालि लगभग ५५-६० प्रतिशत मात्रै मतदान हुने सङ्केत देखिएका छन्।

एकातिर धेरै मतदाता मतदान केन्द्रमा नगएर राजनीतिक नेतृत्व र राज्य सञ्चालनप्रति वितृष्णा देखाइरहेका छन्, अर्को ठूलो सङ्ख्याले मतदानकै प्रक्रियाबाट आफ्नो असन्तुष्टि र परिवर्तनको चाह देखाइरहेका छन्।

पुराना दलहरूको प्रभाव बिस्तारै खस्कँदै छ। तर, जनताको असन्तुष्टि दलहरूको आन्तरिक राजनीतिमा प्रतिबिम्बित हुने छैन। अर्थात्, कांग्रेस, एमाले अथवा माओवादी केन्द्रको नेतृत्व पुरानै व्यक्ति वरिपरि घुम्ने छ। 

कम मत प्रतिशतबाट प्रतिबिम्बित जनताको दलहरू र समग्रमा राजनीतिप्रति देखिएको रोष र असन्तुष्टिका बावजुद दलीय आचरण 'नसुध्रिने' सम्भावनाबारे अजय भद्र खनालको मिहिन विश्लेषण, विस्तारमा : न्यून मतदान र मतदातामा असन्तुष्टिको सन्देश : ठूला पार्टीमा सुधार झन् कठिन

ओली भन्छन् मंसिर १५ भित्र नेकपाको बहुमत सरकार बन्छ, गठबन्धनको आफ्नै दाबी
अपेक्षा गरिएको भन्दा धेरै कम प्रतिशत मतदाताहरूको उपस्थिति देखिएको निर्वाचनमा राजनीतिज्ञहरूलाई जनताको उदासिनताको कारण पत्ता लगाएर त्यसलाई सम्बोधन गर्नु बढी महत्त्वपूर्ण नदेखिएर सरकार कसले बनाउँछ भन्ने प्रश्न बढी प्रधान लागेको देखिएको छ। 

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर १५ भित्र एमालेको नेतृत्वमा सरकार बन्ने बताएका छन्। 

आइतबार बिहान बालकोटस्थित महेन्द्र शान्ति माविमा मतदान गरेर सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै ओलीले एमालेले बहुमत ल्याएर सरकार गठन गर्ने दाबी गरेका हुन्।

"एमालेले कि त बहुमतको सरकार बनाउँछ, होइन भने निर्वाचनमा तालमेल गरेका दलहरूसँग मिलेर गठबन्धन सरकारको नेतृत्व गर्छ," पूर्वप्रधानमन्त्री ओलीले भने। 

यसका साथै उनले नयाँ दलहरू राष्ट्रिय दल पनि बन्न नसक्ने पनि बताएका थिए।

अर्कोतर्फ गठबन्धनका नेताहरूले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रलगायत गठबन्धनको सरकार बन्ने दाबी गरेका छन्। नेपाल समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईलगायतले मतदान गरीसकेपछि गठबन्धनले भारी मतले विजयी हुँदै सरकार बनाउने बताएका थिए। 

रास्वपाका उम्मेदवार रवि लामिछाने, मेयर बालेन शाहले हालेनन् प्रदेशसभा निर्वाचनको लागि मत 
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति र चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रवि लामिछानेले आज काठमाडौंबाट मतदान गरेका छन्। 

प्रतिनिधिसभाको प्रत्यक्ष र समानुपातिक तर्फको मतपत्रमा मतदान गरेका उनले प्रदेशसभा निर्वाचनको दुबै मतपत्रमा भने मतदान गरेनन् । 

पहिला प्रदेशमा आफ्नो पार्टीको उम्मेदवार नभएको बताएका उनले पछि भने प्रदेश संरचना प्रति आफ्नो विमति भएको बताएका थिए। 

यसैगरी काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि प्रतिनिधिसभा निर्वाचनको दुबै मतपत्रमा मत दिई प्रदेशसभा तर्फको बुथतिर नलागी सीधै बाहिरिएका थिए। 

उनले भने यसबारे कारण खुलाउँदै केही प्रतिक्रिया दिएका छैनन्। 

भुइँमान्छेलाई लागेन चुनाव
देशभर लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव चलिरहँदा भुइँमान्छेमा भने उत्साह देखिएन। यसको कारकका रूपमा खासगरी विगतमा नेताहरूले गरेका बाचा पूरा नहुनु देखिन्छ। थप पढ्नुहोस् प्रबिता श्रेष्ठ र गोविन्द खत्रीको स्टोरी : https://www.ukaalo.com/news/221120-impact-of-elections-on-people/1314

आजबाट फिफा विश्वकप २०२२ शुरू
फुटबलप्रेमीहरूको 'महामेला' फिफा विश्वकप आजदेखि कतारमा शुरू भएको छ। चार वर्षदेखि प्रतिक्षित यस प्रतियोगिताको पहिलो खेल आयोजक कतार र इक्वेडरका बीच हुँदैछ। हेड टु हेडमा अहिलेसम्म यी दुई देशबीच तीन खेल भएका छन्, जसमा दुवै टोलीले समान एक जित र बराबरी नतिजा निकालेका छन्।

यस टोर्नामेन्ट्मा संसारभरका उत्कृष्ट ३२ टिमबीच प्रतिस्पर्धा हुने छ, जसमा आयोजक कतारले दिनमा चारवटा सम्म खेल खेलाउने छ।

मध्यपूर्वमा पहिलोपल्ट आयोजित यो प्रतियोगिता विवादमुक्त भने छैन। 

नेपाल लगायत अन्य मुलुकबाट गएका आप्रवासी कामदारहरूको रङ्गशाला निर्माणका क्रममा सेवा सुविधामा कमी, तलब र मृत्युको विषय आलोचनाको विषय बनेका थिए र अहिले पनि 'बोयकट वर्ल्डकप' भनेर यो प्रतियोगिता विवादित नै छ। 

एम्नेस्टी इन्टरन्याशनल र अन्य विश्वव्यापी मानव अधिकारवादी संस्थाहरूले आप्रवासी कामदारहरूलाई ४४० मिलियन डलर क्षतिपूर्ति दिनुपर्ने माग गरेका थिए, जुन विश्वकप विजेताले पाउने रकम बराबर हो।

मस्कले खोले ट्रम्पको ट्वीटरमा पुनरागमनको बाटो 
ट्वीटरका नयाँ हाकिम इलन मस्कले शुक्रबार आफ्नो टाइमलाइनमा एउटा पोल गरेका थिए जसमा पूर्व राष्ट्रपति ट्रम्पको ट्वीटर खाता सक्रिय हुनुपर्छ वा पर्दैन भनेर सोधिएको थियो।

यो 'निर्वाचन'मा झन्डै १.५ करोडभन्दा बढी भोट आएको थियो जसमध्ये ५२ प्रतिशतले हुनुपर्छ भन्ने मत व्यक्त गरेका थिए। नतिजा आएलगत्तै मस्कले 'बहुमत मतको कदर' भन्दै ट्रम्पको निलम्बित खाता सक्रिय गराइदिएका थिए। 

सन् २०२९ जनवरी ६ मा वाशिङ्टनमा निर्वाचनको नतिजालाई लिएर भड्किएको हिंसामा सहभागीहरूलाई उकास्नमा प्रयोग भएको भन्दै ट्रम्पको ट्वीटर र फेसबुकका खाता निलम्बन भएका थिए। 

'ट्वीटर टेकओभर' पछि कहिले कम्पनीका पूर्व कर्मचारी बर्खास्त गरेर, कहिले आफ्ना टेस्लालगायतका सहकर्मीहरू ल्याएर त कहिले भेरिफिकेसनका लागि निश्चित रकम तोक्दै फिर्ता गर्दै चर्चाको मध्य रमाउने मस्कको ताजा कदमलाई ट्रम्पका समर्थकहरूले स्वागत गरेका छन् भने अरूले त्यत्तिकै आलोचना पनि गरेका छन्।

यद्यपि, अहिलेसम्म ट्रम्पले यसबारे केही प्रतिक्रिया भने जनाएका छैनन्। 

कर्णालीः नेता फर्किँदैनन्, दुःख फर्कीफर्की आउँछ
कर्णालीमा पर्यटन, हिमाली कृषि उपजको प्रशस्त सम्भावना छ। तर, त्यसतर्फ राज्यको ध्यान गएको छैन। जुम्लामा गाउँहरू पुग्दा स्याउका बगान सरोबरी थिए। स्थानीय किसान र व्यापारी अधिकांशको एउटै गुनासो थियो, बजार पाइएन। पछिल्ला केही वर्षयता बौसमी वर्षाले उनीहरूको चिन्ता थप बढाएको छ।  

मायादेवीका चार छोरा कामका लागि भारत गएका, अहिलेसम्म फर्किएनन्। उब्जाएको अन्नबालीले वर्षभरि खान पुग्दैन। दुःख त कति हो कति। नेता चुनाव जितेर फर्किँदैनन्, कसलाई सुनाउने हो र? पढ्नुहोस् दिपा दाहालको कर्णाली रिपोर्टिङ्गका क्रममा देखेका,भोगेका, अनुभव समेटिएका ब्लग : नेता फर्किँदैनन्, दुःख फर्कीफर्की आउँछ

निर्वाचन २०७९ बुलेटिन

बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु
गोली लागेर अन्य २ जना घाइते छन भने प्रहरीतर्फ पनि घाइते भएको बताइएको छ। थप - बाजुरामा प्रहरीको गोली लागेर एक जनाको मृत्यु

काठमाडौँका १० वटै क्षेत्रको मतगणना आजै शुरू हुने
जिल्ला निर्वाचन कार्यालय काठमाडौँका निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार १० वटै क्षेत्रको मतगणना फरक–फरक स्थानमा हुने भएको छ। विस्तृतमा - काठमाडौँका १० वटै क्षेत्रको मतगणना आजै शुरू हुने

११ जिल्लाका २४ मतदानस्थलमा ९९ राउन्ड हवाई फायर
मतदानका क्रममा देशका केही स्थानमा हवाई फायर भएका छन् भने केही स्थानमा मतपेटिकामा हानी पुग्नेगरी आक्रमण भएका छन्। रिपोर्ट - ११ जिल्लाका २४ मतदानस्थलमा ९९ राउन्ड हवाई फायर

मनाङमा ७०.६७ प्रतिशत मत खस्यो
जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माका अनुसार दिउँसो ३ः१५ बजेसम्म यहाँ चार हजार ७९१ मत खसेको हो।
पढ्नुहोस् - मनाङमा ७०.६७ प्रतिशत मत खस्यो

दुई विदेशीसहित ४६ संस्थाका पर्यवेक्षकले गरे निर्वाचनको अनुगमन
भारत, बंगलादेश, भुटान, माल्दिभ्स, श्रीलंका, दक्षिण कोरियाका निर्वाचन आयोगका पदाधिकारीहरू सम्मिलित टोलीले आइतबार निर्वाचन पर्यवेक्षण गरेको छ। दुई विदेशीसहित ४६ संस्थाका पर्यवेक्षकले गरे निर्वाचनको अनुगमन

काठमाडाैँमा सवारी चेकजाँचमा कडाइ
मापदण्ड विपरीत सवारी साधन प्रयोग गरेको पाइए सुरक्षा निकाय तथा सुरक्षाकर्मीले त्यस्तो सवारीसाधन नियन्त्रणमा लिएर आवश्यक कानूनी कारवाही गर्ने निर्वाचन आयोगले जनाएको थियो । हेर्नुहोस् तस्विरमा: काठमाडाैँमा सवारी चेकजाँचमा कडाइ

मतगणनास्थल लगिँदै मतपेटिका 
प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतदान सकिएसँगै मतपेटिका उठाउन थालिएको छ। तस्वीरहरू: मतगणनास्थल लगिँदै मतपेटिका 


सम्बन्धित सामग्री