Friday, April 19, 2024

-->

न्यूजलेटर
२०७९ मंसिर ०२, शुक्रबार

आज शुक्रबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ मंसिर ०२ शुक्रबार

निर्वाचनका लागि मतदाताको काठमाडौंबाट गृह जिल्ला जाने क्रम जारी

रोजगारी, अध्ययन एवं अन्य कारणवश गृहजिल्ला छोडेर काठमाडौं उपत्यकामा रहेका नागरिकहरूको पछिल्ला केही दिनमा मतदानका लागि घर फर्कने क्रम बढेको छ।

आज दिउँसो सम्म काठमाडौँबाट बाहिरिने विभिन्न नाकाहरूबाट हुलका हुल गाडीहरू विभिन्न जिल्लाका लागि प्रस्थान गरेका थिए। शुक्रबार बेलुकीबाट उपत्यकाका तीनै जिल्लाका सडकहरूमा सवारीसाधनको आवागमन धेरै हदसम्म पातलिएको छ।

बुधबार यता मात्र १६५, ००० देखि १७५,००० यात्रुहरूले उपत्यका छोडेको ट्राफिक प्रहरी कार्यालयको अनुमान छ। शनिवार पनि धेरै मात्रामा यात्रुहरू बाहिरिने निश्चितप्राय छ।

अर्कोतर्फ, 'आफ्ना' मतदातालाई घर लैजान दलहरूबीच प्रतिस्पर्धा नै चलेको छ। विभिन्न क्षेत्रका उम्मेदवारहरूले मत तान्न गाडी नै रिजर्भ गरेर लैजाने प्रबन्ध पनि मिलाएका छन्।  

स्थिर समय शुरू :  यस अवधिभर के-के छन् निषेध?
प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनको २०७९ को स्थिर समय गएरात १२ बजेदेखि शुरू भएको छ।

पहिला 'मौन अवधि' भनिने गरिएको स्थिर समय मतदानको ४८ घण्टा अघिदेखि लागू हुन्छ र मतदान नसकिएसम्म जारी रहन्छ। यस अवधिभर उम्मेदवार र दलको प्रचारप्रसार लगायतका क्रियाकलाप गर्न पाइँदैन।

निर्वाचन आयोग द्वारा जारी गरिएको आचारसंहिता अनुसार यो समयमा राजनीतिक दलहरूलाई छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी लगायत क्रियाकलाप गर्न रोक लगाइन्छ।

यस अवधिभर के–के गर्न पाइँदैन?

- निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला गोष्ठी आदी गर्न पाइँदैन। 

- मतदान हुने दिनको ४८ घण्टाअघि मतदान स्थलको ३०० मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचारप्रसार सामग्री हटाउनुपर्छ।

- सामाजिक सञ्जाल, अनलाइन, छापा वा अन्य कुनै पनि माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै सन्देश, सूचना वा प्रचारप्रसार सामग्री पोस्ट वा शेयर गर्न वा गराउनु हुँदैन। 

- निर्वाचन प्रचारप्रसार तथा मत माग्नका लागि साउन्ड सिस्टम, सर्ट मेसेज सर्भिस (एसएमएस), सामाजिक सञ्जाल वा यस्तै अन्य कुनै साधन वा माध्यमको प्रयोग गर्नु हुँदैन। 

- मतदान प्रारम्भ हुनुभन्दा तीन घण्टाअघिदेखि मतदान समाप्त नभएसम्म कसैले पनि मतदाता वा मतदान केन्द्रमा मतदानको काममा संलग्न व्यक्ति वा कर्मचारीलाई बाधा पुर्‍याउने कार्य गर्नु हुँदैन। 

- बाजा बजाउन, नाचगान गर्न, सार्वजनिक भोजभतेर गर्न, जुलुस प्रदर्शन वा जुनसुकै किसिमको सभा वा समारोह गर्न वा हुलहुज्ज्त वा होहल्ला गर्न वा गराउन हुँदैन। 

- मतदान केन्द्र रहेको घर, भवन वा स्थानमा मतदानलाई असर पर्ने गरी त्यसको वरिपरिको कुनै निजी वा सार्वजनिक घर, भवन वा जग्गामा शान्ति भंग गर्न वा भय, त्रास सिर्जना गर्न वा निर्वाचनको वातावरण बिथोल्ने कार्य गर्न वा गराउन हुँदैन। 

- राजनीतिक दल तथा उम्मेदवार, दलका भातृ संगठनहरूले सामाजिक सञ्जालमार्फत गरिएका विज्ञापन तथा निर्वाचन प्रचारप्रसारका सामग्री हटाउनुपर्छ।

आयोगबाट गृहमन्त्रीसँग तीन स्पष्टीकरण माग
निर्वाचन आयोगले आचारसंहिता विपरीत गतिविधि गरेको भन्दै उजुरीका आधारमा गृहमन्त्री तथा उम्मेदवार बालकृष्ण खाणलाई तीन वटा विषयमा स्पष्टीकरण सोधेको छ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा सदस्य निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता उल्लंघनविरुद्ध  गृहमन्त्रीका साथै सिद्धार्थनगर नगरपालिकाका मेयर इस्तियाक अहमद खान, उम्मेदवाहरू सन्तोष पाण्डे, केशवबहादुर खडका र बसिउद्धीन खानलाई पनि स्पष्टीकरण सोधेको छ। 

उजुरीकर्ताले खाँणले सनसाइन स्कुलमा अध्ययनरत बालिकालाई प्रचार प्रसार कार्यालय उद्घाटनका क्रममा नृत्यमा प्रयोग गरेको, चकलेटमा चुनाव चिह्न अंकित गरी वितरण गरेको र गाडीमा फ्लैक्स प्रिन्ट झुन्ड्याइ प्रचारप्रसार गरेकोले आरोप लगाएका थिए। आयोगले गृहमन्त्री खाँणलाई माथि उल्लेखित आचारसंहिता उल्लंघका विषयमा जरिवाना किन नगर्ने भनी ३ दिनमा जवाफ आउने गरी स्पष्टीकरण माग गरेको छ।

यस्तै, सिद्धार्थनगरका मेयर खान उम्मेदवारसँगै कार्य क्षेत्रमै प्रचारमा हिँडेको, रुपन्देही क्षेत्र नम्बर ३ प्रदेश १ का उम्मेदवार सन्तोष पाण्डे, क्षेत्र २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापा मगर र रुपन्देही क्षेत्र नम्बर ३ २ का नेपाली कांग्रेस तर्फकै उम्मेदवार बसिउद्दीन खानले निर्वाचन आचारसंहिता विपरीत प्रचार प्रसार, डिजे र कलर प्रचार सामग्रीबाट प्रचार गरेको भनी परेको उजुरीका आधारमा उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो। 

पछिल्लो समयमा बिजुली निर्यातबाट १० अर्ब बढी आम्दानी
पछिल्लो समयमा नेपालले बिजुली निर्यातबाट १० अर्ब भन्दा बढी आम्दानी गरेको छ। यस आर्थिक वर्षमा असार देखि कार्तिकसम्म भएको बिजुलीको निर्यातबाट १० अर्ब ३८ करोड ९६ लाख रुपैयाँ आम्दानी भएको हो।

एक अर्ब २६ करोड २५ लाख ३८ हजार युनिट बिजुली नेपाल विद्युत् प्राधिकरणले निर्यात गरेको थियो, जुन नेपालका उपभोक्ताले खपत गरिसकेपछि बढी भएको परिमाण हो। 

मुलुकभित्र अतिरिक्त भएको वर्षा यामको विद्युत् इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेडलाई प्रतिस्पर्धामार्फत बिक्री भएको थियो। 

एमाले नेता सूर्य थापासँग आयोगले पुनः माग्यो स्पष्टीकरण
प्युठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका नेकपा एमालेका नेता सूर्य थापालाई र निर्वाचन आयोगले फेरि पनि स्पष्टीकरण सोधेको छ।

युट्युब, टिकटको आदिमा भेलुबाजे भनी चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको प्रसंगमा आयोगले थापालाई स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता उल्लंघन हुने गरी मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गरेको हो वा होइन? मीनबहादुर बुढालाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिता उल्लंघनको कसुरमा किन कारबाही नगर्ने भनेर थापालाई पत्र प्राप्त भएको २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेस तर्न आयोगले थापालाई निर्देशन दिएको छ। 

बुढाले प्युठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भए बापत थापाले २ हजार रुपैयाँ दिएको एक भिडियोमा बताएका थिए। 

मीनबहादुर बुढा 'भेलुबाजे'ले थापाको लागि मत माग्दै गरेको भिडियो एमालेका समर्थकले सामाजिक सञ्जालमा हौसिएर शेयर गरेका थिए भने उनले पछि थापाले पैसा दिएर प्रचार गराएको, आफूले भोट माओवादीलाई मात्र हाल्ने भनेको भिडियो गठबन्धनका समर्थकले निकै चासोका साथ पोस्ट गरेका थिए। 

विशेष को हुन् सामाजिक सञ्जालका ‘इन्फ्ल्युएन्सर’, कसरी पार्दै छन् निर्वाचनमा प्रभाव?
सन् २००८ मा भएको अमेरिकाको राष्ट्रपति निर्वाचनमा  बाराक ओबामा डेमोक्रेटिक उम्मेदवार थिए। त्यस चुनावमा उनले प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका थिए। युवा जमातलाई प्रभावित गर्न उनले युट्युब र फेसबुकमा भिडियो हाल्थे। त्यतिबेला 'द गार्डियन'ले 'अबको निर्वाचन सामाजिक सञ्जालमार्फत लडिने' टिप्पणी गरेको थियो।

सन् २०१७ को राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले पनि प्रचारका लागि सामाजिक सञ्जालको प्रयोग गरेका थिए। उनले सामाजिक सञ्जालमार्फत 'नश्लभेदी मतदाता'लाई आफ्नो पक्षमा ल्याएको आरोपसमेत लागेको थियो।

गएको वैशाखमा भएको स्थानीय निर्वाचनमा नेपालमा पनि प्रचारप्रसारका लागि सामाजिक सञ्जालको प्रयोग धेरै भयो। त्यसमा सबैभन्दा अगाडि बालेन शाह नै भएको सामाजिक सञ्जाल प्रयोगकर्ताहरू बताउँछन्।

गएको स्थानीय निर्वाचनमा काठमाडौँ महानगर प्रमुखमा बालेन शाहलाई विजयी बनाउन सामाजिक सञ्जालमा सक्रिय 'इन्फ्ल्युएन्सर' यसपटक पनि केही उम्मेदवारको पक्षमा खुलेका छन्। पढ्नुहोस् आदित्य नेपालको विश्लेषण: विशेष को हुन् सामाजिक सञ्जालका ‘इन्फ्ल्युएन्सर’, कसरी पार्दै छन् निर्वाचनमा प्रभाव?

अन्तरवार्ता: चुनावी घोषणापत्र र दन्त्यकथा उस्ताउस्तै भए 
"चुनावी घोषणापत्रको मस्यौदाका क्रममा केही राजनीतिक दलका केही नयाँ अनुहारहरूले सृजनशील सोच अघि ल्याउलान् भन्ने अपेक्षा गरेको थिएँ। तर त्यस्तो देख्न पाइएन"

हार्वर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर तथा स्विजरल्यान्डबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका डा. समीर खतिवडा फिलिपिन्सस्थित एसियाली विकास बैंक (एडीबी)का अर्थशास्त्री हुन्। एडीबीमा उनी ऋण एवं प्राविधिक सहयोग परियोजना तयारीको नेतृत्व गर्छन्। काममा प्रविधिको प्रभाव, नवप्रवर्तन तथा संरचनागत रूपान्तरण, औद्योगिक नीति, उद्यम गतिशीलता र कोभिड–१९ महामारीको आर्थिक  प्रभाव उनका अध्ययन क्षेत्र हुन्। अर्थशास्त्री खतिवडासँग उकालोका लागि सुजित महतले अहिले नेपालले सामना गरिरहेको आर्थिक एवं विकासलगायत विविध विषयमा गरेको कुराकानी : अन्तरवार्ता: चुनावी घोषणापत्र र दन्त्यकथा उस्ताउस्तै भए 

हिमाली जिल्लाको अप्ठेरो: भोट हाल्ने मतदाता सदरमुकाममै, कर्मचारी गाउँ पुगे
मुस्ताङको साङताङ गाउँमा १३ घरका ३५ मतदाता छन्। यो गाउँ वारगुङ मुक्तिक्षेत्र गाउँपालिका–५ मा पर्छ। यहाँका स्थानीयले हिमाली आधारभूत मतदान केन्द्रमा मत खसाल्छन्।

३५ मतदातालाई मतदान गराउन सुरक्षाकर्मीसहित १५ कर्मचारी खटिएका छन्। मुख्य निर्वाचन अधिकृत ईश्वर पराजुलीका अनुसार थप तीन जना स्वयंसेवक पनि खटाइनेछ। ती कर्मचारी शुक्रबार नै गाउँ पुगिसकेका छन्। तर, मतदाता भने जोमसोममा बसेका छन्।

उक्त गाउँमा करिब सात महिना मात्र स्थानीय बस्छन्। बाँकी समय जाडो छल्न जोमसोम, पोखरालगायत ठाउँतिर झर्छन्।

कम जनसंख्या भएका हिमाली जिल्लाका मतदान केन्द्रमा खटिने कर्मचारीको संख्या मतदाताभन्दा आधा मात्रै कम छ। विस्तृतमा: हिमाली जिल्लाको अप्ठेरो: भोट हाल्ने मतदाता सदरमुकाममै, कर्मचारी गाउँ पुगे

उकालो सम्पादकीय : मतबाट गरौँ सुधारको थालनी
हामी अहिले मतदानअघिको मौन अवधिमा छौँ। मौन अवधि जारी छ भन्नुको अर्थ निर्वाचनमा भाग लिइरहेका पार्टीहरू, तिनका उम्मेदवार र स्वतन्त्र उम्मेदवारसहित सबैले आफ्ना अजेण्डा, कार्यक्रम र आफूलाई मत दिनुपर्ने कारण मतदातासमक्ष राखिसकेका छन्। अब उनीहरूले मतदानअघि फेरि त्यसो गर्न पाउने छैनन्। र, बल सम्पूर्ण रूपले सार्वभौम मतदाताको हातमा आएको छ।

आवधिक निर्वाचन आफैँमा त्यो अवसर हो, जसमार्फत् नागरिकले राज्य सञ्चालनलाई निर्देशित गर्छन्। आफ्ना लागि नीति बनाउने र त्यसको कार्यान्वयनमार्फत् आफ्नो जीवनस्तर सुधार्न पहल गर्ने प्रतिनिधि चुनेर पठाउँछन्। पाँच वर्षमा एकपल्ट आउने यो मौका यसपालि झन् बढी महत्त्वपूर्ण किन पनि छ भने संविधानसभाबाट जारी संविधानले गरेको प्रणाली निर्माण र देश विकासको खास परिकल्पना यही विन्दुबाट शुरू हुँदै छ। विस्तृतमा उकालो सम्पादकीय : मतबाट गरौँ सुधारको थालनी


सम्बन्धित सामग्री