Friday, April 19, 2024

-->

न्यूजलेटर
२०७९ कात्तिक ३०, बुधबार

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक ३० बुधबार

सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरियो: रवि लामिछाने

हिजो मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रवि लामिछानेको उम्मेदवारी खारेजीको मागसहित निर्वाचन आयोगमा उजुरी परेको थियो।

विदेशी मुलुकको नागरिकता प्राप्त गरेपछि नेपालको नागरिकता त्याग नगरेकाले उम्मेदवारी खारेजी गर्नुपर्ने भन्दै राजकुमार पाण्डेले उनी विरुद्ध उजुरी दिएका हुन्।

सन् २००२ मा भिजिट भिसामा अमेरिका गएका लामिछानेले नेपाली नागरिकता कायम राख्दै अमेरिकी नागरिकता लिएका थिए भने नेपाल फर्किसक्दा पनि उनीसँग अमेरिकी नागरिकता थियो।

यस विषयमा सवाल उठ्दै गएपछि उनले आफ्नो पासपोर्ट काठमाडौँस्थित अमेरिकी दूतावासमा बुझाएका थिए र अध्यागमन विभागमा नेपाली नागरिकता कायम गर्न निवेदन दिएका थिए। यद्यपि, यो प्रक्रिया पूरा भइसकेको अथवा नभइसकेको बारे यथेष्ट जानकारी नभएको अवस्थाका बीच उनीविरुद्ध यो उजुरी परेको हो।

उजुरीकर्ताले कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता लिइसकेपछि नेपालको नागरिकता स्वतः खारेज हुने, जसपश्चात् नयाँ नागरिकता लिनुपर्ने र खारेज भएको पुरानो कागजात कानुनी रूपमा मान्य नहुने दाबी गरेका छन्।

यता निर्वाचन आयोगले उजुरी परेसँगै प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयलाई पत्राचार गरी स्पष्टीकरण माग गरिएको जानकारी प्राप्त भएको छ।

यसलगत्तै लामिछानेले आज आफ्नो फेसबुक पेजमार्फत चार वर्षअगाडि सुल्झिएको विषय उठाएर भ्रम छर्न खोजिएको दाबी गरेका छन्। उनले यो खासै ठूलो विषय नभएको र निर्वाचन आयोगको पत्र प्राप्त भएपछि जवाफ दिने भनेका छन्। हेर्नुहोस् लामिछानेको यस विवादबारे स्पष्टीकरण:

"चार वर्ष अगाडि नै सुल्झिएको विषय उठाएर चुनावको मुखमा फण्डा गरिएको छ तर म विचलित छैन," लामिछानेले सन् २०१८ मा नै अमेरिकाको पासपोर्ट छाडेर सबै प्रक्रिया मिलाएको दाबी गर्दै बताएका छन्।

"एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकिलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेश र फैसलामा, अनि उच्च अदालत हेटौँडाको आदेशमा, अनि चितवन जिल्ला सरकारी वकिल कार्यालयदेखि महान्यायाधिवक्ताको कार्यालयसम्म नागरिकताको विषय समेतमा विवेचना भई सेटल भइसकेपछि फेरि कति पटक स्पष्टीकरण दिनु पर्ने हो ?" लामिछानेले प्रश्न गरेका छन्।

उकालो अन्तरवार्ता : अहिलेकै शीर्ष नेताहरूसँग सत्ता साझेदार बन्दैनौँ, रवि लामिछाने
"अहिलेको हकमा भने हामी प्रतिपक्ष हुन चाहन्छौँ, साँच्चिकै प्रतिपक्ष। नेपालमा प्रतिपक्ष भन्ने नै छैन। किनभने सबै गठबन्धन गरेर बसेका छन्। खान्तेपिन्तेमा सबैको मिलीभगत छ। हिजो पनि मिडियामा स्थायी प्रतिपक्षको भूमिका निर्वाह गरियो। राम्रै भूमिका निभाए जस्तो लाग्छ। कहिल्यै एउटा दलको समाचार बनाइएन, कहिल्यै एउटा मात्र प्रधानमन्त्रीको कुरा गरिनँ। ‘सिधा कुरा प्रधानमन्त्रीसँग’ कार्यक्रमको प्रस्तोताको नाताले तत्कालीन प्रधानमन्त्री केपी ओलीसँग निकटको सम्बन्ध कायम भएको थियो। कार्यक्रम तयारीका लागि रातबिरात प्रधानमन्त्रीसँग छलफल चल्थ्यो। तैपनि व्यावसायिक लक्ष्मणरेखा नाघिनँ। बरू ओलीकै कटु आलोचकको भूमिका पनि निर्वाह गरेँ। लाभ लिन सक्थेँ, लिइनँ। प्रतिपक्षी भूमिकामा अभ्यस्त छु, कुशलतापूर्वक निर्वाह गर्न सक्छु। प्रतिपक्षी कस्तो हुन्छ भनेर ‘डेमो’ देखाउन चाहन्छु। राजनीतिमा सत्तामा बस्दै बस्दिनँ भन्नु पनि राजनीतिक अडान होइन। अहिलेकै शीर्ष नेतामध्येको नेतृत्वमा सत्तासाझेदार बन्ने सम्भावना छैन। तपाईं नै भन्नुस् न, शेरबहादुर देउवाको नेतृत्वमा बनेको सरकारमा गएर हामीले के डेलिभर गर्नसक्छौं र जानु? नयाँ पुस्ताका नेताको नेतृत्वमा सरकार बन्यो, हामी जाँदा डेलिभर गर्ने देखियो भने हामी सोच्नेछौं। हामी नै प्रधानमन्त्री बन्ने अवस्था आयो भने त झन पछि हट्ने कुरै भएन।"

रवि लामिछानेको ‘चुनावी गति’ पछ्याउँदै चितवनबाट सप्तरी पुग्दा उनका ‘क्रेजी फ्यान’ प्रशस्तै भेटिए। प्रशंसकको शुभेच्छा मतमा बदल्ने चुनौतीबीच उनी भन्छन्– प्रतिपक्षीको भूमिकाको डेमो देखाउन चाहन्छु। सुजित महत रवि लामिछाने बीचको पूरै संवाद पढ्नुहोस्: रवि लामिछानेसँग वार्ता– ‘अहिलेकै शीर्ष नेताहरूसँग सत्ता साझेदार बन्दैनौँ’

भोजपुरमा गठबन्धनको सभामा विस्फोट, विप्लव नेतृत्वको नेकपाले लियो घटनाको जिम्मेवारी
आज दिउँसो भोजपुरमा सत्ता गठबन्धनद्वारा आयोजित निर्वाचन सभामा बम विस्फोट भएको थियो। भोजपुरको पौवादुङमा गाउँपालिकाको तिवारी भन्ज्याङमा सभा भइरहेको स्थल नजिकै विस्फोट भएको थियो।

'चुनाव बहिष्कार गर्ने पार्टीको निर्णयअनुसार बम विस्फोट गराइएको' भन्दै यस घटनाको जिम्मेवारी नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपाले लिएको छ।

यस घटनामा विस्फोट गराउने व्यक्ति नै घाइते भएका छन्।  टिफिन बक्समा विस्फोटक पदार्थ राखेर बनाएको बम झोलामै पड्किएर उनी घाइते भएका हुन्। उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएर उपचार गराइरहेको छ।

गठबन्धन दीर्घकालसम्म चल्ने: माओवादी अध्यक्ष दाहाल
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हालको लोकतान्त्रिक-बाम गठबन्धन दीर्घकालसम्म कायम रहने बताएका छन् ।

सुर्खेतमा चुनावी सभालाई सम्बोधन गर्दै उनले गठबन्धन शान्ति सम्झौताकै निरन्तरता भएको र अबको १५–२० वर्षसम्म कायम रहने बताएका थिए।

"देशमा राजनीतिक परिवर्तन अनुकूल आर्थिक समृद्धि नभएसम्म गठबन्धन कायम रहनेछ," दाहालको जिकिर थियो।

यसका साथै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली माथि निशाना साँध्दै केपी ओलीमा अहङ्कारको उदय भएको र अब उपरान्त ओलीसँग सहकार्य कहिल्यै पनि नहुने दाबी गरेका थिए ।

यद्यपि, नेपालको राजनीतिमा यस्ता दाबीहरूको आयु खासै लामो हुने गरेको छैन भने गठबन्धनहरू पनि स्वार्थ अनुसार क्षणभरमै बन्दै बिग्रिँदै गर्छन् । साथमा, हरेक दलले आफ्ना कदमहरूलाई 'आर्थिक समृद्धिका लागि' भनेर परिभाषित गरे पनि समृद्धिको परिभाषा सधैँदेखि अस्पष्ट रहिआएको छ। 

१४ महिनापछि नेपालको ब्यालेन्स् अफ पेमेन्ट सकारात्मक
नेपालको ब्यालेन्स अफ पेमेन्ट १४ महिना पछि पोजेटिभ हुँदै मुलुकको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ। 

बुधबार नेपाल बैंकको ८६ औँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर महाप्रसाद अधिकारीले लामो अन्तरालपछि मुलुकको ब्यालेन्स अफ पेमेन्ट सकारात्मक देखिएको देखिएको बताएका हुन् ।

"आन्तरिक तथा बाह्य कारणले गर्दा केही समय  समस्या देखिए पनि राष्ट्र बैंकले केही पोलिसीमा कडाइ गर्दा अर्थतन्त्रमा सुधार आएको छ। गत सालभर जस्तो हामीले निकै तरलताको अभाव झेल्नु पर्‍यो । समग्र अर्थतन्त्रलाई नै सुधार गर्नु पर्ने हामीलाई दबाब थियो । यसले गर्दा पनि हामीले कडा पोलिसी ल्याउनुपर्‍यो। "सोही पोलिसीले बिस्तारै अर्थतन्त्र सुधारोन्मुख हुँदै छ," अधिकारीले भने।

आज राष्ट्र बैंकले तीन महिनाको वित्तीय तथ्याङ्कले सार्वजनिक गरेको थियो जसमा ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ देखिएको थियो।

यसका साथै तरलता अभावकै कारण कुनै पनि बैँक अहिले समस्यामा नरहेको पनि राष्ट्र बैंकका गभर्नरले बताए।

उकालो विचार: मत बदले राजनीति बदलिन्छ
आमनिर्वाचनबाट अनुमोदित हुन त्यति सहज हुँदैन, जति अधीनमा रहेका नेता–कार्यकर्ता पंक्तिबाट पार्टी कब्जा गर्न सहज थियो। विगतमा प्रधानमन्त्री, सत्तासीन र प्रतिपक्षी दलका वरिष्ठ नेताहरूलाई पनि जनताले पराजयको स्वाद चखाएको इतिहास छ। त्यस्तै अवस्था दोहोरिने भयले प्रतिस्पर्धी दलहरूका शीर्ष नेताहरूले गठबन्धन, तालमेल र मिलेमतो गरेका छन्।

दलहरूलाई ठिक बाटोमा ल्याउन मात्र नभई जनप्रिय तथा देश हितका कार्यक्रम र योजनाका लागि पनि दलमा नेता र संसद्मा जनप्रतिनिधि ‘रिफ्रेस’ गर्नुपर्ने भएको छ।

लेखनाथ पाण्डेको विचार:  मत बदले राजनीति बदलिन्छ

विश्वकपका महत्त्वपूर्ण खेल नि:शुल्क, अन्य खेल शुल्क तिरेर हेर्न पाइने
बुधबार सर्वोच्च अदालतले फिफा विश्वकप हेर्नका लागि अतिरिक्त शुल्क लिएर प्रसारण गर्न सकिने आदेश जारी गरेको छ।

न्यायाधीशद्वय प्रकाश कुमार ढुंगाना र मनोजकुमार शर्माको इजलासले न्यायाधीश प्रकाशमान सिहं राउतको एकल इजलासबाट भएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता नदिन पनि आदेश दिएको छ ।

उक्त आदेशमा मिडिया हब र हिमालयन टेलिभिजन नेटवर्कबीच करार भएको र यसका कारण महत्त्वपूर्ण 'इभेन्ट' मात्र निःशुल्क हेर्न पाइने भएको छ। यि महत्त्वपूर्ण इभेन्टमा उद्घाटन कार्यक्रम, दुई सेमी-फाइनल र फाइनल पर्छन् ।

बाँकी खेलहरू हेर्न इच्छुक दर्शकले मिडिया हबको निर्णय अनुसार शुल्क तिरेर विश्वकप फुटबलका खेलसँगै अन्य कार्यक्रमहरू हेर्न सक्ने आदेशमा बताइएको छ।

चुनावी सरगर्मीका बीच बढ्दै जाडो 
निर्वाचनको रापले तातेको मुलुकमा पछिल्ला केही दिन देखि तापक्रम क्रमिक रूपमा घट्दै चिसो बढिरहेको छ।

जल तथा मौसम विज्ञान विभागले बुधबार मौसम सम्बन्धित विशेष बुलेटिन प्रेषित गर्दै देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिक रूपमा घट्दै जाने सम्भावना देखिएको बताएको छ। विभागले सबैलाई चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको छ ।

आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९.०° र अधिकतम तापक्रम २२.०° सेल्सियस रहने छ भने सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २.६° सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३०.२° सेल्सियस मापन गरिएको छ ।

विभागले गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको तथा अन्य भू–भागमा हल्का बदली भए तापनि मौसम सामान्यतया सफा रहने जनाएको छ ।

अन्तर्राष्ट्रिय: ट्रम्पले फेरि २०२४ मा उम्मेदवारी दिँदै
अमेरिका का पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२४ हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारी दिने घोषणा गरेका छन्।

उम्मेदवारीका लागि आवश्यक कागजात संघीय निर्वाचन समितिलाई  मंगलबार बुझाएका उनले अमेरिकालाई 'गौरवशाली र महान्' मुलुक बनाउन २०२४ को निर्वाचनमा उम्मेदवारी दिने बताएका छन् ।

संयुक्त राज्य अमेरिकामा हालै सम्पन्न मध्यकालीन निर्वाचनमा रिपब्लिकन पार्टीले उत्साहजनक परिणाम ल्याउन नसकेको र आफूनिकट उम्मेदवार पराजित भएको भन्दै ट्रम्पले उम्मेदवारीको घोषणा आएको हो।

सिनेटमा रिपब्लिकनहरूको बहुमत आएन भने उक्त पार्टीको हाउसमा सामान्य बहुमतको स्थिति छ। 

‘मतदाताहरूले अझै पनि राष्ट्रको पीडालाई बुझ्न सकेनन्। उनीहरूले २०२४ मा आफ्नो मत परिवर्तन गर्नेछन्,’ २०२२ को मध्यकालीन निर्वाचनको परिणामप्रति पनि असन्तुष्टि जनाउँदै ट्रम्पले भनेका छन्  ।

यसै बिच, हाल संसद्मा भवनमा तोडफोड गराएको अभियोगमा ट्रम्प माथि अनुसन्धान भइरहेको छ। सन् २०२०मा भएको निर्वाचनमा ट्रम्पको हार अस्वीकार गर्दै उनी समर्थित कार्यकर्ताले यूएस क्यापिटलमा हमला गरेका थिए। 

चुनौती दिने कोही नहुँदा डडेलधुरामा सधैँ निर्विकल्प देउवा
प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगातार ६ पटक डडेलधुराबाट संसदीय निर्वाचनमा विजयी भइसकेका छन्। मंसिर ४ मा हुने निर्वाचनमा उनी सातौँ पटक प्रतिस्पर्धा गर्दै छन्।

 सम्भवतः यो उनको अन्तिम चुनावी प्रतिस्पर्धा हुनेछ।  पार्टीका सार्वजनिक कार्यक्रम र अन्य कार्यक्रममा पनि देउवाले आफू अन्तिम पटक चुनावी प्रतिस्पर्धामा होमिएको बताइसकेका छन्। मतदातासँग भोट माग्दा पनि देउवाले यो विषयलाई उठाइरहेको देखिन्छ।

उनले ले निरन्तर उठाउँदै आएका पश्चिम सेती, मेडिकल कलेज निर्माण, बसपार्कदेखि सडक विस्तारलगायतका चुनावी अजेन्डा यसपटकको निर्वाचनमा पनि अघि सारेका छन्। 

बीपी अनमोलको विस्तृत रिपोर्ट: चुनौती दिने कोही नहुँदा डडेल्धुरामा सधैँ निर्विकल्प देउवा


सम्बन्धित सामग्री