Thursday, April 18, 2024

-->

२०७९ कात्तिक २८, सोमबार

आज सोमबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक २८ सोमबार

चुनावी सभामा जाँदै, मन्त्रीको आश्वासन बाँड्दै प्रचण्ड-देउवा
सत्ता गठबन्धनका शीर्षस्थ नेताद्वय कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल आजकल निर्वाचन प्रचारका क्रममा विभिन्न जिल्लाहरूमा दौड लगाइरहेका छन्। 

चाखलाग्दो कुरा के छ भने- उनीहरू जुन जुन क्षेत्र पुगेर प्रचार गर्छन्, त्यो क्षेत्रको गठबन्धन उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाइदिने आश्वासन बाँडेर आउँछन्।

पछिल्ला केही हप्तामा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले हालसम्म कालिकोट पुगेर कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाही, दुर्गाबहादुर रावत र हिक्मतबहादुर विष्ट; जुम्लामा माओवादी केन्द्रकी उम्मेदवार गोमा कुँवर, र काठमाडौँ-२ की उम्मेदवार पूर्व सभामुख ओनसरी घर्तीलाई मतदाताले जिताएर पठाए मन्त्री बनाइदिने भनेका छन् ।

यो भन्दा एक कदम अगाडि बढेर दाहालले आज तनहुँमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई अत्यधिक मतले जिताएर पठाए उनको प्रधानमन्त्री नै बन्ने सम्भावना रहेको बताएका थिए।

यसैगरी प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति देउवाले काठमाडौँ-१० मा गठबन्धनको कार्यक्रममा राजन केसीका पक्षमा मत माग्दै भनेका थिए, ‘राजन केसीजीलाई चुनाव जिताएर पठाउनुस्, मन्त्री बनाउने काम मेरो भयो।’ यसअघि उनले ललितपुर–२ मा कांग्रेसका उम्मेदवार कृष्णलाल महर्जनलाई पनि अब बन्ने सरकारमा मन्त्री बनाउने आश्वासन बाँडेका थिए।

पछाडि छैनन् ओली: २०७४को निर्वाचन ताका कहिले नवराज सिलवाल कहिले योगेश भट्टराई त कहिले भगवती चौधरीलाई लाई जिताए मन्त्री बनाउँछु भनेर आश्वासन बाँडेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यसपालि आफ्नो नेतृत्वमा राप्रपासहितको सरकार बन्ने र त्यसमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन मन्त्री बन्न सक्ने भन्दै उनको लागि मत मागेका छन्।

अब बन्ने सरकार देउवाको नेतृत्वमा: कांग्रेस प्रवक्ता
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेलरका अध्यक्ष केपी शर्मा ओली आजकल हरेक जसो चुनावी सभालाई सम्बोधन गर्ने क्रममा एउटा महत्त्वपूर्ण 'पोइन्ट' छुटाउँदैनन् - गठबन्धनको सरकार बने को प्रधानमन्त्री बन्ने ठेगान छैन!

यसैबिच सत्तारुढ दल नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले एक पत्रकार सम्मेलन मार्फत मंसिर ५ को निर्वाचन पछि बन्ने सरकारको नेतृत्व शेरबहादुर देउवाले गर्ने दाबी गरेका छन्।

यसबारे थप कुरा गर्दै उनले गठबन्धनमा रहेका दलहरूमध्ये देउवाले अब बन्ने सरकारको नेतृत्व गर्नेमा विवाद नरहेको बताए। यद्यपि, उनले कति समयसम्म सरकारको नेतृत्व गर्नेबारे यकिन नभइसकेको उनले स्पष्ट पारे।

'भोलिका दिनमा स्वाभाविक रूपमा कांग्रेसको नेतृत्वमा सरकार बन्ने हो, कांग्रेसभित्र पनि देउवाकै नेतृत्वमा। कति वर्ष उहाँ प्रधानमन्त्री बन्ने समझदारीबाट जाने कुरा हो। सबै दलसँग छलफल गरेर यो विषय पछि टुंगो लाग्छ," महतले भने।

उम्मेदवारको पक्ष/विपक्षमा लाग्ने स्थानीय प्रशासन माथि निर्वाचन आयोगले कारबाही गर्ने
निर्वाचन आयोगले आसन्न चुनावको क्रममा उम्मेदवारहरूको पक्ष वा विपक्षमा उभिएको खण्डमा स्थानीय प्रशासनमाथि तत्काल कारबाही गर्ने बताएको छ।

आयोगले स्थानीय प्रशासन चुनावमा कुनै पनि उम्मेदवारको पक्ष/विपक्षमा खुलेको पाइए सरकारी सेवा नै धरापमा पर्न सक्ने चेतावनी दिएको छ।

आयोगका अधिकृतहरूले सञ्चारमाध्यम समक्ष प्रशासन सम्बन्धित व्यक्तिहरू उम्मेदवारहरूको पक्ष/विपक्षमा उभिएको पाइए आयोगलाई जानकारी गराउन आग्रह गरेका छन् ‌।

पालिकामा कार्यरत कर्मचारीहरू कामको सिलसिलामा राजनीतिक दलका नेता कार्यकर्ता उम्मेदवारसँग नजिक भएर काम गर्ने भएकोले चुनावको समयमा कसैको फाइदा-बेफाइदा का लागि कार्य गर्ने सम्भावना भएको आयोगको जिकिर छ।  

यसका साथै निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिने र उल्लंघन गर्नेहरूलाई तत्काल कारबाही हुने बताएको थियो। 

कमल थापाले भने, 'ओली नेतृत्वको सरकार देशको हितमा'
आज बिहान एक ट्विट मार्फत राष्ट्रिय प्रजातन्त्र पार्टी - नेपालका अध्यक्ष कमल थापाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको मुक्तकण्ठले प्रशंसा गर्दै ओलीको नेतृत्व नै देशको लागि हितकर हुने बताएका छन्।

"कसैलाई तितो लाग्ला तर, 
भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरू भन्दा त्यसको विरुद्ध डटेर लड्ने,
विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरू भन्दा चुच्चे नक्सा बनाउने @kpsharmaoli र
विदेशीको प्रेरणामा बनेको गठबन्धन भन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ", थापाले टाइमलाइनमा लेखेका छन्।

२०५६ यता भएका निर्वाचनमा मकवानपुर -२ एउटा पनि जीत हात पर्न नसकेका थापाले यसपालि आफ्नो 'लुजिङ्ग स्ट्रिक'को सिलसिला तोड्न एमालेसँगको सहकार्यमा सूर्य चिन्हबाट उम्मेदवारी दिएका छन् ‌।

प्रजातन्त्र आएपछि भएका निर्वाचनहरूमा उनी एकपटक मात्र विजयी भएर सांसद भएका थिए भने संविधानसभामा समानुपातिक तर्फबाट सभासद् भएका थिए । मकवानपुरमा लडेका सबै निर्वाचनमा एमालेबाट पराजित भएका उनी यसपालि भने विधानतः एमालेकै उम्मेदवार भएका छन्।

राजतन्त्र र हिन्दु राष्ट्रका पक्षधर थापा गणतान्त्रिक सरकारहरूका एमाले, माओवादी र कांग्रेस नेतृत्वको सरकारहरूमा उपप्रधानमन्त्री भएका थिए। पछिल्लो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीको महाधिवेशनमा राजेन्द्र लिङ्देनबाट पराजित भएका उनी राजतन्त्रलाई त्यागेर गणतन्त्रवादी हुँदै आफ्नो पुरानो पार्टी ब्युँताएर अध्यक्ष भएका थिए ।

सर्वोच्चको आदेशपछि तोसिमाको उम्मेदवारी कायम
निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर क्षेत्र नम्बर ३ मा प्रतिनिधि सभा उम्मेदवार रहेकी डा. तोसिमा कार्कीको उम्मेदवारी खारेज माग गर्दै दर्ता गरेको मुद्दामा सर्वोच्च अदालतले आज आदेश दिँदै तोसिमाको उम्मेदवारी कायमै रहेको बताएको छ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले सर्वोच्चको यसअघिको आदेशलाई निरन्तरता दिँदै डा कार्कीको उम्मेदवारी कायम गर्न आदेश दिएको हो‌‌।

लाभको पदमा बसेर उम्मेदवारी दिएको उजुरीपछि उनको उम्मेदवारी खारेज गरेको आयोगले तोसिमा कार्कीको उम्मेदवारी कायम राख्ने अन्तरिम आदेश खारेजीका लागि सर्वोच्च अदालतमा पुनः मुद्दा दायर गरेको थियो। 

मेडिकल काउन्सिलबाट भत्ता मात्रै प्राप्त हुने हुँदा त्यस पदबारे निर्क्योलका लागि कार्कीले आयोगमा भदौ २८ मा निवेदन दिएकी थिइन् जस उपर कुनै सुनुवाइ नगरी आयोगले सर्वोच्चमा मुद्दा दर्ता गरेको थियो ।

नेपाल मेडिकल काउन्सिलको सदस्यको रूपमा बैठक भत्ता लिने गरेको आधारमा लाभको भन्न नमिल्ने भन्दै उम्मेदवारी कायमै राख्न सर्वोच्चले अन्तरिम आदेश दिएको थियो।

उकालो स्थलगत: सधैँको विद्रोही जुम्लाले ज्ञानेन्द्र शाहीको अनुहारमा देखिरहेको ‘विद्रोह’
जुम्लामा सत्तागठबन्धनबाट नेकपा माओवादी केन्द्रकी गोमा गौतम कुँवर प्रतिनिधि सभा सदस्यको उम्मेदवार छिन्। गोमा २०७० मै समानुपातिकतर्फ संविधानसभा सदस्य बनेर राज्यमन्त्रीसमेत बनेकी थिइन्। एमालेले केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज रतननाथ योगीलाई उम्मेदवार बनाएको छ। राप्रपाका प्रवक्ता ज्ञानेन्द्रको तुलनामा जुम्लाको राजनीतिमा संलग्नताका हिसाबले गोमा र रतन दुवै ‘हेभीवेट’ उम्मेदवार हुन्। तर, निर्वाचन मिति नजिकिँदै जाँदा आश्चर्यजनक रूपले उनीहरूमाथि ज्ञानेन्द्रको पल्लाभारी देखिएको छ।

जुम्ला काठमाडौँको उपेक्षाबाट यति धेरै असन्तुष्ट छ, प्रत्येक निर्वाचनमा ‘विद्रोह’ गरेर नयाँ अनुहार पठाउँछ। यसपालि जुम्लाले राजावादी पार्टी, राप्रपाका उम्मेदवारमा पनि त्यस्तै ‘विद्रोह’ देखिरहेको छ। विस्तृतमा पढ्नुहोस् दिपा दाहालको स्थलगत रिपोर्ट: सधैँको विद्रोही जुम्लाले ज्ञानेन्द्र शाहीको अनुहारमा देखिरहेको ‘विद्रोह’

बागलुङ–१ : राजमोले खातै नखोलेको क्षेत्र चित्रबहादुरलाई किन भयो 'सेफ जोन'?
बागलुङमा तीन वटा क्षेत्र हुँदासम्म केसी क्षेत्र नं. २ मा उम्मेदवार बन्थे। यसअघिका दुई निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार नबनेका उनी कांग्रेसको मतले जित्ने विश्वासमा यसपटक क्षेत्र नं. १ तिर सरेका छन्।
 

श्याम राना मगरको विश्लेषण:  बागलुङ–१ : राजमोले खातै नखोलेको क्षेत्र चित्रबहादुरलाई किन भयो 'सेफ जोन'?


 


सम्बन्धित सामग्री