Friday, April 26, 2024

-->

न्यूजलेटर
२०७९ कात्तिक २३, बुधबार

आज बुधबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक २३ बुधबार

सुदूरपश्चिममा ४२ वर्षयताकै ठूलो भूकम्प, ६ जनाको मृत्यु

बुधबार गएको भूकम्पका कारण डोटीमा ६ जनाको मृत्यु भएको छ।

उक्त भुईँचालोले ढलेका घरमा थिचिएर पूर्वीचौकी गाउँपालिका-३ का ६ जनाको मृत्यु भएको थियो। मृतकहरूमध्ये दुई पुरुष,‌ दुई महिला र दुई नाबालक रहेका थिए भने तीन जना एकै परिवारका थिए।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान २:१२ मिनेट जाँदा खप्तड राष्ट्रिय निकुञ्ज आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाउँदै ६.६ लोकल म्याग्निट्युडको भुईंचालो गएको थियो।

 उक्त भूगोलीय विपद्मा झण्डै १० वटा घर ढलेका थिए भने पाँच जना व्यक्ति घाइते भएका थिए।

घटनालगत्तै उक्त स्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो। अहिले पनि सुरक्षाकर्मीका साथै स्थानीय जनप्रतिनिधि र स्थानीय राहत कार्यमा जुटेका छन्‌। 

भूकम्प गएपछि मानिस रातभर घरबाहिरै बसेका थिए।

 यो यस क्षेत्रमा गएको ४२ वर्षपछिकै ठूलो कम्पन हो। सुदूरपश्चिमको खप्तड राष्ट्रिय निकुञ्जलाई नै केन्द्रबिन्दु बनाउँदै सन् १९८० जुलाई २९ मा ६.५ म्याग्निच्युटको भूकम्प गएको थियो जसमा १२५ जनाको मृत्यु भएको थियो भने लगभग २५० जना घाइते भएका थिए।

------------

प्रधानमन्त्रीद्वारा दुःख व्यक्त, राहतमा खट्न निर्देशन
हाल गृह प्रदेशमा रहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यस घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई समवेदना दिएका छन्। यसका साथै उनले गृह-प्रशासनका साथै अन्य सम्बन्धित निकायहरूलाई तत्काल राहत कार्यमा जुट्ने निर्देशन दिएका छन्।

------------

डोटी भूकम्प : ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’
बुधबार बिहान डोटी जिल्लालाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम नेपालमा गएका भूकम्पहरूमध्ये विगत ४२ वर्षयताकै सबैभन्दा ठूलो भूकम्प हो। यस क्षेत्रमा रहेको उच्च जोखिमबारे थप पढ्नुहोस्: डोटी भूकम्प : ५१७ वर्षयता ठूलो भूकम्प नगएको पश्चिम नेपाललाई ‘अलार्म’

------------

निर्वाचन विशेष: दिनभर कुन कुन नेताले के-के भने?
नाम चलेका राजनीतिज्ञहरू आए दिन आफ्ना बोली, वक्तव्य र वयानबाजीका कारण निरन्तर चर्चामा रहन्छन्। त्यसमा पनि निर्वाचनको मौसम लागेपछि यस्ता भाषणको 'डिमान्ड एन्ड सप्लाई' परिदृश्य नै अर्कै हुन पुग्छ। आसन्न प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको पृष्ठभूमिमा भिन्नाभिन्नै दलका नेताहरूको भाषणको आपूर्ति र खपत हुने क्रम चालु छ र मौन-अवधि लागू नभइन्जेल चलिनै रहने छ।

यसै सन्दर्भमा, आज चुनावी प्रचार अभियानमा रहेका चर्चित व्यक्तित्वहरूले के-कस्ता बयान दिए, एक नजर हेरौँ:

शेरबहादुर देउवा: दार्चुलाको गोकुलेश्वरमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको 'चुच्चे नक्सा' आफूले मात्रै पास गरेको भनी झुट बोलेको गरिरहेको आरोप लगाए।

लिम्पियाधुरा, लिपुलेक र कालापानी सम्मिलित उक्त राजनीतिक नक्सा कांग्रेस, तत्कालीन नेकपालगायतका सबै दल मिलेर संयुक्त रूपमा संसद्बाट पास गरेको तर अहिले ओलीले झापा पुगेर 'अरूले केही गरेकै छैन, आफूले मात्रै गरेँ' भनेर गफ दिएको र 'सबै जस' लिन खोजेको उनले भनेका थिए।

केपी शर्मा ओली: बुधबार झापामा आयोजित चुनावी कार्यक्रममा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आसन्न निर्वाचनमा एमाले विजयी नभए देश बरबादीमा जाने बताएका थिए। यसका साथै नेकपा (एकीकृत समाजवादी) भन्ने पार्टी नै आउँदो मंसिर ४ गतेपछि नरहने उनले ठोकुवा गरे। सोही कार्यक्रममा निर्वाचनमा उठेका स्वतन्त्र उम्मेदवारमाथि टिप्पणी गर्दै उनीहरूले खासै केही गर्न नसक्ने जिकिर गरे। अन्त्यमा उनले कांग्रेस, माओवादी र नेकपा एकीकृत समाजवादी (एस) को छुट्टाछुट्टै घोषणापत्र छ, कुन घोषणा पत्र लागू हुने हो? भनेर प्रश्न पनि गरेका थिए।

पुष्पकमल दाहाल: दार्चुलामा आयोजित सत्ता गठबन्धनको चुनावी मञ्चबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई फेरि प्रधानमन्त्री बनेर देखाउन चुनौती दिएका छन्। दाहालले तत्कालीन समयमा ओलीले एक पटक आफूलाई 'प्रधानमन्त्री बनाइदिनुस्' भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक प्रधानमन्त्री बनाएको भन्दै पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिए– "तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस्।"

देउवाले झैँ दाहालले पनि लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर बनाएको भनेका थिए।  "केपी ओलीले यो नक्सा बनाएको भ्रममा नपर्नुहोला। नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो। जब चुनाव आउँछ अनि दार्चुला आएर गोहीको आँसु चुहाउँछन् केपी ओली। त्यो गोहीको आँसु हो, सक्कली होइन।"

खिलराज रेग्मी: बुधबार नेपाल–चाइना फ्रेन्डसिप फोरमले आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले मंसिर ४ गते हुने निर्वाचनमा उपयुक्त उम्मेदवार छनोट गर्न मतदातालाई आह्वान गरेका छन्।

मन्त्रिपरिषद्का पूर्वअध्यक्ष रेग्मीले विगतको मूल्यांकन र विश्लेषण गरेर वर्तमानको आवश्यकतालाई ठीक ढंगले अगाडि बढाउ नसक्ने उम्मेदवारलाई मतदान गर्न आह्वान गरे। निर्वाचनपछि पछुताउनुभन्दा निर्वाचनपूर्व नै विचार पुर्‍याउनुपर्ने पूर्वअध्यक्ष रेग्मीले बताएका थिए‌।

ईश्वर पोखरेल: नेकपा एमालेका वरिष्ठ नेता ईश्वर पोखरेलले काठमाडौंको धापासीमा बुधबार ज्येष्ठ नागरिकसँगको अन्तर्क्रिया कार्यक्रममा एमाले ज्येष्ठ नागरिकको हकहितका लागि आवाज उठाउने पहिलो दल भएको दाबी गरेका थिए। यसका साथै नेकपा एमाले निर्वाचित भएर सरकार गठन गरेपछि फेरि पनि वृद्धभत्ताको बढोत्तरी गर्ने उनले भनेका थिए। केपी ओली नेतृत्वको सरकारले भत्ता बढाएर ५ हजार रुपैयाँ पुर्‍याउने योजना बनाएको भए पनि बीचमै सरकारबाट हट्न परेकाले योजना पूरा गर्न नपाएको पोखरेलको भनाइ थियो।

दिनेशकुमार थपलिया: प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले कसैले पनि निर्वाचन आचारसंहिता र आयोगका निर्देशनको अवज्ञा गरे आयोगलाई सह्य नहुने बताएका छन्। बुधबार युवाका संघसंस्था र युवा अभियन्तासँग अन्तर्क्रिया गर्ने आयोजित कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त थपलियाले राजनीतिक दल, उम्मेदवार, सार्वजनिक निकाय र सम्बन्धित पक्षले निर्वाचनलाई स्वच्छ, निष्पक्ष, स्वतन्त्र, भयरहितरुपमा सम्पन्न गराउन सघाउनुपर्ने बताएका हुन्। साथमा आचारसंहिताको उल्लघंन र निर्देशनको अवज्ञा गर्ने उल्लंघनकर्तालाई त्यस्ता कार्य महँगो पर्न सक्ने चेतावनी दिए।

गगनकुमार थापा: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले मुलुकको नेतृत्व गर्न आफू तयार भएको र त्यसका लागि यो चुनावमा जित सुनिश्चित गर्न आवश्यक भएको बताएका छन्। बुधबार सिन्धुपाल्चोकमा निर्वाचनलक्षित एक कार्यक्रममा थापाले आसन्न निर्वाचनमा विजयी भएपश्चात् प्रधानमन्त्री पदका लागि नेपाली कांग्रेस संसदीय दलको नेताको पदमा दावेदारी प्रस्तुत गर्ने भनेका थिए। अब मुलुक चलाउने जिम्मेवारी नयाँ पुस्तालाई दिनुपर्ने र त्यसको शुरुआत आफैँले गर्ने उनको भनाइ थियो‌।

------------

आयोग-तोसिमा खटपट
आज निर्वाचन आयोगले ललितपुर क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य पदको उमेदवार रहेकी डा. तोसिमा कार्कीलाई घण्टी बजाएर चुनाव प्रचारप्रसार नगर्न आग्रह गरेको खबर चर्चित रह्यो।

आयोग र डा. कार्की सम्बन्धित नयाँ अध्याय भने होइन। हालसालै आयोगले कार्की लाभको पदमा कायम रहेको भन्दै उनको उम्मेदवारी खारेज गरिदिएको थियो, जसविरुद्ध डा. कार्कीले सर्वोच्चमा रिट हालेकी थिइन्‌। पछि सर्वोच्चले सो निर्णय 'कार्यान्वयन नगर्नू' भनेर आयोगलाई निर्देशित गरेको थियो।

निर्वाचन आयोगलाई अहिले फेरि उनै उम्मेदवारसँग समस्या उत्पन्न भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीकी उमेदवार कार्कीलाई निर्वाचन अनुगमन समितिले उनको दलको चुनावचिह्न पनि रहेको 'घण्टी बजाएर प्रचारप्रसार गर्नु आचारसंहिताविपरीत हो, घण्टी बजाउँदा ध्वनि प्रदूषण हुन्छ त्यसैले प्रचारका क्रममा घण्टी नबनाउनू' भनेर चेतावनी दिएको जानकारी प्राप्त भएको छ।

अर्कोतर्फ निर्वाचन आयोगले भने यसबारे कुनै निर्देशन नगएको भनेर सफाई दिएको छ‌। डा. कार्कीको समूहलाई केही साताअघि यसबारेमा स्पष्टीकरण सोधेको हो, कुनै निर्णय वा निर्देश जारी नगरिएको आयोगको जिकिर थियो।

------------

पर्सा–१ : दुई गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र द्विवेदीको चुनौती
पर्सा क्षेत्र नं. १ मा सत्ता गठबन्धनका उम्मेदवार लक्ष्मणलाल कर्ण र विपक्षी गठबन्धनका प्रदीप यादवलाई स्वतन्त्र उम्मेदवारी दिएका पर्सा कांग्रेसका पूर्वसभापति अजय द्विवेदीले चुनौती दिइरहेका छन्। पढ्नुहोस् विस्तृतमा रितेश त्रिपाठीको रिपोर्ट: पर्सा–१ : दुई गठबन्धनका उम्मेदवारलाई स्वतन्त्र द्विवेदीको चुनौती

------------

आफूलाई दुर्व्यवहार गर्नेलाई रिहा गर्न विरोध खतिवडाको आग्रह
निर्वाचन प्रचार कार्यक्रमका क्रममा आफूमाथि दुर्व्यवहार गरेका पुरुषोत्तम खड्कालाई रिहा गर्न मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार विरोध खतिवडाले प्रहरीलाई आग्रह गरेका छन्। खड्कालाई कुनै कारबाही नगरी रिहा गरिदिन खतिवडाले बुधबार प्रहरीसमक्ष आग्रह गरेका थिए।

मंगलबार मकवानपुर मनहरी गाउँपालिकाको निर्वाचनसम्बन्धी कार्यक्रमा जाने क्रममा खड्काले खतिवडामाथि हात उठाएको समाचार बाहिरिएका थिए।

------------

'बागी' कार्यकतामाथि कांग्रेसको धमाधम कारबाही
सत्तारूढ दल नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्यसहित ७४ नेता कार्यकर्तामाथि दलको निर्णयविरुद्ध गएको भन्दै कारबाही गरेको छ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक तथा पार्टी समर्थित उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरिएको हो।

पूर्वसांसद अमरेशकुमार सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजंगबहादुर सिंह, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलगायत कारबाहीमा परेका छन्।

नेकाको विधानबमोजिम उनीहरू पाँच वर्षका लागि पार्टीको सदस्य नरहने गरी कारबाही गरिएको छ।

------------

ह्वात्तै उकालो लाग्यो सुनचाँदीको प्रतितोला भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार बहुमूल्य धातु सुन र चाँदीको भाउ बढेको छ। सुनको मूल्य प्रतितोला एक हजार ४०० र चाँदीको मूल्य तोलामा ३० रुपैयाँले बढेको हो‌‌।

महासंघले छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ४ सय, तेजाबी सुनको मूल्य ९३ हजार ९ सय र चाँदीको मूल्य १ हजार २९५ रुपैयाँ तोकेको थियो।

मंगलबार छापावाल सुन रु ९४ हजार/तोला रुपैयाँ, तेजाबी ९३ हजार ५०० र चाँदी १ हजार २६५ रुपैयाँ तोलामा खरिद बिक्री भएको थियो।

------------

उकालो विशेष: प्रधानमन्त्रीको गाउँको कथा

‘हेलिकप्टरबाट गाउँ पुग्ने देउवाले सडक हेरेनन्, पीडा बुझेनन्’
गत शुक्रबार डडेलधुराको गन्यापधुरा गाउँपालिकाको चुनावी सभामा प्रधानमन्त्री शेरबहादुर देउवापत्नी, कांग्रेस केन्द्रीय सदस्य डा. आरजु राणाले दिएको यो अभिव्यक्ति निकै विवादित बन्यो। उनले डडेलधुराको मतदाताको मात्र होइन, प्रधानमन्त्री रहेका आफ्नै श्रीमान् र कांग्रेसको समेत प्रतिष्ठामा आँच पुर्‍याएको टिप्पणी भयो। बेलाबेला यस्ता उट्पट्याङपूर्ण विवादित भाषण गरिरहने डा. आरजुको यो भाषण चर्को विवादमा परे पनि यसमार्फत् उनले नचाहँदा नचाहँदै डडेलधुरा र त्योसँग जोडिएको प्रधानमन्त्री देउवाको एउटा गुत्थी भने खोलिदिइन्। उकालोका लागि बीपी अनमोलको स्टोरी हेर्नुहोस् विस्तारमा: ‘हेलिकप्टरबाट गाउँ पुग्ने देउवाले सडक हेरेनन्, पीडा बुझेनन्’


सम्बन्धित सामग्री