Saturday, April 20, 2024

-->

न्युजलेटर
२०७९ कात्तिक २२, मंगलबार

आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक २२ मंगलबार

उकालो इम्प्याक्ट: चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्‍यो अनुसन्धान

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चौधरी ग्रुपले कब्जा गरेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गाबारे अनुसन्धान शुरू गरेको छ।

नवलपरासी पश्चिम–१ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका उद्योगपति विनोद चौधरी र उनको परिवारका सदस्यहरूले बाँसबारीको १० रोपनी सरकारी जग्गालाई कसरी आफ्नो निजी सम्पत्ति बनाए भन्नेबारे उकालोले कार्तिक ५ मा खोजमूलक समाचार बाँसबारीको १० रोपनी सरकारी जग्गा : चौधरी ग्रुपले यसरी गर्‍यो कब्जा प्रकाशन गरेको थियो।

सोही समाचारलाई आधार बनाएर आयोगमा उजुरी परेको र उजुरीबारे अनुसन्धान अघि बढाइएको बारे रिपोर्ट : चौधरी समूहबाट कब्जा बाँसबारीको सरकारी जग्गाबारे अख्तियारले शुरू गर्‍यो अनुसन्धान

-------------------------

तीन प्रमुख दलका नेतात्रयको देश दौडाहा जारी
आमनिर्वाचन नजिकिँदै जाँदा प्रमुख तीन दलका शीर्षस्थ नेतात्रय शेर बहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहालको चुनावी अभियान अहिले तीव्र रूपमा अघि बढिरहेको छ।

गत सप्ताह निर्वाचन आयोगले प्रचारप्रसारको अनुमति दिएलगत्तै प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति देउवा, नेकपा एमालेका अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहाल आ-आफ्नै दलको प्रचारका लागि विभिन्न क्षेत्रमा आउने-जाने क्रम जारी छ।

शेरबहादुर देउवा: आज मंगलबार कांग्रेस सभापति देउवा प्रचारका क्रममा कैलाली–५ पुगेका छन्। उनी आज पार्टीकै भेटघाटमा व्यस्त हुने छन् भने भोलि त्यहाँबाट दार्चुला र बैतडीका आमसभामा सहभागी हुन जाने कार्यक्रम तय भएको छ।

केपी शर्मा ओली: एमाले अध्यक्ष ओली दिनभर राजधानीमै पार्टीको आन्तरिक छलफल गरी मंगलबार बेलुकी झापाका लागि रवाना भएका छन्। उनले यस प्रचार अवधिभर सकभर धेरै जिल्ला पुगेर सभाहरूमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

पुष्पकमल दाहाल: माओवादी अध्यक्ष दाहाल प्रचारका सिलसिलामा आज कर्णाली कर्णाली पुगेका छन्। आज त्यहाँ उनले पाँच चुनावी सभालाई सम्बोधन गर्ने जानकारी प्राप्त भएको छ।

यी शीर्षस्थ नेताहरूले प्रमुख प्रचारकको हैसियतमा निर्वाचन आयोगबाट हेलिकप्टर प्रयोग गर्न पाउने अनुमति लिइसकेका छन्।

-------------------------

आफ्नै उम्मेदवारविरुद्ध भोट माग्दा गण्डकी प्रदेशका मन्त्री बर्खास्त
आफूआवद्ध चुनावी गठबन्धनका उम्मेदवारविरुद्ध भोट मागेको आरोपमा गण्डकी प्रदेशका ऊर्जा मन्त्री हरिशरण आचार्य बर्खास्त भएका छन्।

बर्खास्तीमा परेका निवर्तमान मन्त्री आचार्य नेपाल समाजवादी पार्टीका निवर्तमान सांसद हुन् भने २०७४ मा नयाँ शक्तिबाट प्रदेशसभा सदस्यमा उम्मेदवारी दिँदै गोरखा क्षेत्र नम्बर १ (क) बाट निर्वाचित भएका थिए।

यसपटक पनि उक्त क्षेत्रमा गठबन्धनको उम्मेदवार हुन चाहेका आचार्यले फणीन्द्र देवकोटाले टिकट पाएपछि स्वतन्त्र उम्मेदवारी दिएका थिए। उनले आफ्ना पार्टीका अध्यक्ष बाबुराम भट्टराईको दबाबपछि उम्मेदवारी फिर्ता लिएका थिए। 

उनलाई सत्ता गठबन्धनका उम्मेदवारका पक्षमा नलागेको र उल्टै विपक्षी दललाई सहयोग गरेको आरोप लागेको थियो। गोरखाका गठबन्धन दलका नेताहरूले केन्द्रका नेताहरूसमक्ष उनको गतिविधिको जानकारी दिँदै उनलाई हटाउनुपर्ने जिकिर गर्दै आएका थिए, जसको सुनुवाइ आज भएको थियो। 

-------------------------

निर्वाचनको भीडभाडमा कोभिडको नयाँ भेरिअन्ट फैलिन सक्ने: स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्वाचन प्रचार प्रसारका क्रममा दल र जनताले संयमता नअपनाए कोरोनाभाइरस संक्रमणको नयाँ भेरिअन्ट फैलिन सक्ने भन्दै जनस्वास्थ्यका मापदण्ड पुनः पालना गर्न सबै समक्ष आग्रह गरेको छ।

उच्च सतर्कता अपनाउँदै र जनस्वास्थ्यका सम्पूर्ण मापदण्ड पालना गरेर निर्वाचन प्रचार-प्रसार गर्नुपर्ने मन्त्रालयको भनाई छ।

मन्त्रालयका अनुसार यसै पनि ठूलो संख्यामा मानिसहरू जम्मा हुनु भनेको जनस्वास्थ्यका हिसाबले जोखिमपूर्ण नै हो। त्यसमाथि कोरोना संक्रमण अझै कायम रहेको अवस्थामा भीडभाड हुँदा नयाँ भेरिअन्टको संक्रमण विस्तारित हुने धेरै जोखिम छ। 

आजसम्म नेपालमा यस भाइरसबाट  जम्मा१०,००,७५९ जना संक्रमित भइसकेका छन् भने कोभिडबाट ज्यान गुमाउनेको संख्या १२,०१९ पुगेको छ। स्वास्थ्य मन्त्रालयको डाटा अनुसार हाल ५७२ जना सक्रिय संक्रमित छन् भने २ करोड ३३ लाख बढीले कोरोनाभाइरस विरुद्ध खोप लगाइसकेका छन्। 

-------------------------

टोपीमा प्रचार, अपमानजनक अभिव्यक्ति किन? आयोगले खोज्यो उम्मेदवारहरूबाट स्पष्टीकरण 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण स्पष्टीकरण सोधेको छ।

गोरखा-२ का उम्मेदवार दाहाल, चितवन-२ का उम्मेदवार लामिछाने र श्रेष्ठलाई प्रचारका क्रममा चुनावचिह्न भएको र नारा अङ्कित टोपी प्रयोग गरेपछि स्पष्टीकरण माग गरिएको छ। 

माओवादीका नेताद्वय उपस्थित एक कार्यक्रममा केही सहभागीहरूले हँसिया हतौडा, जुन पार्टीको चुनावचिह्न पनि हो, रहेको नेपाली टोपी प्रयोग गरेका थिए। अर्कोतर्फ लामिछानेका सहयोगीहरूले ‘रवि लामिछानेलाई विजयी बनाऔँ, यसपालिको मतदान रवि लामिछानेलाई’ भन्ने नारा छापिएको टोपी लगाएको उजुरी पनि आयोगमा परेको थियो। 

निर्वाचन आचारसंहिताको दफा १३ को उपदफा (१) को खण्ड (घ) मा जुलुस वा आमसभामा भाग लिने वा प्रचारप्रसार गर्ने व्यक्तिले दल वा उम्मेदवारको निर्वाचन चिन्ह वा झण्डा अङ्कित लोगो वा स्टिकर वा कपडा, टोपी वा क्याप, भेस्ट, टिसर्ट, ज्याकेट, कमिज, गम्छा, ब्याच, मास्क वा लकेट लगाउन वा झोला बोक्न नहुने व्यवस्था रहेको छ।

यसैगरी, आयोगले बाँके-२ का प्रतिनिधि सभा उम्मेदवार मोहम्मद इस्तियाक राईलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।

जनता समाजवादी पार्टीका नेता राईले प्रचारप्रसारका क्रममा डुडुवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र चौधरीको अपमान गरेको उजुरीका आधारमा स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ ।

उनको कार्य निर्वाचन आचारसंहिता, २०७९ को दफा ४, खण्ड (ण) को प्रावधान विपरीत भएको आयोगको ठहर छ ।

-------------------------

आज खग्रास चन्द्र ग्रहण
यो वर्षको कार्तिक महिना दुई भिन्न प्रकृतिका खगोलीय घटनाहरूको 'होस्ट' बन्न पुगेको छ। 

गत ८ गते मंगलबारकै साँझ खण्डग्रास सूर्य ग्रहण लागेको थियो भने आज खग्रास चन्द्र ग्रहणको दिन थियो।

साँझ ५ बजेर ११ मिनेट जाँदा चन्द्रमा उदय हुने समयमै ग्रहण लागेको हुनाले आजको ग्रहणलाई ग्रस्तोदित चन्द्र ग्रहण भनिएको छ। यो ग्रहण ६ बजेर ३४ मिनेट जाँदा ग्रहण पूरै सकिएको थियो । यसका साथै, ग्रहणले पूरै चन्द्रमा ढाक्ने भएकाले यसलाई खग्रास पनि भनिएको हो । 

यसको अवलोकन अवधि एक घण्टा २३ मिनेट रहेको थियो ।

-------------------------

एक्कासि जुरमुरायो अख्तियार 
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतबाट सफाइ पाएका १२४ मुद्दाविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन दिएको जानकारी गराएको छ।

'विशेष अदालतबाट भएका फैसलामा चित्त नबुझी २ सय ५१ प्रतिवादीका १ सय २४ मुद्दाविरुद्ध सर्वोच्चमा पुनरावेदन दिएको'  आयोगले बताएको थियो।

आयोगका अनुसार पुख्ता प्रमाण सहित मुद्दा दर्ता हुँदा पनि विशेष अदालतबाट उपयुक्त फैसला नभएपछि कानुनी सुविधा उपयोग गर्दै कानुनबमोजिम सर्वोच्चमा पुनरावेदन दिइएको हो।  "भ्रष्टाचारको मुद्दामा गम्भीर तवरले अनुसन्धान गरेर सप्रमाण कसुर स्थापित गर्ने काममा सफल नहुँदा गलत नजिर बस्ने भएकाले पुनरावेदनमा जानुपरेको हो" आयोगको भनाइ छ।

यी मुद्दामा कुल बिगो रकम ४२ करोड १६ लाख २६ हजार ४ सय ६२ रुपैयाँ रहेको, चालू आवमा १ सय ६३ वटा फैसला प्राप्त गरेको र त्यसमध्ये अधिकांशको सर्वोच्चमा पुनरावेदन दिएको अख्तियारका अधिकारीको भनाई थियो।

पुनरावेदन दिएका मुद्दा मध्ये सबैभन्दा बढी अनधिकृत आर्थिक लेनदेन (घुस) सम्बन्धित ११२ मुद्दाको रहेको छ। सामाजिक सुरक्षा भत्ता हिनामिना, राजस्व चुहावट, गैर कानुनी सम्पत्ति आर्जन लगायतका मुद्दामा पनि पुनरावेदन दिइएको छ। 

-------------------------

अन्तरवार्ता: कांग्रेस प्रचण्डपथमा गयो, हेरेर बस्न सकिनँ
आसन्न निर्वाचनमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिस्पर्धामा रहेका कर्ण मल्लले डडेलधुरामा विद्रोहको प्रतीकस्वरूप ठूलो परिवर्तन आउन लागेको बताएका छन्।

सातौँपटक संसदीय निर्वाचन लडिरहेका प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गृहजिल्ला डडेलधुरामा यसपालि राजनीतिक हिसाबले प्रतिस्पर्धाविहीन छन्। यसअघि छ पटकसम्म उनलाई चुनौती दिने एमाले र माओवादी नै थिए। तर, यसपटक ती दुवै पार्टीबाट उनी विरुद्ध कसैले उम्मेदवारी दिएका छैनन्। कांग्रेस र माओवादी केन्द्रको गठबन्धन छ भने एमालेले उम्मेदवार नै उठाएको छैन। त्यसैले यसपटक देउवाको प्रतिस्पर्धा उनकै पूर्वसहयोगी तथा नेपाली कांग्रेस(बीपी) बाट उम्मेदवारी दिएका कर्ण मल्लसँग हुँदै छ। एमालेसमेतले समर्थन गरेका मल्लसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानी : कांग्रेस प्रचण्डपथमा गयो, हेरेर बस्न सकिनँ

-------------------------

विचार: अर्थतन्त्रको रूपान्तरण गर्ने घोषणापत्र कस्तो हुनुपर्छ?
हाल नेपालको आर्थिक परिस्थिति असहज छ। आवरणमा कोभिड तथा रसिया-युक्रेन युद्धजस्ता बाह्य कारण देखिए पनि अहिलेको चुनौतीपूर्ण आर्थिक परिस्थितिको प्रमुख जड लामो समय देखि विकसित हुँदै गरेको मुलुकको आर्थिक संरचना हो। त्यसैले अर्थतन्त्रको संरचनामै परिवर्तन नल्याई अहिलेको असहज अवस्थाको दीर्घकालीन समाधान हुन सक्दैन। अर्थात्, चुनौतीका विषय संरचनात्मक भएकोले समाधान पनि संरचनात्मक सुधारबाटै खोज्नु पर्छ।

अब बन्ने सरकारले परम्परागत झिनामसिना विकासे अवधारणामा नअलमलिकन अर्थतन्त्रकै संरचना रूपान्तर गर्ने सोच र लक्ष्यका साथ अगाडि बढ्नुपर्छ। पढ्नुहोस् विश्वास गौचनको अर्थ विचार : अर्थतन्त्रको रूपान्तरण गर्ने घोषणापत्र कस्तो हुनुपर्छ?


सम्बन्धित सामग्री