Thursday, April 25, 2024

-->

न्युजलेटर
२०७९ कात्तिक १३, आइतबार: प्रचण्ड-बाबुराम 'हट्के' लभ-हेट सम्बन्ध

आज आइतबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ कात्तिक १३ आइतबार  प्रचण्ड-बाबुराम हट्के लभ-हेट सम्बन्ध
तस्वीर: प्रचण्डको फेसबुकबाट।

कहिले उकालो मात्रै चढ्ने, कहिले ओरालो मात्रै झर्ने बाबुराम भटराई र पुष्पकमल दाहालबीचको सम्बन्धले सायदै कहिले समथर स्थायित्वको आभास पायो। सशस्त्र द्वन्द्व चलिरहँदादेखि हालको दिनसम्म आइपुग्दा नेपाली राजनीतिका यी दुई धुरन्धर व्यक्तित्व कि एकआपसमा परस्पर टकराइरहे, कि एकआपसमा विलिनै भए। उनीहरू सामान्य राजनीतिक सम्बन्धमा विरलै बाँधिए, वा भनौँ बाँधिन चाहेनन्।

भट्टराई-दाहाल सम्बन्ध यस्तै एकाध दर्जन आलाप-प्रलाप-मिलापको चक्रव्यूह पार गर्दै ३६० डिग्री गोलचक्कर लगाएर फेरि 'एकआपसमा समाहित हुने'  विन्दुमा आइपुगेको छ।

दाहाललाई भ्रष्ट, पदलोलुप नेता र माओवाद (र कम्युनिजम्) लाई मिति पुगेको सिद्धान्त भन्ने बाबुराम अहिले अध्यक्ष कमरेडजस्तो सामर्थ्यवान नेता नेपालभर छैन, उनीजस्तो दूरदर्शी कोही छैन भन्न डेग हिच्किचाउँदैनन्।

हिजो मात्रै गोरखामा आयोजित एक चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उनले दाहाल गोरखा क्षेत्र नं २ बाट निर्वाचित हुँदै आगामी दिनमा प्रधानमन्त्री हुने भविष्यवाणी गरे। प्रचण्ड गोरखाबाट निर्वाचित हुँदै प्रधानमन्त्री भएपछि जिल्लाको विकास हुने जिकिर पनि उनले गरे। स्मरण रहोस्: नेकपा (माओवादी) मूलधारको राजनीतिमा आएर निर्वाचनमा भाग लिन थालेदेखि भट्टराई यस क्षेत्रबाट निर्वाचित हुँदै आएका छन् र यसबीचमा एकपटक प्रधानमन्त्री पनि भएका छन्।

उता, बाबुरामजस्ता अप्ठ्यारो व्यक्ति संसारमै छैन भन्ने दाहाल अहिले उनको विद्वता र परिपक्वताको गाथा गाएर थाक्दैनन्।

खैर, यी दुई नेताको 'केमिस्ट्री' हालको सद्भावपूर्ण विन्दुमा रोकिन्छ कि फेरि गोलचक्कर लगाउँदै तीन बलड्याङ्ग खान्छ, त्यो समयले बताउला। 

--------------------
सगरमाथाभन्दा उच्च ओलीका दाबीहरूका चाङ
सपना बाँड्नमा र दाबी गर्नमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई जित्ने महामानव कमै होलान्। भए पनि नेपालमा त छँदैछैनन्।

वैज्ञानिक आविष्कार, पौराणिक चमत्कार, भौगोलिक आकार र स्वाथ्यका विकार - उनले विद्वता देखाउन खोजेका, दाबी नगरेका विषय विरलै हुन्छन्।

यस्तै, सन्दर्भमा पूर्वीप्रधानमन्त्री ओलीले मंसिरमा हुन गइरहेको प्रतिनिधिसभाको निर्वाचनमा एमालेले प्रत्यक्षतर्फ कम से कम एक सय सिट र समानुपातिकतर्फ ५० सिट ल्याएर एकल बहुमत पुर्‍याउने दाबी गरेका छन्।

हुन त निर्वाचनमा कुनै पनि दलले हार्छु, कम मत ल्याउँछु, भन्दैन। साना दलले त ठूला दावी गर्छन् भने यी त निवर्तमान संसदमा सबैभन्दा ठूलो दलका नेता। अलि अलिअलि संख्याको हिसाब हुन्छ पनि। तर, ठ्याक्कै प्रत्यक्षमा यति र समानुपातिकमा यति भनेर दाबी गर्नसक्ने आत्मविश्वास सबैको हुँदैन।

उनको हिसाबअनुसार अघिल्लो निर्वाचनमा पार्टीले प्रत्यक्षमा ८० सिट र समानुपातिकमा ४१ सिट जितेको थियो। तर, आउँदो चुनावमा एमालेले १५० सिट जित्दै एकल बहुमत ल्याउने छ र सरकार बनाउने छ।

यसका साथै, झापाको क्षेत्र नं ३ मा शनिबार आयोजित एक सभामा उनले एमालेको इज्जत राख्न राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई झापा-३ का जनताले जिताउनै पर्ने बताए। झापामा एमालेले राप्रपासँग चुनावी तालमेल गरेको छ।

शनिबार उनी झापामा आयोजना गरिएका विभिन्न चुनावी कार्यक्रममा सहभागी भएका थिए।

--------------------
निर्वाचन आयोगले एमालेका उम्मेदवार सूर्य थापासँग माग्यो २४ घण्टे स्पष्टीकरण
नेकपा (एमाले) का नेता सूर्य थापाले चुनावी प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको भन्दै निर्वाचन आयोगले स्पष्टीकरण माग गरेको छ।

‘निर्वाचनका प्रक्रिया अगाडि बढिसकेको तथा निर्वाचन आचारसंहिता लागू भइसकेको अवस्थामा तपाईंले किन जानाजान रूपमा निर्वाचन आचारसंहिताको उल्लंघन हुने कार्य गर्नु भएको हो?’ आयोगले प्युठानका उम्मेदवार थापालाई सोधेको छ।

--------------------
आरजुका आरजुहरू
राष्ट्रिय राजनीतिमा एमाले अध्यक्ष ओलीको सबैभन्दा ठूलो देन हुनुपर्छ - जस्तोसुकै ठूलो दाबी पनि बिनाहिचकिचाहट, आत्मविश्वासका साथ गरिदिने!

सायद यही ओली-इफेक्ट हुनुपर्छ, आजकल हरेक नेता पूरा विश्वासका साथ एकभन्दा अर्को दाबी गरिरहेका हुन्छन्।

यही सेरोफेरोमा चर्चा चलिरहँदा नेपाली कांग्रेस नेतृ आरजु राणा देउवाको हालसालका दाबी र बयानबाजीलाई नजरअन्दाज गर्न सकिन्न। कहिले करुवा-सरुवा-हरुवालाई भोट दिए आफू अविकासको जिम्मेवार नहुने, कहिले कांग्रेस उम्मेदवारलाई जिताए मलेसियाको कोटा पाउनेजस्ता अभिव्यक्ति दिएर चर्चामा आउने उनले यसपालि सत्ता गठबन्धनका दलहरूले आसन्न निर्वाचनमा ९५ प्रतिशत सिटमा जित्ने दाबी गरेकी छिन्।

छठ पर्वमा सहभागी हुन आइतबार जनकपुरधाम आइपुगेकी नेतृ देउवाले विमानस्थलमा प्रेससँग कुरा गर्दै उक्त दाबी गरेकी हुन्।

"चुनावै हो, हामी सय प्रतिशत भन्न सक्दैनौँ तर ९५ प्रतिशत सिटमा हाम्रो जित हुन्छ भने दाबीको साथ भन्न सक्छौँ," ओलीभन्दा २० कदम अगाडि बढेर उनको दाबी थियो।

'अब कहीँ–कहीँ मात्रै बागी उम्मेदवार छन्, जसले गठबन्धनलाई खासै असर पर्दैन,' बागी नेताको व्यवस्थापनबारे प्रश्नको उत्तर दिँदै उनले भनिन्।

बोल्नेको पिठो यसै बिक्ने राजनीतिमा चुनावी सरगर्मी चल्न थालेपछि बोल्नेले पिठोको रोटी नै बनाएर बाँड्ने दृश्य खासै नौलो नहोला। तर, यसमा हालसालै जोडिन आएको गज्जबको, अभूतपूर्व अति-आत्मविश्वासले भने पिठोको खपत अझै विस्तृत गरेको अवश्य छ।

--------------------
नेपालको भारतलाई कूटनीतिक नोट
नेपालले भारतलाई कूटनीतिक नोट पठाएको छ। काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत परराष्ट्र मन्त्रालयले आइतबार भारतलाई कूटनीतिक नोट पठाएको हो। 

दार्चुलाको ब्यास गाउँपालिका–२ दुम्लिङस्थित महाकाली नदीपारिको भारतीय क्षेत्रमा शुक्रबार बिहान सडक निर्माणका क्रममा विस्फोटक पदार्थ प्रयोग गरेपछि उछिट्टिएको ढुङ्गाले लागेर स्थानीय नेपाली बालक नौ वर्षीय पवन महराको ज्यान गएको थियो।

यस विषयलाई सम्बोधन गर्दै परराष्ट्र मन्त्रालले काठमाडौँस्थित भारतीय राजदूतावासमार्फत आइतबार भारतलाई कूटनीतिक नोट पठाएको छ।

महरा महाकाली किनारमा नेपाली क्षेत्रमा बुबा, आमा, दिदी र भाइहरूका साथमा हिँडिरहेका बेला उक्त घटना घटेको थियो।

नेपाल सरकारले शनिबार नै परराष्ट्र मन्त्रालयलाई नोट जारी गर्न पत्राचार गरेको थियो। उक्त नोटमा नेपाल-भारत सिमानामा गतिविधि गर्दा नेपालको स्थानिय प्रशासन, स्थानीय र अरू सम्बन्धित पक्षलाई समय अगावै जानकारी दिलाउन भनिएको छ भने पीडितलाई उचित राहत र क्षतिपूर्ति दिलाउनका लागि आग्रह गरिएको छ।

--------------------
भारतीय निर्माण कम्पनीले दियो पीडित परिवारलाई क्षतिपूर्ति
शनिबार राति भारतीय निर्माण कम्पनी, भारतीय प्रशासन, पीडित परिवारका सदस्य र स्थानीय नेपाली जनप्रतिनिधिबीच क्षतिपूर्ति रकम उपलब्ध गराउने सहमति भएको थियो।

भारतीय सडक निर्माण कम्पनी ‘गर्ग एण्ड गर्ग’का प्रतिनिधिले पीडित परिवारलाई नगद रकम हस्तान्तरण गरेको प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए। “सडक निर्माण कम्पनीले नगद रकम हस्तान्तरण गरेको छ,” उनले भने, “नगद रकम मृतक बालकका बुबा र आमाको नाममा संयुक्त खाता खोलेर जम्मा गरिने छ।”

थप बुझ्न पढ्न यहाँ क्लिक गर्नुहोस् 

--------------------
जेरीजस्तो अपराध-राजनीतिको नाता
२०४८ सालयताका ६ वटै आम निर्वाचन जितेका नेपाली कांग्रेसका नेता विजयकुमार गच्छदार सातौँपटक चुनावी मैदानमा छन्। उनी सुनसरी–३ बाट सत्तागठबन्धनको उम्मेदवार बनेका छन्। बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा भ्रष्टाचार मुद्दा लागेपछि उनी पछिल्लो प्रतिनिधिसभाको करिब तीन वर्ष कार्यकाल बाँकी हुँदै निलम्बनमा परेका थिए।

उनी यसपटक पुनः सुनसरी–३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन्। उनलाई कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवाले नै टिकट दिएका हुन्। अदालतमा भ्रष्टाचार मुद्दा लागेका व्यक्तिलाई टिकट दिन नहुने केही नेताले अडान राखे पनि देउवाले त्यसमा कुनै चासो नै नदिएको कांग्रेस नेताहरू बताउँछन्।

हत्या अभियोगमा अदालतबाट सर्वस्वसहित जन्मकैदको सजाय पाएका रामशंकर यादवलाई एमालेले सिरहा–१ बाट उम्मेदवार बनाएको छ। सत्ता गठबन्धन र एमालेसमेतको समर्थनमा आपराधिक पृष्ठभूमिका दीपक मनाङे मनाङ (ख) बाट निर्विरोध निर्वाचित भएका छन्। विशेष अदालतबाट भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका गोविन्दराज जोशी तनहुँ–१ बाट स्वतन्त्र उम्मेदवार बनेका छन्।

आगामी निर्वाचन कसरी राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण देखाउने ऐना बन्दैछ? थप बुझ्न पढ्नुहोस् : बीपी अनमोल, सुनिता साखकर्मीको रिपोर्ट

--------------------
छठ पर्व मनाइयो
छठपर्वको मुख्य दिन आज आइतबार पूजा उपासनागरी मनाइएको छ। साँझकालमा अस्ताउँदो सूर्यको आराधना गरी अर्घ चढाएर छठ मनाइन्छ।

कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म गरिने सूर्यको आराधना शुक्रबारदेखि शुरु भएको हो। पौराणिक ग्रन्थ महाभारतका अनुसार पाण्डव दाजुभाई आफ्नी पत्नी द्रौपदीकम साथ अज्ञातवासमा रहँदा उनिहरुको कार्य सिद्धिका लागि सूर्यको उपासना गरिएको थियो। त्यही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो भन्ने जनविश्वास रहिआएको छ।

अर्को पौराणिक ग्रन्थानुसार अत्रि ऋषिपत्नी अनुसूयाले छठको व्रत गरेकी थिइन्। जसको फलस्वरूप उनको मनोकामना पूर्ण भयो। त्यही समयदेखि ‘छठपर्व’ मनाउन थालिएको पनि लोककथन छ।

--------------------
निष्क्रिय भयो एमआरआर समूह
युवाहरू माझ निकै लोकप्रिय एमआरआर (मेन्स रूम रिलोडेड) ग्रुपलाई फेसबुकले 'कम्युनिटी गाइडलाइन्स् भायोलेसन'का लागि निष्कृय गरिदिएको छ। ग्रुप सञ्चालकले एक पोस्टमार्फत फेसबुकको कारबाहीबारे जानकारी गराएका थिए।

"फेसबुकले हाम्रो ग्रुप एमआरआरलाई फेरि पनि कम्युनिटी गाइडलाइन्स भायोलेन्स गरेको आरोपमा निष्क्रिय गरेको छ," एमआरआरकै पोस्टमा उल्लेख छ। निष्क्रिय गरेको भने पनि कुन पोस्ट वा कमेन्टले हो भनेर देखाउनुपर्नेमा त्यसमा कुनै त्यस्तो पोस्ट छैन पनि भनिएको छ।

सन् २०२० मा एमआरआर कारबाहीमा परेको थियो जसपश्चात् त्यस्ता विषयबारे आफू चनाखो रहेको ग्रुप सञ्चालकले बताए। र, साथै यो पनि भने कि फेसबुकको यो कारवाही 'रिभ्यु' गर्न गरिएको आग्रहमा पनि कुनै सुनुवाइ भएको छैन।

पछिल्लो समय यो समूह केही विवादित पनि भएको थियो, जहाँ स्थानीय चुनावमा यसले प्रभाव पारेको भन्ने जस्ता खबरहरू आएका थिए।

--------------------
अन्तर्राष्ट्रिय: दक्षिण कोरिया स्ट्यामपीडमा १५० बढीको मृत्यु
दक्षिण कोरियाको राजधानी सिओलमा सार्वजनिक स्थानमा आयोजित एक कार्यक्रममा एक्कासि भागदौड हुँदा १५१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १९ जना विदेशी नागरिक रहेको थाहा भएको छ भने लगभग १०० जना घटनामा घाइते भएका छन्।

अधिकारीका अनुसार तथ्यांक संकलन र उद्धारको काम जारी रहेकाले हताहती हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका रिपोर्टअनुसार इथेवन भन्ने स्थानमा ह्यालोविन मनाउन उल्लेख्य भिड जम्मा भएको थियो। कार्यक्रम चल्दैगर्दा एकजना व्यक्ति लडेपछि एक्कासि भागदौड मच्चिएको थियो।

यस दु:खद घटनापश्चात विभिन्न देशकम सरकार प्रमुखहरूले शोक विज्ञप्ति जारी गरेका छन्। नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै विज्ञप्ति जारी गरेका थिए।


सम्बन्धित सामग्री