Saturday, April 20, 2024

-->

न्युजलेटर
२०७९ कात्तिक ८, मंगलबार

आमनिर्वाचन २०७९

२०७९ कात्तिक ८ मंगलबार

चुनाव: मुद्दा हैन, मत

एउटा भनाइ छ- मान्छेको असली चरित्र संकटको बेला उजागर हुन्छ। राजनीतिक दलहरूको असली चरित्र भने सायद चुनावको बेला देखिन पुग्छ। 

कुनै बेला एमालेलाई मधेशविरोधी, पहिचानविरोधी भनेर नथाक्ने जनता समाजवादी पार्टी उही 'प्रतिगामी' पार्टीसँग चुनावी गठजोडमा छ। अर्कोतर्फ, स्थानीय तहमा (र त्योभन्दा अगाडि) एमालेसँग मिलेको लोकतान्त्रिक समाजवादी पार्टी भने अहिले एक्कासी वाम-लोकतान्त्रिक गठबन्धनसँग नजिकिएको छ। यी दुई घटनाक्रमले मधेशमा राजनीतिको अरु आयामसँगै के पनि प्रष्ट पार्छन् भने यि र यस्ता दलका नेताले मुद्दाभन्दा मतलाई प्राथमिकता दिन्छन्।

हिजो पूरै क्षेत्रको सबैभन्दा ठूलो शत्रु भनेर ठोकुवा गरिएको पार्टी अथवा पात्रसँग रातारात मिलाप हुन्छ, उ सही भन्ने कथा बुनिन्छ, हिजोको ठोकुवा र आजको पूर्ण विपरीत व्यवहारबारे जनतालाई केही सफाइ नदिई नेताजीहरू सत्ताको हिसाबकिताबतिर लाग्छन्।
यसबारे थप : लिंक

चुनावमा सायद दलहरूले यसै पनि नाममा मात्र सीमित रहेका सिद्धान्त र नैतिकताको भारी बिसाउने छुट पाउँछन्। अथवा कम्युनिष्ट विचारधाराले चल्ने एमाले, र राजावादी-हिन्दुत्ववादी राप्रपाको गठजोड हुँदैनथियो होला। उही पुरानो राप्रपा र 'राजावाद' छोडेर हिन्दु-राष्ट्रको मात्र फुर्को समाएका कमल थापा सर्लक्कै सूर्यको ब्यानर फहराउँदै हिँड्दैन थिए होलान्। दशक-लामो सशस्त्र द्वन्दको अगुवाई गरेको माओवादलाई आदर्श मान्ने दल र सबैभन्दा पुरानो लोकतान्त्रिक दल भनिन रुचाउने नेपाली कांग्रेस एउटै ठाउँमा उभिएर एकअर्काको प्रचार गर्दैनथिए होलान्।

---------

गठबन्धनको औचित्य पुष्टि गराउन देउवा-दाहालको थप दौडधुप
निर्वाचन नजिकिँदै गर्दा नेेपाली कांग्रेसका सभापति, वर्तमान प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल हाल पाँच दलीय सत्ता गठबन्धनको औचित्य पुष्टि गर्ने दौडधुप थप बढ्दै गएको छ। हिजो सम्पन्न वाम-लोकतान्त्रिक गठबन्धनको बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले यो गठबन्धन रहरले नभई संविधान र लोकतन्त्रको रक्षाका लागि बनेको बताएका थिए। 

देउवाका अनुसार ठूलो संघर्षपछि प्राप्त संविधानको रक्षा गर्नको लागि गठबन्धन अपरिहार्य थियो, छ, र रहिरहनेछ। बेलाबखत चुनावी भागबन्डा, चुनावपछिको भागबन्डा आदि बारे कुरा नमिलेर खटपटका खबर बहिरिए पनि देउवाले गठबन्धन दलबीच आपसमा सौहार्दपूर्ण वातावरण भएको र त्यस्तै रहिरहने बताए।

त्यसैगरी, देउवाभन्दा दुई कदम अगाडि बढेर नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले आउँदो निर्वाचनमा दुई वटा विचार र सिद्धान्त - संविधान तथा गणतन्त्रका पक्षमा उभिने र त्यसलाई स्वीकार नगर्ने - आमनेसामने हुने बताए। 

'दुई वटा विचार, प्रवृत्ति, संस्कृतिका बीचमा आमनेसामने हुँदैछ। विगतमा संविधान मिच्ने, प्रतिनिधिसभा विघटन गर्ने दुष्प्रयास गरियो। त्यसका विरूद्ध हामी सबै उभियौं। संघर्षका बीचमा गठबन्धन बनेको हो। सानो मेहनत र सानो कसरतबाट यो गठबन्धन जन्मेको होइन। त्यसकारण यसका उम्मेदवारलाई विजयी गराउनु आजको आवश्यकता हो,' भेलालाई सम्बोधन गर्दै उनले भने। 

---------

कहिल्यै नसकिने कोभिड: एक्स्बीबी भेरियन्टको आगमन
नेपालमा उच्च-संक्रामक ओमिक्रोनको ‘एक्सबीबी’ भेरिएन्ट संक्रमण पुष्टि भएको छ। राजधानीमा संकलित दुई वटा नमूनाबाट गरिएको जाँचमा उल्लेखित भेरिएन्ट देखिएको थियो। यसले कोरोनाभाइरस इन्फेक्शनको जोखिम अझै रहिरहेको बुझ्न सकिन्छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउन २१-असोज १४ सम्म  विभिन्न उमेर समूहका कोभिड संक्रमित व्यक्तिहरूबाट संकलित नमूनाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी केही नमूनाको जिनोमिक पहिचान गरेको थियो, जुन क्रममा एक्सबीबी सब-भेरिएन्टको पहिचान भएको थियो।

यसैबिच, नयाँ भेरिएन्टको पुष्टिलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयले अहिलेका चाडपर्वको मौसममा हुने भीडभाडमा विशेष सतर्कता अपनाई मास्क अनिवार्य लगाउन र स्वास्थ्य सुरक्षाका उपाय अपनाउन सार्वजनिक सूचना जारी गरेको छ।

केही दिनअगाडि विश्व स्वास्थ्य संगठनका प्रमुख वैज्ञानिक डा सौम्या स्वामिनाथनले भारतमा आयोजित एक कार्यक्रममा एक्सबीबी भेरिएन्टले विश्वका केही भागमा कोभिडको नयाँ लहर ल्याउन सक्ने आशंका व्यक्त गरेकी थिइन् ।

नेपालमा हालसम्म १० लाख ५०९ कोभिड संक्रमित भएका छन्, जसबाट १२ हजार १८ जनाको मृत्यु भएको छ। आजको मितिमा देशभर ६६२ सक्रिय संक्रमणका केस छन्।

---------

दलहरूको आचारसंहिता उल्लंघन, निर्वाचन आयोगको निर्देशन : सिलसिला जारी
चाहे ति दल भित्रका आन्तरिक चुनाव हुन्, वा संघिय, प्रादेशिक वा स्थानिय चुनाव - राष्ट्रिय निर्वाचन आयोगले हरेक साना ठूला यी चुनावहरूका निम्ति आचारसंहिता बनाइदिएको हुन्छ। तर हरेक पटक कसैगरी दलहरू र सम्बन्धित नेताहरूले संस्थागत वा व्यक्तिगत रुपमा निर्वाचन आचारसंहिताको धेरै जानेर वा थोरै नजानेर उल्लंघन गरिरहेको पाइन्छ- चाहे ति सत्तापक्ष हुन्, वा प्रतिपक्ष। 

अहिले निर्वाचनको सरगर्मी बढी रहँदा आए दिन दलहरूको आचारसंहिता उल्लंघन, निर्वाचन आयोगको निर्देशन र स्पष्टीकरण का खबरहरू चलिरहन्छन्। 

यस पटक भने निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारका क्रममा हेलिकोप्टर प्रयोग गर्दा लाग्ने खर्च कुन दलबाट व्यहोरिने हो खुलाई पठाउन सत्ता गठबन्धनका दलहरूलाई निर्देशन दिएको छ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)लाई प्रधानमन्त्री र ती दलका शीर्ष नेता तथा मन्त्रीहरूसमेतले हेलिकोप्टर प्रयोग गर्दा खर्च कसले तिर्ने हो स्पष्ट पार्न आयोगले निर्देशन दिएको हो।
यसबारे थप : लिंक

साथै, काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा उम्मेदवार गगन थापालाई आइतबार आयोगले निर्वाचन प्रभावित पार्न सक्ने सामाग्री सामाजिक सञ्जालमा प्रेषित गरेको भन्दै स्पष्टीकरण माग गरेको थियो।

‘फेरि पनि काठमाडौं क्षेत्र नम्बर ४ का बासिन्दाको निम्ति निःशुल्क डेंगी परीक्षण तथा परामर्श सेवा लिएर तपाईंहरूको टोलमा आउँदैछौँ’, ‘डेंगीको बिरामी भई घरमै बस्नु भएकाहरूका लागि आवश्यक चिकित्सकीय परामर्श पनि उपलब्ध गराउने छौँ र तपाईंलाई डेंगीको परीक्षण र परामर्श आवश्यक भएमा मोबाइल नम्बर ९८६०३४०५८७ मा आफ्नो नाम, ठेगाना, सम्पर्क नम्बर एसएमएस गर्नु हुन अनुरोध छ’ थापाको यस्तो ट्वीट सार्वजनिक भएपछि उनि आयोगको प्रश्नको घेरामा परेका थिए। 

---------

खण्डग्रास सूर्य ग्रहण
मंगलबार उत्तरी अफ्रिका, युरोप, मध्यपूर्व एशिया र एशियाका विभिन्न स्थानबाट ग्रस्तास्त खण्डग्रास (थोरै सूर्य ढाकेर ग्रहणकै अवस्थामा सूर्यास्त हुने) सूर्यग्रहण देखियो। 

नेपालमा ग्रहणले दिउँसो ४ः५२ बजे स्पर्श गरेको थियो भने त्यसको लगभग ३२ मिनेटपछि बेलुकी ५:२४ बजे सूर्यास्त भएको थियो। आजको खग्रास ग्रहणको अन्त्य ६ः४५ बजे तिर भएको थियो। 

ग्रहणको प्रभावबारे विभिन्न धर्ममा विभिन्न विश्वास रहेको पाइन्छ। तर, विज्ञानले यस्ता खगोलीय घटनाहरूका मानिसमाथि पर्ने असरबारे केही आधारहरू पुष्टि गरेको छैन।

---------

अन्तर्राष्ट्रिय

ऋषि सुनक बने बेलायतका पहिलो एशियाली मुलका प्रधानमन्त्री
बेलायती प्रधानमन्त्री लिज ट्रसले राजीनामा दिएपछिको राजनीतिक घटनाक्रमले एशियाली मुलका कन्जरभेटिभ नेता ऋषि सुनकका लागि सरकारको सर्वोच्च पदमा आसिन हुने मौका जुराइदिएको छ।

सांसद पेनी मोर्डन्टले संसदिय दलको नेता हुन चाहिने आवश्यक समर्थन जुटाउन नसक्दा पछि हटेर अन्तिम समयमा सुनकलाई समर्थन गर्ने घोषणा गरेकी थिइन्। मोडर्न्टको समर्थन मिलेसँगै सुनकको लागि टेन डाउनिङ स्ट्रिटको ढोका खुल्ने निश्चित भएको थियो। 

यसबारे थप : लिंक

---------

विचार 

किन औँशी वा पूर्णिमामै लाग्छ ग्रहण?
आज कार्तिक कृष्णपक्षको अन्तिम दिन अर्थात् औँशी। आज सूर्य ग्रहण लाग्दैछ। ग्रहण किन लाग्छ? किन औँशीपूर्णिमामा नै लाग्छ? सबै औँशीपूर्णिमामा चाहिँ किन लाग्दैन? दुई ग्रहणहरूबीचको समय किन 

बराबर हुन्न? कसरी गरिन्छ ग्रहणको भविष्यवाणी? कसरी दोहोरिन्छ ग्रहणको शृंखला चक्र? 

विस्तृतमा बुझ्नुहोस्: लिंक

---------

भूराजनीतिमा लुकेको अर्थ–राजनीतिको नकारात्मक प्रभाव
विभिन्न कालखण्डमा जबजब नेपालले ‘स्वतन्त्र’नीति अँगाल्ने प्रयास गरेको छ, चीनले नेपाललाई विभिन्न खालका योजना, सहयोग र भ्रमणले पुरस्कृत गर्ने गरेको छ। यो क्रम आजसम्म जारी छ। भूराजनीतिको अर्को पक्ष भारत र अमेरिका हुन्। भारत नेपाललाई आफ्नो प्रभावक्षेत्रको रूपमा कायम राख्न चाहन्छ। 

अजय भद्र खनालको विचार: लिंक 

---------

डेंगी : हल्का रूपमा नलिऊँ
जोर्नी र हड्डीमा असाध्यै पीडा हुने हुँदा यो संक्रमणलाई ‘हड्डी तोड ज्वरो’ पनि भन्ने गरिन्छ। प्रायः डेंगीका गम्भीर बिरामीले योभन्दा दर्दनाक अर्को संक्रमण नभएको अनुभव सुनाउँछन्। डेंगी संक्रमणबारे डा. सुदिप खड्काको विशेष टिप्पणी: लिंक 


सम्बन्धित सामग्री