Saturday, February 15, 2025

-->

उकालो साप्ताहिक ब्रिफिङ: तिब्बत भूकम्पको धक्का, बाँसबारीमा चौधरी ग्रुपको दाबी अन्त्य

यो साता उकालोमा बाँसबारीको जग्गामा चौधरी ग्रुपको दाबी अन्त्य, कहाँ ‘हराए’ विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी? सुरक्षा मापदण्डबिनाका सडक : मृत्युसँग जुधेर यात्रा लगायतका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ तिब्बत भूकम्पको धक्का बाँसबारीमा चौधरी ग्रुपको दाबी अन्त्य

मंगलबार बिहान तिब्बतको चीनको तिब्बत प्रान्तको दिंगे काउन्टी केन्द्रबिन्दु भएर सात म्याग्निच्युडको भूकम्प गएको थियो। सबेरै आएको शक्तिशाली भूकम्पको धक्का तिब्बतसँग सीमा जोडिएका पूर्वी नेपालका पहाडी भेगमा त पर्‍यो नै, काठमाडौँ उपत्यकादेखि तराईका केही स्थानसम्म उक्त प्राकृतिक घटनाको असर देखिएको थियो। केन्द्रबिन्दु दिंगे काउन्टीको दक्षिणतर्फ नेपालको संखुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किमसँग सीमा जोडिएको छ।

भूकम्पको धक्का काठमाडौँ उपत्यकासहित आसपास, तराई एवं पूर्वी नेपालका ताप्लेजुङ, झापा, मोरङ, सुनसरी, उदयपुर, खोटाङ, ओखलढुंगा, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर, इलाम, सोलुखुम्बु, संखुवासभालगायत जिल्लामा महसुस गरिएको थियो। त्यसैगरी भारत, भुटान र बांगलादेशमा पनि भूकम्पको धक्का महसूस गरिएको स्थानीय सञ्चारमाध्यमले बताएका थिए।

चीनको दुर्गम क्षेत्रमा गएको विनाशकारी भूकम्पमा कम्तिमा १२६ जनाको मृत्यु भएको र हजारौँ भवन क्षतिग्रस्त भएको चिनियाँ सञ्चारमाध्यमले जनाएका थिए।  त्यहाँका प्रसारणकर्ताले सार्वजनिक गरेको भिडियोमा भित्ता चिरा परेर घरहरू ढलेको दृश्य देखिन्थे भने उद्धारकर्मी भग्नावशेषमा हिँडडुल गरेको, स्थानीय बासिन्दालाई शून्य डिग्रीभन्दा कम तापक्रममा न्यानो राख्न बाक्लो कम्बल बाँडेको पनि देखिएको थियो। 

भूकम्प मंगलबार बिहान करिब ९ः०० बजे (०१०० जीएमटी) नेपालसँगको सीमानजिक सर्वोच्च शिखर सगरमाथाको करिब ८० किलोमिटर (५० माइल) उत्तरमा रहेको ग्रामीण र उच्च उचाइको दिंगे काउन्टीमा गएको थियो।

शक्तिशाली धक्का महसुस गरेपनि उक्त भूकम्पबाट नेपालमा भने ठूलो क्षति नभएको पाइएको छ। यद्यपि, प्रहरीका अनुसार भूकम्पका कारण १३ जना घाइते भएका थिए। काठमाडौँमा भाग्दा एक जना घाइते भएका, बारामा ११ जना भूकम्प आएपछि बेहोस भएका र काभ्रेका एक जना माथिबाट ढुंगा खसेर घाइते भएका थिए। यसैगरी, दुई घर पूर्ण, एक आंशिक र ११ घरमा सामान्य गरी १४ घरमा क्षति भएको विवरण प्राप्त भएको थियो।

उकालो विशेष

बाँसबारी प्रकरण: सीजी चाँदबागले सर्वोच्चबाट लियो मुद्दा फिर्ता, जग्गामा चौधरी ग्रुपको दाबी अन्त्य 

चौधरी ग्रुपले हडपेको तत्कालीन बाँसबारी छाला तथा जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा आफ्नो नाममा फिर्ता ल्याउन सरकारले गरेको निर्णयविरुद्ध चौधरी ग्रुपअन्तर्गतकै सीजी चाँदबाग रेसिडेन्सी प्रालिले सर्वोच्च अदालतमा दायर गरेको दुई वटै रिट निवेदन फिर्ता लिएको छ।

बाँसबारीको जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध दुई वटा मुद्दा दायर गरेको चौधरी ग्रुपले अचानक मुद्दा फिर्ता लिएसँगै यसबारे जारी प्रहरी अनुसन्धान भने प्रभावित हुने आशंका बढेको छ।

अब, साताका प्रमुख हेडलाइन:

कहाँ ‘हराए’ यो वर्ष विश्वविद्यालय भर्नायोग्य २ लाख ६३ हजार विद्यार्थी?
स्तरीय पढाइ हुने ठूला क्याम्पसमा पहिलेभन्दा विद्यार्थी बढ्दा धेरैजसो क्याम्पसमा भने विद्यार्थी ह्वात्तै घटेका छन्। यसका पछाडि विदेश मोहभन्दा विश्वविद्यालयहरूको खस्कँदो स्तर ज्यादा जिम्मेवार छ, कसरी?

अन–अराइभलले समस्याः भिसा सहज हुँदा नेपाललाई ‘प्रयोग’ गर्दै विदेशी
आपराधिक गतिविधि गर्नेदेखि काठमाडौँलाई प्रस्थान बिन्दु बनाएर युरोप जानेसमेत सहजै नेपाल आइरहेका छन्। यही कारण अध्यागमन विभागले अन–अराइभल भिसा रोक्न १० वर्षअघि नै गरेको प्रस्ताव किन अघि बढाइएन?

संवैधानिक निकायका ५२ पदाधिकारीको मुद्दा: प्रधानन्यायाधीशको ‘मुड’बाट आशावादी कानून व्यवसायी
अध्यादेशबाट विभिन्न संवैधानिक निकायमा नियुक्त ५२ पदाधिकारीको मुद्दा टुंग्याउन ४ वर्षसम्म किन विलम्ब भयो? वर्तमान प्रधानन्यायाधीशले देखाएको अग्रसरतासँगै रिट निवेदक कानून व्यवसायी आशावादी बनेका छन्।

महाराजगन्जको सार्वजनिक बाटो चार दशकदेखि व्यक्तिको कब्जामा, अदालतलाई पनि अटेरी
सार्वजनिक बाटोमा दाहाल परिवारले कब्जा जमाएपछि तीनै तहका अदालतबाट खुला गर्न आदेश आयो। गत वर्ष वडाले डोजर पनि चलायो, तर अझै अवरोध हटेको छैन।

भरत थापामाथिको 'बायोपिक' ९ महिनादेखि अलपत्र, अख्तियारको मुद्दापछि निर्देशक नयाँ फिल्मतिर
बागमती नगरपालिकाका निलम्बित मेयर भरत थापामाथि बनाउन थालिएको 'बायोपिक'को छायांकन गत वैशाख १० गते नै सकिए पनि पोष्ट प्रोडक्सनमा गएको छैन। बरु निर्देशक दीपेन्द्र के खनाल नयाँ फिल्मतिर लागेका छन्।

सुरक्षा मापदण्डबिनाका सडकः मृत्युसँग जुधेर यात्रा
नेपालमा सडक विस्तार तीव्र गतिमा बढेको छ। अहिले देशभर सडकको कुल लम्बाइ ३४ हजार ३४७ किलोमिटर पुगेको छ, तर दुर्घटनाको तथ्यांक हेर्दा यी सडकलाई सुरक्षित बनाउन बाँकी नै छ।

चीनबाहिर पनि फैलिँदै एचएमपी भाइरस, स्वास्थ्य मन्त्रालय भन्छ– नेपालका लागि नयाँ होइन
चीनलगायत केही मुलुकमा फैलिरहेको ह्युमन मेटान्युमो भाइरसले अर्को महामारीको रूप लिन सक्ने आशंका सामाजिक सञ्जालमा भइरहँदा विज्ञहरूले त्रसित हुन नपर्ने बताएका छन्।

धरौटी रकम बुझाएर हिरासतमुक्त भए रवि लामिछाने
पूर्वगृहमन्त्री रवि लामिछाने सूर्यदर्शन सहकारी ठगी मुद्दामा अदालतले तोकेको ६५ लाख रुपैयाँ धरौटी बुझाएर शुक्रबार आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित हुने शर्तमा हिरासतमुक्त भएका छन्। 

अर्थ-बजार

सहकारीपीडितको बचत फिर्ताः बजेटकै घोषणा अलपत्र, अध्यादेशमा फेरि त्यही व्यवस्था
सरकारले साना बचतकर्ताको रकम फिर्ताको घोषणा बजेटमै गरेको थियो, अहिले त्यही व्यवस्था राखेर अध्यादेश ल्याएको छ। तर बचत फिर्ताको स्पष्ट आधार नहुँदा पीडितले रकम पाउन कठिन हुने विज्ञहरू बताउँछन्।

के हो बागमती प्रदेश र काठमाडौँ महानगरबीचको मनोरञ्जन कर विवाद?
बागमती प्रदेश सरकारले मनोरञ्जन करको दर हेरफेर गर्दा महानगरको आम्दानी घटेको भन्दै काठमाडौँका मेयर बालेन शाह असन्तुष्ट छन्। तर प्रदेशले पाउने ४० प्रतिशत हिस्सा महानगरले नदिएको बागमती सरकारको दाबी छ।

विचार-टिप्पणी

‘छाया अर्थतन्त्र’मा महिला: हिसाबकिताब राखौँ
गृहिणीका घरेलु कामलाई न त आर्थिक रूपमा मूल्यांकन गरिएको छ, न त औपचारिक रूपमा अभिलेख गरिएको छ। यसलाई हाम्रो घर र समाजले मात्र होइन, विश्व अर्थतन्त्रले समेत काम मानेको छैन।

अनुहारहरू: टिकिरहन्छन्–बिकिरहन्छन् कसरी?
अवसरको वितरण, कसलाई कुन कमिटीमा ल्याउने, टिकट कसलाई दिने, मन्त्री या मुख्यमन्त्री कसलाई बनाउने भन्नेजस्ता विषयको निर्णय आफू अनुकूल बनाउन पनि संरचनागत जटिलता सिर्जना गरिएको हुन्छ। 

अन्तर्वाता

मध्य मंसिरयता उकालोले नेपाली समाजमा निराशा छ या छैन भन्नेबारे लेख/विचार प्राथमिकतासाथ प्रकाशन गरिरहेको छ। त्यसलाई हामीले एउटा स्तम्भमै समेट्ने प्रयास गरेका छौँ र नाम दिएका छौँ– ‘निराशाको नाडी’। यस पटक मानवशास्त्री सुरेश ढकालसँग उकालोका लागि ऋचा थापाले यही विषयमा केन्द्रित रहेर गरेको कुराकानी: कोही व्यक्ति पूर्ण आशावादी वा पूर्ण निराशावादी भन्ने हुँदैन’

नेपालस्थित बेलायती राजदूत हुन्– रब फेन। उनी २०२३ अगस्टमा नेपालका लागि राजदूत नियुक्त भएका थिए। यसअघि, उनले सन् २०१८ देखि २०२२ सम्म इन्डोनेसियामा बेलायतको डेपुटी हेड अफ मिसनका रूपमा काम गरेका थिए। उनी सन् २००९ देखि २०१३ सम्म ब्रुनाईस्थित ब्रिटिश उच्चायुक्त थिए। राजदूतका रूपमा नेपालमा १८ महिना बिताइसकेका फेनसँग नेपाल अनुभव, राजनीति, कूटनीति, ब्रिटिश–गोर्खालगायत विषयमा उकालोका लागि आमोद प्याकुरेल र किरण दहालले गरेको कुराकानीः बेलायतले नेपालमा धेरै काम गरेको छ, तर हामी प्रचार गर्दैनौँः राजदूत फेन 

कला-जीवन

यो नमोबुद्ध, ती महासत्त्व
काभ्रे जिल्लास्थित नमोबुद्ध स्थापनाबारे प्रचलित मिथकका आधारमा बनाइएको नाटक ‘महासत्त्व’ वज्र कलाकुञ्जले मञ्चनको तयारी गरेको छ। ती महासत्त्व को थिए र तिनी कसरी बुद्ध कहलिए भन्ने सन्देश नाटकले दिन्छ।

काठमाडौँ ‘फिल्म सिटी’ बन्दा कान्सको रेड–कार्पेट पुगे बालेन, नीति र पूर्वाधारमा सिन्को भाँचिएन
युनेस्कोले काठमाडौँलाई ‘फिल्म सिटी’को सूचीमा राखेको एक वर्षसम्म महानगरले आफ्नै योजना कार्यान्वयनको कार्यविधिसमेत बनाउन सकेको छैन। जबकि, चार वर्षसम्म योजनाअनुरूप काम नभए सूचीबाट हटाइने जोखिम हुन्छ।

विश्व

३४ बन्धक रिहा गर्न हमास तयार, इजरायलसँग वार्ता जारी
हमासले सूचीमा रहेका धेरै बन्धकहरू बिरामी रहेको बताएको छ। यद्यपि इजरायलले भने हमासले बन्धकहरूको सूची अझै उपलब्ध नगरेको जनाएको छ।

लस एन्जलस डढेलो: ५ जनाको मृत्यु, १ हजार ५०० भन्दा बढी घरमा क्षति
डढेलो शहरमा प्रवेश गरेपछि कम्तीमा एक हजार ५०० भन्दा बढी घर जलेर नष्ट भएका छन्। एक लाखभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन्।


सम्बन्धित सामग्री