हालको राजनीतिक मौसम ‘निलम्बनमय’ छ। सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पार्टीका तीन जना सदस्यलाई कारबाहीको निर्णय सार्वजनिक गरेसँगै सार्वजनिक वृत्तमा यसबारे चर्चा चुलिएको छ।
एमालेको बुधबार बसेको सचिवालय बैठकले नेता भीम रावललाई पार्टीको संगठित सदस्यबाट हटाएको छ। पूर्वउपाध्यक्ष रावलले निरन्तर पार्टीलाई कमजोर बनाउने अभिव्यक्ति दिइरहेको भन्दै उनलाई संगठित सदस्यबाट हटाउने निर्णय गरिइएको कारण दलले दिएको छ। एमालेको ‘अनुशासन’को कारबाही रावलको निष्कासनमा आएर मात्रै टुंगिएन, सोही बैठकले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनालाई पनि कारबाही गरेको छ।
केही समयपहिले पार्टी कार्यालय निर्माणका सन्दर्भमा दिएको अभिव्यक्तिका बारेमा पाण्डे र तिम्सिनालाई सोधिएको स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै पार्टीको निर्देशनअनुसार चल्न निर्देशित गर्दै दुवै जनालाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरिएको बताइएको छ।
माथि उल्लेखित नेताहरूले व्यवसायी मीनबहादुर गुरुङले एमालेलाई ‘दान’ दिएको १० रोपनी १४ आना जग्गाबारे सार्वजनिक रूपमा आपत्ति जनाउँदै अभिव्यक्ति दिएका थिए। ‘दानमा बनेको आलिसान बिल्डिङभन्दा मदननगरमा बनेको सानै घर प्यारो हुने’ बताएका नेताले त्यही अभिव्यक्तिका लागि अहिले कारबाही भोगेका हुन्।
नेपाली राजनीतिक वृत्तमा अर्को निलम्बन पनि चर्चामा छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद निलम्बन भएको छ। संघीय संसद् सचिवालयले सोमबार सूचना जारी गरेर लामिछानेको सांसद पद निलम्बनमा परेको जानकारी दिएको हो।
चितवन क्षेत्र नं. २ बाट निर्वाचित भएका लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोगपत्र दर्ता भएको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय कास्कीको अपराध अनुसन्धान तथा कारबाही शाखाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ को दफा २७ मा रहेको व्यवस्थाअनुसार कामकारबाही गर्न सभामुखलाई पत्र लेखेको थियो।
प्रतिनिधिसभा सभामुख कार्यालयका अनुसार उल्लिखित ऐनमा ‘प्रचलित कानूनबमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्रसेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निजउपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्रसेवक स्वतः निलम्बन भएको मानिनेछ’ भन्ने व्यवस्था रहेकोले सो कानूनी व्यवस्थाको प्रयोजनका लागि लामिछानेको सांसद पद निलम्बनमा परेको हो।
रास्वपाले सोमबार नै पार्टीको कार्यवाहक सभापतिको जिम्मेवारी डीपी अर्याललाई दिने निर्णय गरेको छ।
साताका अन्य प्रमुख हेड्लाइन
देश-समाज
फिफा विश्वकप जिम्मा पाएको साउदीमा श्रमिकको शोषण, नेपालसँग टारिरहेछ श्रम सम्झौता
साउदी अरबले सन् २०३४ को विश्वकप फुटबलको जिम्मा पाएको छ। त्यहाँ हाल ५ लाख हाराहारीमा नेपाली छन्। नेपालले साउदीसँग १६ वर्षदेखि श्रम सम्झौता गर्ने प्रयास गरिरहे पनि सफल हुन सकेको छैन।
आरक्षणका १७ वर्ष: लक्षित वर्ग पहुँच बाहिरै, उठ्न थाल्यो खारेजीको आवाज
१० वर्षमा पुनरवलोकन गरिनुपर्ने आरक्षणको व्यवस्थामा सुधार नगर्दा एकातिर त्यसको लाभ पाउनुपर्ने वास्तविक सीमान्तकृत अवसरबाट वञ्चित छन्, अर्कोतिर यो व्यवस्था नै खारेज हुनुपर्ने माग उठ्न थालेको छ।
पूर्व अर्थमन्त्री र अर्थविद् सांसदलाई चासो छैन आर्थिक विधेयकमा, जाँदैनन् समिति बैठक
अर्थ समितिमा पूर्व अर्थमन्त्रीहरूसहित अर्थशास्त्रका जानकार सांसदहरू छन्। तर विभिन्न विधेयक र महत्त्वपूर्ण विषयको छलफलमा विज्ञ मानिएका सांसद नै अनुपस्थित हुने गरेका छन्।
फलोअप
प्रशासकीय अदालतको पूर्णपाठ: राष्ट्रबैंक निर्देशक आचार्यले यौन दुर्व्यवहार गरेको ठहर, सजायको जिम्मा गभर्नरलाई
प्रशासकीय अदालतले राष्ट्रबैंकका निर्देशक थानेश्वर आचार्यलाई यौन दुर्व्यवहारमा दोषी ठहर गरे पनि सजाय तोकेन। अदालतले हालै सार्वजनिक गरेको पूर्णपाठमा कानूनले सजायको अधिकार गभर्नरलाई दिएको उल्लेख छ।
बालमन्दिरको सम्पत्तिमा आँखा: अख्तियारले शुरू गर्यो अनुसन्धान
नेपाल बाल संगठनको स्वामित्वमा रहेको बालमन्दिर माध्यमिक विद्यालयलाई जबरजस्ती अर्को विद्यालयमा गाभ्ने नगरपालिकाको निर्णयमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान शुरू गरेको छ।
अर्थ–बजार
‘ई–सिगरेट’को तस्करी सञ्जालः चीनबाट चोरीपैठारी, भारततर्फ चोरीनिकासी
भारतले ६ वर्षअघि भेपमा प्रतिबन्ध लगाएपछि चीनबाट आयात गर्ने र भारततिर चोरीनिकासी गर्ने धन्दा शुरू भयो। अहिले भने चीनबाट चोरीपैठारी गर्ने र भारत पुर्याउने तस्करहरूको त्रिदेशीय सञ्जाल नै खडा भएको छ।
एसएमई प्लाटफर्मः किन दिइँदैछ साना कम्पनीलाई पुँजी विस्तारको अवसर?
साना तथा मझौला आकारका कम्पनीहरूको शेयर किनबेचका लागि एसएमई प्लाटफर्मको व्यवस्था गरिएको छ। यस्ता कम्पनीको शेयर किन्न चाहनेले न्यूनतम १५० कित्ताका लागि आवेदन दिनु पर्ने हुन्छ। के हो त एसएमई प्लाटफर्म?
विचार-टिप्पणी
दुई पाङ्ग्रेको सवारी, दुर्घटनाको भारी
नेपालीको दैनिक जीवनलाई निकै सहयोगी बनेका मोटरसाइकल, स्कुटर लगायतका दुई पाङ्ग्रे सवारी साधन सडक सुरक्षामा प्रमुख चुनौती बन्न थालेका छन्।
चहकिलो एनपीएलमा धब्बा बनेको नश्लभेदी दुर्व्यवहार
हामीलाई समाज जोड्ने, देश जोड्ने प्रतियोगिता चाहिएको हो, न कि एउटा समुदाय विशेषलाई नश्लभेद–रंगभेद गर्ने अराजकता। सफल एनपीएलको चर्चा भइरहँदा यो धब्बा मेट्ने पहल आवश्यक छ, अहिल्यै।
जो थिए जनआवाज अर्थात् ‘जनरव फिराद!’
‘राज्यद्रोह गर्ने षडयन्त्रमा लागेको’ अभियोग खेपेका भुटानी सैनिक एनबी गिरी १४ महिना जेलनेल खेपेपछि घरगाउँ छाडेर निर्वासित भएका थिए, ९० को दशकमा। उनै गिरीको मंगलबार निधन भएको छ।
नेपालमा बढ्दो डिजिटल बजार र यसका फाइदा–बेफाइदा
चिनजानको पसलबाट खरिद गरेको सामान फिर्ता गरे वा साटेजस्तो सहजता अनलाइन बजारमा नहुँदा धेरै ग्राहकले थप झन्झट बेहोर्नु परिरहेको छ।
सम्बन्धमा शंका र दुर्व्यवहार सामान्य हो?
व्यक्ति आफैले आफ्नो आत्मसम्मान बढाउने जमर्को गर्नुपर्छ। आफैले आफूलाई माया गर्ने, आत्मसम्मान डगमगाउन नदिने गर्नु नै यस्ता सम्बन्धमा नगाँसिनु र गाँसिइहालेको अवस्थामा बाहिर निस्कन सहज हुने माध्यम हुन्।
कला–जीवन
सिक्किमका ‘माटो कवि’: माटोको ऋण तिरेर फर्किएका कविले पाएका छैनन् माटो
कवि जीवन थिङको सालिक बनाउने कलाकार लाचुङपा पनि बितिसकेका छन्। उनको निधनसितै भव्य पेडेस्टलमाथि बोलिहाल्लान् जस्ता कवि थिङको सालिक ठड्याउने सपनाको पनि निधन भएको छ।
फर्पिङबाट चोरिएको पुरातात्त्विक सूर्यमूर्ति नयाँ दिल्लीको ‘ओल्ड फोर्ट’ म्युजियममा
भारतको पुराना किल्ला म्युजियममा भेटिएको यो सूर्यमूर्तिमा नेपालले पहिलोपटक ‘उत्पत्तिको पहिचान’सहित प्रमाण पेस गर्न सक्नेछ।
लोडसेडिङ सम्झाउने त्यो मैनबत्ती, शहरी जीवनमा जम्नथालेको यो क्यान्डल
केही वर्ष अघिसम्म घर–घरमा नभई नहुने मैनबत्ती लोडसेडिङ हटेसँगै हराउन थाल्यो। अहिले सामान्य मैनबत्तीको बिक्री ठप्पप्रायः छ, त्यसको ठाउँ बजारमा सुगन्धित क्यान्डलले लिँदै छन्।
खेल
जनकपुर बोल्ट्स बन्यो एनपीएल च्याम्पियन
शनिबार भएको फाइनलमा सुदूरपश्चिम रोयल्सलाई ५ विकेटले पराजित गर्दै जनकपुर बोल्ट्स एनपीएल च्याम्पियन बनेको छ।
चर्च ब्वाइजले जित्यो झापा कपको उपाधि
एनआरटीलाई पराजित गर्दै चर्च ब्वाइजले झापा कपको उपाधि जितेको छ। उपाधि जितेसँगै चर्च ब्वाइजले नगद १० लाख रुपैयाँ पुरस्कार प्राप्त गरेको छ।
विश्व
जर्मनीको क्रिसमस बजारमा अन्धाधुन्ध गाडी चलाउँदा ५ जनाको मृत्यु, २०० भन्दा बढी घाइते
जर्मनीको एक व्यस्त क्रिसमस बजारमा एक व्यक्तिले अन्धाधुन्ध कार चलाउँदा पाँच जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी घाइते भएका छन्।
भारतका पूर्वप्रधानमन्त्री सिंहको ९२ वर्षको उमेरमा निधन
भारतीय प्रधानमन्त्री मोदीलगायत सत्ताधारी दल र विपक्षी दलका नेताहरूले उनलाई एक असल एवं कर्तव्यनिष्ठ प्रधानमन्त्रीका रूपमा स्मरण गरेका छन्।
अजरबैजान विमान दुर्घटना : एन्टी मिसाइलले लागेको आशंका, कारण खोज्दै अनुसन्धानकर्ता
सैन्य विशेषज्ञले विमानमा ‘एन्टी एयरक्राफ्ट मिसाइल सिस्टम’ले लागेको हुनसक्ने आशंका गरेका छन्। रुसी अधिकारीले भने ‘अड्कलबाजी’भन्दा अनुसन्धानमा आधारित भएर प्रतिक्रिया जनाउन आग्रह गरेका छन्।