उकालोमा केही हप्तादेखि सडक सुरक्षाबारे शृंखलाबद्ध रिपोर्ट प्रकाशित भएका छन्। पहिलो रिपोर्टमा पछिल्ला १० वर्षमा सडक दुर्घटनामा २४ हजारको ज्यान जाँदा पनि सम्बन्धित निकायले न पर्याप्त छानबिन गरेको न यी घटनाबाट पाठ सिक्दै आवश्यक नियम लागू गरेको तथ्य उद्धृत गरेको छ। अटेरी चालक, सचेत नहुने नागरिक, समस्याग्रस्त सडक र नियमन नगर्ने सरकारका कारण त्रासदी झन् बढिरहेको निष्कर्ष उक्त रिपोर्टमा देखिएको छ।
यही शृंखलाको पछिल्लो रिपोर्ट केही दिनअगाडि प्रकाशित भएको थियो। यसमा सवारी दुर्घटनाका विभिन्न कारण केलाइएको छ, जसमा चालकका सामान्य गल्तीले पनि गम्भीर दुर्घटना भएका उदाहरण पनि समेटिएको छ। लामो दूरीमा एक जना मात्र चालक हुँदा, यात्रु र चालकबीच झगडा हुँदा तथा जथाभावी ढोका खोल्दा पनि दुर्घटना भएका देखिएको छ। चालक निदाउँदा बर्सेनि कैयौँको ज्यान जानेगरी पटक–पटक दुर्घटना भएको बताइएको छ।
सवारी दुर्घटनाका अन्य प्रमुख कारक के–के हुन्? पढ्नुहोस्, विस्तृतमा: गाडीचालकका अनेक लापरबाहीः कोही निदाउने, कोही तीव्र गतिमा हुइँक्याउने
यसैगरी, शृंखलाको अर्को एक रिपोर्टमा सडक सुरक्षा शिक्षाको भार ट्राफिक प्रहरीलाई मात्र बोकाइएको र नागरिकले न केही सिकेको न सचेत गराइँदा पनि चेतेको बारेमा चर्चा गरेको छ। काठमाडौँ उपत्यकामा हरेक दिन १५ देखि २० वटा दुर्घटना हुन्छन्। ट्राफिक प्रहरीका अनुसार यीमध्ये ५७ प्रतिशत दुर्घटना चालकको लापरबाहीले भएको देखिन्छ।
अझ, नेपालमा दुर्घटना निम्त्याउने प्रमुख सवारीसाधन मोटरसाइकल भएको डाटाले देखाउँछन्। यस रिपोर्टका अनुसार सवारी दुर्घटनाबाट हुने कुल मृत्यु या घाइतेमध्ये ६८ प्रतिशत मोटरसाइकलका कारणले हुन्छ। ट्राफिक नियम मिचेकोमा सबैभन्दा धेरै कारबाहीमा पर्ने पनि मोटरसाइकल चालक नै छन्।
कतिपय देशमा विद्यालय तहदेखि सडक सुरक्षा शिक्षा दिइन्छ भने कतै यस्तो शिक्षा दिन ‘ट्राफिक पार्क’ बनाइएको छ तर नेपालमा ट्राफिक प्रहरीकै जिम्मामा छाडिएको सडक सुरक्षा शिक्षा औपचारिकतामा सीमित भएको उजागर गरेको छ।
सडक सुरक्षा र नागरिक सचेतना एवं जिम्मेवारीमा केन्द्रित रहेर लेखिएको ‘सडक सुरक्षाको सिंगापुर मोडल’मा सिंगापुरको अनुभवबाट नेपाल र विश्वका अन्य देशले सिक्न सक्ने केही उदाहरण प्रकाशमा ल्याएको छ। वर्ल्ड बैंकले २०१९ मा प्रकाशित गरेको एक रिपोर्टले समेत सिंगापुरको सडक सुरक्षाको प्रशंसा गर्दै भनेको छ “सिंगापुरको सडक विश्वमा सबैभन्दा सुरक्षित मानिन्छ। कडा सुरक्षा नीति र नियमले सडक डिजाइन, मानव व्यवहार र सवारीसाधनलाई सम्बोधन गरेर दुर्घटना कम गर्न मद्दत पुर्याएको छ।”
सिंगापुरमा सन् २०१४ मा १५० वटा दुर्घटना भएका थिए। २०२३ सम्ममा त्यो संख्या घटेर १३१ मा झरेको छ। पछिल्लो १० वर्षमा सबैभन्दा बढी दुर्घटना भएको पनि २०२३ साल हो। बर्सेनि २० हजारभन्दा बढी सवारी दुर्घटना हुने नेपालले सिंगापुरले दुर्घटना नियन्त्रण गर्न वर्षौंदेखि गरेका सफल प्रयोग र अनुभवबाट पाठ लिँदै उपयुक्त नीति नियम लागू गर्नुपर्ने देखिन्छ।
अब, उकालोमा प्रमाशित साताका महत्त्वपूर्ण हेडलाइन्स:
देश-समाज
मिटरब्याजको समस्या ज्युँका त्युँ, सरकार आयोगमाथि आयोग थप्दै
मिटरब्याज समस्या समाधान गर्न सरकारले दुई वर्षमा एउटा कार्यदल र दुई वटा आयोग बनाइसकेको छ। पछिल्लो पटक पूर्वन्यायाधीश तेजबहादुर कार्की नेतृत्वको आयोगको समयावधि नथपेको सरकार तेस्रो आयोग गठनको तयारीमा छ।
शंखमूलमा विद्युतीय शवदाह गृह: पाँच वर्षदेखि स्थानीयको विरोध, बनाउने अडानमा ललितपुर महानगर
ललितपुर महानगरले पाँच वर्षअघि विद्युतीय शवदाह गृह बनाउन थालेको प्रक्रिया मुद्दा परेपछि बीचमै रोकियो। घाट सञ्चालन भइरहेको स्थानमै नयाँ प्रविधि राख्ने योजनाको शंखमुलका स्थानीय नै किन विरोध गरिरहेका छन्?
कर्णाली प्रदेश राजधानीस्थित सिटी बसपार्कको बेथिति: ४ वर्षदेखि ‘अनुसन्धानरत’ अख्तियार
नगरपालिका र ठेकेदारको मिलेमतोमा बेथितिको केन्द्र बनेको कर्णाली प्रदेश राजधानीको सिटी बसपार्कबारे अख्तियारले चार वर्षदेखि गरिरहेको अनुसन्धान अहिलेसम्म टुंगोमा पुगेको छैन।
अर्थ–बजार
एलोन मस्कको स्टारलिंकले पूर्वाधारमा ल्याउँदैन लगानी, किन आउन चाहन्छ नेपाल?
स्टारलिंकले इन्टरनेट प्रयोगकर्तालाई उपलब्ध गराउने उपकरण डिस एन्टेनामार्फत स्याटेलाइटसँग जोडिन्छ। त्यसैले नेपालमा छुट्टै पूर्वाधार बनाउँदैन। दुर्गममा उपयोगी मानिएको यो इन्टरनेट महँगो तर उच्च गतिको छ।
चीन निर्यातका लागि चाहिन्छ दैनिक ५ हजार राँगा, तर घट्दैछ राँगाभैँसी पालन
तीन वर्षअघि नेपालमा २९ लाखभन्दा केही बढी राँगाभैँसी थिए, जबकि चीनले चाहे अनुसार निर्यात गर्दा वार्षिक १८ लाख राँगा चाहिन्छ। किसानलाई राँगाभैँसी पालनमा प्रेरित गर्न के छ सरकारको योजना?
प्रचार ‘नेपाली कफी’को, बेच्ने आयातित!
रेस्टुरेन्ट तथा क्याफेमा ‘नेपाली कफी’ ब्रान्ड लोकप्रिय भइरहेको छ। तर नेपालकै उत्पादनले माग नधान्दा अहिले पनि आयातित कफीमै भर पर्नु पर्ने बाध्यता छ। के पारखीहरूले साँच्चै नेपाली कफी पिउन पाएका छन्?
विचार
निराशाको जरोचुरो
मान्छे राजनीतिक चेतयुक्त हुँदै गएपछि, देशदुनियाँसँग तुलना गर्दै आफ्नो अवस्थाको मूल्यांकन गर्ने भएपछि र आफू ठगिएको/हेपिएको महसुस गर्न पुग्यो भने बढी निराश हुने रहेछ।
निराशाका आयाम
अहिले राजनीति गर्नेहरूको रोमान्स अनि भाइभाइबीचको ‘ब्रोमान्स’ जारी छ। उनीहरू नार्सिसस् ग्रन्थिले काम गर्छन्। जे मुड आयो, त्यो बोल्छन्।
टिप्पणी
सोरोसलाई शैतान ठान्ने भारतीय सत्ता
जर्ज सोरोसको ओपन सोसाइटी फाउन्डेसनले नेपाल र भारतसहित १२० भन्दा धेरै देशमा परोपकारी काम गर्दै आएको छ। यस्तो सहयोगलाई भारतमा भने भाजपाले कांग्रेस नेता राहुल गान्धीसँग जोडेर ‘फायरिङ’ गरिरहेको छ।
कथनी र करनीको भुलभुलैया
भुटानी नरेश वाङचुकको काठमाडौँ ‘ट्रान्जिट ट्राभल’ शुरू हुनासाथै बिहान ८ बजे नै शरणार्थी नेता टेकनाथ रिजालको चाबहिलस्थित निवासमा प्रहरी गस्ती शुरू हुन्छ।
‘सेरेन्डिपिटी’को पर्खाइ
पछिल्ला वर्षमा ‘केही’ हुँदाहुँदै पनि नेपाली जनमानस अरू थप केही होस् र अझै राम्रो होस् भन्ने अपेक्षा राखिरहेका छन् भने त्यसमा अन्यथा मान्नुपर्ने पनि केही छैन।
कमिसन एजेन्ट विस्थापित गर्ने बिचौलिया
सकारात्मकसमेत अर्थ दिने बिचौलिया शब्द आफै यस्तो बदनाम भएको छ कि, कसैलाई ‘बिचौलिया’ भनिँदा जघन्यभन्दा भयंकर अपराधी हो कि भन्ठान्नु पर्ने अवस्था छ।
कला-जीवन
मेरो ८२ बर्से जोबन (भिडियोसहित)
जीवनमा अभाव, संकट, कठिनाइ सबै कुरा रहे। तर पछुतो कहिल्यै रहेन। शिक्षकका रूपमा पनि अथवा लेखककै रूपमा पनि— सधैँ सन्तोषमा रहेँ।
वातावरण र संस्कृति विनाशको होडः विकासको मूल्य कति?
केबलकार बनाउन मुक्कुमुलुङका रूख ढालिए, सुनकोशीका विभिन्न आयोजनाले माझीहरूको घाट नै अतिक्रमण भयो, खानी उद्योगले बस्ती उजाडिए। विनाशका यस्ता उदाहरण आर्ट काउन्सिलमा चलिरहेको प्रदर्शनीमा देख्न पाइन्छ।
देवताको यात्रा...
पाटनमा मत्स्येन्द्रनाथलाई ‘बुहारी’ जसरी भित्र्याउने तयारी भइरहँदा, ६ महिना राखिएको बुंगमतीका स्थानीय भने ‘छोरी’ जसरी बिदाको तयारीमा छन्। दुई वटा मन्दिरमा राखिने मत्स्येन्द्रनाथ एक मात्र देवता हुन्।
योमरी : पनौतीको किंवदन्तीदेखि रेस्टुरेन्टको मेन्युसम्म
किंवदन्तीअनुसार पनौतीबाट शुरू भएको योमरीले ‘स्टेपल फास्ट’को रूप लिइरहेको छ। बिहानको ब्रेकफास्टदेखि दिउँसोका खाजामा समेत उपयुक्त हुने योमरी नेवारी खाना पारखीको रोजाइमा पर्छ।
खेल
एनपीएल : उपाधिका लागि जनकपुर र सुदूरपश्चिम भिड्ने
एनपीएलमा कर्णालीलाई २ विकेटले पराजित गर्दै जनकपुर फाइनलमा पुगेको छ। जनकपुर उपाधिका लागि सुदूरपश्चिमसँग खेल्ने छ।
रियल मड्रिडले जित्यो अन्तरमहादेशीय कप
रियल मड्रिडलाई उपाधि दिलाउन केलियन एमबाप्पे, रोड्रिगो र भिनिसियस जुनियरले समान १–१ गोल गरे।
भारतले च्याम्पियन्स ट्रफी पाकिस्तानमा नभई तटस्थ मैदानमा खेल्ने
भारतले आगामी वर्षको च्याम्पियन्स ट्रफीका खेल खेल्न पाकिस्तान जान अस्वीकार गरेपछि तटस्थ मैदानमा खेल खेलाइने आईसीसीले जनाएको छ।
विश्व
ट्रम्प दोस्रो पटक टाइम वर्ष व्यक्ति घोषित
टाइम पत्रिकाले ट्रम्पलाई ‘एक पुस्ताको राजनीतिक परिवर्तनको नेतृत्व र अमेरिकी राष्ट्रपति पदलाई नयाँ आयाम दिएको’ भन्दै सम्मान गरिएको जनाएको छ।
अमेरिकाको स्कुलमा गोली चल्दा २ जनाको मृत्यु, ६ घाइते
अमेरिकाको विस्कन्सिन राज्यको निजी क्रिश्चियन स्कुलमा गोली चल्दा दुई जनाको मृत्यु भएको छ। सोमबार राति भएको उक्त आक्रमणमा अन्य ६ जना घाइते भएका छन्। मृत्यु हुनेमा एक शिक्षक र विद्यार्थी रहेको प्रहरीले जनाएको छ।
रुसको कुर्स्क क्षेत्रमा कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको मृत्यु
युक्रेनले आफ्नो पश्चिमी कुर्स्क क्षेत्रमा रुसले तैनाथ गरेका कम्तीमा ३० जना उत्तर कोरियाली सैनिकको हताहत भएको सोमबार जनाएको छ।
१० वर्षअघि हराएको एमएच ३७० विमानको खोजी पुनः थाल्न मलेसिया सहमत
मलेसियाको मन्त्रिपरिषद् १० वर्षअघि रहस्यमय तरिकाले हराएको मलेसिया एयरलाइन्सको विमान एमएच ३७० को पुनः खोजी शुरू गर्ने प्रस्तावमा सहमत भएको छ।