ट्राफिक व्यवस्थापन र सडक सुरक्षाको सवाल नेपालमा, विशेषत: काठमाडौँ उपत्यकामा, वर्षौंदेखि रहिआएको ‘समस्या’ हो। यो विषयमाथि सम्बन्धित निकायले निरन्तर छलफल गरिरहेका छन्, जनचेतनाका कार्यक्रम सञ्चालन भएका छन् भने नयाँ नीतिनियम पनि लागू गराइएका छन्। त्यैपनि न्यूनीकरण हुन सकेका छैनन्। सडक सुरक्षाको सवाल अझै पनि सवाल नै रहिरहेको छ। आखिर किन?
बिहीवार उकालोमा प्रकाशित सडक सुरक्षा शिक्षाबारेको रिपोर्टले नेपालमा ट्राफिक प्रहरीकै जिम्मामा छाडिएको सडक सुरक्षा शिक्षा औपचारिकतामा मात्र सीमित भएको तथ्यलाई प्रकाशमा ल्याएको छ। साथै, सडक सुरक्षाको सन्दर्भमा व्यवस्थापनदेखि सतर्तकतासम्मको जिम्मेवारी ट्राफिक प्रहरीले एक्लै बहन गर्न नसक्ने र यसका लागि नागरिक उत्तिकै जागरुक हुनुपर्ने स्टोरीको मूल तर्क हो।
पढ्नुहोस् विस्तृतमा– सडक सुरक्षा शिक्षाः जिम्मा ट्राफिक प्रहरीलाई मात्र, सिक्दैनन् नागरिक
यसैगरी, यहाँँ शक्ती र पहुँचको दुरुपयोगको फल स्वरूप निम्तिने दण्डहीनता बेलाबखत देखिँदै आएको छ। यही अभ्यास पछिल्लो समय दोहोरिएको छ, नेपाल राष्ट्र बैंकमा। त्यहाँ कार्यरत एक उच्चपदस्थ महिला कर्मचारीमाथि निर्देशक थानेश्वर आचार्यले यौन दुर्व्यवहार गरेको प्रशासकीय अदालतले कात्तिक २७ गते ठहर गरेको थियो। यस प्रकरणबारे बुधबार उकालोमा छपिएको अपडेटका अनुसार प्रशासकीय अदालतले प्रक्रिया नमिलेको भन्दै बैंकको निर्देशक पदबाट बर्खास्त गर्ने निर्णय बदर गर्यो। प्रशासकीय अदालतको यो फैसलासँगै आचार्यलाई सेवामा फर्किने बाटो खुलेको छ।
बैंकको कर्मचारी सेवा विनियमावली, २०६८ ले कोही पनि कर्मचारीले अन्य कोही व्यक्ति वा कर्मचारीलाई यौन प्रताडना हुने किसिमको संकेत, व्यवहार वा आचरण गर्न रोक लगाएको छ। बैंकको अधिकृतस्तरको कर्मचारीले यस्तो कसुर गरेमा उनलाई अख्तियारप्राप्त अधिकारी गभर्नर वा निजले तोकेको अधिकारीले सजाय गर्न सक्छ।
राष्ट्र बैंकमा कार्यरत उच्चपदस्थ कर्मचारीले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै आचार्यविरुद्ध उजुरी दिएकी थिइन्। उक्त उजुरीमाथि छानबिन गर्न गभर्नर महाप्रसाद अधिकारीले मानव संसाधन तथा जनशक्ति व्यवस्थापन विभाग प्रमुखको अध्यक्षतामा रहने समितिलाई जिम्मेवारी दिएका थिए। यस घटनाबारे समितिले एक र गभर्नरले दुई पटकसम्म आचार्यलाई स्पष्टीकरण सोधेको थियो। चित्तबुझ्दो जवाफ नआएको भन्दै उनलाई सेवाबाट हटाउन मानव संसाधन तथा जनशक्ति व्यवस्थापन विभाग, कार्यकारी निर्देशक, डेपुटी गभर्नर हुँदै पेश भएको टिप्पणीसहितको सिफारिस गभर्नर अधिकारीले गत वर्ष चैत ६ गते सदर गरे। बैंक सञ्चालक समितिले पनि सदर गरेपछि आचार्य त्यो निर्णयलाई चुनौती दिँदै प्रशासकीय अदालत पुगे।
अदालतले महिला कर्मचारीमाथि आचार्यबाट यौन दुर्व्यवहार भएको ठहर पनि गरेको छ। तर सेवाबाट हटाउँदा गभर्नर आफैले स्वतन्त्रपूर्वक न्यायिक निर्णय गर्नुपर्नेमा मातहतका कर्मचारीबाट सजाय प्रस्ताव पेश गर्न लगाइ सदर गरेको भन्दै निर्णय बदर गरिदिएको हो।
प्रशासकीय अदालतको संक्षिप्त फैसलामा आचार्यलाई भविष्यमा बैंकको सेवामा अयोग्य नठहरिने गरी सेवाबाट हटाउने निर्णय मानव संसाधन विभागबाट पेश भएको टिप्पणी कार्यकारी निर्देशक, डेपुटी गभर्नर हुँदै गभर्नरकहाँ पुगेको र गभर्नरले उक्त विभागीय सिफारिस सदर गर्ने निर्णय गरी विधिशास्त्रद्वारा स्थापित सिद्धान्त उल्लंघन गरेको उल्लेख छ। साथै, फैसलामा गभर्नरको यो निर्णयप्रक्रिया आचार्यकै यसअघिका मुद्दामा सर्वोच्च अदालतले स्थापित गरेको नजिरविपरीत रहेको समेत जनाइएको छ।
अब, साताका अन्य प्रमुख हेडलाइन।
देश-समाज
जनकपुरमा छात्रवृत्तिका विद्यार्थीसँग असुली, फिर्ताको निर्देशनपछि विद्यालय बन्द घोषणा
निजी विद्यालयहरूले छात्रवृत्ति पाएका विद्यार्थीसँग पनि रकम असुलेपछि जनकपुरधाम उपमहानगरले त्यसलाई रोक्न पत्र पठाएको विरोधमा पठनपाठन बन्द गरेका कारण यहाँका करिब ३५ हजार विद्यार्थी तीन दिनदेखि घरैमा छन्।
‘सहारा ठानेका छोरा अघि लागे, सरकारले टहराको लायक पनि ठानेन’
कान्छो गणेश विदेश जाने तयारीमा थिए, सोती घटनामा हत्या भयो। जेठो छोराले पनि संसार छाडे। रोगी राधिका र पदम काम गर्न सक्दैनन्। भूकम्पपछि पीडितले टहरा पाए, उनीहरूका लागि सरकार आफ्नो भएन।
निकोसेराको बस्तीः वर्षामा हनुमन्ते पस्छ तर मापदण्डले उठिबासको चिन्ता
सर्वोच्चले भदौमै हनुमन्तेको मापदण्ड जम्मा ४० मिटर हुने फैसला गर्यो, असोजमा बाढी पसेर निकोसेरा बस्ती डुबानमा पर्यो। यता मुख्य सडकको मापदण्ड १२ मिटर छ। स्थानीयलाई मुआब्जा नपाएर उठिबास हुने चिन्ता छ।
डीआईजी बढुवामा सकसपछि ३ दरबन्दी थप्ने तयारी, अर्थको सहमति कुर्दै गृह मन्त्रालय
डीआईजीमा बढुवा हुन तीन ब्याचका प्रहरी अधिकृतहरूको ‘लबिइङ’पछि सरकारले दरबन्दी थप्ने प्रक्रिया थालेको छ। गृहको प्रस्तावमा अर्थ मन्त्रालयले सहमति जनाएमा डीआईजीको बढुवा प्रक्रिया अघि बढ्ने छ।
हत्याको जाहेरी दर्ता गराउन आन्दोलन, सरकारी वकिलमा पुगेपछि ‘उन्मुक्ति’
जग्गा प्लटिङ विवादमा झापाका यामु निरौलाको हत्या हुँदा एमाले नेताका भाइ पनि मुछिए र घटनाको २३औँ दिनमा पक्राउ परे। तर प्रहरीबाट अनुसन्धान फाइल सरकारी वकिलको कार्यालय पुगेपछि मुद्दा नचल्ने निर्णय भएको छ।
भ्रष्टाचारी ठहर कांग्रेसका सर्लाही सभापति सिंह पदमै, केन्द्रीय नेतृत्व चुपचाप
वन मासेर भ्रष्टाचार गरेको कसुरमा सर्वोच्च अदालतले दोषी ठहर गरेको कांग्रेसका सर्लाही सभापति सुरेन्द्रप्रसाद सिंह कानूनबमोजिम पार्टी सदस्य बन्नसमेत अयोग्य छन्। तर उनले पद गुमाउनु परेको छैन।
अर्थ-बजार
अर्थतन्त्र शिथिल नै छ कि सुधारोन्मुख?
विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा ३ वर्षअघि राष्ट्र बैंकले कर्जा नियन्त्रण गरी आयात घटाउने नीति लियो। त्यहीँबाट मन्दी शुरू भएको मान्ने निजी क्षेत्र उक्त नीतिलाई अझै चलायमान अर्थतन्त्रको बाधक मान्छन्।
नेपाली वस्तु निर्यातमा भारतीय अवरोध जारी, सरकारको बाटो हेर्दै उद्योगी
नेपालले दुग्धजन्य पदार्थको आयात रोकेपछि त्यसलाई खोल्न घुमाउरो दबाब दिन नेपालबाट हुने सिमेन्ट, जस्तापातालगायत वस्तु निर्यातमा चार महिनायता भारतले अवरोध गरिरहेको छ।
हेम्पका सामग्रीः कुनै बेला ‘बोराका कपडा’ भनिन्थ्यो, अहिले बढ्दैछ आकर्षण
गाँजा, अल्लोजस्ता रेसादार वनस्पतिबाट उत्पादित झोला, जुत्ता, कोटजस्ता सामग्री विदेशीले मात्र किन्थे। तर नेपालीले पनि प्रयोग गर्न थालेपछि दौरासुरुवाल, टिसर्ट, ट्राउजरलगायत सामग्री पनि उत्पादन हुन्छन्।
अन्तर्वार्ता
‘फिल्म देखाउन, हेर्न र चर्चाका लागि नेपाल उर्वर भूमि’
सन् १९९७ मा शुरू भएको फिल्म साउथ एशियाको २७औँ संस्करण बिहीबार (आज) बाट पाटनस्थित यलमाया केन्द्रमा शुरू भएको छ। फिल्म साउथ एशियाकी मितु वर्मा एक दशकयता यस कार्यक्रमको निर्देशकका रूपमा छिन्। वर्मासँग फिल्म साउथ एशियाको विगत, वर्तमान र यस फेस्टिभलले उठाउने गरेको बहसका विषयमा उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानी।
विचार-टिप्पणी
फूलमालाले नछोप्ने लज्जा!
जिल्ला कार्यसमितिले जारी गरेको सूचनामा परराष्ट्रमन्त्री देउवाको स्वागतमा ‘डडेलधुरा बसपार्कमा फूलमाला लिएर उपस्थित हुनु’ भन्ने निर्देशनले कांग्रेस अझै सिमसिमराजाकै पालामा रहेछ भन्ने खुल्न आयो।
नेपाली दल, मिडिया र रासोमोन इफेक्ट
एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाबीच मिलन हुनुपर्ने त्यस्तो के अभूतपूर्व संयोग जुर्न गयो होला र अहिलेको गठबन्धन बन्यो होला?
कन्जुस बन्ने कि मितव्ययी?
महँगा सवारीसाधन खरिद, अनावश्यक सरकारी भ्रमण, भोजभतेर, तोरण, खादामाला र तक्माहरू नागरिकले बुझाएको करको दुरुपयोग हो।
वर्षा, नदी र जमिन: कहाँ चुक्यौँ हामी?
नदीको पानी प्रयोग गर्न नसक्दा ‘नदी खेर गयो’ भन्ने गरेको सुनिन्छ। तर नदी त हजारौँ वर्षदेखि बगिरहेको थियो। बग्नु नै नदीको प्राकृतिक स्वभाव र कर्म हो।
विश्व
अमेरिकी राजनीतिमा ‘यहुदी लबी’, यसकारण प्रिय बन्यो इजरायल
अमेरिकामा भर्खरै सम्पन्न राष्ट्रपति निर्वाचनमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भए। चुनावी अभियानका क्रममा ट्रम्पले ‘यहुदी कार्ड’ प्रयोग गरेको टिप्पणी हुने गरेको छ।
भारतमा मुख्यमन्त्रीहरूको बेलगाम बुलडोजरमाथि न्यायालयको लगाम
उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथलाई ‘बुलडोजर बाबा’ नै भन्न थालिएको थियो। कुनै अपराधका आरोपीको घर भत्काउन डोजर पठाउने आतंक अरू प्रान्तमा पनि थियो। नेपालमा समेत लोकरिझ्याइँका लागि यही सिको गरिँदैछ।