यो हप्ता शुरू हुँदै गर्दा नक्कली भुटानी शरणार्थी प्रकरणमा बालकृष्ण खाँणका लागि सत्ता दाहिना भएर उनको मुद्दा पुनरावेदनमा नजाने निर्णय भएको खबरले निकै चर्चा बटुलेको थियो। उक्त रिपोर्टमा राज्यसंरक्षित मानवतस्करी, नक्कली शरणार्थी प्रकरणमा संलग्न पूर्वगृहमन्त्री खाँणलाई थुनामुक्त गर्ने आदेशविरुद्ध पुनरावेदनमा नजाने निर्णय महान्यायाधिवक्ताको कार्यालयले गत फागुनमै गरेको खुलेको बताइएको छ।
नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने मानव तस्करीको धन्दामा जोडिएका खाँणलाई उच्च अदालत पाटनले धरौटीमा छाड्न आदेश दिएको २०८० मंसिर २८ गते नै हो। फौजदारी न्याय प्रणालीमा चलिआएको अभ्यासअनुसार उनीविरुद्ध सरकारी वकिलले २०८० पुस पहिलो हप्ता नै माथिल्लो (सर्वोच्च) अदालतमा ७३ नम्बरको निवेदन दिइसकेको हुनुपर्थ्यो। तर सरकारी वकिलको कार्यालयले माथिल्लो अदालतमा यो निवेदन दिएन। उच्च अदालतले आदेश गरेको ११ महिना बित्दासम्म खाँणबारे माथिल्लो अदालतमा पुनरावेदनको निवेदन गएको छैन। अब जाने सम्भावना पनि देखिँदैन। किनभने सरकारी वकिल कार्यालयको नेतृत्वमा रहेको महान्यायाधिवक्ताको कार्यालयले त्यो बाटो नै बन्द गरिदिएको छ।
काठमाडौँ जिल्ला अदालतले मुद्दा पुर्पक्षका लागि थुनामा पठाएका खाँण उच्च अदालत पाटनको मंसिर २८ को आदेशपछि ३० लाख रुपैयाँ धरौटीमा छुटेका थिए। फौजदारी न्याय प्रक्रियाअनुसार धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध महान्यायाधिवक्ताको कार्यालय ७३ नम्बरको निवेदन लिएर सर्वोच्च अदालत जानुपर्ने थियो। तर महान्यायाधिवक्ताको कार्यालयका एक अधिकारीको भनाइअनुसार खाँणविरुद्ध ७३ नम्बरको निवेदन लिएर पुनरावेदनमा नजान तत्कालीन सत्ता गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसदेखि सरकारको नेतृत्वमा रहेको नेकपा माओवादी केन्द्रले नै महान्यायाधिवक्तालाई दबाब दिएका थिए। पछि महान्यायाधिवक्ताको कार्यालय पुनरावेदनमा गएन।
खाँण कांग्रेसमा सभापति शेरबहादुर देउवानिकट रहँदै आएका प्रभावशाली नेता मानिन्थे। उक्त रिपोर्टका अनुसार उनका निम्ति सबैभन्दा धेरै दबाब तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट परेको थियो जसले महान्यायाधिवक्ता दिनमणि पोखरेललाई खाँणविरुद्ध पुनरावेदनको निवेदन लिएर सर्वोच्च नजान निर्देशन नै दिएका थिए।
त्यही निर्देशनअनुसार महान्यायाधिवक्ताको कार्यालयले पुनरावेदनको निवेदन नै नदिने निर्णय गरेको भेटिएको छ।
यसैगरी ‘सासू’लाई पैसा फिर्ता गरेको ‘बैंक स्टेटमेन्ट’बाट देखिएपछि कांग्रेस उपसभापति धनराज गुरुङलाई पक्राउ गर्ने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को तयारी रोकिएको खबर पनि चर्चामा रह्यो।
सहकारीको रकम अपचलन गरेको भन्दै संसदीय छानबिन समितिले प्रतिवेदन दिएपछि गुरुङलाई पक्राउ गरी अनुसन्धान गर्नुपर्ने भन्दै सीआईबीमाथि चर्को दबाब परेको थियो। तर सीआईबीले गुरुङलाई पक्राउ नगरी बुधबार बयानका लागि मात्रै आफ्नो कार्यालय बोलायो।
गुरुङकी तत्कालीन सासू कमला गुरुङले आफू थाइल्यान्डमा हुँदा धनराजले ललितपुरस्थित मितेरी सहकारीको ५० लाख रुपैयाँ रसिद बनाएर ठगेको आरोप लगाएकी थिइन्। त्यसैको प्रमाण जुटाएर बुधबारसम्म गुरुङलाई पक्राउ गर्ने तयारीमा सीआईबी थियो।
सीआईबीका एक अनुसन्धान अधिकृतका अनुसार गुरुङले आफ्नी सासू कमलालाई बैंकबाट ४९ लाख ९५ हजार रुपैयाँ बैंकमार्फत फिर्ता गरिसकेको प्रमाण भेटिएपछि तत्कालै पक्राउ नगर्ने योजनामा सीआईबी पुगेको उक्त रिपोर्टमा उल्लेख छ।
सहकारीको रकम ठगी गरेको आरोप लागेका कांग्रेसका गुरुङसँग सीआईबीले पाँच घण्टा लामो बयान लिएको छ। तर उनले आफूमाथि लागेको आरोपको इन्कार गर्दै आएका छन्।
हेरौँ यो हप्ता उकालोमा प्रकाशित अन्य प्रमुख हेडलाइन।
देश
प्राकृतिक स्वरूप नै बदल्ने गरी दोलखाको रोल्वालिङ खोलामा कसरी आएको थियो बाढी?
रोल्वालिङमा आएको बाढीले च्छो रोल्पा हिमताल जाने पदमार्ग मात्र बिगारेन, चार वटा झोलुङ्गे पुलसमेत बगाइदियो। बेदिङ र ना गाउँसँग ४५ दिनसम्म सम्पर्कविच्छेद भएपछि हेलिकोप्टरबाट खाद्यान्न पठाइएको थियो।
जाजरकोट भूकम्पपीडितका एक वर्षः टहराबाट टाढा छ सरकार
भूकम्पको एक वर्ष बितिसक्दा पनि जाजरकोटका पीडितले अस्थायी आवास बनाउने रकम नै पूर्णरूपमा पाएका छैनन्। सरकारको बेवास्ताले स्थायी आवासमा बस्ने भूकम्पपीडितको आशा मर्दै गएको छ।
गाडी दुर्घटनाको त्रासदीः १० वर्षमा २४ हजारको ज्यान गयो, छानबिन न नियमन
काठमाडौँ उपत्यका बढी सवारी दुर्घटना हुने क्षेत्र हो। दुर्गममा हुने दुर्घटना पनि कहालीलाग्दा छन्। तर अटेरी चालक, सचेत नहुने नागरिक, समस्याग्रस्त सडक र नियमन नगर्ने सरकारका कारण त्रासदी झन् बढ्दो छ।
कोप २९ः नेपालले किन हिमाली मुद्दाहरूको सम्बोधनमा जोड दिइरहेको छ?
मुस्ताङमा यो वर्ष सरदरभन्दा ८० प्रतिशत बढी वर्षा भयो। गत साउनमा एउटा हिमताल फुट्दा थामेगाउँ खण्डहर बन्यो। हिमाली क्षेत्रका यस्ता अस्वाभाविक मौसमी परिवर्तन यस पटक कोप २९ मा नेपालका मुद्दा बनेका छन्।
बालमन्दिर प्रकरणः विशाल ग्रुपलाई बलियो बनाउने ‘अनुसन्धान’, थप निरीह बन्दै बाल संगठन
नेपाल बाल संगठनको जग्गा प्रकरणमा सीआईबीले प्रचारसहित शुरू गरेको अनुसन्धान आश्चर्यजनक रूपमा सुस्ताएपछि व्यापारिक घराना विशाल ग्रुप थप बलियो र बाल संगठन झन् निरीह हुने अवस्था आएको छ।
घरेलु महिला कामदारमाथिको प्रतिबन्ध हट्दै, यूएईमा मासिक तलब ४०० डलर
महिलालाई मलेसियासहित खाडी मुलुकमा घरेलु काममा पठाउन आठ वर्षअघि लगाइएको प्रतिबन्ध हट्ने भएको छ। सुरक्षाका नयाँ प्रावधान राखेर नेपालले यूएईसँग गर्ने सम्झौताको तयारी अन्तिम चरणमा पुगेको छ।
वनमन्त्रीलाई सात वटा सरकारी गाडी: छोरा र भाइलाई पनि सुविधा, थप गाडी माग्दै
मन्त्रीले पाउने सुविधाभन्दा तेब्बर धेरै गाडी ओगटेका वन तथा वातावरणमन्त्री ऐनबहादुर शाहीले छोरा र भाइलाई पनि गाडी दिएका छन्। त्यतिले नपुगेर थप गाडी माग गरिरहेका छन्।
अर्थ-बजार
धनुषामा तस्करबाट पैसा उठाउँछन् सशस्त्र र नेपाल प्रहरी, दुहबी नाका राजीव महासेठलाई सधैँ खुला
धनुषास्थित दुहबी नाकामा आवतजावत गर्ने साइकल, मोटरसाइकल तथा पिकअप भ्यानबाट पनि सशस्त्र र प्रहरीले पैसा असुल्छ। तर यो नाकाबाट सामान पास गराउने राजीव महासेठ खेपैपिच्छे पैसा तिर्दैनन्, मासिक बुझाउँछन्।
विमानस्थल बन्द हुने सूचना बेवास्ता गरेका विमान कम्पनीबाट अन्तिम समयमा धमाधम टिकट रद्द, मर्कामा यात्रु
नागरिक उड्डयन प्राधिकरणले उडान कटौती गरेको बहानामा विमान कम्पनीले अन्तिम समयमा यात्रुलाई टिकट स्थगित भएको सूचना पठाएपछि अग्रिम टिकट लिएर उडान समय कुरेर बसेका सयौँ यात्रु मर्कामा परेका छन्।
धितोपत्र बोर्ड अध्यक्ष नियुक्तिको मुद्दा विचाराधीन, सरकार नयाँ प्रक्रिया थाल्ने तयारीमा
धितोपत्र बोर्ड अध्यक्ष नियुक्ति प्रक्रिया अघिल्लो सरकारले गत फागुनमा शुरू गरे पनि असारमा अवरुद्ध भएपछि मुद्दा सर्वोच्च पुगेको छ। वर्तमान सरकार उक्त विवादित प्रक्रियाको साटो नयाँ प्रक्रियाको तयारीमा छ।
विचार–टिप्पणी
अर्थतन्त्रको आकार, राष्ट्रिय ऋण भार तथा सञ्चित विदेशी मुद्रा
विदेशी मुद्रालाई केन्द्रीय बैंकमा भण्डारण गर्नुभन्दा राष्ट्रिय ऋण भार घटाउन उपयोग गर्दा अर्थतन्त्रको हित हुने देखिन्छ। भण्डारणमा रहेको पैसाले कसैको आय वृद्धि गर्न सक्दैन।
ब्लग: रिपोर्टिङमै हल्लीखल्ली
केही बेरमा अर्को फोन आयो, सशस्त्र प्रहरी बल दुहबीबाट। तल्लै दर्जाका प्रहरी थिए। चिप्ला कुराहरूबाट संवाद शुरू गरे। उनको कुनै कुरा स्पष्ट थिएन, सांकेतिक शब्दहरूको अधिक प्रयोग गरिरहेका थिए।
सार्वजनिक संस्थानप्रति राजनीतिकर्मीको नक्कली माया
सार्वजनिक संस्थान भनेका सगरमाथा या गौतम बुद्धजस्तै हाम्रा गौरव हुन्, देशले ऋण गरेर भए पनि चलाउनै पर्छ भन्ने भ्रम जनसाधारणमा पारिएको छ।
कला–जीवन
भाषासँग सम्बन्ध जोडिदिने ‘गुरु’सँग अकस्मात् भेट
नेपाली भाषाको मोह जगाइदिने ध्रुवचन्द्र गौतमलाई एक गुच्छा फूल दिने सोच त्यस दिन ढिलोगरी आएको थियो। फूल त छुट्यो तर यही लेखका माध्यमबाट आफ्नो कृतज्ञता तिनै ‘टाढाका द्रोणाचार्य’लाई समर्पित गर्दैछु।
३८ वर्षअघि हराएको मरष्ठी जात्रा ब्युँताउन संघर्षरत चापागाउँवासी
करिब चार दशकअघि मूर्ति हराएपछि चापागाउँको मरष्ठी जात्रा रोकिएको थियो। त्यहाँका युवा जात्रा जोगाउन संरक्षण समिति बनाएर ३ वर्षदेखि संघर्षरत छन्।
छठमै अस्ताइन् छठगीतमा स्वर दिने शारदा सिन्हा
एचएमभी म्युजिकबाट सन् १९७८ मा शारदाले पहिलो छठगीत रेकर्ड गरेकी थिइन्। त्यसयता उनी छठ गीतको पर्याय नै बनेकी छन्। भोजपुरी कि सुप्रसिद्ध यी लोकगायिकाले मैथली र हिन्दीका गीतहरू पनि प्रशस्तै गाएकी छन्।
जमघटको नयाँ जङ्क्सन चिया पसल: अनौठा नाम, थरीथरी स्वाद
शहरी क्षेत्रमा चियादानी, चियावाला, मट्का चिया, चियाघर, दाह्री भाइको चियालगायत विभिन्न नामका पसल खुलेका छन्। चिया मात्रै बेच्ने गरी खुलेका यस्ता पसल चिया पारखीका लागि भेटघाटको केन्द्र बनिरहेका छन्।
विश्व
भारतको न्यायालयमा नातावादको चर्चा के हो, किन भइरहन्छ?
भारतमा बाबुछोरा, काकाभतिजा न्यायाधीश भएका धेरै उदाहरण छन्। त्यहाँ उखानै बनाइएको छ– ‘जजका बेटा जज ही बनेगा।’ भारतका ५१औँ प्रधानन्यायाधीश बनेका सञ्जीव खन्नामाथि पनि नातावादको प्रश्न उठेको छ।
गाजामा इजरायली आक्रमणको निन्दा, इरानको पक्षमा उभिए मोहम्मद बिन सलमान
विश्व राजनीतिमा प्रभावशाली मानिने साउदी लगायत अन्य अरब देश सशक्त रूपमा प्यालेस्टाइन र इरानको पक्षमा उभिनुलाई अन्तर्राष्ट्रिय समुदायले निकै चासोसाथ हेरेको छ।
ट्रम्प प्रशासनका सम्भावित अनुहार
व्हाइट हाउसको दैनिक संचालनमा उल्लेख्य भूमिका रहने 'चिफ अफ स्टाफ' पदमा ट्रम्पले सुजी वाइल्सलाई नियुक्त गरिसकेका छन्।
पाकिस्तानमा विषाक्त धुवाँका कारण १५ हजारभन्दा बढीमा श्वासप्रश्वासजन्य संक्रमण
विषाक्त धुवाँ फैलिँदा लाहोरका अस्पताल सुख्खा खोकी, सास फेर्न गाह्रो, निमोनिया र छातीमा संक्रमण भएका बिरामीले भरिएका छन्।
राजनीतिक वातावरण बिथोलेको भन्दै ट्विटरको प्रयोग नगर्ने ‘द गार्डियन’को निर्णय
राजनीतिक वातावरणलाई प्रभावित पार्न ट्विटरका मालिक एलन मस्कले त्यसको प्रयोग गर्ने गरेको गार्डियनको भनाइ छ।
खेल
एनपीएल: कर्णाली याक्समा भारतका ओपनर शिखर धवन
नेपाल प्रिमियर लिग (एनपीएल)का लागि कर्णाली याक्सले विश्व क्रिकेटकै चर्चित खेलाडी शिखर धवनलाई टोलीमा अनुबन्ध गरेको छ।
यूएईलाई हराउँदै यू–१९ महिला टी–२० विश्वकपमा छनोट भयो नेपाल
बुधबार यूएईमा सम्पन्न एशिया छनोटको अन्तिम खेलमा घरेलु टोलीलाई ८ विकेटले पराजित गर्दै नेपालले विश्वकपमा स्थान बनाएको हो।