Thursday, January 23, 2025

-->

उकालो साप्ताहिक ब्रिफिङ: ट्रम्पको ‘पुनरागमन’, बेहाल विमानस्थल

विश्वमा अमेरिकी चुनावमा ह्यारिस हार्नुका कारण, ट्रम्पले अब लिनुपर्ने कदमलगायत टीकाटिप्पणी जारी रहँदा नेपालमा प्राधिकरणले उडान कटौती गर्दाको प्रभावदेखि प्रधानमन्त्रीको चीन भ्रमणसम्मका खबर चर्चामा छन्।

उकालो साप्ताहिक ब्रिफिङ ट्रम्पको ‘पुनरागमन’ बेहाल विमानस्थल

अहिले विश्वभर चर्चा छ, मंगलबार सम्पन्न अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणामको। रिपब्लिकन पार्टीका उम्मेदवार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प एलेक्टोरल कलेजको बहुमत सुरक्षित गर्दै दोस्रो पटक संयुक्त राज्यको राष्ट्रपति निर्वाचित भएका छन्। डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हाल उपराष्ट्रपति कमला ह्यारिसको पक्षमा उनको दलले अपेक्षा गरेअनुरूप एलेक्टोरल मत त आएन नै उनी लोकप्रिय मतमा पनि ट्रम्पभन्दा निकै पछि परिन्।

मतगणनाको प्रारम्भिक चरणदेखि नै अग्रता लिएका ट्रम्पले जितका लागि चाहिने २७० मत सुरक्षित हुन केहीअगाडि नै आफू विजयी भएको घोषणा गरेका थिए। यसरी ट्रम्पको नेतृत्वमा चुनावमा होमिएको रिपब्लिकन पार्टीले पहिल्यै पकड भएको ‘हाउस अफ रेप्रेजेन्टेटिभ्स्’मा पुनः बहुमत प्राप्त गर्‍यो नै, यसअघि डेमोक्र्याटको बहुमत भएको सेनेटमा पनि यही दलका सेनेटर डेमोक्र्याटमाथि हाबी भए। सबै राज्यको मतगणना अझै नसकिए पनि ट्रम्पको जित सुनिश्चित भइसकेको अवस्थामा उनकी प्रतिद्वन्द्वी ह्यारिसले समर्थकसँगको सम्बोधनमा हार स्वीकार गर्दै शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण हुने बताएकी थिइन्।

यही सन्दर्भमा, अमेरिकी निर्वाचनको नेपालमा पर्नसक्ने असरबारे चिन्ता र चासो पनि देखिए। यस ‘ग्लोबल फेनोमेना’ले भविष्यमा पार्नसक्ने प्रत्यक्ष–अप्रत्यक्ष प्रभावबारे भन्न नसकिए पनि हाल प्रत्यक्ष देखिएका असर थिए– नेपाली रुपैयाँको तुलनामा डलरको मूल्यवृद्धि र नेपाली बजारमा सुनको प्रतितोला मूल्यमा ह्रास। ट्रम्पको चयनपश्चात् विश्वका विभिन्न देशझैँ नेपाली रुपैयाँको तुलनामा ११.३ प्रतिशतले डलरको वृद्धि भएको थियो। आज डलरको भाउ एक नेपाली रुपैयाँ बराबर १३५.०४ छ। यसैगरी, नोभेम्बरको शुरूआतमा प्रतितोला एक लाख ७१ हजार भाउ पुगेको सुन बिहीबार चार हजार रुपैयाँले घट्दै तोलाको एक लाख ६४ हजार ५०० रुपैयाँमा झरेको थियो। हालांकी आज फेरि छापावाल सुन बिहीबारभन्दा तोलामा दुई हजार रुपैयाँले बढ्दै १ लाख ६६ हजार ५०० पुगेको छ।

विश्वभर अमेरिकी निर्वाचनको चर्चा भइरहँदा नेपालमा धेरै चासो देखिएको खबर थियो, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल १० घन्टा बन्द हुँदा हवाईयात्रामा पर्न गएको प्रभावबारे। नागरिक उड्ययन प्राधिकरणले विमानस्थलको धावनमार्गको समानान्तर हुने गरी ट्याक्सी–वे बनाउन थालेको छ। त्यसका लागि शुक्रबारदेखि राति १० घण्टा विमानस्थल बन्द हुँदैछ। कात्तिक २३ गतेदेखि चैत ८ गतेसम्म करिब पाँच महिना विमानस्थल राति १० बजेदेखि बिहान ८ बजेसम्म बन्द गरिनेछ। विमानस्थल १० घण्टा बन्द गरिँदा यहाँबाट हुने एक तिहाइ उडान कटौती हुने भएका छन्। त्यही बहानामा विमान कम्पनीहरूले भाडामा अस्वाभाविक वृद्धि गरेका छन्। 

उड्ययन प्राधिकरणका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पूर्णरूपमा चल्दा सातामा ४१० अन्तर्राष्ट्रिय उडान हुन्थे। शुक्रबारदेखि पाँच महिना सातामा २८७ उडान मात्र हुने भएका छन्। अन्तर्राष्ट्रिय मात्र नभई आन्तरिकतर्फ पनि ३५ प्रतिशत उडान कटौती भएका छन्। अहिले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ८० लाख यात्रु ‘ह्यान्डलिङ’ गर्न सक्छ। विमानस्थलको समानान्तर ट्याक्सी–वे निर्माणपछि यो क्षमता बढेर वार्षिक एक करोड पुग्ने छ। यात्रुको चाप अत्यधिक बढेपछि विमानस्थल विस्तार थालिएको हो।

अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि नागरिक उड्ययन प्राधिकरणले उडान संख्या कटौती गरेपछि अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीले हवाई भाडा १०० देखि १५० प्रतिशतसम्म वृद्धि गरेका छन् जसले गर्दा नेपाली यात्राु भारतबाट टिकट खोज्नुपर्ने विकल्प हेर्दैछन्।  

नागरिक उड्डयन प्राधिकरणले उडान कटौती गरेको बहानामा विमान कम्पनीले अन्तिम समयमा यात्रुलाई टिकट स्थगित भएको सूचना पठाएपछि अग्रिम टिकट लिएर उडान समय कुरेर बसेका सयौँ यात्रु मर्कामा परेका छन्।

परम्परागत, डिजिटल र सोसल मिडियामा ‘कमला ह्यारिस हार्नुका कारण’ र ‘ट्रम्पले अब लिनुपर्ने कदम’ लगायत टिप्पणी, विश्लेषण जारी रहँदा हामी लागौँ यस हप्ता उकालोमा प्रकाशित केही प्रमुख हेड्लाइनतिर।

देश–समाज

मुख्य सचिवलाई निलम्बनसम्म डोर्‍याउने विकल पौडेलः अदालतमा मुद्दैमुद्दा, तीन मुद्दामा दोषी ठहर
राजनीतिक नेतृत्व रिझाएर लामो समय सूचना प्रविधि र सुरक्षण मुद्रणको क्षेत्रमा लुट मच्चाएका विकल पौडेलले खेपिरहेका ६ वटा मुद्दा राजनीति संरक्षित उनको ‘नेक्सस’ बुझाउन पर्याप्त छन्।

गाउँका महिलाको जीवन बदल्न खुलेको त्यो नाविके, अहिले आफै संकटग्रस्त
सोखले मिथिला चित्र कोरिरहेका महिलालाई सीप सिकाउँदै आर्थिक उपार्जनसँग जोड्न तीन दशकअघि खुलेको नारी विकास केन्द्र आफ्नै नेतृत्वको बदमासी र स्थानीय सरकारको बेवास्ताले बन्द हुन ठिक्क परेको छ।

जलविद्युत् आयोजनामा जलवायु परिवर्तनले बर्सेनि वितण्डा, के होला भविष्य?
मनसुनी बाढीले मात्र नभई हिमताल विष्फोट र अचानकको वर्षापछिको बाढीले गर्ने क्षति तथा सुक्खायाममा अनुमानभन्दा बढी नदी सुक्ने कारण ऊर्जामा आत्मनिर्भर बन्ने नेपालको लक्ष्यमा चुनौती थपिएको छ।

संस्कृत पढाउने ११५ वर्ष पुरानो विद्यालयः आधुनिक पाठ्यक्रम, गुरुकुल शैली
जनकपुरधामस्थित याज्ञवल्क्य संस्कृत विद्यालयमा संस्कृतसँगै प्राविधिक र अन्य विषय पनि पढाइन्छ। तर छात्रावासमा संस्कृत पढ्ने विद्यार्थी मात्र बस्छन् र उनीहरूले पढाइसँगै आम्दानी पनि गरिरहेका छन्।

अर्थ–बजार

प्रधानमन्त्रीको चीन भ्रमण: ऋणलाई अनुदानमा बदल्ने ‘नजिर बसाल्न’ तयार होला बेइजिङ?
प्रधानमन्त्री ओलीको चीन भ्रमणमा पोखरा विमानस्थलका लागि लिइएको चिनियाँ ऋणलाई अनुदानमा बदल्ने प्रयास नेपालले गरिरहँदा चिनियाँ राजदूतले ‘चिनियाँ ऋण अनुदानमा परिणत भएको नजिर नभएको’ बताएका छन्।

शहरमा तारको धरापः व्यवस्थापनको नीति बन्यो, काम भएन
इन्टरनेट सेवा प्रदायक दर्जनौँ कम्पनीका तारको आ–आफ्नो सञ्जाल छ। उपभोक्ताले कुनै कम्पनीको सेवा बन्द गरेपछि तार ननिकालिँदा पोलमा भार थपिने गरेको छ। प्रयोगविहीन तिनै तार दुर्घटनाको कारण बनेका छन्।

अन्तर्वार्ता

‘कथा–किंवदन्तीलाई अन्धविश्वास भनेर टिप्पणी गरिहाल्न मिल्दैन’
‘विदेशीका रूपमा हामीले कुनै पनि देशको चलन र परम्परालाई सतही रूपमा बुझ्न मिल्दैन। अर्थ नबुझी टिप्पणी गर्न मिल्दैन।’

‘नेपाल पुस्तकालय र पठन सामग्रीको हब बन्नुपर्छ’
‘सन् १६०० यताका पुस्तक र सोध सामग्री अहिलेको संकलनमा छन्। कोलोनल कर्कप्याट्रिक, हेनरी एमब्रोसे ओल्डफिल्डलगायतका पुस्तक छन्। देवनागरीका पनि छन्, मैले पढ्न नसक्ने कारण ती कति पुराना हुन् भन्न सक्दिनँ।’

‘रङबिनाको जीवन कल्पना गर्न सकिएला र!’
वर्षौंअघि भक्तपुर घुम्न आएका अमेरिकीले ‘भक्तपुर इज रेड’ भनेपछि च्वास्स छोयो। नेमकिपा लगायत पार्टीका तुल रातै हुन्थे, स्कुलका विज्ञापन पनि रातै कपडामा। त्यही घटनाले मलाई रङबारे लेख्न उक्सायो।

अन्तर्राष्ट्रिय

गाजा युद्धपछि संयुक्त राष्ट्रसंघविरुद्ध ‘आक्रामक’ इजरायल, सहज छैन शान्तिप्रक्रिया
गाजामा दुईतिहाइ अर्थात् १ लाख ६३ हजारभन्दा बढी भवन खण्डहर छन्, ३६ मध्ये १७ अस्पताल मात्र आंशिक रूपमा सञ्चालनमा छन्। ८७ प्रतिशत विद्यालय भवन पूर्ण क्षतिग्रस्त छन्। गाजा अनिकाल र भोकमरीको चपेटामा छ।

ट्रम्पको पुनरागमन ‘गलत नीति’को पुनरावलोकन गर्ने मौका : इरान
इरानले अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पको विजयलाई अमेरिकाका लागि विगतका ‘गलत नीति’को पुनरावलोकन गर्ने अवसर भएको बताएको छ।

१६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रतिबन्ध लगाउँदै अस्ट्रेलिया
फेसबुक र इन्स्टाग्राम सञ्चालन गरेको मेटा कम्पनीले सरकारले पेस गर्न चाहेको जुनसुकै पनि उमेर सीमालाई सम्मान गर्ने जनाएको छ।

खेल

नेपाललाई ओलम्पिकमा पहिलो पदक दिलाउने नेगी गुरु
यस वर्षको पेरिस पारलम्पिकमा पलेशा गोवर्द्धनले नेपाललाई पहिलो ओलम्पिक पदक दिलाइन्। त्यो सफलताका पछाडि कर्मयोगी नेगी गुरुको योगदान अतुलनीय छ।

यू१९ महिला विश्वकप छनोट: कुवेतमाथि नेपालको १०८ रनको जित
नेपालले दिएको १३१ रनको विजयी लक्ष्य पछ्याएको कुवेत १३ ओभरमा अलआउट हुँदै २२ रनमा समेटियो।

कला–जीवनशैली

पुर्ख्यौली व्यवसाय बनेका काठमाडौँका मिठाई पसल: रैथाने स्वाद, चाडपर्वमा भिडभाड
काठमाडौँका नेवारी मिठाई पसलमा चाडपर्वका बेला भिडभाड हुन्छ। अरू बेला पनि बिहान तथा दिउँसो हलुवा, स्वारी र मालपुवा खान ग्राहक पुगेकै हुन्छन्। यी पसलमा कस्ता मिठाई बन्छन्?

पुस्तक बजारः पुरस्कार पाए मात्र बिक्छन्!
कुनै पनि पुस्तकको सफलता र असफलताको निर्धारण बिक्रीले मात्र नगर्ने कतिपय लेखक र प्रकाशकको धारणा छ। तर ठूला पुरस्कार पाएकाबाहेक अन्य पुस्तक कम मात्र बिक्ने गुनासो किन बारम्बार सुनिन्छ?

मधेशको तिहार ‘सोहरैया’ अर्थात् लोकजीवनको नवीकरण
कात्तिक कृष्णपक्ष त्रयोदशी तिथिबाट शुरू हुने ‘यमपञ्चक’का पाँच दिनसम्म मनाइने तिहार मधेशका लागि ‘सोहरैया’ हो।

पुरुष नै महिला बनेर नाच्ने मारुनी, जन्मदेखि मृत्यु संस्कारसम्मै
पश्चिम पहाडका मगर समुदायको लोक संस्कृतिसँग जोडिएको मारुनी नाच तिहारमा मात्र सीमित छैन, जन्मदेखि मृत्युसम्मका संस्कारमै अनिवार्य मानिन्छ।


सम्बन्धित सामग्री