हिजोआज धेरैजसो घरमा एउटा विशेष चिन्ता–चासो छ– दशैँमा नयाँँ नोट नपाइने अरे!
चाडबाड नजिकिएपछि मुख्यत: दशैँको मुखमा नयाँँ नोट सटही गर्ने चलन व्यापक भएको केही दशक भयो। यी नोट प्राय: बडादशैँमा टीका लगाएर दिइने दक्षिणाका लागि साटिन्छन्। तर नेपाल राष्ट्र बैंकले यो वर्षको दशैँदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधामा रोक लगाउने भएको छ। राष्ट्र बैंकले प्रत्येक वर्ष दशैँ–तिहारलाई लक्षित गर्दै नयाँ नोट सटही सुविधा दिँदै आएकोमा दुई दशकपछि रोक लगाउने निर्णय गरेको हो। यद्यपि यसअघि चलनचल्तीमा रहेका सुकिला नोट साट्न भने पाइने छ।
विसं २०६० सालअघि दशैँका लागि सर्वसाधारणलाई नयाँ नोट वितरण गर्ने चलन थिएन। सीमित व्यक्तिको पहुँचमा मात्र यस्तो सुविधा थियो भने २०६०/६१ सालदेखि सटही सुविधा दिन थालिएको हो।
बैंक अधिकारीका अनुसार दशैँ र तिहारमा हरेक वर्ष ६० देखि ७० अर्ब रुपैयाँ बराबरका नयाँ नोट राष्ट्र बैंकको ढुकुटीबाट बाहिरिँदै आएको थियो। यसमध्ये १५ अर्ब रुपैयाँ हाराहारीको नयाँ नोट सटहीमार्फत सर्वसाधारणको हातमा पुग्ने गर्थ्यो।
दशैँमा बजारमा पठाइएका नयाँ नोट छोटो अवधिमै पुरानो भएर राष्ट्र बैंकमै फर्किने हुँदा यसले खर्च बढाएको थियो। दशैँमा बजार पठाइएका नोटहरू जतन नहुँदा औसत आयु नसकिँदै पुनः प्रयोग गर्न नमिल्ने भइसकेका हुन्छन्। यसले खर्च बढाउँदै गएपछि केन्द्रीय बैंकले नयाँ नोटको साटो सुकिला नोट मात्र दिने भएको छ।
यसले नोट छपाइ, ढुवानी, नोट ‘सर्टिङ’ र काम नलाग्ने अवस्थाका नोट जलाउनेसम्मको खर्चमा कटौती हुने जानकार बताउँछन्।
...
सरकारी कार्यालयका अधिकारी, शैक्षिक संस्थानका शिक्षक–विद्यार्थीझैँ प्रतिनिधिसभा बैठकमा पनि एउटा अनौठो आचरण देख्न सकिन्छ– हाटा अर्थात हाजिर टाप।
सभामुखले प्रतिनिधिसभा बैठक शुरू गरेपछि कहिलेकाहीँ दलहरूले अवरोध गर्दाबाहेक कार्यसूचीअनुसार नै सभा सञ्चालन हुन्छ। कार्यसूची विभिन्न हुन्छन्, जस्तो– आकस्मिक समय, शून्य समय, विशेष समय, प्रस्तावमाथि छलफल, विधेयक प्रस्तुत, प्रधानमन्त्री र मन्त्रीसँग प्रश्नोत्तर, समितिका प्रतिवेदन पेश, दलका नेताको सम्बोधन आदि।
तर सभाको कारबाही शुरू हुँदा प्रायः हलमा सांसदको उपस्थिति पातलो देखिन्छ। कहिलेकाहीँ शुरूमा भरिभराउ भए पनि बैठक लम्बिँदै जाँदा कुर्सी खाली हुँदै जान्छन्। एकपछि अर्को सांसद फुत्तफुत्त बाहिर निस्किँदा सभाहलमा रित्ता कुर्सी मात्र बाँकी रहन्छन्।
प्रतिनिधिसभालाई बेलाबखत कोरम पुर्याउन पनि मुस्किल पर्छ।
संसद्मा अहिले डिजिटल हाजिरी छ तर बैठक चल्दाचल्दै हाजिर ठोकेर टाप कस्ने सांसदको कमी छैन। बजेट र नीति तथा कार्यक्रममाथि हुने छलफलका बेला सभाहलमा अझ ‘विजोग’ देखिन्छ। त्यति बेला दिनभरि बैठक चल्छन्। बोल्न बाकीँ भएकाहरू पालो कुरिरहेका हुन्छन्, बोलिसकेकाहरूमा सुन्ने धीरता देखिँदैन। सभाहलमा रित्तो कुर्सीका लहर मात्र देखिन्छन्।
संसद्मा सांसदहरूको हाजिरी र आचरणबारे थप बुझ्न पढ्नुहोस्: ‘माननीयज्यूहरू! अब सभाको कारबाही प्रारम्भ हुन्छ...’
…
यसैगरी केही दिनअघि समापन भएको पेरिस पारालम्पिकमा नेपालकी पलेशा गोवर्धनले ऐतिहासिक कांस्य पदक जितेकी छन्। तेइक्वान्दो खेलाडी पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराउँदै कांस्य जितेकी हुन्।
यसरी उनी कुनै पनि ओलम्पिकमा पदक जित्ने पहिलो नेपाली खेलाडी बनेकी छन्। पदक जितेर देश फर्किँदा उनको विमानस्थलदेखिनै भव्य स्वागत भएको थियो।
यससँगै पलेशाले नेपाल सरकारबाट ६५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछिन्। राष्ट्रिय खेलकुद विकास नियमावली, २०७९ मा ओलम्पिकमा कांस्य पदक जित्ने खेलाडीलाई ६५ लाख रुपैयाँ पुरस्कार दिने व्यवस्था छ।
साताका अन्य प्रमुख हेड्लाइन
देश–समाज
विद्यालय तहमै पढाइँदै कोरियन भाषा, के छ नीतिगत व्यवस्था?
वैदेशिक रोजगारीमा कोरिया जाने क्रम बढेसँगै यसको प्रभाव विद्यालयको पाठ्यक्रममा पनि देखिएको छ। पछिल्लो समय केही विद्यालयले कक्षागत पाठ्यक्रममै समावेश गरेर कोरियन भाषा सिकाइरहेका छन्।
अनलाइन लगानी र जागिरको ‘स्क्याम’: डाक्टरदेखि सरकारी वकिलसम्म ठग्ने यस्तो छ ‘जालो’
अनलाइनमार्फत ठगी गर्न वैदेशिक रोजगारमा गएका र उनीहरूका आफन्त प्रयोग भइरहेका छन्। विदेशबाट पठाइएको रकम ‘स्क्यामर’को खातामा जाने र ठगी गरिएको रकम नेपालका आफन्तले पाउने ‘जालो’ बुनिएको छ।
रुसी सेनामा नेपाली भर्ती रोकिएको हो?
नेपालसँग मौखिकरूपमा मात्रै नेपालीलाई रुसी सेनामा भर्ती लिँदैनौँ भनेको रुसले भारतको हकमा भने विज्ञप्ति नै जारी गरेको छ। जबकि रुसी सेनामा भारतीय भन्दा नेपाली धेरै छन्।
थामे विपद्ः पुनर्निर्माणमा स्थानीय सरकारको पहलकदमी
बाढीले तहसनहस सोलुखुम्बुको थामे गाउँ पुनर्निर्माणका लागि पासाङल्हामु गाउँपालिकाले ७ करोड १० लाख छुट्याइसकेको छ। संघीय सरकारले पीडितलाई प्रतिपरिवार १५ हजार दिँदा गाउँपालिकाले ५० हजार रुपैयाँ दिएको छ।
उकालो सेन्ट्रल
विशेष रिपोर्ट: माओवादी नेताका आँखा लागेको मदन स्मारक स्कुलको १० रोपनी सार्वजनिक जग्गा
ऐतिहासिक धरोहरसरह रहेको मदन स्मारक स्कुलको १० रोपनी १ आना जग्गा हडप्न माओवादीका नेता र ठेकेदारले केसम्म गरे? यो जग्गा जोगाउन दुई दशक लडेका स्थानीय बासिन्दालाई सर्वोच्चको फैसलाले कसरी त्राण दिँदै छ?
पोखरा विमानस्थल ‘काण्ड’सित जोडिने कोलपाटनको ओभरहेड ट्यांकीः निर्णय गर्नै किन डरायो संस्थान?
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजनासित जोडिएका थुप्रै बेथितिमा कोलपाटनको ओभरहेड ट्यांकी पनि जोडिएको छ। अख्तियारले यसबारे अनुसन्धान शुरू गरेपछि खानेपानी संस्थान त्राहिमाम देखिन्छ।
अर्थ–बजार
गोदाममा चिनी राखेर आफूखुशी मूल्य तोक्दै व्यापारी
पछिल्लो एक महिनामा चिनीको भाउ प्रतिकिलो २० रुपैयाँसम्म बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसनले नै अघिल्लो महिनाभन्दा प्रतिकिलो ७ रुपैयाँ भाउ बढाएको छ। चिनी उत्पादकहरू भने माग बढ्दा मूल्य बढेको दाबी गर्छन्।
सुनको मूल्य ४ दिनदेखि स्थिर, चाँदी बढ्यो
सोमबार तोलामा १ लाख ५२ हजार रुपैयाँ कायम भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ।
अन्तर्वार्ता
झापाको बिर्तामोडमा रहेको गिरीबन्धु टी–इस्टेटको ३४४ बिघा जमिन सट्टापट्टा तथा बिक्री गर्न पाइने सरकारी प्रबन्धमा सर्वोच्च अदालतको पूर्ण इजलासले रोक लगाएपछि यो चियाबगानको जमिनमाथि भइरहेको खरिद–बिक्रीको चलखेल तत्कालका लागि रोकिएझैँ देखिएको छ। तर गिरीबन्धुको जमिन सट्टापट्टा गर्न पाइने गरी आएको भूमिसम्बन्धी नीतिगत संशोधन (२०७८ वैशाख १३) लगत्तै ३४४ बिघा जमिनको ‘डिजिटल म्याप’ देखाउँदै उठाइएको करोडौँ रुपैयाँ बैना–रकमको हिसाब सुल्झन सकेको छैन। यसरी उद्यमी, व्यवसायी, राजनीतिक दलका नेता एवं सर्वसाधारणबाट सट्टापट्टा र बैना रकम उठाउने समूहका प्रमुख व्यक्ति हुन् गिरीबन्धु टी–इस्टेटका प्रबन्धक छत्रबहादुर गिरी। गिरीबन्धु चियाबगानसँग जोडिएको सबै हिसाबकिताब मिलान भइसकेको बताउने गिरीसँग बिर्तामोड बसपार्कपूर्वको चियाबगानभित्र उनकै निवासमा उकालोका लागि देवेन्द्र भट्टराईले गरेको कुराकानी।
बागमती र यसका सहायक नदीमा बर्सेनि आउने बाढीले डुबाउने क्षेत्र पहिचान गरी प्राकृतिक बहावमा अवरोध गर्ने संरचनामा सुधार ल्याउन र अनधिकृत संरचना हटाउने प्रबन्ध मिलाउन २०८० पुस २ गते सर्वोच्च अदालतले आदेश दियो। न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र विनोद शर्माको संयुक्त इजलासले गरेको त्यही फैसलाको भर्खरै आएको पूर्ण पाठले यतिबेला चर्चा पाइरहेको छ। फैसलामा बागमतीलगायत यसका सहायक नदीको २० मिटर आसपास कुनै संरचना नबनाउन सर्वोच्चले आदेश जारी गरेको छ। यसै सन्दर्भमा २०५२ सालदेखि बागमती नदी संरक्षणको मुद्दा उठाइरहेका वरिष्ठ अधिवक्ता प्रकाशमणि शर्मासँग उकालोका लागि लोकेन्द्र विश्वकर्माले गरेको कुराकानी।
अमेरिकाको वेस्टर्न मिसिगन विश्वविद्यालयमा राजनीतिशास्त्र विषय प्राध्यापनरत छन् डा. महेन्द्र लावती। सन् २००५ मा उनको ‘टुवार्डस् अ डेमोक्रेटिक नेपाल’ नामक कृति प्रकाशित भएको थियो, यसबाहेक संयुक्त लेखनमा उनका अरू पनि पुस्तक प्रकाशित छन्। राजनीतिक संस्था, लोकतान्त्रीकरण, पहिचानको राजनीति, हिंसात्मक द्वन्द्व लगायतका विषयमा उनले लामो समयदेखि अनुसन्धान गरिरहेका छन्। नेपालको राजनीति र भ्रष्टाचारका विषयमा लावतीसँग उकालोका लागि किरण दहालले गरेको कुराकानी।
कला–जीवन
सोरठीले बौराएका दम्पच मुद्दा
राजा अति तिर्खाएर कुनै कुमालको घरमा पानी माग्न पुग्छन्। १६ वर्षकी युवतीको हातबाट पानीको प्यास मेटेका उनी सोही बखतदेखि नै युवतीप्रतिको एकोहोरो आकर्षणका कारण गहिरो चिन्तामा डुब्छन्।
चोकाछे गल्लीमा मेरो बास
हुलाकी सडकले छोएको सिरहा, नरहनियामा ७७ वर्षअघि जन्मे–हुर्केका योगेन्द्र पूरापूर मैथिलभाषी परिवारका सदस्य थिए। गुरुकुल पढाइमा हिन्दीभाषी बने, विद्यालयमा पुगेर नेपालीभाषी र विश्वविद्यालयमा अंग्रेजीभाषी।
‘रेलको बाटो’का गायक सुरजको कथाः वनरक्षकको जागिर, साथमा हार्मोनियम
चार वर्षअघि काठमाडौँ–केरुङ रेलको चर्चा चलिरहेको थियो। त्यही बेला सुरज पण्डितले ‘रेलको बाटो...’ गीत निकाले र देशभर चर्चा कमाए। तर उनलाई जुम्लामा भने पहिलो गीतले नै चिनाएको थियो।
विचार–टिप्पणी
मदन पुरस्कारको सपना र यथार्थ
लुधियान्वीले लेखेको र देवानन्द नाचेको गीतले भनेजस्तो जिन्दगीमा जे परि आउँछ त्यही गर्दै गएँ। गर्न नसकेको काममा फिक्री नलिइकन। साहिरले भने झैँ बरबाद भएका, चौपट भएका काममा चिन्ता गर्नु फजुल काम हो भनेँ।
तर्क, भावना र नैतिकताको कसीमा रवि लामिछाने
रविले पत्रकारितामार्फत अन्यायको पर्दाफास गर्दै जनताको मर्म छोए, जसले उनलाई उच्च नैतिक व्यक्तित्वका रूपमा स्थापित गर्यो। तर राजनीतिमा प्रवेश गरेपछि यी नैतिक आदर्श क्रमशः क्षीण हुँदै गए।
उत्पीडन सहँदै कहिलेसम्म महिलाले ‘घर जोगाउने’?
छोरीको विवाहपूर्व उनको भावी घर कत्तिको सुरक्षित छ, ‘पार्टनर’ कति सुझबुझयुक्त छन्, बुझ्नुस्। बिहेपछि पनि कुनै विषयमा तनाव भइराखेको छ कि सोध्नुस्। ‘ऊ त ज्वाइँकी भई’ भनेर ढुक्कले नबस्नुस्।
विश्व
जम्मु–कश्मीर निर्वाचनः प्रतिस्पर्धा भाजपा र इन्डिया गठबन्धनबीच, मुद्दा ‘आर्टिकल ३७०’
भारतको कान्छो ‘यूनियन टेरिटोरी’मा सेप्टेम्बर १८ देखि अक्टोबर १ सम्म हुने निर्वाचनबाट ९० विधायक छानिने छन्। हिन्दू बहुल जम्मुमा भाजपा र मुस्लिम बहुल कश्मीरमा एनसी वा एआईपीको पल्ला भारी हुने अनुमान छ।
केन्याको विद्यालयमा आगलागी: १७ बालबालिकाको मृत्यु
न्येरी काउन्टीको हिलसाइड एन्डारासा एकेडेमीमा बिहीबार मध्यरातमा आगलागी भएको थियो।