Thursday, January 23, 2025

-->

उकालो साप्ताहिक ब्रिफिङ: त्रिविमा सुरक्षा विवाद, प्रहरीमा अवकाश प्रावधान

यो साता उकालोमा त्रिविमा सुरक्षा विवाद, सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण बल्खुखोलामा, पप्पु संलग्न कमला पुल निर्माणमै ‘कैफियत’, कमजोर कम्पनीको शेयर अस्वाभाविक वृद्धिसहितका खबर चर्चामा रहे।

उकालो साप्ताहिक ब्रिफिङ त्रिविमा सुरक्षा विवाद प्रहरीमा अवकाश प्रावधान

मुलुककै पहिलो, सबैभन्दा ठूलो र अन्तर्राष्ट्रिय ‘एजुकेसनल रेटिङ’मा अरू नेपाली विश्वविद्यालयभन्दा बढी मान्यता पाइआएको त्रिभुवन विश्वविद्यालय फेरि विवादको केन्द्रमा छ। हुन त त्रिवि र विवादको सम्बन्ध लगभग यस शैक्षिक संस्थाको इतिहास जति नै पुरानो छ। विद्यार्थी संगठन, शिक्षक भर्ना, प्रशासानीक नियुक्ति, विभिन्न निर्वाचन, पाठ्यक्रम, परीक्षा - यी सामान्य दैनिक प्रक्रिया, गतिविधि र समूह हरेक केही दिनमा कुनै न कुनै ‘काण्ड’का लागि चर्चामा आइरहन्छन्। यी सबै विवाद अधिकांश जोडिएको हुन्छ दलीय राजनीतिसँग।

यस्तै, सन्दर्भमा पछिल्लो पटक त्रिविमा ‘सुरक्षा विवाद’ चलिरहेको छ। शिक्षामन्त्री विद्या भट्टराईले गएको भदौ ५ गते सामाजिक सञ्जालमार्फत त्रिभुवन विश्वविद्यालयका पदाधिकारी र प्राध्यापक असुरक्षित भएको उल्लेख गर्दै त्यहाँ सुरक्षाको व्यवस्था गर्न गृहमन्त्री रमेश लेखकसँग माग गरिन्। शिक्षामन्त्रीले नै सुरक्षाको माग गरेपछि यो विषयले बढी चर्चा पायो।

मन्त्री भट्टराईले विश्वविद्यालयका पदाधिकारीहरूमाथि हमला गर्न खोजिएको र प्राध्यापकहरूलाई फोन गरेर धम्की दिने गरिएको उल्लेख गरेकी छन्। उनको भनाइबारे सञ्जालमै समर्थन र विरोध दुवै भएपछि त्यही दिन उनले अर्को स्टेटस लेख्दै आफ्नो अघिल्लो स्टेटसको बचाउ गरेकी छन्। उनले लेखेकी छन्, “मैले सार्वजनिक अपिल गर्नुपर्ने भएर नै गरेको हो, कुनै आवेगमा आएर लेखेको होइन। मैले पाँच दिनदेखि लगातार सम्पर्क र समन्वय गरेको कुरासमेत जानकारी गराउन चाहन्छु।”

विश्वविद्यालयबारे जानकारी राख्नेहरू भने यो विषय नयाँ नभएको बताउँछन्। प्राडा विद्यानाथ कोइराला राजनीतिक नेतृत्वले चाहेबमोजिमकै बाटोमा विश्वविद्यालय गएको बताउँछन्।

पछिल्लो विवाद समाजशास्त्र विभागका प्रमुख नियुक्तिको विषयलाई लिएर भएको छ। विभागीय प्रमुख रहेका प्रा. युवराज लुइँटेलको पदावधि साउन ३२ गते सकिएको थियो। उक्त पदमा नियुक्तिका लागि सहप्राध्यापक पासाङ शेर्पा, टीकाराम गौतम र मनहरि ढकाल सिफारिस भएका थिए। मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयको सिफारिसमा त्रिवि कार्यकारी परिषद्ले विभागीय प्रमुख नियुक्त गर्छ।

तर आफ्नो दलका समर्थक प्राध्यापकलाई नियुक्त गर्न कार्यकारी परिषद्मा रहने पदाधिकारीलाई नै धम्की दिइएपछि विवाद छताछुल्ल भएको हो। विवादको शुरू भने मानविकी तथा समाजशास्त्र संकायको डिन कार्यालयबाट भएको देखिन्छ।

समाजशास्त्र विभागबाट वरिष्ठताका आधारमा तीन जनालाई विभागीय प्रमुखका लागि सिफारिस गरेर पठाइएको थियो। तर डिन कार्यालयले त्यसमा हेरफेर गरेर रेक्टर (शिक्षाध्यक्ष) कार्यालयमा सिफारिस पठायो। एमाले निकट सहप्राध्यापक पासाङ शेर्पा समर्थक समूहले उक्त सिफारिसको विरोध गर्‍यो। समाजशास्त्र विभाग प्रमुख नियुक्तिलाई लिएर त्रिविका विद्यार्थी र प्राध्यापकबीच कित्ताकाट भयो। कांग्रेस समर्थकहरू टीकाराम गौतमलाई र एमाले समर्थकहरू पासङ शेर्पालाई प्रमुख बनाउन चाहन्थे।

एमालेनिकट नेपाल प्रगतिशील प्राध्यापक संगठनले डिन कुसुम शाक्यलाई सिफारिस सच्याउन माग गरेको थियो। डिन शाक्य कांग्रेस निकट भएकाले सहप्राध्यापक गौमतलाई एक नम्बरमा सिफारिस गरेको प्रगतिशील प्राध्यापक संगठनको आरोप थियो।

डिन शाक्यले भने आफूले सिफारिस मात्र गरेको र पदाधिकारीको निर्णय नै ठूलो हुने बताएकी थिइन्। तर कांग्रेस निकट सहप्राध्यापक टीकाराम गौतम समर्थक समूहले उनलाई नियुक्ति नगरे पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएपछि विवाद उत्कर्षमा पुगेको थियो। 

त्रिवि पदाधिकारीलाई धम्की दिइएको भनेर शिक्षामन्त्रीले नै सामाजिक सञ्जालमा लेखेपछि यो विषय विवादित बन्यो। तर त्रिवि पदाधिकारी र प्राध्यापकमाथि अभद्र व्यवहार अहिले मात्र हुन थालेको होइन।

त्रिविको विवाद जस्तै यो हप्ता नेपाल प्रहरीको अवकाश प्रावधान पनि चर्चामा रह्यो। नेपाल प्रहरीमा कार्यरत कर्मचारीको अवकाशमा जाने प्रावधानको विषय अहिले आएर फेरि पेचिलो बनेको छ। यही विषयमा सरकार र अवकाशमा जानलागेका प्रहरी कर्मचारीबीच द्वन्द्व कायमै रहने स्थिति देखापरेको छ।

बुधबार मात्र नेपाल प्रहरीका एक एआईजी र केही उच्च अधिकृतले उमेरहदकै कारण अवकाशमा पठाउने निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। प्रहरीको अवकाशको विषयलाई लिएर एक साताभित्र सर्वोच्चमा पुगेको यो दोस्रो रिट हो।

ऐन नबनाउने, आफ्नो स्वार्थमा प्रहरी नियमावली चलाइरहने राजनीतिक नेतृत्वको रवैयाले प्रहरी संगठनलाई यस्तो गम्भीर मोडमा ल्याइपुर्‍याएको छ कि अदालतमा सरकार र प्रहरी अधिकृत नै पक्ष–विपक्ष हुनपुगेका छन्।

अब, साताका अन्य प्रमुख हेड्लाइन:

राजनीति–समाज

प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त
नेपाली सेनाको प्रधानसेनापतिमा अशोकराज सिग्देल नियुक्त भएका छन्। मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम सिग्देललाई नेपाली सेनाको प्रधानसेनापति पदमा नियुक्त गरेका हुन्।

भ्रष्टाचार निवारण विधेयकबाट हटाइयो ५ वर्षे हदम्यादको प्रावधान
शुक्रबार संसद्‌को राज्य व्यवस्था तथा सुशासन समिति बैठकले भ्रष्टाचारको अनुसन्धानमा हदम्याद राख्ने प्रस्तावित व्यवस्थालाई अस्वीकार गर्ने निर्णय लिएको हो।

पुस्तकमार्फत थापाको आरोप– तत्कालीन राजदूत नै ओली सरकार ढाल्न सक्रिय, उपाध्याय भन्छन्– झूटो विवरण
पूर्वपरराष्ट्रमन्त्री कमल थापाले यसै साता सार्वजनिक पुस्तकमा भारतका लागि तत्कालीन राजदूत दीपकुमार उपाध्याय नाकाबन्दीपछि सरकार ढाल्न सक्रिय भएको दाबी गरेका छन्। तर यो दाबी विवादमा परेको छ।

उकालो सेन्ट्रल

फेवाताल संरक्षणका लागि सर्वोच्चको त्यो आदेशः ११ महिनासम्म के गर्दैछन् सरोकारवाला निकाय?
सर्वोच्च अदालतले फेवाताल संरक्षणका लागि दोस्रोपटक आदेश दिएको दुई महिनापछि गत मंसिरमा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे नेतृत्वमा फैसला कार्यान्वयन समिति बनाइएको छ। तर समितिको काम सुस्त छ।

सिप्रदीको व्यापारिक ‘कम्प्लेक्स’ प्रांगण जहाँबाट बग्थ्यो बल्खु खोला
सतुंगलस्थित कुनै बेला बल्खु खोला बगेको ठाउँ अहिले सिप्रदी ट्रेडिङको व्यापारिक कम्पाउन्ड कसरी बन्यो? खोलाको करिब साढे २ रोपनी जग्गा सिप्रदीले आफ्नो कम्पाउन्डमा बिलीन गराएको कथा

व्यक्तिको जग्गामा ‘बलमिच्याइँ’ गर्ने बुढानीलकण्ठ नगरपालिकाको प्रयत्नमा उच्च अदालतको अंकुश
व्यक्तिको जग्गामा निर्मित संरचना नहटाए जनप्रतिनिधिले कैद सजाय भोग्नुपर्ने भएपछि जिल्ला अदालतको आदेशलाई चुनौती दिँदै नगरपालिका उच्च अदालत पुगेको थियो। तर उच्चले जिल्लाकै आदेशलाई सदर गरिदियो।

पप्पु कन्स्ट्रक्सन संलग्न कमला पुलः निर्माणमै ‘कैफियत’, बजेट सकियो पुल चलेन
ठूला ठेक्कापट्टामा विवादित कम्पनी पप्पु कन्स्ट्रक्सन संलग्न कमला नदीको पुल निर्माणमा त्रुटिपूर्ण डिजाइनसँगै थुप्रै कैफियत देखिन्छन्। परिणाम, सिरहा र धनुषा जोड्ने पुल १३ वर्षदेखि सपनामै सीमित छ।

अर्थ–बजार

सार्वजनिक यातायातमा ईभीः चालक भन्छन्– आम्दानी बढ्यो, चार्जिङ स्टेसनकै कमी
काठमाडौँ उपत्यकाभित्र छोटो दूरीमा मात्र नभई आसपासका जिल्लासम्म जाने मध्यम दूरीमा पनि ईभीको प्रयोग बढिरहेको छ। भन्सार विभागको तथ्यांकले समेत यस्ता विद्युतीय माइक्रोबसको आयात बढेको देखाउँछ।

कमजोर कम्पनीको शेयर मूल्य किन अस्वाभाविक वृद्धि हुन्छ?
चुक्तापुँजी कम रहेका कम्पनीको शेयर संख्या कम हुन्छ। एउटा व्यक्ति वा समूहले ठूलो परिमाणमा शेयर खरिदबिक्री गर्दा मूल्य नियन्त्रित हुन्छ। पछिल्लो समय कतिपय कम्पनीको शेयर मूल्य यसरी अस्वभाविक बढेको छ।

नेप्से पुनर्संरचना प्रस्ताव ९ महिनादेखि अर्थ मन्त्रालयमा, तीन मन्त्री फेरिए तर बढेन प्रक्रिया
नेप्सेले सर्वसाधारणलाई आईपीओ जारी गर्नेदेखि रणनीतिक साझेदार भित्र्याउने योजनासम्मको पुनर्संरचना प्रस्ताव अर्थ मन्त्रालय पठाए पनि त्यसको कार्यान्वयनमा सरकारले इच्छा देखाएको छैन।

विचार-टिप्पणी

परराष्ट्रमन्त्रीको परदेशमा सम्मान, अनेकन अनुमान
भारतले वर्तमान गठबन्धनसँगै सहकार्य गर्न चाहेको हो वा उच्च महत्त्वसाथ कांग्रेसलाई उचालेर ओलीलाई पछार्न खोजेको हो यकिन गर्न उनले भारत भ्रमणको निम्तो कति चाँडै पाउँछन् भन्नेबाट सटिक अनुमान गर्न सकिएला।

दिगो विकास: गफै मात्रै कि कार्यान्वयन पनि?
नदी र नदीजन्य खानीको अव्यवस्थित उत्खननले प्राकृतिक कुरूपता मात्रै बढाएको छैन, भूक्षय र अन्य प्राकृतिक विपत्तिलाई पनि सहज आमन्त्रण गरिरहेको छ।

एआई: सजिलो रोज्दा सिर्जनात्मकता मासिँदै!
कृत्रिम बुद्धिमत्तामाथि धेरै भर परिरहँदा कतै हामी सिर्जनशीलता र खोजको अन्तर्निहित मानवीय क्षमता/स्वभाव मेसिनलाई समर्पण गर्दै त छैनौँ?

कमरेड अलपत्रले भोगेको युद्ध
उहिले मारीखोला र लुङरीखोलाबीच भयंकर लडाइँ भयो। लुङरीले जित्यो, मारी हार्‍यो। ‘मा’ भनेको हार्नु, ‘री’ पानी। अर्थात् हारेको पानी। क. अलपत्र त्यही मारीखोलाको ढुंगो भए, जस्तो पार्टीले नाम राखिदिएको थियो।

कला-जीवन

वादेमा पहिलो पटक युवाले गुञ्जाए बुकि धाँ
बाजा खलका अगुवा स्वर्गीय तरिबाबु देशारलाई गुँलापर्वमा बुकि (स्तोत्र) पाठ गर्ने अन्तिम इच्छा थियो। उनका समकालीन साथी र युवाले यो सालको गुँलापर्वमा बुकि–बाजाले चापागाउँ (वादे) लाई गुल्जार बनाएका छन्।

टीकाभैरवदेखि लगनखेलसम्म आइपुग्ला त राजकुलो!
ललितपुर महानगर र गोदावरी नगरपालिकामा पर्ने राजकुलो पुनर्निर्माण प्रक्रियाबारे यी दुई स्थानीय तहबीच विवाद छ। राजकुलोलाई सांकेतिकरूपमा पाइपमार्फत ल्याउने ललितपुरको योजनामा गोदावरीका पदाधिकारी असहमत छन्।

गिरीले देखेको भुटान चित्कार–जनरव फिराद!
लेखक एनबी गिरीले संकलन गरेका त्यस्ता झण्डै एक सय नामको सूचिमा भूगोल र मानचित्रसँगको ठाडो हेराफेरी देख्न सकिन्छ। जस्तै, न्यौपाने बस्ती ‘डेछेन्लिङ्ग’ अनि काफ्लेटार ‘नोर्बुथाङ येन्चेन्फु’ बनेको छ।

नागांचामा भेटिनेछन् टेड रिकार्डी
अमेरिकी प्राध्यापक थियोडोर टेड रिकार्डीले संकलन गरेका नेपाल सरोकारका पाँच हजारभन्दा बढी पुस्तक भक्तपुर आइपुगेका छन्, अब बन्दैछ ‘टेड रिकार्डी’ कक्ष।

विश्व

टेलिग्रामका सीईओ पक्राउ, २० वर्षको जेल सजाय हुनसक्ने
रुसीमूलका पावेल दुरोभले सन् २०१३ मा टेलिग्राम स्थापना गरेका थिए। छोटो समयमा चर्चा बटुलेको टेलिग्रामका सीईओ दुरोभ किन पक्राउ परे?

जलवायु परिवर्तनले चक्रवात वृद्धि : अध्ययन
डब्ल्यूडब्लूएले मानव सिर्जित जलवायु परिवर्तनका कारण हावाको गति सात प्रतिशत वृद्धि भएको तथा वर्षा पनि बढेको निष्कर्ष निकालेको छ।


सम्बन्धित सामग्री