मनसुन भित्रिएदेखि देशका प्राय: सबै भू–भागमा अविरल वर्षा भइरहेको छ। अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायत मनसुनजन्य विपद्मा परी शुक्रबार दिउँसोसम्म १९५ जनाको मृत्यु भएको प्रहरीको तथ्यांक छ। विपद्मा परी उपत्यकामा तीन, कोशीमा २७, मधेशमा आठ, बागमती ३६, गण्डकीमा ५६, लुम्बिनीमा ३७, कर्णालीमा १३ र सुदूरपश्चिममा १५ जना मृत्यु भएको हो।
यसैगरी गत शुक्रबार सोलुखुम्बुको खुम्बुको थामेखोलामा एक्कासि ठूलो बाढी आउँदा थामेगाउँका १३ घर बगे, १० वटा घरमा आंशिक क्षति पुग्यो। जलवायु परिवर्तनका कारण विश्वका विभिन्न भागमा बाढी, पहिरो, हुरी, आदिजस्ता प्राकृतिक प्रकोपका घटना बढिरहँदा थामेको बाढीलाई विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले पनि ‘ग्लेसिअल लेक बर्स्ट’ भनेर स्थान दिएका थिए। अगाडि उल्लेख भएअनुसार थामेखोलाको मुहानमाथि रहेको एउटा वटा सानो हिमताल विस्फोट भएर अर्कोमा मिसिएर बाढी आउँदा यो क्षति पुगेको हो।
बाढीका कारण विद्यालय भवन, स्वास्थ्य क्लिनिक तथा होटल लगायतका संरचना क्षतिग्रस्त भएका थिए। बाढीले दूधकोशी नदीको तल्लो तटीय क्षेत्रका बस्तीसमेत जोखिममा पारेको थियो। यस घटनाले विस्फोटको खतरामा रहेका ठूला हिमतालले भविष्यमा निम्त्याउन सक्ने खतराको घण्टी बजाएको वातावरण क्षेत्रका जानकारले बताएका छन्।
सम्बन्धित: हिमताल विस्फोट पछि के होला खुम्बु क्षेत्रको पर्यटन?
शुक्रबार फुटेको हिमताललाई यसअघि विस्फोटको खतराको सूचीमा राखिएको थिएन। विस्फोटपछि सबै पानी निस्केर बाहिर गएको देखिने तल्लो तालको आकार विस्फोट हुने दिन ०.०५०४ वर्ग किलोमिटर रहेको भूउपग्रह तस्वीर विश्लेषणका आधारमा पत्ता लागेको छ। त्यहाँबाट बाहिरिएको पानीको परिमाण कति थियो भन्ने यकिन नभए पनि क्षेत्रफलका आधारमा च्छो रोल्पा ताल उक्त तालभन्दा करिब ३० गुणा ठूलो छ।
यसै हप्ता उकालोमा दुबईको जेलमा २१ वर्षदेखि नेपाल फर्कने दिन पर्खिरहेका अमरबहादुर बमको कथा प्रकाशन भएको छ।
अमर बमलाई दुबईको अदालतले मृत्युदण्ड दिएको २१ वर्षसम्म फैसला कार्यान्वयन नगरी जेलमा राखिएको छ। आफू निर्दोष भए पनि फर्किन नपाएको पीडा उनी फोनमार्फत परिवारसँग पोखिरहन्छन्। तर आस मारेका छैनन्। पढ्नुहोस् अमर बमको कथा।
अन्त्यमा, नीति बनाउँदा उदार, तर ठीक उल्टो व्यवहार गर्ने नेताहरूको प्रवृत्तिले राज्यका संयन्त्रमा वर्षौंदेखि जसले वर्चश्व जमाएको थियो, त्यही वर्ग र समुदायको पकड देखिएको भन्दै आलोचना हुन थालेको छ। नेपाली राजनीतिज्ञ आफैँले ‘ल्याएको’ समावेशीता उनीहरूले नै कसरी सिध्याइरहेका छन् भन्नेबारे स्टोरी– समावेशिता: जसले ल्याए उनैले सिध्याए।
अब अन्य महत्त्वपूर्ण हेडलाइन।
उकालो सेन्ट्रल
भैरहवामा सार्वजनिक जग्गा दुरुपयोग गर्ने व्यापारीलाई कारबाही गर्न नगरपालिकाको आलटाल
सिद्धार्थनगर नगरपालिका–६ को बालउद्यान सञ्चालनको जिम्मा लिएको कम्पनीले त्यहाँ होटल र महेन्द्र सभागृह भाडामा लिएको कम्पनीले ‘पार्टी प्यालेस’ चलाइरहँदा पनि अनुगमन तथा कारबाही हुन सकेको छैन।
व्यापारी रूप ज्योतिको नाममा पुर्याइएको सार्वजनिक जग्गा: धाकधम्कीले हच्केका स्थानीय फेरि जुर्मुराए
एकान्तकुनास्थित कमलपोखरीको सार्वजनिक जग्गा व्यक्तिको नाममा पुर्याइएपछि विरोधमा उत्रेका स्थानीय बासिन्दा भू–माफियाको धम्कीले हच्केका थिए। उनीहरू कमलपोखरी पुरानै अवस्थामा फर्काउन फेरि सक्रिय भएका छन्।
देश-समाज
मइन्टोलको उज्यालोमा पढाइ शुरू भएर देशकै ठूलो आंगिक क्याम्पस बनेको ‘पीएन’
सानो छाप्रोबाट शुरू भएको पीएन कलेजको संरचना यसको ख्यातीसँगै ७२१ रोपनी क्षेत्रफलमा फैलिएको छ। जम्मा ३० जना विद्यार्थी भर्ना लिएर थालिएको क्याम्पसमा अहिले ११ हजार विद्यार्थी छन्।
वैदेशिक रोजगारीमा दक्ष श्रमिक : अभिलेखमा संख्या ठूलो, यथार्थमा अपत्यारिलो
विभागको तथ्यांकले दक्ष श्रमिकको संख्या अनुपातमा बढी देखाउँछ। तर यो तथ्यांक बजारको माग र आपूर्तिअनुसार मेल नखाएको भर्खरै सरकारले विज्ञ टोलीमार्फत बनाएको आप्रवासन नीतिको मस्यौदामै उल्लेख छ।
वित्तीय अपराध अनुसन्धान गर्न प्रहरीमा अलग्गै ब्युरो
पछिल्लो समय अचाक्ली बढेका सहकारी ठगीदेखि सुन तस्करी र बैंकिङ कसुरदेखि अनलाइन ठगीसम्मले यस्तो दबाब बढाए कि त्यसबारे अनुसन्धान गर्न प्रहरीले बेग्लै वित्तीय ब्युरो स्थापनाको तयारी अघि बढाएको छ।
दलीय स्वार्थको दलदलमा त्रिवि
आफ्नो मान्छेलाई नियुक्ति दिलाउन चाहने समूहले पदाधिकारीलाई ‘सिध्याउने’ धम्की दिएको छ। गुण्डागर्दी शैलीमा धम्की आएको भन्दै साउन ३२ गतेदेखि विश्वविद्यालयका पदाधिकारीहरू कार्यालयमा अनुपस्थित थिए।
अर्थ सरोकार
‘लघुवित्त संस्थाका ऋणीहरूलाई खाँदै नखाएको ऋण तिर्न ताकेता’
लघुवित्तहरूले लिँदै नलिएको कर्जा रकमसमेत कतिपय ऋणीहरूको नाममा बक्यौता देखाएको अर्थ मन्त्रालयद्वारा गठित कार्यदलको प्रतिवेदनले औँल्याएको छ।
प्रहरीमा ३० वर्षे सेवा अवधिबारे सर्वोच्चको आदेशले ल्याएको हलचल
सर्वोच्च अदालतले ३० वर्षे सेवा अवधि कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेशले प्रहरीमा जस्तो हलचल ल्याएको छ, राजनीतिक नेतृत्व इमानदार बनेमा यसले प्रहरी गिजोल्ने बाटो सधैँलाई बन्द गरिदिन सक्छ।
कला-जीवन शैली
अक्वारियमका रंगीन माछाः सोखसँगै मानसिक तनाव घटाउने उपाय
शहरी क्षेत्रका घर तथा कार्यालयमा रंगीन माछाका अक्वारियम प्रशस्तै देखिन्छ। यस्ता माछा पाल्ने सोख पूरा गर्दा मानसिक तनाव पनि हट्ने मनोविद्हरू बताउँछन्। अक्वारियममा कस्ता माछा पाल्ने, कति मूल्य पर्छ?
मीनबहादुर में क्या है?
कवि मीनबहादुरजीलाई जुन कुराले पोल्छ, जुन घटनाले मनमा तरंग ल्याउँछ, त्यही भावहरूले कविता कोर्न बाध्य बनाउँछ। उनलाई कविता कोर्न बाध्य बनाउने विषय जीवनमा देखिएका विसंगति हुन्।
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले मनाए गाईजात्रा: तस्वीरहरू
यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायले आफ्नो अधिकार र पहिचानका लागि भन्दै गाईजात्रामा गौरव यात्रा आयोजना गरेका छन्।
विचार-टिप्पणी
निःसन्तान दम्पतीको मनोसामाजिक संघर्ष
विश्व स्वास्थ्य संगठनले सन् २०२४ को मे २२ मा सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभर प्रजनन उमेर समूहका ६ मध्ये १ जना व्यक्तिले निःसन्तानपनको सामना गरिरहेका छन्।
‘ट्रम्प–हेरोइन’ले लट्ठिएका उपराष्ट्रपतिका उम्मेदवार जेडी भ्यान्स
यहाँ राजतन्त्रवादी व्यक्ति कुनै बेला गणतन्त्रवादी भइदिन सक्छ। धर्मनिरपेक्षताको गीत गाउँदागाउँदै कोही हिन्दूवादी या अर्को धर्मको सर्वोच्चताको वकालत गरिदिन सक्छ।
सामाजिक न्यायका अभियानको ‘इन्टरसेक्सनल’ समीक्षा
आफ्नो ‘प्रिभिलेज’ मनन गर्दै सीमान्तकृत आवाजको उठान गर्नु बहुआयामिक पुँजीमा पहुँच भएकाको नैतिक जिम्मेवारी हो, त्यसो गर्नु तिनको उदारता होइन।
विश्व
रुसपछि युक्रेन जाँदै भारतीय प्रधानमन्त्री मोदी, युद्धका बीच यी भ्रमणको अर्थ के?
भारतीय प्रधानमन्त्री मोदी अगस्ट २३ मा युक्रेनको भ्रमणमा जाँदैछन्। मोदीको यस भ्रमणले रुसलाई 'चिढ्याउन' सक्ने आलोचना पनि भइरहेको छ।
‘रिक्लेम द नाइट’ : कोलकाता घटनाले पुनर्जागृत गराएको अभियान
भारतको कोलकातास्थित एक मेडिकल कलेजमा हालै एक प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या भयो। उक्त घटनापछि चर्किएको विरोध प्रदर्शनमा जोडिएको अभियान ‘रिक्लेम द नाइट’ के हो?
इजरायल पुगेका अमेरिकी विदेशमन्त्री ब्लिन्केनले भने– युद्धविरामका लागि ‘सम्भवतः अन्तिम’ मौका
गाजामा युद्धविरामका लागि दबाब दिन इजरायल पुगेका ब्लिन्केनले युद्ध अन्त्यका लागि जारी वार्ता सहमतिमा पुग्ने ‘सम्भवतः अन्तिम’ अवसर भएको बताएका छन्।