सप्ताहको सार खुशीको खबरबाट। एउटा समूहको अथक प्रयास र परिश्रमपछि नेपाल भाषा अब ‘गुगल ट्रान्सलेट’मा उपलब्ध भएसँगै अन्य राष्ट्रिय भाषासरह नेपाल भाषाको पनि गुगल अनुवाद हुने भएको छ। यो उपलब्धि हासिल गर्नका लागि विश्वका विभिन्न भागमा बस्ने नेवार समुदायका प्रतिनिधिले तीन वर्ष मिहिनेत गरेका थिए।
अमेरिकामा रहेका उज्ज्वल राजभण्डारीका साथै विश्वभर छरिएर बसेका नेवार समुदायको साढे तीन वर्ष लामो प्रयासपछि गत जुन महिनादेखि औपचारिक रूपमा गुगलमा नेपाल भाषा अनुवादको सुविधा प्रयोगमा आउन थाल्यो। त्योसँगै अंग्रेजीबाट नेपाल भाषा र नेपाल भाषाबाट अंग्रेजीमा मात्र नभई विश्वका अन्य २५० भाषामा समेत नेपाल मण्डलमा विकसित यो भाषा अनुवाद हुने भएको छ। यो सफलतामा उज्ज्वलजस्ता नेवारी डायस्पोराका हजारौँ योगदानकर्ताको सपना जोडिएको छ, जसलाई उनिहरु एक महत्वपूर्ण ‘सोसल इभेन्ट’को संज्ञा दिन्छन्।
यसका साथै उकालोमा यो हप्ता संसद्मा बज्ने तालीबारे स्टोरी प्रकाशन भएको थियो। बेलायतको संसद्मा प्रतिक्रियाका भिन्न स्वरूपका बीच सभाहलभित्र कसैको समर्थनमा ताली बजाउनचाहिँ छुट नभएको दृष्टान्तबाट शुरू भएको स्टोरीले नेपाली संसद्मा तालीको अर्थबारे रोचक कथा बताएको छ। संघीय संसद्का दुवै सदनका सदस्यले बाध्यताले पनि ताली ठोक्नुपर्ने अवस्था छ।
जस्तो कि नीति तथा कार्यक्रम वा बजेट पारित हुँदा सत्तापक्षका सांसदले मन नपरे पनि ताली बजाउँछन्, विपक्षी सांसद मौन बस्छन्। नेपालको संसदीय परम्परा बेलायतबाट प्रेरित भए पनि संसद्मा सुनिने तालीका सन्दर्ममा खास नियम छैन। ताली बजाउन पाइने, नपाउने वा कतिबेला पाइने भन्ने सन्दर्भमा नियमावली मौन छ। यो सांसदहरूको स्वविवेकमा भर पर्छ। सभामा कसैको भाषणलाई समर्थन गर्नुपर्यो भने उनीहरू ताली बजाउँछन् वा अगाडिको टेबलमा हातले ठोकेर ‘ढ्याप ढ्याप’ पार्छन्।
विस्तृत पढ्नुहोस्: संसद्मा बज्ने ताली : कहिले अर्थ, कहिले व्यर्थ
यसैगरी ‘महिलालाई घरेलु काममा जान अझै प्रतिबन्ध, किन सुल्झिँदैन उल्झन?’ स्टोरीमा वैदेशिक रोजगारीको सन्दर्भमा महिलालाई घरेलु काममा जाने प्रतिबन्ध नखुल्दाका समस्याका बारेमा वर्णन गरिएको छ। आठ वर्षअघि संसदीय समितिले गरेको निर्णयले घरेलु महिला श्रमिकका रूपमा वैदेशिक रोजगारीमा जाने बाटो नै बन्द गरिदियो जुन अहिलेसम्म खुल्न सकेको छैन। उक्त प्रतिबन्धले मानव बेचबिखनको जोखिम बढाएको छ। एजेन्टले नेपालबाट भिजिट भिसामा लगेर घरेलु कामदार आपूर्तिकर्ता कम्पनीहरूलाई बेच्ने गरेको पनि पाइएको छ।
स्टोरीका अनुसार नेपाल प्रहरीको मानव बेचबिखन तथा अनुसन्धान ब्युरो बबरमहलको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ देखि अहिलेसम्म भारतबाहेकका मुलुकबाट बेचबिखनमा परेका २९२ जना महिलालाई उद्धार गरी स्वदेश फर्काइएको छ। बेचबिखनको ग्राफ ह्वात्तै बढेको देखाउन पछिल्लो दुई वर्षको तथ्यांक नै पर्याप्त छ।
अर्कोतर्फ, यूएईले नेपालबाट श्रमिक लिन जोडबल भने गरिरहेको छ। मुख्य विषयमा सम्झौता हुन सके अरू देशभन्दा यूएईमा चाँडै घरेलु श्रमिक पठाउन सकिने श्रम मन्त्रालयका अधिकारीहरू बताउँछन्।
सरकारको कमजोर अध्ययन र त्यसले निम्त्याएको अलमल, संसद्मा तालीको महत्त्व र नेपाल भाषाको गुगल ट्रान्सलेटमा एन्ट्रीको ब्रिफिङपछि अब साताका अन्य प्रमुख हेड्लाइन:
देश–समाज
अनुत्पादक सभाहल बनाउन सिध्याइयो साढे ९ अर्ब: न चल्छन्, न आफ्नै खर्च धान्छन्
केही वर्षअघि संघ, प्रदेश र स्थानीय तहले भ्युटावर ठड्याउन ठूलो बजेट खर्चिन्थे, अहिले उनीहरू सभाहल र प्रदर्शनीस्थलतिर लागेका छन्। निर्माण भएका, भइरहेका र हुँदै गरेका यस्ता सभाहलमा १५ अर्ब खर्च हुँदैछ।
सामुदायिकमा अब्बल माछापुच्छ्रे मावि, विद्यार्थीले पनि गर्छन् शिक्षकको निगरानी
माछापुच्छ्रे माविको शिक्षण विधि मात्र होइन अतिरिक्त क्रियाकलाप गर्ने शैली पनि फरक छ। अतिरिक्त क्रियाकलापकै लागि हरेक शिक्षक आफ्नो जन्मदिन विद्यालयको ‘जन्मदिन कोष’मा हजार रुपैयाँ दान गरेर मनाउँछन्।
सहकारीमा १ करोड ३६ लाख बचत थियो, उपचार गर्न ५ लाख नहुँदा गयो राजेन्द्रको ज्यान
स्थापित विगत १६ महिनादेखि सहकारीविरुद्ध आन्दोलन, धर्ना र अनशनमा आवद्ध थिए। लगातारको संघर्षका कारण पनि स्वास्थ्य अवस्था बिग्रँदै गएको उनका सहयोगीहरू बताउँछन्।
०७२ को विद्रोह: उत्कर्षमा पुग्यो, निष्कर्ष दिएन
संविधान जारी हुनुअघिको असन्तुष्टि र आक्रोशले मधेशमा सल्काएको ‘आन्दोलनको आगो’ संविधान आइसकेपछि पनि महिनौँ बलिरह्यो। त्यसबीच देशले नाकाबन्दी बेहोर्यो। तर अन्तमा उपलब्धिबिनै आन्दोलन सेलाउन पुग्यो, कसरी?
उकालो सेन्ट्रल
बाँसबारीको सरकारी जग्गा खाली गर्न चाँदबागलाई काठमाडौँ महानगरको ७ दिने ‘अल्टिमेटम’
चौधरी ग्रुपले हडपेको बाँसबारीको १० रोपनी सरकारी जग्गा सरकारको नाममा फिर्ता ल्याउने निर्णयविरुद्ध सर्वोच्चमा दायर दुई मुद्दा विचाराधीन रहँदा काठमाडौँ महानगरले जग्गा खाली गर्न ७ दिनको समयसीमा तोकेको छ।
अध्यक्षको लापर्बाहीले निगम धराशायी बन्दै, इटलीमा विमान र इजरायलमा इन्जिन अलपत्र पर्नुमा नेतृत्व जिम्मेवार
‘सी–चेक’का लागि लगिएको विमान ५० दिनदेखि इटलीमा थन्किँदा करिब ७५ करोड आम्दानी गुम्नुमा निगम नेतृत्व जिम्मेवार रहेको छानबिनको निष्कर्ष छ। मर्मतमा लगिएको ए३२० को इन्जिन पनि एक वर्षदेखि इजरायलमा अलपत्र छ।
पर्यावरण-सम्पदा
ढुंगाखानीले गाउँ नै पहिरोको जोखिममा, स्थानीयको गुहार सुन्दैन सरकार
ललितपुरको गोदावरी–७ देवीचउरमा ठूलो क्षेत्रफलको सार्वजनिक जग्गासमेत अतिक्रमण गरी सञ्चालित ढुंगाखानीका कारण बस्ती नै पहिरोको जोखिममा परेपछि स्थानीयले विभिन्न निकाय गुहारे पनि कारबाही भएको छैन।
विश्वसम्पदा लुम्बिनी : कसरी पुग्यो खतराको सूचीमा
यसपटक विश्वसम्पदाको खतरा सूचीमा पर्नबाट जोगिएको लुम्बिनी कुनै पनि बेला फेरि त्यो खतरामा पर्ने सम्भावना टरेको छैन।
विचार-टिप्पणी
नयाँ सेनाप्रमुख, पुरानै कुरा
परिस्थितिले अशोकराज सिग्देल अर्को कुलबहादुर खड्का बन्ने नियतिमा पुग्न सक्थे। तर उनको ‘भाग्य’ यति बलियो भइदियो कि नचिताएको प्रधानसेनापति पद नै जुर्यो। उनको खास परीक्षा भने अब शुरू हुँदैछ।
जब मानिसले सोच्न शुरू गर्यो…
महिलाहरूको इतिहास नलेखिको मात्र होइन, उनीहरूको अनुभव र भोगाइ इतिहासबाट टाढै राखियो। यसरी इतिहास शक्तिशालीको मात्र नभएर शक्तिशाली पुरुषको कथा बन्न पुग्यो।
भुटानी शरणार्थी मामलामा भारतीय ‘पाखण्ड’
भुटानी शरणार्थी, जो अझै आफ्नो देश फर्किन सकिन्छ कि भन्ने आसमा शिविरमा छन्, उनीहरूले एक पटक आफ्ना नेताहरूसँग भविष्यको योजना के छ र अबको संघर्षको मार्गचित्र के हो भनेर सोध्नुपर्ने हुन्छ।
दलितविरुद्ध भ्रमपूर्ण भाष्यको राजनीति
जहाँ दिनानुदिन जातका नाममा दलित मारिन्छन्, छुवाछूतको नाममा पिटिन्छन्, समाजबाटै बहिस्कार गरिन्छ, गैर दलितसँग प्रेम गरेकैले मारिन्छन्। यस्तो समाजलाई हामी मिलेर बसेको समाज भन्न सक्छौँ?
नागरिकको जग्गामाथि राज्यको प्रभुत्वको प्रश्न
राज्यको प्रभाव न्यायपालिकामा समेत रहेका मुलुकमा न्याय र सम्झौताबीच धेरै फरक हुन्न र न्यायालय नै सम्झौतामा जनतालाई चित्त बुझाउन प्रेरित गर्छ।
विश्व
अफ्रिकामा मंकीपक्सको प्रकोप, डब्ल्यूएचओद्वारा विश्वव्यापी स्वास्थ्य आपतकाल घोषणा
यस वर्ष कंगोमा हालसम्म १४ हजारभन्दा बढी एमपक्सका केस पत्ता लागेको र ५२४ जनाको मृत्यु भएको डब्ल्यूएचओले जनाएको छ।
गाजा युद्ध : जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र हातमा च्यापेर रोइरहेका कुमसान
गाजाका अबु अल–कुमसान आफ्ना ३ दिनका जुम्ल्याह सन्तानको जन्मदर्ता प्रमाणपत्र बनाएर फर्किँदै थिए। त्यहीबेला इजरायली आक्रमणमा परेर श्रीमतीसहित उनीहरूको मृत्यु भएको खबर पाए।
आफूमाथि आक्रमणदेखि पुटिन–किमको सम्बन्धसम्म, ट्रम्पले मस्कसँगको अन्तर्वार्तामा के भने?
मस्कले यस अनौपचारिक अन्तर्वार्ताले स्वतन्त्र मतदाताहरूलाई खुला दिमागमा मतदान गर्न सहयोग पुग्ने बताएका छन्। साथै उनले कमला ह्यारिससँग पनि एक्समा बहस गर्ने जनाएका छन्।
खेल
सकियो पेरिस ओलम्पिक, अमेरिकाले जित्यो ४० स्वर्ण (तस्वीरसहित)
यस ओलम्पिकमा अमेरिका र चीनले बराबरी स्वर्ण पदक जितेका छन्। तर अमेरिका पदक तालिकाको शीर्ष स्थानमा रह्यो।
सुपर कपको उपाधि रियल मड्रिडलाई, डेब्युमा एमबाप्पेको गोल
च्याम्पियन्स लिग र ला लिगा विजेता रियलले इटालियन क्लब एटलान्टालाई २–० ले पराजित गर्दै सुपर कपको उपाधि जित्न सफल भएको हो।