Thursday, April 25, 2024

-->

२०७९ फागुन ११, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ फागुन ११ बिहीबार

नेपालमा चुलिएको विदेशी चासो
पछिल्ला एक-दुई हप्ता नेपाल विदेशी कूटनीतिज्ञहरूको 'हब' बन्न पुगेको छ। सर्वोच्च कार्यकारी चयनको अन्तिम दौरमा रहेका राजनीतिक दलका नेताहरू हिसाबकिताब मिलाउन एकअर्कासँग भेटघाटमा त व्यस्त रहे नै, यसबीचमा उनीहरूले धेरै विदेशी पाहुनाको स्वागत पनि गर्न भ्याए।

राष्ट्रपति निर्वाचनलाई लिएर वर्तमान सत्तागठबन्धनको भविष्यमाथि नै टीकाटिप्पणी भइरहँदा काठमाडौँ ओर्लिएका भारतीय विदेशसचिव र उनका उच्चस्तरीय राजनीतिक भेटघाटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

नेपालको वर्तमान राजनीतिमा उत्तरी र दक्षिणी छिमेकी भारत र चीन को 'स्वाभाविक' चासो त रह्यो नै, डिसेम्बरदेखि फेब्रुअरीका बीच दुई वरिष्ठ अमेरिकी कूटनीतिज्ञको नेपाल भ्रमणले पनि केही प्रश्नहरू उब्जाएका छन्।

यसै सन्दर्भमा, विदेशी कूटनीतिज्ञहरूको सरकार बनाउने, टिकाउने र ढाल्नेसम्मको 'सूक्ष्म व्यवस्थापन' र राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा चुलिएको छिमेकीहरूको चासो र सक्रियताबारे दिपा दाहालको रिपोर्ट: राष्ट्रपति निर्वाचन ‘प्रभावित गर्ने’ दौडधुपमा छिमेकका दूतहरू

यसपालि सरकार निर्माणका बेला पनि नदेखिएको उनीहरूको रुचि राष्ट्रपति निर्वाचनमा देखिएको छ। यसले प्रमुख कार्यकारीभन्दा पनि ज्यादा महत्त्व छिमेकीहरूले संवैधानिक राष्ट्र प्रमुखलाई किन दिइरहेका छन् भन्ने प्रश्न उब्जाएको छ।

ह्याप्पी बर्थडे टू यू केपी ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्माको जन्मदिन उनका समकालीन नेताहरूको भन्दा बढी चर्चित हुने गरेका छन्।

२०७४ सालमा उनले आफ्नो जन्मदिनभन्दा केही दिनअघि मात्र प्रधानमन्त्रीका रूपमा शपथ लिएका थिए भने, त्यसलगत्तैका वर्षहरू कहिले जन्मथलो तेह्रथुम पुगेर, नेपालको नक्सा आकारको केक काटेर, कहिले रूख रोपेर, कहिले फूल साटेर, कहिले बालुवाटार त कहिले बालकोटमा मनाए।

यो साल पनि भूतपूर्व प्रधानमन्त्री ओली जन्मदिनको अवसरमा आयोजित धेरै कार्यक्रममा व्यस्त रहे। बिहानदेखि उनलाई शुभकामना दिन उनको निवासमा पार्टी कार्यकर्ता तथा शुभेच्छुकको आउजाउ चलिरह्यो।

व्यस्तताको बीच केही समय निकालेर उनी उनको जन्मदिनको अवसर पारेर शुरू गरिएको 'केपी ओली कप २०२३' राष्ट्रिय फुटबल प्रतियोगिता उद्घाटन गर्न सातदोबाटोको एन्फा कम्प्लेक्स पुगेका थिए।

बालकोट आवासमै आज एक पुस्तक विमोचन कार्यक्रम राखिएको थियो, जहाँ उनले 'फाल्गुण १ हिंसा दिवस भएको र उक्त दिनलाई सरकारले जनयुद्ध दिवस भनेर राष्ट्रिय दिवसका रूपमा मनाउने निर्णय गर्नु दुखद भएको' बताएका छन् । (हिंसा दिवसलाई राष्ट्रिय दिवसका रूपमा मनाउनु दुखद : केपी शर्मा ओली)

यसका साथै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले राष्ट्रपति निर्वाचनमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्न नमिल्ने र नहुने पनि बताएका छन्। विकसित राजनीतिक घटनाक्रमका बीच, नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाललाई प्रधानमन्त्रीमा सघाएपश्चात् सरकार र संसद्मा कमाएको बर्चस्व कायम राख्न उनी प्रयासरत छन् भने पछिल्ला केही दिनका राजनीतिक गतिविधिले सत्तागठबन्धनमा रहेका साझेदार दलहरूबीच केही खटपट शुरू भएको संकेत प्राप्त भइरहेका छन्।

‘जसपालाई उपराष्ट्रपति दिन माओवादी सकारात्मक’
जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले आफ्नो पार्टीलाई उपराष्ट्रपति दिन नेकपा (माओवादी केन्द्र) सकारात्मक भएको बताएका छन्।

बिहीबार सिंहदरबारस्थित माओवादी केन्द्रको संसदीय दलमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालसँगको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

छलफलका क्रममा आफूहरूले राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन तथा सरकारको विषयमा धारणा राखेको उनले बताए। प्रधानमन्त्री दाहाल जसपालाई उपराष्ट्रपति दिन सकारात्मक भएको उनले बताए।

राष्ट्रपति निर्वाचनको पूर्वसन्ध्यामा 'जीरो आवर' बैठकहरू जारी
राष्ट्रपति निर्वाचनलाई लिएर नेकपा माओवादी, जनता समाजवादी र एकीकृत समाजवादी पार्टीबीच बैठक सम्पन्न भएको छ। तीन दलको यस बैठकपछि नेपाली कांग्रेससँग पनि छलफल हुने बताइएको छ।

नेताहरूले बिहीबार साँझ बसेको बसेको बैठकले शुक्रबार बिहान ८ बजे कांग्रेससँग छलफल गर्ने गरी बैठक टुंगिएको बताएका छन्। जसपा नेता राजेन्द्र श्रेष्ठले शुक्रबार बिहान नेपाली कांग्रेससमेत सँग छलफल हुने बताएका छन्।

बिहीबार दिनभर जसो प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादवलगायतका नेताहरू सिंहदरबारमा छलफलमा केन्द्रित रहेका थिए। छलफलपछि प्रधानमन्त्रीसहित सबैजसो नेताहरूले राष्ट्रपतिको उम्मेदवारबारे टुंगो लागी नसकेको संक्षिप्त प्रतिक्रिया दिएका थिए।

यसै सन्दर्भमा बिहीबार बिहान भने उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले कांग्रेससहितको पुरानो गठबन्धनलाई ब्युँताउने विषय टुंगोमा पुगी नसकेको बताएका थिए। माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधानमन्त्री श्रेष्ठले सबै राष्ट्रिय राजनीतिक दलहरूसँग छलफल जारी रहेका तर निष्कर्षमा पुग्न नसकिएको बताएका हुन्।

 विचार : ओलीको ‘राजनीति’ले संवेदनशील बनाएको राष्ट्रपति चयन
अहिले अन्य दलको मात्र नभएर अमेरिका र भारतको समेत मुख्य चासो राष्ट्रपतिको पद ओलीको नियन्त्रणमा नजाओस् भन्ने रहेको देखिन्छ। यदि, अहिले ओलीको कुनै उम्मेदवार राष्ट्रपति बने र कुनै समयमा ओली फेरि प्रधानमन्त्री बने भने, सरकार, संसद् र राष्ट्रपति जस्ता संस्था उनको पकडमा हुनेछ।

वर्तमान अवस्थामा राष्ट्रपति निर्वाचनमा भइरहेको खिचातानी र अनिश्चितताको अर्को कारक, प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को व्यक्तिगत उत्प्रेरणा हो।

विगतमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक भूमिका र उनको महत्वाकांक्षाले उब्जाएको शंका-उपशंकाले जटिल बनाएको राजनीति र त्यसको उपजका रूपमा राष्ट्रपति पदका लागि आन्तरिक र भूराजनीतिक खिचातानी हुनुका विभिन्न आयामबारे अजय भद्र खनालको विश्लेषण : ओलीको ‘राजनीति’ले संवेदनशील बनाएको राष्ट्रपति चयन

अन्तर्वार्ता - कांग्रेस नेताहरू हिजो बालुवाटारमा भोट माग्न आउनुभयो, निर्णय केही भएको छैनः शक्ति बस्नेत
राष्ट्रपति निर्वाचनका लागि मनोनयन दर्ता गर्न दुई दिन बाँकी हुँदा दलहरूले उम्मेदवारको टुंगो लगाएका छैनन्। सरकारको नेतृत्व गरिरहेको दल नेकपा माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमतिको प्रस्ताव अघि सारेको छ। माओवादीको यस्तो प्रस्तावकै कारण नेपाली कांग्रेस आफ्नो उम्मेदवारका पक्षमा सहमति जुटाउन मात्र नभई सत्ता गठबन्धन नै फुटाउन पहल गरिरहेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति कांग्रेस नेताहरू र माओवादी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पुरानो पाँच दलीय गठबन्धन पुनः ब्युँताउने सहमति भएको बताइएको छ। तर एमाले गएको पुस १० मा बनेको सत्ता गठबन्धनको सहमतिअनुसार आफूले राष्ट्रपति पाउनुपर्ने दाबी गरिरहेको छ। राष्ट्रपति निर्वाचनको विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका उपमहासचिव शक्ति बस्नेतसँग उकालोका लागि बीपी अनमोलले गरेको कुराकानी  : 'कांग्रेस नेताहरू हिजो बालुवाटारमा भोट माग्न आउनुभयो, निर्णय केही भएको छैन' 

अन्तरराष्ट्रिय : पुटिनवाङ भेट : रुसयुक्रेन युद्धमा चीनको तटस्थता दाबी फिक्का हुँदै गएको टिप्पणी
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ कम्युनिस्ट पार्टीका विदेश मामिला निर्देशक एवं वरिष्ठ कूटनीतिज्ञ वाङ यीबीचको भेटबारे विभिन्न टीकाटिप्पणी भइरहेका छन्। यी दुई नेताको भेटले रुस–चीनबीचको मित्रताको गहिराइको संकेत गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको टिप्पणी छ।

‘युक्रेन युद्ध: मस्कोको भ्रमणले चीनले दाबी गरेको तटस्थता धमिल्यायो’ शीर्षकमा बीबीसीले लेखेको छ, “अन्य देशका नेतासँगको भेटमा लामो टेबलमा टाढै बसेर वार्ता गर्न रुचाउने पुटिन वाङसँग भने हातै मिलाउनसक्ने दुरीमा बसेर कुरा गरे। उनीहरूको बसाइँ, निकटता केलाउँदा गहिरो र आत्मीय मित्रताजस्तो देखिन्थ्यो।“ थप : रुसयुक्रेन युद्धमा चीनको तटस्थता दाबी फिक्का हुँदै गएको टिप्पणी

स्वास्थ्य: जर्मनीबाट आइपुग्यो १५ लाख बुस्टर डोज, प्राथमिकतामा को?
सरकारले कोरोनाविरुद्धको १५ लाख बुस्टर डोज खोप ५५ वर्ष माथिको उमेर समूह, प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, ज्येष्ठ नागरिकहरू र अग्रपंक्तिमा खटिनेहरूलाई लगाउने भएको छ।

‍गत सोमबार कोरोना भाइरस संक्रममणविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) का लागि थप खोप नेपाल आएको थियो।

‘खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)ले कोभ्याक्समार्फत जर्मन सरकारले उपलब्ध गराएको खोप नेपाललाई उपलब्ध गराएको थियो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा. समीरकुमार अधिकारीले पछिल्लो समय कोभिड १९ विरुद्धको १५ लाख डोज खोप उपलब्ध भएको र प्राथमिकताका आधारमा लगाउने कार्य शुरू भएको पनि बताए।

लघुवित्तमा राष्ट्र बैंकको कडाइपछि नेप्सेमा पहिरो
साताको अन्तिम कारोबारको दिन नेप्से परिसूचक उच्च अंकले गिरावट आएको छ। बुधबार नेपाल राष्ट्र बैंकले लघुवित्तलाई निर्देशन दिएका कारण बिहीबार ५७.७४ अंकले गिरावट आएको हो।

राष्ट्र बैंकले लघुवित्त कम्पनीलाई १५ प्रतिशतभन्दा बढी लाभांश दिएमा बढी दिएको लाभांशको ५० प्रतिशत जगेडामा राख्नुपर्ने र १५ प्रतिशत सीएसआर र ३५ प्रतिशत ग्राहक संरक्षण कोषमा राख्नुपर्ने व्यवस्था गरेको छ। बिहीबार ४० भन्दा बढी लघुवित्त कम्पनीको सेयर नकारात्मक सर्किट लागेको छ।

नेप्से परिसूचक ५७.७४ अंकले घटेर २०२२.६४ विन्दुमा झरेको छ। त्यस्तै, सेन्सेटिभ इन्डेक्स ११.९५ अंकले, फ्लोट इन्डेक्स ३.९८ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स ३.९२ अंकले घटेको छ। थप : नेप्से ५७.७४ अंकले घट्यो, ४० बढी लघुवित्तमा नकारात्मक सर्किट


सम्बन्धित सामग्री