Tuesday, April 16, 2024

-->

२०७९ फागुन ९, मंगलबार

आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ फागुन ९ मंगलबार

ओलीको मास्टरस्ट्रोक: माधव नेपाल 'कार्ड'ले फेरि बाजी मार्ने बलियो दाउ
राष्ट्रपतीय निर्वाचनको सन्दर्भमा बन्न र भत्किन खोजिरहेका राजनीतिक समीकरणबीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले फेरि पनि ‘पासा आफ्नो पोल्टा’मा पार्न 'माधव नेपाल कार्ड' अघि सारेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायतका माओवादी नेताहरूले तारनतार सार्वजनिक रूपमा राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार बनाउने बताइरहेका छन्। ओलीले भने पुस १०को बालकोट सहमतिअनुसार माओवादीले एमालेले अघि सारेको उम्मेदवारलाई सघाउनुपर्ने बताइरहेका छन्। कांग्रेससँग सहमति गर्ने अडानबाट माओवादी पछि नहटेपछि एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको चर्चा चलेको छ।

सर्वोच्च कार्यकारी चुनिने प्रक्रिया, त्यसको लक्ष्यको आफ्नो अन्तर्य छँदै छ, आकांक्षीहरूका महत्त्वाकांक्षा छँदै छन्, तर यो एक किसिमले देउवा र ओली बीच 'नेपाली राजनीतिको असली खेलाडी को?' भन्ने प्रतिस्पर्धा हो भन्दा अतिशयोक्ति हुँदैन।

यहाँ एकातर्फ देउवालाई चुनावमा जितेर पनि प्रधानमन्त्री-दौड हारेर तत्कालीन पाँच दलीय समीकरण भताभुंग भएपछि गुमेको साख फिर्ता ल्याउनुपर्ने चुनौती छ। अर्कोतर्फ ओलीलाई लोकतान्त्रिक गठबन्धनलाई सफलतापूर्वक भत्काएर कमाएको वर्चस्व कायम राख्न पर्ने दबाब छ।

हिजोसम्म माओवादीको साथ पाउने आश्वासनले फुर्किएको नेपाली कांग्रेस आज भने ओलीको मास्टरस्ट्रोक पछि झस्किएको छ। अस्तिसम्म सत्ता-गठबन्धनको कुनै पनि बेला अन्त्य हुनसक्छ भनेर चित्त बुझाउन खोजेका ओलीको आत्मविश्वासले पक्कै छलांग मारेको हुनुपर्छ।

आफ्नो पार्टीको उम्मेदवारलाई राष्ट्रपति बन्न नदिन प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र सत्तागठबन्धनकै नेकपा माओवादी केन्द्र निर्णायक पहलमा जुटेपछि सत्तागठबन्धनको प्रमुख घटक नेकपा एमालेको नयाँ रणानीतिबारे विस्तृत: ओलीको नयाँ 'मूभ', माधव नेपाल बन्न सक्छन् एमालेको राष्ट्रपति उम्मेदवार

यता, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति निर्वाचनलाई ‘पावर सेयरिङ’का रूपमा लिने संकेत गरेका छन्। दाङको भालुबांगमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले राष्ट्रपति बन्न आफूलाई ठोस प्रस्ताव नआएको दाबी गरे। तर, उनले आफू के बन्ने भन्नेबारेमा अझै सोचिनसकेको प्रष्ट पारे।

अन्तर्वाता: प्रधानमन्त्री भइसक्नु भएका माधव नेपाल राष्ट्रपति बन्न मिल्दैन: सुवास नेम्वाङ
एमाले अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति चुनावको लागि नेकपा (एकीकृत समाजवादी) अध्यक्ष माधव नेपालको नाम अप्रत्यक्ष रूपमा 'फ्लोट' गरिरहँदा उपाध्यक्ष सुवास नेम्वाङले भने प्रधानमन्त्री भइसकेको व्यक्ति राष्ट्रपति हुन नमिल्ने जिकिर गरिरहेका छन्।

सत्तागठबन्धन दल नेकपा एमाले र माओवादी केन्द्रबीच राष्ट्रपतिको उम्मेदवारका विषयमा सहमति जुट्न सकेको छैन। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित माओवादी नेताहरू राष्ट्रिय सहमतिमा राष्ट्रपतिको उम्मेदवार बनाउने पक्षमा छन्। तर एमाले भने पुस १० गते बालकोटामा सत्तागठबन्धन गर्दा सहमति भएअनुसार आफ्नो पार्टीका उम्मेदवारलाई सघाउनुपर्ने बताइरहेका छन्। माओवादीले राष्ट्रपतिमा कांग्रेससँग पनि सहमति कायम गर्नुपर्ने अडान राखेपछि एमाले अध्यक्ष ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवार बन्न प्रस्ताव गरेको बताइएको छ।

पार्टी एकताको शर्तसहित ओलीले राष्ट्रपतिका लागि नेपाललाई प्रस्ताव गरेको एक नेताले बताए। तर एमाले नेताहरू ओलीले यस्तो प्रस्ताव राखेको औपचारिक रूपमा बताइरहेका छैनन्। राष्ट्रपतिको निर्वाचनको विषयलाई लिएर पार्टीभित्र र बाहिर भइरहेका छलफलबारे एमाले उपाध्यक्ष सुवास नेम्वाङसँग उकालोका लागि दिपा दाहालले गरेको कुराकानी : 'प्रधानमन्त्री भइसक्नु भएका माधव नेपाल राष्ट्रपति बन्न मिल्दैन'

राष्ट्रपति आकांक्षीको सूचीमा महन्थ ठाकुरको एन्ट्री
नेपाली कांग्रेसका रामचन्द्र पौडेल, कृष्ण सिटौला, नेकपा एमालेबाट सुवास नेम्वाङ, अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, आदिको नाम राष्ट्रपति निर्वाचनको मिति नजिक आउँदै गर्दा सम्भावित उम्मेदवारका हिसाबले पालैपिलो चर्चामा छन्। यसैक्रममा मंगलबार लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरको नामले पनि यो सूचीमा ताजा प्रवेश पाएको छ।

उकालोमा मंगलबार बेलुकी प्रकाशित रिपोर्टका अनुसार प्रधानमन्त्रीले राष्ट्रपतिमा साझा उम्मेदवारको खोजी गरिरहेका बेला लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले पार्टी अध्यक्ष महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन राजनीतिक प्रयास अघि बढाएको छ।

लोसपाका शीर्ष नेताहरूको मंगलबार बसेको बैठकले साझा व्यक्तिका रूपमा पार्टी अध्यक्ष ठाकुरलाई राष्ट्रपति बनाउनुपर्ने निर्णय गर्दै छलफल थाल्ने निर्णय गरेको थियो।

बैठकको निर्णयपछि मंगलबार नै अध्यक्ष ठाकुरसहितका नेताहरू बालुवाटार पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफल गरेका छन्। अध्यक्ष ठाकुरको साथमा राजेन्द्र महतो, शरतसिंह भण्डारी, कार्यकारिणी सदस्य अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्लासहितका नेताहरू प्रधानमन्त्री दाहाललाई भेट्न पुगेका थिए। थप पढ्नुहोस् : महन्थ ठाकुरलाई राष्ट्रपति बनाउन लोसपाको पहल, प्रधानमन्त्रीपछि देउवा र ओलीलाई पनि भेट्दै

राष्ट्रपति निर्वाचन : अहिलेसम्म के भयो, अब के हुँदैछ?
राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्न अब चार दिन बाँकी छ। तर, अहिलेसम्म कुन दलबाट को राष्ट्रपतिको उम्मेदवार बन्ने भन्ने स्पष्ट भइसकेको छैन। बरु, नयाँ–नयाँ ‘कार्ड’ फाल्ने प्रतिस्पर्धामा दलहरू उत्रिएका छन्।

गएको मंसिर ४ गतेको आमनिर्वाचनदेखि अहिलेसम्म आइपुग्दा राजनीतिक दलहरूको एक अर्कासँगको सम्बन्ध र गठबन्धनमा व्यापक परिवर्तन भइरहेको छ। राष्ट्रपतिको निर्वाचनले फेरि दलहरूको आपसी समीकरण नै बदल्न सक्ने सम्भावना बोकेको छ विभिन्न दलका नेताहरू नै बताउँछन्।

त्यसैले नयाँ बन्न सक्ने राजनीतिक समीकरण र राष्ट्रपति निर्वाचनमा विदेशी राष्ट्रहरूको पनि चासो बढिरहेको छ।

राष्ट्रपति निर्वाचनका लागि उम्मेदवारको मनोनयन दर्ता गर्ने मिति नजिकिँदै गर्दा हाल जारी राजनीतिक दलहरूको दौडधुप, विभिन्न घटनाक्रमको विकास, र सम्भावित परिदृश्यबारे बीपी अनमोलको विस्तृत रिपोर्ट : राष्ट्रपति निर्वाचन : अहिलेसम्म के भयो, अब के हुँदैछ?  

उकालो विषेश : ४७ वर्षमा पनि बन्न नसकेको पोखरा बसपार्कको चलखेल–कथा
पोखरामा बसपार्क निर्माणका लागि ४७ वर्षअघि बनाइएको योजना अलपत्र मात्र छैन, बसपार्क बनाउन अधिग्रहण गरिएको २०५ रोपनी जग्गामा चलखेल हुँदा अब ४७ रोपनी मात्र बाँकी छ।

पञ्चायतकालमा प्रक्रिया थालिएको पोखरा बसपार्क निर्माणको काम अझै शुरू हुनसकेको छैन। बसपार्कको लागि अधिग्रहण गरिएको जग्गामा निर्माणको काम हैन, नीतिगत भ्रष्टाचार र अतिक्रमण भएको छ। अधिग्रहण गरिएको २०५ रोपनी जग्गा अब करिब ४७ रोपनी मात्र बाँकी छ। 

पृथ्वी र सिद्धार्थ राजमार्ग जोडिने विन्दु हो, पोखराको पृथ्वीचोक। २०३१ सालमा शंकरराज पाठक गण्डकी अञ्चलको अञ्चलाधीश रहेका बेला पोखरा उपत्यका नगर विकास समितिले यही पृथ्वीचोकमा बसपार्क बनाउने गुरुयोजना तयार पारेको थियो।

बसपार्कका लागि जग्गा प्राप्ति ऐन, २०१८ अनुसार २०३२ फागुन १८ मा राजपत्रमा सूचना प्रकाशित गरी पूर्वमा सेती नदीको डिल, पश्चिममा पृथ्वी राजमार्गबाट विमानस्थल जाने गोरेटो, उत्तरमा पृथ्वी राजमार्ग र दक्षिणतर्फ सेतीगण्डकी चार किल्ला तोकेर २०५ रोपनी जग्गा अधिग्रहण गरियो। 

पोखरामा व्यवस्थित बसपार्क बनाउन भन्दै जग्गा अधिग्रहण त गरियो, तर न जग्गाधनीहरूलाई बेलैमा मुआब्जा दिइयो न निर्माणको काम शुरू भयो। त्यसरी ‘रात रहेर अग्राख पलाउँदै’ जाँदा अधिग्रहण गरिएको जग्गामा सम्बन्धित पदाधिकारीले नै चलखेल शुरू गरे। पोखरा बसपार्कको चलखेलबारे श्याम राना मगरको विस्तृत रिपोर्ट : ४७ वर्षमा पनि बन्न नसकेको पोखरा बसपार्कको चलखेल–कथा

श्रीलंकापछि संकटको बाटोमा पाकिस्तान: नेपालले के पाठ सिक्ने?
आर्थिक संकट खेपिरहेका जनता पाकिस्तान पहिलाजस्तै भइदिए हुन्थ्यो भन्ने चाहन्छन्। धेरै जना पहिलाको पाकिस्तान सम्झन्छन्। तर अहिले महँगी यति बढेको छ कि, दैनिकी कठिन बनेको छ। बजारमा किनमेल प्राय: शून्य छ।

पाकिस्तानमा जस्तै नेपालका अधिकांश सार्वजनिक संस्था घाटामा छन्। पेट्रोलियम पदार्थ पूर्णरूपमा आयात गर्नुपर्छ। तर आयल निगम ठूलो घाटामा छ। समग्र व्यापार घाटा पनि हरेक वर्ष बढिरहेको छ।

पाकिस्तानलाई जस्तै नेपाललाई पनि केही समयअघि सञ्चित विदेशी मुद्राको दबाब सिर्जना भएको थियो। चालु आर्थिक वर्षको शुरूमा नेपालसँग सञ्चित विदेशी मुद्राले करिब साढे ६ महिना मात्र धान्न सक्थ्यो। अहिले, ९.१ महिना धान्न पुग्ने राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।

विदेशी मुद्रा सञ्चितिका लागि नेपाल वैदेशिक रोजगारीमा गएका कामदारले पठाएको रेमिट्यान्समा भर पर्छ। गएको साउनमा रेमिट्यान्स कम आउँदा सञ्चित कोष पनि दबाबमा परेको राष्ट्र बैंकले जनाएको थियो। यसबारे थप : श्रीलंकापछि संकटको बाटोमा पाकिस्तान: नेपालले के पाठ सिक्ने?

समस्या देखिएपछि सौर्यको जहाज पार्किङ–वेमै फिर्ता
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगरका लागि मंगलबार उड्न लागेको सौर्य एयरलाइन्सको जहाजमा समस्या देखिएपछि पार्किङ–वेमै फिर्ता भएको छ। विराटनगर उड्न धावनमार्गनजिकै पुगेको जहाजको इन्डिकेटरले समस्या देखाएपछि फिर्ता भएको बताइएको छ। 

अन्तरराष्ट्रिय : पश्चिमाहरूले रुसविरुद्ध आतंकवादी वा नाजी प्रयोग गर्न सक्छन् : पुटिन
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पश्चिमा राष्ट्रहरूले आतकंवादी, नाजी वा जो कोहीलाई पनि रुसविरुद्धको लडाइँमा प्रयोग गर्न सक्ने बताएका छन्।

रुसले युक्रेनमा आक्रमण गरेको एक वर्ष पुग्नै लाग्दा राष्ट्रका नामका सम्बोधन गर्दै पुटिनले यस्तो बताएका हुन्। यस्तै, पुटिनले युक्रेनको युद्धमा मारिएका सैनिक र कर्मचारीको परिवारलाई सहयोगका लागि विशेष राहतको घोषणासमेत गरेका छन्।

साथै, सम्बोधनका क्रममा उनी शहीद र मृतक रुसी नागरिकको सम्झनामा केहीबरे ‘मौन’ बनेका थिए। उनले आफ्ना नागरिकको साहसको प्रशंसा गर्दै अग्रपंक्तिमा रहेर लड्नेहरूप्रति कृतज्ञता व्यक्त गरे। थप : पश्चिमाहरूले रुसविरुद्ध आतंकवादी वा नाजी प्रयोग गर्न सक्छन् : पुटिन

यसैबीच, चिनियाँ कम्युनिस्ट पार्टीको विदेश मामिला निर्देशक वाङ यी रुस भ्रमणका क्रममा मस्को पुगेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनको आकस्मिक युक्रेन भ्रमणपछि वाङ रुस पुगेका हुन्।

चीनको विदेश नीति सल्लाहकार नियुक्त भएपछि पहिलोपटक विदेश भ्रमणमा निस्किएका वाङको रुस भ्रमणलाई पश्चिमा मुलुकले चासोका साथ हेरेका छन्। थप :  वाङ यी मस्कोमा 

विचार : 'फुड माइल', हाट बजार र जलवायु संकट
जलवायु परिवर्तनका संकेत टड्कारो हुँदै जाँदा 'फुड माइल' (खाद्य पदार्थले पार गर्ने दुरी)बारे चर्चा चल्ने थालेका छन्। कुनै पनि खाद्य उत्पादन भएको ठाउँदेखि उपभोग हुँदासम्मको दुरीलाई फुड माइल भनिन्छ। आजका दिनमा खाद्य दुरीबारे गणितीय हिसाबमा छलफल गर्न उत्तिकै जरुरी छ। खासगरी पृथ्वीको वातावरणबारे चिन्तितहरूबीच खाद्य दुरी घटाउनुपर्छ भन्ने खालका बहस चल्न थालेका छन्। हामीले किन कम दुरीकै खाद्य, अन्न या फलफूल खानुपर्छ त? त्यसको कारण के हो?

एक स्थानबाट अर्को स्थानसम्म सामान लैजान र ल्याउन धेरै ऊर्जासहित स्रोतसाधन खर्च हुन्छ। सम्भव भएसम्म स्थानीय खाद्य या उत्पादन प्रयोग  गर्दा खाद्य पदार्थमा जोडिने कूल लागत घट्छ। उदाहरणका लागि, अमेरिकामा फलेको एउटा स्याउ तीन हजारभन्दा बढी किलोमिटर तय गरेर नेपाल आइपुग्छ। ट्रक, पानीजहाज र फेरि ट्रक तथा साना सवारीसाधन हुँदै बल्लतल्ल हाम्रो घरमा आइपुग्छ। त्यस क्रममा 'प्याकेजिङ'देखि भण्डारणसम्म अनेकौँ चरण पार गर्नुपर्छ। यी सारा प्रक्रियामा धेरै ऊर्जा खपत हुन्छ। खपत भएको ऊर्जामार्फत धेरै कार्बन उत्सर्जन हुन पुग्छ। जसले अन्ततः पृथ्वी, प्राणीलगायत समस्त प्रकृतिलाई नै हानि गर्छ। गरिरहेको छ।

जलवायु परिवर्तनका असर रोक्न हाम्रा भान्छामा के पाकिरहेको छ र त्यो खाना भान्छासम्म आउने क्रममा त्यसले कति दुरी तय गरेको छ? सौरभ ढकालको विचार: 'फुड माइल', हाट बजार र जलवायु संकट


सम्बन्धित सामग्री