Thursday, April 18, 2024

-->

न्यूजलेटर
२०७९ फागुन ४, बिहीबार

आज बिहीबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ फागुन ४ बिहीबार

सत्तागठबन्धन निरन्तरताको अन्यौलबीच प्रमा दाहाल र एमाले अध्यक्ष ओलीबीच भेट
नेकपा माओवादी केन्द्रका नेताहरूले राष्ट्रपतीय चुनावमा नेपाली कांग्रेसको उम्मेदवारलाई सघाउन सक्ने आशय व्यक्त गर्दै मिडियामा आएका खबरले उब्ज्याएको संशयबीच बिहीबार बिहान प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका बीच भेटवार्ता भएको छ। 

सञ्चारमाध्यमका अनुसार बालुवाटारमा भएको उक्त भेटमा राष्ट्रपति चुनाव वरपर नै छलफल भएको थियो। तर दुवै पक्षका नेताहरूका अनुसार शीर्षस्थ नेताबीच आज भएको छलफल निष्कर्षविहीन भएको छ।

वर्तमान सत्तागठबन्धनको प्रमुख घटक, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंगलबार अनेरास्ववियुको महाधिवेशन उद्घाटन समारोहमा 'गठबन्धन भत्काउन देशभित्र र बाहिरका शक्ति जुरमुराएको' भन्ने अभिव्यक्ति दिएपछि सत्तागठबन्धनको भविष्यलाई लिएर भइरहेका अड्कलबाजी थप तीव्र बनेका छन्। कतिपयले गठबन्धन भत्किने बाटोमा रफ्तारमा अघि बढेको टिप्पणीसमेत गरिरहेका छन्।

आज उकालोडट्कममा प्रकाशित दीपा दाहालको रिपोर्टका अनुसार ओलीको पछिल्लो अभिव्यक्तिले ढिलोचाँडो अहिलेको गठबन्धन भत्किने बाटोमा अग्रसर भएको संकेत गर्छ। कतिपयले त राष्ट्रपति निर्वाचनलाई नै गठबन्धन भत्किने ‘कट अफ डेट’ भनिरहेका छन्।

माओवादीले राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारी गरेको खबरसँगै संकटको डिलमा पुगेको गठबन्धन र त्यसपछिका सम्भावित परिदिष्यबारे विस्तृतमा पढ्नुहोस्:  राष्ट्रपतिमा कांग्रेसलाई सघाउने तयारीमा माओवादी, संकटको डिलमा गठबन्धन

सिलिन्डर विस्फोट हुँदा कांग्रेस सांसद भण्डारी गम्भीर घाइते, उपचारका लागि मुम्बई लगियो, आमा हरिकलाको निधन
ग्यास सिलिन्डर विस्फोट हुँदा गुल्मी–१ का सांसद तथा कांग्रेस नेता डा. चन्द्र भण्डारी गम्भीर घाइते भएका छन् भने घटनामा उनकी आमा ८६ वर्षीया हरिकला भण्डारीको निधन भएको छ।

बुद्धनगरस्थित निवासमा बुधबार राति खाना खाएर सुत्ने बेलामा सिलिन्डर विस्फोट भएको थियो।  भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बईस्थित नेसनल बर्न अस्पताल लगिएको छ ।

बुधबार ग्यास सिलिन्डर विस्फोटबाट घाइते भएका भण्डारी र उनकी आमालाई उपचारका लागि कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको थियो। नेता भण्डारीको थप उपचार यहाँ सम्भव नहुने भन्दै अस्पतालले देशबाहिर पठाउन आग्रह गरेको थियो। यसै क्रममा उनलाई श्री एयरलाइन्सको एयर एम्बुलेन्समार्फत भारतको मुम्बईस्थित नेसनल स्किन बर्न सेन्टरमा लगिएको हो।

ग्रे लिस्ट’मा पर्ने जोखिमपछि हतारमा सम्पत्ति शुद्धीकरण कानून संशोधन गरिँदै
कानूनमन्त्री ध्रुवबहादुर प्रधानले बुधबारको प्रतिनिधिसभा बैठकमा १९ वटा ऐन संशोधन गर्न बनेको विधेयक प्रस्तुत गरे। प्रधानले ती ऐन संशोधनका लागि सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पेस गरेका हुन्।

नेपालले पाँच वर्षअघि नै सम्पत्ति शुद्धीकरण निवारण र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न कानून बनाउने प्रतिबद्धता जनाएको थियो। फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ)सँग गरेको प्रतिबद्धताअनुरूप कानून बनाउन ढिला भइसकेको छ।

यसअघि सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी कानूनी व्यवस्था फितलो हुँदा एफएटीएफले सन् २०१० मा नेपाललाई ‘ग्रे लिस्ट’मा राखेको थियो। नेपालले सन् २०१४ सम्ममा केही कानून बनायो भने बाँकी कानून र संरचना सन् २०१८ सम्ममा बनाइसक्ने प्रतिबद्धता जनाएपछि ग्रे लिस्टबाट हटाइएको थियो। यसबारे रितेश त्रिपाठीको रिपोर्ट: ‘ग्रे लिस्ट’मा पर्ने जोखिमपछि हतारमा सम्पत्ति शुद्धीकरण कानून संशोधन गरिँदै

अन्तर्वार्ता - फौजदारी अभियोग लागेका व्यक्तिबाट संसद्लाई टाढा राख्नुपर्छ: डा. विपिन अधिकारी
फौजदारी मुद्दा लागेर पुर्पक्षका लागि अदालतले थुनामा पठाएकोमा अन्तिम फैसला नगरेसम्म सांसद पद कायमै रहने गरी प्रतिनिधिसभा नियमावली बनाउनुपर्ने विचार केही सांसदले राखेपछि यो विषय विवादित बनेको छ। प्रतिनिधिसभा मस्यौदा नियमावली समितिले नियमावलीलाई अन्तिम रूप दिइसकेको छैन। यही विषयमा उकालोका लागि सुनीता साखकर्मीले संविधानविद् डा. विपिन अधिकारीसँग गरेको अन्तर्वार्ता:  फौजदारी अभियोग लागेका व्यक्तिबाट संसद्लाई टाढा राख्नुपर्छ 

आजका थप हेडलाइन

यात्रुबाहक बस दुर्घटनामा तीनको मृत्यु
नुवाकोटमा भएको यात्रुबाहक बस दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।

बिहीबार दिउँसो विदुर नगरपालिका–४ बट्टारबाट तारकेश्वर गाउँपालिका-१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो। यसबारे थप जानकारी :  यात्रुबाहक बस दुर्घटनामा तीनको मृत्यु

भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य
आईओसीले पेट्रोलको मूल्य यसअघिको तुलनामा प्रतिलिटर १ रुपैयाँ ९७ पैसा तथा डिजेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ ४० पैसा घटाएर पठाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए। त्यस्तै, हवाई इन्धनको मूल्य भने ३ रुपैयाँ ८० पैसा घटेर आएको उनले बताए। थप : भारतले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनीमा संलग्न १५ जना पक्राउ
नेपाल प्रहरीले फागुन १ गते सोमबार नयाँ बसपार्कमा सञ्चालित लोत्से मल तोडफोड तथा चोरी र प्रहरीको गाडी आगजनी घटनामा संलग्न १५ जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले मजदुर आन्दोलनको नाममा प्रहरीको गाडी, प्रहरी पोस्टमा आगजनी र लोत्से मलमा तोडफोड गर्ने १५ जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको हो। लोत्से मल तोडफोड र प्रहरीको गाडी आगजनीमा संलग्न १५ जना पक्राउ

जो जहाँ छ, त्यहीँबाट मतदान गर्न पाउनुपर्छ: दिनेश कुमार थपलिया
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले आफू बसिरहेकै ठाउँबाट मतदान गर्न पाउनेगरी कानून बनाउनुपर्ने बताएका छन्।

इन्स्टाग्राममा युद्धविरोधी पोस्ट गर्ने‍ रुसी युवतीलाई १० वर्ष कैद हुन सक्ने
रुसी नागरिक २० वर्षीया ओलेस्या क्रिभ्त्सोभा इन्स्टाग्राममा युद्धविरोधी पोस्ट गरेकै कारण पक्राउ परेकी छिन्। गत अक्टोबरमा रुसले अतिक्रमण गरेर आफ्नो भूमिमा गाभेको क्रिमियाको एक पुल विस्फोट भएपछि ओलेस्याले “जे भयो त्यसबाट युक्रेनीहरू कति खुशी भए होलान्,” भनेर इन्स्टाग्रामको स्टोरीमा पोस्ट गरेकी थिइन्।

रुसमा सरकारको आलोचना गर्नेहरूलाई राष्ट्रघातीको आरोप लगाएर जेल चलान गर्ने गरिन्छ। यसमा अधिकांश जनताले नै सरकारलाई यस्ता व्यक्तिको बारेमा जानकारी दिने गर्छन् र जेल पठाउने गर्छन्। आलेस्यालाई पनि त्यस्तै भयो। उनलाई आतंकवादलाई प्रश्रय दिएको र रुसी सैन्य बललाई अपमान गरेको आरोप लगाइएको छ। जसमा उनलाई १० वर्षसम्मको कैद सजाय हुन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्। इन्स्टाग्राममा युद्धविरोधी पोस्ट गर्ने‍ रुसी युवतीलाई १० वर्ष कैद हुन सक्ने

'विधेयक ह्याकाथन'
विधेयक ह्याकाथन जनतालाई कानून निर्माण प्रक्रियासँग जोड्ने प्रक्रियाको अवधारण हो। पछिल्ला कार्यान्वयनहरूबाट सिकेर ह्याकाथनमा निरन्तर परिमार्जन गर्न सकिन्छ। नियमहरूद्वारा शासित हुने व्यक्ति र नियम बीचको खाडल हटाउने प्रयास हो यो। यसो गर्दा कानून कार्यान्वयनमार्फत समस्या समाधान गर्न सहज हुन्छ। त्यसैले यो ह्याकाथन एकदम स्पष्ट अभ्यास हो। 'मान्छेको लागि सिद्धान्त' कार्यान्वयन गराउन पनि यसको अभ्यास आवश्यक छ। सुमना श्रेष्ठको विचार : कानून बन्ने प्रक्रियामा जनतालाई सिधै सहभागी गराउने प्रस्ताव : 'विधेयक ह्याकाथन'


सम्बन्धित सामग्री