Wednesday, April 24, 2024

-->

न्यूजलेटर
२०७९ फागुन २, मंगलबार

आज मंगलबार, दिनको अन्त्यसम्ममा देशभर के-कस्ता खबरले हेडलाइन बनाए, छोटकरीमा हेरौँ।

२०७९ फागुन २ मंगलबार

भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन् : केपी ओली
रमाइला किस्सा कहानी र उखान-टुक्का मिश्रित रोचक भाषणका माध्यमबाट सदबहार चर्चामा रहिरहने एमाले अध्यक्ष केपी शर्मा ओलीले सोमबार राजधानीमा आयोजित एक कार्यक्रममाझ देशमा स्थिरता र स्थायित्व हुन नदिनका लागि अनेक प्रकारका षड्यन्त्रहरू भइरहेका बताएका छन्।

मंगलबार अनेरास्ववियुको २३औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले देशभित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील रहेको बताएका हुन्। “भित्र र बाहिरका अनेक शक्तिहरू यो देश बरबाद पार्न क्रियाशील छन्”, उनले भने।

एमाले देशलाई बरबाद पार्नबाट रोक्ने गेटपाले भएको भन्दै उनले सबैभन्दा पहिले एमालेलाई नै प्रहार हुनसक्ने बताए। “यो देश बरबाद पार्न सबैभन्दा पहिले यदि कुनै डाँकाले बैंकमा डकैती गर्नपर्‍यो भने पहिले पालेलाई प्रहार गर्छ। नेकपा एमाले यो देशमा डकैती गर्न नदिने गेटको पाले हो। यसमाथि नहानीकन भित्रै पस्न पाउँदैन। त्यसकारण पहिले यसमाथि प्रहार हुन सक्छ”, उनले भने। पूरा पढ्नुहोस् : भित्र र बाहिरका शक्तिहरू देशलाई बरबाद पार्न क्रियाशील छन्

आफ्टर द मोदी क्वेश्चन : बीबीसीको कार्यालयमा आयकर विभागको 'कारबाही'
भारतको आयकर विभागले मंगलबार ब्रिटेनको राष्ट्रिय प्रसारणकर्ता बीबीसीको नयाँ दिल्ली र मुम्बईमा रहेको कार्यालय परिसरमा 'सर्वेक्षण कारबाही' गरेको छ। बीबीसी कार्यलयमा रहेका कागजातको प्रमाणीकरणका लागि सर्वेक्षणको काम अघि बढाइएको विभागले जनाएको छ ।

उक्त ‘रेड’लगत्तै त्यहाँ कार्यरत एक रिपोर्टरले अन्तर्राष्ट्रिय एजेन्सी एएफपीसँग सम्पर्कमा आउँदै भनेका थिए,  "कार्यालयमा आयकर छापा मारिएको छ, उनीहरूले सबै फोनहरू जफत गरिरहेका छन्।" आयकर विभागका अधिकारीले कारबाहीको क्रममा बीबीसीका केही कर्मचारीलाई अफिस छाडेर घर जाने निर्देशन पनि दिएको थियो।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचनामा आधारित वृत्तचित्र प्रसारित गरेको केही दिनपश्चात् भएको यस सरकारी कारबाहीलाई निकै नै अर्थपूर्ण रूपमा हेरिएको छ। सो वृत्तचित्रमा मोदी गुजरातका मुख्यमन्त्री हुँदा भएको हिन्दु-मुस्लिम दंगा र त्यस्मा उनको भूमिका लगायतका आयामलाई समेटिएको छ। यसबारे थप: बीबीसीका कार्यालयमा आयकर विभागको छापा

मोदीबारेको उक्त वृत्तचित्र प्रसारण गर्न भारतीय सरकारले प्रतिबन्ध लगाएको थियो, जसका बावजूद धेरैले खोजीखोजी निजी तवरमा र स्क्रिनिङ्ग गरेर इन्डिया: द मोदी क्वेश्चन हेरेका थिए। डकुमेन्ट्रीमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचना गरिएकाले बीबीसीमाथि यसप्रकारको कारबाही गरिएको विपक्षी पार्टी कंग्रेसको आरोप छ।

बिजेपीले हाँकेको भारत सरकारको आफ्नो आलोचकमाथि साँधिएको यो पहिलो 'आक्रमण' भने होइन। यसअघि सन् २०२१ को मेमा प्रहरीले दिल्ली र गुरगावँस्थित ट्विटरको कार्यालयमा 'टूलकिट' प्रकरणमा छापा हानेको थियो।          

क्यानको सन्दीप मोह : व्यापक विरोधका बावजूद नाबालिग बलात्कार आरोपीलाई खेलाउँदै
नेपालमा क्रिकेटको अधिकारीक नियामक निकाय नेपाल क्रिकेट संघ (क्यान) नाबलिग बलात्कारजस्तो गम्भीर आरोप लागेका खेलाडी सन्दीप लामिछनेप्रतिको आशक्ति एउटा बुझिनसक्नुको किस्सा बनेको छ।  

घरेलु मैदान कीर्तिपुरमा चालु नामिबिया र स्कटल्यान्डविरुद्ध हुने आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक शृंखलाका लागि लेग स्पिनर लामिछानेलाई नेपाली टोलीमा समेटेको खबरपश्चात् निकै आलोचना खेपेको संघले सबै आलोचनात्मक टीका-टिप्पणीको बेवास्ता गर्दै आरोपितलाई खेलमा स्थान दिएको छ।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा एक नाबालिगलाई बलात्कार गरेको उजुरी परेको थियो, जसपश्चात् भदौ २३ गते काठमाडौँ जिल्ला अदालतद्वारा पक्राउ पुर्जी जारी भएको थियो। सो पुर्जी जारी भएलगत्तै क्यानले उनलाई निलम्बन गरेको थियो।

गत असोज २० गते लामिछने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए। त्यसपछि उनलाई जिल्ला अदालत काठमाडौँले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएको थियो।

तर, पुस २९ गते उच्च अदालत पाटनले सन्दीपलाई २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएलगत्तै पोखरामा बसेको क्यान बोर्ड बैठकले उनलाई राष्ट्रिय टोलीमा बोलाउने र निलम्बन फुकुवा गर्ने निर्णय गरेको थियो।

यता, उच्च अदालतले क्षेत्राधिकार बाहिर गएर धरौटीमा छाडेको भन्दै महान्यायाधिवक्ता कार्यालयले उनलाई थुनामै राख्नुपर्ने माग राख्दै सर्वोच्चमा निवेदन दिएको छ। उनीविरुद्धको बलात्कार अभियोगको मुद्दा जिल्ला अदालत काठमाडौँमा विचाराधीन अवस्थामा रहेको छ। बिस्तृतमा : बलात्कारका अभियुक्त सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीमा समेटिए

यातायात मजदुरको बन्द फिर्ता

यातायात मजदुरले काठमाडौँ उपत्यकामा आह्वान गरेको सार्वजनिक यातायात बन्द फिर्ता लिएका छन्। मंगलबार बिहान भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठसँग सिंहदरबारमा भएको वार्तामा बन्दको कार्यक्रम फिर्ता लिने समझदारी भएको थियो। आन्दोलन फिर्ता भएसँगै उपत्यकामा सार्वजनिक सवारी चल्न थालेका थिए ।

यसबारे थप
सार्वजनिक यातायात नचल्दा आवतजावतमा समस्या (तस्वीरहरू)
सरकारले आन्दोलनरत यातायात मजदुरलाई वार्तामा बोलायो

ट्राफिक जरिबानाको विषयलाई लिएर यातायात मजदुरले सोमबार बालाजु बसपार्क क्षेत्रमा प्रहरीको गाडी तोडफोड गर्नाका साथै आगजनी गरेका थिए।

ट्राफिकले वृद्धि गरेको जरिबानाविरुद्ध नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले आयोजना गरेको आन्दोलनका क्रममा मजदुरहरूले आगजनी तथा तोडफोड गरेका थिए। आन्दोलनकारीले ट्राफिक प्रहरीले सडक व्यवस्थापनमा राखेको डिभाइडर, चोकमा प्रहरी उभिने आइल्यान्डलगायतका संरचनामा समेत आगो लगाइदिएका थिए।

सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, अब ७० अंक ल्याए पास
बागमती प्रदेशमा आजदेखि सवारी अनुमतिपत्र (लाइसेन्स) परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू भएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले आजदेखि प्रदेशका सम्पूर्ण यातायात सेवा कार्यालयमा पहिलोपटक लाइसेन्समा ७० अंक ल्याए पास हुने गरी ग्रेडिङ सिस्टम कार्यान्वयनमा ल्याएको हो।

यही फागुन १ गतेबाटै लागू गर्ने तयारीमा रहेको प्रदेश सरकारले सो  बिदा परेकाले  आजदेखि नयाँ मापदण्ड कार्यान्वयन ल्याएको हो।

मन्त्रालयले मोटरसाइकल, स्कुटर तथा मोपेडका लागि कूल अंकभार एक सय तोकेको छ। यसमा ७० अंक प्राप्त गर्ने प्रशिक्षार्थी अनुमतिपत्रका लागि योग्य मानिने व्यवस्था गरिएको छ। सवारी चालक अनुमति परीक्षा सञ्चालन निर्देशिका २०७७ निर्देशिकाअनुसार मोटरसाइकल, स्कुटर र मोपेड चालकका लागि घुमाउरो आठ (एट आकार) को अंकभार २० तोकिएको छ। दुई पटकसम्म अंकित रेखा छोएमा प्रत्येक पटक पाँच अंकको दरले १० अंकभार घट्नेछ तर, पनि ट्रायल भने फेल भइँदैन। पढ्नुहोस् विस्तारमा : सवारी लाइसेन्स परीक्षामा ‘ग्रेडिङ सिस्टम’ लागू, अब ७० अंक ल्याए पास

भ्यालेन्टाइन्स दिवस विशेष: बजारको पञ्जामा पिल्सिएको प्रेम
'भ्यालेन्टाइन डे' किन र केका लागि दिवसकै रूपमा मनाउन थालियो भन्नेबारे इतिहास केलाउँदा सपाट किसिमका तथ्य भेटिँदैनन्। एक पक्षको दाबी छ: इटलीको टेर्नी इलाकामा भ्यालेन्टाइन नामका लोकप्रिय पादरी-गुरु थिए, जसले जनहितमा काम गर्थे। त्यस समयका रोमन सम्राट् क्लाउडियस द्वितीय युद्ध गर्ने रणनीतिका साथ अघि बढेको हुँदा तिनले राज्यका युवाहरूलाई बिहे नगर्न उर्दी जारी गरेका थिए। तर ती पादरी गुरुले प्रतिबन्धित अवस्थामै धमाधम युवाहरूको विवाह गरिदिए। यसै सन्दर्भमा सम्राट्सँगको भेटमा पादरीले सम्राट्लाई क्रिश्चियन बन्न प्रस्ताव राखेकै कारण सन् २७० फेब्रुअरी १४ मा उनलाई फाँसी दिइएको सम्झना स्वरूप यो पर्व मनाउने प्रचलन चल्यो।

खासगरी युवा पुस्ता मादक पदार्थको कुलतको रमझममा फसेको दुर्व्यसनीझैँ उपभोक्तावादी रंगरसमा अलमलिएको छ। यता राज्यसत्ता भने बेपरवाह सत्ताको 'रट्ठाबट्ठा' मिलाउनमै अभ्यस्त देखिन्छ। पूरा पढ्नुहोस् : बजारको पञ्जामा पिल्सिएको प्रेम

४८ दिनको धर्नापछि रुबी खानसहितका अधिकारकर्मी र सरकारबीच तीनबुँदे सहमति
सरकार र बाँकेकी निर्मला कुर्मीको न्यायका लागि धर्नारत रुबी खानसहितका महिला अधिकारकर्मीहरूबीच सहमति भएको छ। मंगलबार धर्नारत महिला र गृह मन्त्रालयमा भएको छलफलपछि तीनबँदे सहमति भएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)सहितको विशेष टोली गठन गरेर घटनाको शुरूकै अवस्थादेखिको अनुसन्धान गर्ने सहमति भएको खानले बताइन्। उनका अनुसार न्यायिक आयोगको विषय थाँती राख्ने, धर्नारत महिलाहरूको सुरक्षाको प्रत्याभूति गर्नुपर्ने पनि सहमति भएको हो।

यो पनि : बाँकेबाट काठमाडौँ आएर न्यायको लडाइँ लडिरहेकाहरूलाई २४ घण्टा पछ्याउँदा (तस्वीर कथा)

यसअघि २०७८ कात्तिक २ गते र २०७८ पुस २० गते भएका सहमति कार्यान्वयन नभएपछि उनीसहितका महिला तेस्रोपटक काठमाडौँमा आएर धर्ना दिइरहेका थिए। थप बिस्तारमा : रुबी खानसहितका अधिकारकर्मी र सरकारबीच तीनबुँदे सहमति

सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिइँदै, विज्ञ भन्छन्– ‘घातक काम’
संसद्मा दर्ता सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयकमा ठूला सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिने प्रस्ताव गरिएको छ। विज्ञहरू यो घातक कदम हुने, सहकारी नियमनका लागि बेग्लै संरचना बनाउन सकिने बताउँछन्।

सरकारले सहकारीहरूको नियमन गर्ने जिम्मा नेपाल राष्ट्र बैंकलाई दिने कानूनी व्यवस्थाका लागि औपचारिक प्रक्रिया अघि बढाएको छ। कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले शुक्रबार प्रतिनिधिसभामा दर्ता गराएको ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्ड्रिङ) निवारण तथा व्यावसायिक वातावरण प्रवर्धनसम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक २०७९’मा यस्तो व्यवस्था गरेको हो।

विज्ञहरूले सहकारीहरूको नियमन गर्ने जिम्मा राष्ट्र बैंकलाई दिने यस्तो तयारी घातक कदम हुने बताएका छन्। बैंक तथा वित्तीय संस्थाकै प्रभावकारी नियमन गर्न नसकेको भनेर केन्द्रीय (राष्ट्र) बैंकको आलोचना भइरहेका बेला ‘मनी लाउन्डिङ’सम्बन्धी विधेयकमार्फत गर्न लागिएको यस्तो व्यवस्थाले समस्या थप बढाउने उनीहरूको भनाइ छ। थप पढ्नुहोस् : सहकारी नियमनको जिम्मा राष्ट्र बैंकलाई दिइँदै, विज्ञ भन्छन्– ‘घातक काम’

खेलाडी पलायनले संकटमा थ्रीस्टार, युवाको भरमा फर्किएला साख?
पछिल्लो एक दशक शहीद स्मारक ‘ए’ डिभिजन लिगमा रवाफ छाडेको थ्रीस्टार गत वर्ष छैटौँ स्थानमा खस्कियो। यो वर्ष कतिपय स्टार खेलाडी अस्ट्रेलिया पुगेका छन् भने, केहीले क्लब छाडेका छन्।

गत वर्ष 'सिंगल राउन्ड रोबिन'को आधारमा भएको लिगमा थ्रीस्टारको शान पहिलाजस्तो थिएन। लिग सकिँदा क्लब छैटौँ स्थानमा खुम्चिन पुगेको थियो।

यसपटक फागुन १९ गतेबाट 'डबल राउन्ड रोबिन'का आधारमा लिग चल्दा थ्रीस्टारको बेन्च र ‘टचलाइन’को परिदृश्य फरक देखिने छ। पहिलाका कतिपय स्टार खेलाडी देखिने छैनन्। फरवार्ड सञ्जोक, मिडफिल्डरहरू हेमन्त, ऋतिक र मिक्छेन अस्ट्रेलिया गइसकेका छन्। विंगर आयुष संकटामा अनुबन्ध भएका छन्। डिफेन्डर अनन्त चर्च ब्वाइज र मिडफिल्डर डोना फ्रेन्ड्समा अनुबन्ध भएका छन्। 

प्रशिक्षक उर्जन श्रेष्ठ पनि यसपटक थ्रीस्टारको टचलाइनमा नहुने पक्का भएको छ। उनी ‘ए’ डिभिजनकै अर्को क्लब फ्रेन्ड्स पुगेका छन्।

पुराना खेलाडीको स्थानमा थ्रीस्टारले युवा खेलाडी भित्र्याएको छ। प्रशिक्षकको जिम्मवारी मेघराज केसीले पाएका छन्। केसीको लक्ष्य छ, लिगमा सुधारिएको खेल प्रदर्शन। बिस्तारमा : खेलाडी पलायनले संकटमा थ्रीस्टार, युवाको भरमा फर्किएला साख?


सम्बन्धित सामग्री