Friday, November 08, 2024

-->

‘ब्रान्डेड’ कथा

नाम कमाएका कथाकारहरू संसारको सबै उज्यालो आफ्नै अनुहारमा परोस् भन्ने चाहन्छन्। तिनलाई कथाले दुख्छ, तर ती कथा आफ्नै क्यामेराबाट खिचिएको हुनुपर्छ भन्ने ठान्छन्। यो कस्तो ‘क्लासिक’ दुखाइ!

‘ब्रान्डेड’ कथा

एक वर्षअघि सिंगो देश बोल्नै नसक्ने गरी चुप भयो। मोडल सुस्मिता रेग्मीको भिडियो भाइरल भएपछिको अवस्था थियो यो। अनेकौँ भिडियोमार्फत सुस्मिताले आफूले सहेका यौनहिंसाको फेहरिस्त लगाएकी थिइन्। सुस्मिताको दुःखको गहिराई जति थियो, उनको आवाजको शक्ति उस्तै प्रज्ज्वलित थियो। आफूले सहेका सबै यातनाको अग्निहोम गर्दै बोलिरहेकी थिइन् उनी। यस्तो लाग्थ्यो पौराणिक कथामा दानवहरूको वध गरिरहेकी देवी प्रकट भएकी छन्। 

कानूनमा यौनहिंसाका लागि उजुरी गर्ने हदम्याद एक वर्ष मात्र उल्लेख थियो। उनले सहेको समय भने सात वर्षअघिको थियो। सो विषयबारे बोल्दै गर्दा उनी जसरी कहालिएकी छन्, हाम्रो धड्कन ढप्प हुन्छ। उनको सो भिडियोले केही बेरमै सञ्जालमा आगो लगायो। संसद् हल्लियो। अपराधीविरुद्ध उजुरी दर्ता भयो। अपराधी मनोज पाण्डे पक्राउ परे। उनीविरुद्ध अदालतले फैसला गरेपछि जेल सजाय भोगिरहेका छन्।     

आफ्नो कोठामा बसेर एउटा मोबाइलको सहाराले सुस्मिताले भूकम्प ल्याइन। न्याय निसाफ जागेर उठे। उनले असीमित माया र सहयोगका आवाज पाइन्। उनको सम्मानमा उठेका हातहरूको सामुन्ने 'सञ्जाले हुल्लडबाज'हरूको गाली फिस्स हरायो। एक्लो सार्वभौम नागरिक सुस्मिताले 'बडे–बडे' ब्रान्डका मिडिया र युट्युबरको समानान्तर शक्तिमा आफूलाई उभ्याइन्। आफ्नो लागि मात्र होइन, धेरैका लागि न्यायको मार्गप्रशस्त गरिन्। सुस्मिताको कथा मल्टिमिडिया ब्रान्डेड कथा होइन। अर्गानिक कथा हो। 

मन हल्लिने सुस्मिताको कथा हेरेर बिथोलिएको थियो दिमाग। फेरि अर्को भिडियोमा आँखा पर्‍यो। भिडियो सुखद थियो। बर्मा र थाइल्यान्डबाट किशोरकिशोरीको एक समूह नेपाल आएको रहेछ। 'मेरो डान्स युनिभर्स' नामको टेलिभिजन रियालिटी सो कार्यक्रममा भाग लिनका लागि। एक तन्नेरीले प्लेनबाट खुट्टा भुईंमा नराख्दै एयरपोर्टमा हातले नेपाल भूमि ढोगेको दृश्यमा आँखा रोकियो। 

पालैपालो सबै ओर्लिए। ओर्लेपछि थचक्कै भुईंमा बसे। एकएक गर्दै सबै लम्पसार परेर भुईं ढोगे। हातमा नेपालको झण्डा र आफ्नो देशको झण्डा लिएका थिए। चख्ख परेर वरिपरि हेर्दै दुवै झण्डा फरफराए। पछि उनीहरूको अन्तर्वार्ता टिकटकभरि सलबलाउन थाल्यो। केटाकेटीहरूको खुशीको सीमा थिएन। पुर्खाको भूमि टेक्नेबित्तिकै मन थाम्न नसकेर ढोगेको भन्थे। कति त हर्षले रुँदै झरेछन्। दसैँमा गाउँ फर्केको लाहुरेको अनुहारजस्तै धपक्क थिए उनीहरू। कुनै बेला लाहुरे बनेर बर्मा पुगेर उतै घरजम गरेका हाम्रा नेपाली वीरका सन्तानहरू। 

कतिले मीठो नेपाली बोल्थे। कतिले बोल्न खोज्थे र भावनाले बोल्थे। हराइसकेको नेपाली भाषाको आत्मीय ध्वनि उनीहरूको बोलीमा भेटिन्थ्यो। हजुरआमालाई 'आमोई' भन्थे। त्यो झर्रोपन भाषाको, त्यो स्नेह आँखाको। हेरिरहूँ, सुनिरहूँजस्तो मोहनी। 

धेरैका मातापिताको नेपाल आउने सपना रहेछ। कतिको बाजेबजै पनि आफ्नो भूमि फर्कन पाउने सपनामा बाँचेका रहेछन्। नेपाल आउन पाएका केटाकेटीले आफ्ना अभिभावकका सपना सुनाए। उनीहरूको सपना आफूले बाँच्न पाएकोमा दंग पर्ने नै भए। खुशीको अन्तिम प्रस्थानविन्दु उनीहरूको अनुहार थियो यति बेला। नेपाल आउन नपाएका मातापिता, बाजेबजैका लागि भावुक पनि भए।

मूलधारका सञ्चारमाध्यमहरूमा यी कथाहरू कतै देखिएका थिएनन्। यसैले ढिलो गरी सो सबै हेर्ने मौका पर्‍यो। सञ्चारकर्मी, लेखक, बौद्धिक जनप्रतिनिधि सबैको अड्डा अचेल टिकटकतिर छ। आफ्नो सो—प्रचारका लागि सञ्चारको कुनै माध्यमबाट बौद्धिक जगत् पछि हट्दैन। सामाजिक सञ्जालको बौद्धिक सर्कलमा उति सुन्दर भिडियोहरू झुल्केनन्, किन होला? कथामा कुनै सञ्चारगृहको लोगो नभएर हो कि ! 

 

कथाको ब्रान्डिङ, आँसुको लोगो 
मानिसहरूका फुटकर कथाहरू सार्वजनिक रूपमा चिनिएका व्यक्तिहरूको टाइम लाइनमा किन आउँदैनन्? प्रश्नले पिछा छोडेन। यही बीचमा बर्नी स्यान्डर्सको पुस्तक 'इट्स ओके टु बि एग्री अबाउट क्यापिटलिजम' हात लाग्यो। पहिलो पेजमै उनले पुँजीवादविरुद्धको आक्रोशलाई वैधताको नीलो टिको लगाइदिएका छन्। 'पुँजीवादको अनैतिकतासँग हामीले बहादुरीका साथ, निर्ममतापूर्वक र बिनाक्षमाभाव सामना गर्नुपर्छ,' यही विचारका साथ पुँजीवादका खराबीविरुद्ध उनी खरो पेस भएका छन्। 

पुँजीवादले हाम्रो लत्ताकपडा र खानामा ब्रान्ड टाँसिदियो। यसले किसानको भकारीको बीउलाई समेत छोडेन। भकारीको बीउ बिजनलाई बहुराष्ट्रिय कम्पनीको ब्रान्डेड पोकामा कैद गरिदियो। मोन्स्यान्टो कम्पनीले बीउ बिजनहरूमाथि एकाधिकार जमाएर संसारभरका किसानहरूको हुर्मत लिएको छ। सो अन्यायविरुद्ध बिज सत्याग्रहको चर्चा पर्यावरणविद्हरूबीच चुलिएको छ। 

पानीको बोतलले लोगो भिरिसक्यो। हावा बाँकी छ। यो सबै चिजको लाइनमा कतै हाम्रो भावना पनि उभिएको त छैन? 'आल्गोरिदम'को स्पिडसँग मेल खान खोज्दा आफ्नै मानवीय मूल्यसँग हाम्रो बेमेल पो हुँदै छ कि ? बेलगाम पुँजीवादको के भरोसा?

हामी ठेलाको चियाको वकालत गर्छौं। समाजवादी देखिन मन पराउँछौँ। तर चियाकफी त लोगोसहितकै क्याफेमा पिउँछौँ। सडक किनार वरिपरि राखिएका धनियाँका मुठाले फैलाउने वासनाको कुरा गर्छौं। तरकारी किन्नसमेत सपिङ मलतिर जान्छौँ। मानिसका आँसु र हाँसोका बखान गरेर कथा बनाउँछौँ, कविता लेख्छौँ। हाम्रो टाइम लाइनमा सञ्चारगृहको ब्रान्ड नभएका कथा सेयर गर्न धक मान्छौँ। लोगो नभएका युट्युबरले भनेका कथाका लागि सहयोगको याचना गर्दैनौँ। लोगो नभएका मानिसहरूले भनेका कथालाई हेर्दै नहेरी टाइम लाइनमा मिचेर हिँड्छौँ। 

केही महिनाअगाडि सामाजिक सञ्जालमा एउटा भिडियो देखा पर्‍यो, नेपाली चलचित्रका कलाकार बीएस राणाका परिवार बिचल्लीमा परेको बारे। श्रीमतीको मानसिक सन्तुलन ठीक थिएन, परिवार सडकमै पुगिसकेका थिए। उनीहरूसँगै बस्ने महिलाले यो सबै समेटेर भिडियो बनाइन्। टिकटकमा राखिदिइन्। उनको उद्देश्य नै मानिसहरूको आँखामा यो भिडियो परोस् र उनीहरूको उद्धार होस् भन्ने थियो। 

ती महिलाको सदिच्छाबमोजिम नै भयो। उनीहरूको उद्धारमा धेरै मानिस लागिपरे। एक संस्थाले जिम्मेवारी पनि लियो। मानिसहरूले भिडियोको ब्रान्ड हेरेको भए, त्यो सबै सम्भव थिएन। यो एक उदाहरण हो। यस्ता अनगिन्ती उदाहरण छन्। तागत कथामा हुन्छ, ब्रान्डमा हुँदैन। यसका लागि मोडल सुस्मिता रेग्मीको कथाभन्दा बलियो प्रमाण के होला?  

दुई वर्ष जति अघि एक युवतीले आफ्ना यात्राका भिडियोहरू सञ्जालमा पोस्ट गरिरहन्थिन्। मोबाइलको भरमा उनले गरेको काम देखेर सामाजिक सञ्जालमा उनको भिडियो पोस्ट गरिदिएँ। सदिच्छा यही थियो कि, सञ्चारमाध्यमहरूले यो काम देखुन्। सदाझैँ ट्विटर पञ्चायतले व्यक्तिको फुटकर भिडियोलाई नजरअन्दाज गर्‍यो। केही दिनमा एक अनलाइन यस पंक्तिकारसँग सम्पर्कमा आयो। यात्री युवती अब सञ्चारमाध्यममा देखा परिन्। त्यसपछि धेरैले टपक्कै टिपे। अब ट्विटर पञ्चायतले उनलाई लायक देख्यो। उनका भिडियोहरू बौद्धिक सर्कलतिर देखा पर्न थाले। कान्छीको किचन नामले भिडियो बनाउने महिला अहिले चर्चित छन्। शुरूमा उनका सुन्दर भिडियोहरू टाइम लाइनमा राखिदिँदा पानी भन्न पाउँदैनथे। जब मिडियाको विषय बनिन्, अनि बौद्धिकको पनि विषय बनिन्। 

संवेदनशील विषय होस् या उत्प्रेरक दुवै थरीमा मिडियाको नजर पारिदिन सार्वजनिक बौद्धिकको भूमिका हुनुपर्ने हो। तर उल्टो, जब कुनै लोगोधारी सञ्चार जाग्दछ अनि मात्र बौद्धिकहरूको भरोसाले शिर उठाउँछ। प्रभावशाली लागेको विषयलाई आफ्नो टाइम लाइनमा ठाउँ दिन हामीलाई केले रोक्छ? आफैँप्रतिको विश्वास कम भएर हो या हाम्रो चेतनालाई पुँजीवादी लोगोले थला पारिसकेको हो? 

वर्गीय विभेदको विरोधी देखिने बौद्धिक रहर भरभराउँदो छ। अर्कोतिर भावना पनि विभाजन गर्ने 'क्लासिस्ट' व्यवहारले मानिसका कथामा पनि ब्रान्ड खोजिरहेको छ। हाम्रो अवचेतन मनलाई यसरी आल्गोरिदम नामको साहुले दास बनाउँदै त छैन? 

सहयोगको याचना गरिदिनुपर्ने कथामा पनि ब्रान्ड पर्खेर बस्ने यो कस्तो अनौठो मनोविज्ञान हो? हामी कथा सेयर गर्छौं कि ब्रान्ड?  

बेलायती प्रधानमन्त्री ऋषि सुनककी सासू–आमा सुधा मूर्तिले 'कपिल शर्मा शो'मा हिथ्रो एयरपोर्टको अनुभव रोचक ढंगले सुनाएकी छन्। करिब चार वर्षअघि उनी हातमा 'बिजनेस क्लास'को टिकट लिएर लाइनमा उभिरहेकी हुन्छिन्। यत्तिकैमा अरू दुई बिजनेस क्लास यात्री आएर उनलाई 'इकोनोमी क्लास'तिर जान भन्छन्। उनी आफू बिजनेस क्लासमै जान लागेको बताउँछिन्। ती यात्रु अझै मान्दैनन्। अनि आफसमा फुसुफुसु गर्छन्, 'क्याटल क्लास' (पशु दर्जा) का मानिसहरू बिजनेस क्लास र इकोनोमी क्लासबीचको फरक थाहा पाउँदैनन्। उनीहरूको अंग्रेजी-खासखुस सुधाले नबुझ्नै कुरै थिएन।  

सुधा बिना ब्रान्डको भारतीय पोसाकमा थिइन्। साधारण पोसाक, साधारण उपस्थिति। यही कारण उनको कुरा काट्ने यात्रीहरूको उनी अंग्रेजी बुझ्दिनन् भन्ने अनुमान थियो । सुधा बिजनेस क्लासमै बसेपछि उनीहरू छक्क पर्छन्। सुधा ठट्यौलो पारामा उनीहरूलाई सोध्छिन्, 'यो क्याटल क्लास भनेको के हो?' रमाइलो पारामा सुधा मूर्तिले सुनाएको यो किस्सा निकै गहकिलो छ। हामी आवरणको भरमा मानिसको दर्जा कति छिटो तोकिदिन्छौँ। यही चेतकै कारण आँसु र हाँसोमा पनि दर्जा तोकिदिन्छौँ। 

युवाहरू माझ लोकप्रिय एक २० वर्षे 'चितवने युट्युबर' छन्। कमजोर आर्थिक अवस्थाले उनी जापान काम गर्न गए। बिरानो शहरमा न्यास्रो मानिमानी काम गरे। परदेशी युवाका कथा भनिरहे। न्यास्रोले गलाएर उनी दश दिन बिदा लिएर घर आए। नारायणी नदीमा साथीभाइसँग रमाए। देशमा बसौँ– साह्रो छ, विदेश जाऔँ गाह्रो छ। नदीको तटमा साथीभाइ जम्मा हुँदै नेपाली तन्नेरीको ताप्केदेखि भुंग्रोसम्मको यात्रा सुनाए। गरिखान गाह्रो हुँदै गएको देशको युवाको हाल यही त हो। पछि उनले रुँदै देश छोडेको भिडियो हेर्दा मन कोपरिन्छ। एउटा युवाको आँसुले देशको कथा भनेको छ। 

हामी आँसुमा ब्रान्ड खोजेर बस्नेले सामाजिक सञ्जालमा यस्ता भिडियो आँखैले हेरेर आँखैले कुल्चेर हिँड्छौँ। किनभने हाम्रा लागि यी कथा सुधा मूर्तिले भनेजस्तै क्याटल क्लासका हुन्। कथाकार र पात्र दुवै ‘क्याटल क्लास’। बौद्धिक दर्जा नमिलेको आँसुलाई टाइम लाइनमा ठाउँ किन दिने! 

रुँदै देश छाड्नेहरूको आँसुमा लोगो नटाँसिएकै कारण ट्विटर पञ्चायतले बेवास्ता गर्छ। लोगोधारी मिडियामा यस्ता सामग्री देखिए वाहवाहीको बिस्कुन लगाएर बस्छ। एक्लै उभिएर बोल्दा 'क्याटल क्लास'को देख्छ र गाली बर्साउन थाल्छ। ती युवाले क्लासको स्केलले नापे जति आँसु झारे या बढी ! यो बेग्लै विषय हो। अभिव्यक्त हुने स्केल सबैको एउटै हुँदैन। 

सुन्दरी प्रतियोगितामा मुस्कान र चाल नापेजस्तै ट्विटर पञ्चायत हाँसो, आँसु र बोलीको मात्रा नापेर बस्छ। स्क्रिप्टमा फिट नहुने अभिव्यक्ति बौद्धिक पञ्चायतले सेन्सर गर्छ, पास गर्दैन। क्यामेराको लेन्स र मानिसको दृष्टि एकै हो। जुन स्तरको छ, त्यही स्तरको दृश्य देखिन्छ। ट्विटर पञ्चायतको वर्गीय दृष्टि दोष यसैको उपज हो।    

वर्ग विभाजनको विष हाम्रो शरीरको कोषकोषमा पसेको छ। मानिसको बोलिचाली, कपडा, खाना हुँदै यसले हाम्रो मानवीयतामा पनि प्रवेश पाइसकेको छ। यही कारण हो हामी ब्रान्ड हेरिकन मात्र कथा सेयर गर्छौं। वर्गीय सोचका कारिन्दाहरूले नै आफूलाई वर्गीय विभेदको ब्रान्डेड लडाकु ठानिरहेका छन्। धेरै कथा छन्, जो न बौद्धिक सर्कलमा झुल्कन्छन् न त्यस्ता कथाले पारेको प्रभावबारे मूलधारका सञ्चारमाध्यममा समाचार बन्छन्। यो सबैका लागि लोगोधारी कथाकारका क्यामेरा चाहिन्छ। हाँसो र आँसुको पनि लोगो हुन्छ र?

सञ्जालमा साहुको कारिन्दा
पुँजीवादको उदयदेखि आजसम्म आइपुग्दा यसले अनेक अवतार लिइसकेको छ। एक युग जमिनदारको शासनले हल्लियो। अर्को युग पैसा भएका साहुहरूको दबदबामा पेलियो। मिटरब्याज पीडितहरूको अहिलेको जिउँदोजाग्दो मुद्दा त्यसैको परिणाम हो। अब समय आल्गोरिदमका साहुहरूको कब्जामा जाँदै छ। कतै हामी 'डेटाइजम'को समयका नयाँ साहु बन्ने होडमा त छैनौँ?

आफूलाई ठूलाठूला विषयका विचारक ठान्ने बौद्धिक सर्कलको मनोविज्ञान त बुझ्न गाह्रो भएन। भुईं–मान्छेकै कथा टिपेर ‘ब्रान्ड’ बनेका केही युट्युबरहरूको रवैया पनि फरक छैन। विशेष गरी बौद्धिक जमातले धक नमानी जस दिइरहेका युट्युबरहरूमा यो चरित्र बढी हाबी देखिन्छ। आफ्नो लोगोसहितको क्यामेराले खिचेको बाहेक बाँकी कुनै सामग्री ब्रान्डेड कथाकारहरूको टाइम लाइनमा देखिन्न। 

बानेश्वरस्थित संसद् भवनअगाडि प्रेम आचार्यले लगाएको आगोले पोलेको देखिन्न। पर्यावरण अभियन्ता दिलीपकुमार महतोको कथा भेटिन्न। सुस्मिता रेग्मीको कथाले मन हल्लिएको देखिन्न। मिटरब्याज पीडितहरूको व्यथाले छोएको देखिन्न। क्याम्पसको 'फी' तिर्न नसकेर आत्मदाह गर्ने युवकप्रति संवेदनाका दुई शब्द देखिँदैन। आफूले निर्माण गरेका बाहेक अरू कसैको पनि कथामा न कहिले सद्भाव, न सहानुभूति सहितको साथ! यो हदको सामाजिक संवेदनहीनता सार्वजनिक व्यक्तित्वको कसरी हुन सक्छ? तर त्यस्तै छ।

कथा भनेर नाम कमाएका कथाकारहरूले संसारको सबै उज्यालो आफ्नै अनुहारमा परोस् भन्ने चाहेको देखिन्छ। 'हामीलाई मानिसका कथाले छुन्छ, तर ती कथा हाम्रै क्यामेराको लेन्सबाट खिचिएको हुनुपर्दछ।' आफ्नै लेन्सले खिचेका कथाले मात्र दुख्ने कस्तो क्लासिक दुखाई! 

ब्रान्डेड कथाकारहरू आफ्नोबाहेक कसैको केही नसुन्ने गरी 'साउन्ड प्रुफ' माहौलमा छन्। ध्वनिको एकोहोरो प्रसारण गरिरहन्छन्। प्रविधिको आजको युगमा हरेक मान्छे मिडिया हो। एक से एक सुन्दर कथा यत्रतत्र छन्। आफ्नोबाहेक कस्तै सुन्दर कथालाई ‘टाइम लाइन’मा सानो ठाउँ नदिनु अचम्मै हो। कथाको घरमा यसरी बार लगाइएको हुन्छ, बाँकी संसारका फुटकर कथाले चियाउने मौका पनि पाउँदैनन्। कतै हामी भुईं–मान्छेको कथाको आडमा आकाशको जून हुने यात्रामा त छैनौँ?

लोगोधारी कथाकार बाहेकमा पनि यो रवैया देखिन्छ। केही लेखक, कवि, बौद्धिक, जनप्रतिनिधि सामाजिक सञ्जालमा हरदम हाजिरा लगाइराखेका देखिन्छन्। आफ्नो सामग्रीको प्रशंसा आएलगत्तै टिपिहाल्छन्। टौदहका हाँसले चारो टिपेझैँ। बाँकी संसारले उठाइरहेका अनेक मुद्दा र कथा उनीहरूको नजरमा कहिले परेको देखिन्न।

नयाँ सोच र तरिकाको राजनीति गर्न आएका जनप्रतिनिधिमा यो सोच झनै गहिरो देखिन्छ। संसद्मा आफूले बोलेका भाषणका क्लिप सार्वजनिक खपतका लागि टाँस्नु नै सामाजिक सञ्जालको उपस्थितिको उद्देश्य देखिन्छ। आफ्नै पार्टीको अन्य सामग्रीमा भने ध्यान दिएको देखिन्न। जनप्रतिनिधिको सदाबहार आत्म प्रदर्शन नागरिकको चासोको विषय होइन। नागरिकले चासो देखाइरहेको सरोकारका विषयलाई पनि आफ्नो थलोमा ठाउँ दिने फराकिलो मन चाहिन्छ। ट्विटर पञ्चायतका भलाद्मी रिझाएर मात्र नयाँ किसिमको उदार राजनीति हुँदैन। लोकतन्त्रमा संवाद हुन्छ, एकोहोरो मनोवादले देश बदल्ने राजनीति हुन सक्दैन। 

आजको युगमा सामाजिक सञ्जाल सार्वजनिक सरोकारका लागि नागरिक संसद् पनि हो। हरेक नागरिक सार्वभौम सांसद हो। आफ्नो सरोकार आफैँ उठाएर राज्य, कानून र न्यायलाई बाटो देखाउने सुस्मिता रेग्मीहरू सार्वभौम सांसद हुन्। आफैँले गरेका भाषणबाहेक बाँकी मानिसले उठाएका सवाल बेवास्ता गर्ने जनप्रतिनिधि कसरी सबैको बन्न सक्छ? आफ्नै सानो कुवामा रमाउनेलाई नागरिकले हेर्ने नजर आत्मीय हुँदैन। 

सामाजिक सञ्जालमा सबै मानिस आत्मपरक मात्र छैनन्। आफ्नो सार्वजनिक छविलाई सामाजिक हितकै लागि प्रयोग गरिरहने मानिस पनि छन्। देश-समाजका हर बेथितिमा आवाज दिइरहेका हुन्छन्। विषय र मुद्दाको संवेदनशीलता हेर्छन्। कथाकार वा मिडियाको लोगो हेर्दैनन्। आफू आवाज उठाउँछन्। बाँकी मानिसले उठाएका सरोकारलाई पनि निर्धक्क टाइम लाइनमा ठाउँ दिन्छन्। यस्ता मानिस नगण्य छन्। 

जब–जब देशमा कुनै अप्रिय कुरा हुन्छ, उनीहरूलाई नै आक्रमण हुन थाल्छ। 'खै तिमीहरू कता छौ? किन बोल्दैनौँ अहिलेसम्म?' यस्ता प्रश्नलगायत अभद्र गालीसमेत गरिन्छ। 

तर आफ्नो कामबाट उनीहरूले आवाज उठाएका छन्, अरूका कथा सेयर गरेर बल दिएका छन्। गाली पनि यस्तै मानिसले खाएका छन्। आफूले उठाएका बाहेक बाँकी सबै मुद्दामा तमासा हेरिरहने मानिसलाई कसैले प्रश्न गरेको देखिन्न। ताली मात्र छ, गाली कहिल्यै खानु परेको छैन। बाँकी समाजलाई पूरै नजरअन्दाज गर्दा पनि 'हाइहाइ' छ। 

शहरमा केही यस्ता सर्जक पनि छन्। जसको आरतीमा हरदम सञ्चारकर्मीको समूह लागिरहेको हुन्छ। सञ्चारकर्मीबाहेक केही सहपेसाकर्मी भाइ भारदारहरू पनि दियोमा तेल थपिरहेका हुन्छन्। यस्ता भाग्यमानी कोही शान्त र मनोरम भावमा विचरण गरिरहन्छन्। कोही जोगीजन्य 'अदाकारिता' पेस गरिरहन्छन्। सामाजिक सरोकारमा बोलिरहनेहरूलाई उनीहरूले गिज्याएझैँ लाग्छ। 'हेर्नुस् त म कति बिनदास छु। शान्त र सबैको प्रिय छु। तपाईंहरू बित्थामा किन बिथोलिएको? प्रश्न गरेर किन बेकारमा अप्रिय भएको?' 

उनीहरूको दुनियाँ बेग्लै छ। भक्तहरूको 'नजर सुख'का लागि र आफ्नो स्वप्रचारका लागि सामाजिक सञ्जाल छोडेका भने देखिन्नन्।  

आफ्ना समकालीन महिला सर्जकहरूले जतिसुकै अश्लील र अपमानजन्य गालीगलौज सहन परोस्, जति ट्रोल र मानसिक हिंसा सहन परोस्, उनीहरूको कानले सुन्दैन, आँखाले देख्दैन। उनीहरूको अन्दाज बिनदास छ। जे भन्नु छ, आफ्नै कथा कवितामा भन्छन्। आफ्नै क्यामेराले खिच्छन्। 'समाजका तिनै कथाहरूले मलाई हल्लाउने छन्, जुन मेरा क्यामेराले खिचिएका छन्। तिनै कथाका पात्रहरूले मलाई पिरोल्ने छन्, जुन मेरा कलमले लेखिएका छन्।' यस किसिमको मनोभावनामा मग्न छन्।   

समाजका चेतनशील हिस्सामा यस्तो मनोविज्ञान हुनु समाजका लागि हितकर कुरा होइन। संसारका सबै विषयमा सधैँ ध्यान दिन चाहेर कसैले पनि सक्दैन। तर कहिल्यै कसैलाई ध्यान नदिनु सामान्य मनोविज्ञान होइन। सामाजिक सञ्जाललाई आफ्नो प्रशंसाको चारो टिप्न मात्र प्रयोग गर्नु 'सामाजिक अति' हो। 

हिजो गाउँमा जमिनदार र किसान थिए। जमिनदार तिरो उठाउँथे। किसान तिरो तिर्थे। सम्मान प्रशंसा र मर्यादाको धारा पनि एकोहोरो थियो। आल्गोरिदमको शासनमा अहिले त्यस्तै छ। जसले आफूलाई सञ्जालको जमिनदार ठान्छ, उसले लाइक र सेयरको भेटी उठाउन मात्र खोज्छ। बाँकी सबैलाई आफूलाई प्रशंसाको कर तिर्ने रैती मान्दछ। एकोहोरो भेटी त भगवान् र भक्तमा पनि सम्भव नहोला। 

हिजो जमिन सम्पत्तिको रूप थियो, बिस्तारै पैसा सम्पत्तिको रूप भयो। अब डेटा सम्पत्तिको रूपमा उभिएको छ। 'डेटाइजम'को जमानामा छौँ। एकोहोरो लाइक र सेयर मागिरहनु भनेको अर्काको सन्दुकको सम्पत्ति आफ्नो बनाउन खोज्नु र आफ्नो भने सुको नचुहाउनु हो। 'प्लिज हामीलाई हेरिदिनुस्, लाइक र सेयर गरिदिनुस्,' यसरी सहयोग मागिरहनेहरूले दिनुचाहिँ पर्दैन? तपाईंलाई आफ्नो सामग्री जति महत्त्वको लाग्छ, अरूलाई लाग्दैन? 

अर्मपर्म लगाएर खेतीपातीमा रमाउने समाज हो हाम्रो। लिने र दिने समाज हो। लिन मात्र खोज्ने त मुखिया चरित्र हो। सामाजिक सञ्जालको खेतीपातीमा हामी कोही साहु र कोही कारिन्दा होइनौँ। सहअस्तित्वको स्वीकारोक्ति आधुनिक चेतको सूचक हो। 

आफ्नो सामग्रीको स्वप्रचार मात्र होइन, ब्रान्डेड सामग्रीमा मात्र मानवीयताका लागि पुकार गर्नेहरू पनि 'डिजिटल डिक्टेटरसिप'का संवाहक हुन्। मानवीय भावनाहरूको ब्रान्डिङ वस्तुहरूको भन्दा पनि डरलाग्दो हुन्छ। आधुनिक चेतको लागि यो खतरा हो।


सम्बन्धित सामग्री