Friday, March 29, 2024

-->

गौशाला २६ : न्याय ठूलो कि खेल प्रतियोगिता?

भोलिका दिन आरोपितको अपराध पुष्टि भएमा उनले यसबीच गरेको राष्ट्रको प्रतिनिधित्व, पीडितमा परेको असरलगायतको जिम्मेवारी कसले लिन्छ?

गौशाला २६  न्याय ठूलो कि खेल प्रतियोगिता

आरोप लाग्दैमा कोही व्यक्ति स्वतः अपराधी सिद्ध हुँदैन र मानिनु हुँदैन। अर्को तथ्य के पनि हो भने दुनियाँमा हरकोहीलाई हरकसैले आरोप लगाउँदैन। आरोप लाग्ने व्यक्ति सन्दिग्ध हो, शंकास्पद र बात लागेको व्यक्ति हो। त्यसो हुँदा, बलात्कार तथा यौनजन्य अपराधका पीडित अन्यायमा नपरून् भन्ने हेक्का राख्नु कानूनी राज्यको कर्तव्य हो। 

माथिको तर्क आफैँमा विरोधाभासपूर्ण लाग्यो होला। विरोधाभास जस्तो लाग्ने अवस्था हाम्रो फितलो न्याय व्यवस्था र अपरिपक्व पत्रकारिताका अभ्यासले सिर्जना गरेका हुन्। कुनै पक्षलाई शुरूआतदेखि नै पूर्वाग्रह नराखी विचार गर्ने हो भने यो कुरा अझै प्रस्ट हुन्छ। तर अफसोस, हामी जेसुकै या विषयको समाचार सुन्नेबित्तिकै कुनै एक पक्षमा आफ्नो धारणा बनाउन थालिहाल्छौँ। अझ विशेषगरी आरोपित र उजुरीकर्तामध्ये एक वा दुवै चर्चित व्यक्ति भएको अवस्थामा धारणा बनाउन हाम्रा पहिल्यै स्थापित आग्रह र पूर्वाग्रहले भूमिका खेल्छ।   

सन्दर्भः गौशाला-२६ र विश्व विख्यात क्रिकेटरको बीच चलिरहेको मुद्दाको। भर्खरै मात्र क्रिकेट लिग–२ खेलले नेपाल र नेपालीलाई खुशी बनाइरहँदा, सोही टोलीको एक महत्त्वपूर्ण सदस्य गम्भीर मुद्दा खेपिरहेका छन्। कानूनले वर्जित गरेको नाबालिगसँगको यौनजन्य सम्बन्धमा बलात्कार मुद्दा खेपिरहेका खेलाडी सायद टोलीको महत्त्वपूर्ण सदस्य भएकै नाताले धरौटीमा रिहा हुन सफल भए। पाटन उच्च अदालतले काठमाडौँ उपत्यका छोडेर बाहिर जान पनि प्रहरीको अनुमति लिनुपर्ने आदेश दिएको थियो। तर त्यसविरुद्ध परेको निवेदनमा सर्वोच्च अदालतले विदेश गएर पनि खेल्न अनुमति दियो। खैर, खेलमा उनको योगदान र यसको नतिजा हेर्दा सुखद नै देखिन्छ। उनलाई आरोप लागेको हो, अपराध प्रमाणित भएको होइन। पुर्पक्षका लागि थुनामा पठाइएपछि ३ महिना जेल भोगिसकेका उनलाई अन्तिम नतिजा नआउन्जेल अपराधीजस्तो व्यवहार गर्नु ठिक हुँदैन। उनले यतिका समय आफ्नो मिहिनेतले कमाएको नामलाई आरोपको भरमा मानमर्दन गरिनु हुँदैन।

तर, हालसम्म उनीमाथि लागेको आरोप प्रमाणित नभए तापनि निर्दोष पनि साबित भइसकेका छैनन्। उनीमाथि लागेको आरोप गम्भीर प्रकृतिको हो। त्यसमाथि आरोपित चर्चित व्यक्तित्व भएका कारण यस विषयले विश्वकै ध्यान आकर्षित गर्नु नौलो होइन। यस्तो अवस्थामा आरोपितको नाम र इज्जतको हवाला दिएर पीडितलाई थप मनोवैज्ञानिक यातना दिनु पनि हुँदैन। बलात्कार आरोप लागि धरौटीमा छुटेका व्यक्तिलाई देशकै प्रधानमन्त्री तथा राष्ट्रपतिले भेट्नु र सम्मान टक्र्याउनुले पीडितलाई कस्तो असर पर्छ, छुट्याउन गाह्रो नपर्ला। आरोपित खेलाडीले सिंगो राष्ट्रको सम्मान पाउँदै गर्दा पीडितको संरक्षण तथा उनीमाथि पर्न सक्ने नकारात्मक प्रभाव र असरको प्रभावलाई सकभर कम गराउनु पनि राष्ट्रको दायित्व हो। यो मुद्दामा आरोपितलाई खेल्न अनुमति दिँदा वा नदिँदा, पुर्पक्षका लागि थुनामा राख्दा वा नराख्दा, जे सुकै गर्दा पनि एक पक्ष असन्तुष्ट हुनु स्वाभाविक नै हो। 

समस्याको जड कता छ?
हामी यस्तो समाजमा छौँ, जहाँ लगभग सबै जसो व्यक्ति सार्वजनिक रूपमा बलात्कारविरुद्ध उभिन्छौँ। उमेर पुगेका कुनै किशोरी वा युवतीले बलात्कार भयो भन्दा स्विकार्न सक्दैनौँ। त्यसको मतलब, हाम्रो समाजले बलात्कारजस्तो गम्भीर अपराधलाई नै बुझेको छैन। अझ, यदि आरोपित चर्चित अनुहार या 'सेलिब्रेटी' भएको अवस्थामा अधिकांशले सहजै 'उसलाई फसाउन खोजेको हो' भनेर ठम्याउन र ठहर लगाउने गरेको देखिन्छ।

यहाँनेर भुल्न नहुने कुरा के छ भने, सेलिब्रिटीका पक्षमा पहिले देखि नै हुने जनसमर्थन, उसको आर्थिक, सामाजिक प्रभुत्व र शक्तिलगायत कुराले न्याय सम्पादनमा प्रभाव पार्ने डर हुन्छ। नेपाल र विश्वका अरू कुनामा भएका त्यस्ता घटनाहरूबारे हामीमध्ये कतिलाई जगजाहेरै होला। केही समय पहिले चर्चित गायिका र नायकबीच चलेको सोही प्रकृतिको मुद्दामा पीडितको परिचय सार्वजनिक गरिँदा मान, प्रतिष्ठामा आँच आउनुका साथै न्याय निरूपणमा पनि सोको प्रशस्त प्रभाव परेको बुझियो। सो मुद्दामा उजुरीकर्ता (पीडित)ले पछि स्वयं बयान फेरिन् र मुद्दा कमजोर बन्न पुग्यो। हालसम्म पनि उजुरीकर्ता गायिकाले सामाजिक सञ्जालमा भरमार गालीगलौज र निन्दा बेहोर्नु परेको छ।

'गौशाला मुद्दा'मा पनि अलि सजग भएर उजुरीकर्ता किशोरीको पहिचान सुरक्षित राखिए पनि आरोपितको नाम शुरूमै सार्वजनिक गरिनु गलत थियो। विश्वविख्यात खेलाडी जसका हजारौँ-लाखौँ समर्थक छन्, उनीमाथि आरोप लाग्नु मात्रैले पनि समर्थकलाई नै दुई चिरामा बाँड्यो। एकातर्फ कसुर प्रमाणित नहुँदै उनको मानमर्दन गरियो भने अर्कोतर्फ उजुरीकर्ता किशोरीलाई हचुवाका भरमा नानाथरी आरोप लगाइयो। कतिपय समर्थकले 'नाम कमाएको खेलाडी भएका कारण उनको प्रतिष्ठा गिराउन किशोरीको प्रयोग भएकाे'सम्म तर्क गरे। 

तर यो काण्डमा न्याय प्रशासनको कार्य क्षमता र छरितोपनामा प्रश्न उठ्छ। मिडियाको भूमिकामाथि प्रशस्त प्रश्न गर्नुपर्ने ठाउँ छ। गम्भीर प्रकृतिको मुद्दा, जसमा पीडित नाबालिग छिन्, आरोपित चर्चित खेलाडी छन्, जसमाथि विश्वको ध्यान केन्द्रित छ, त्यस्तो मुद्दाको सुनुवाइ ढिलो भइरहेको छ। जबकि, न्याय ढिलो आफैँमा अन्याय हुनु होइन र?

न्याय सम्पादनमा मिडिया, न्यायालय र सर्वसाधारणको भूमिका, विवेक र झुकावलाई प्रशस्त प्रश्न उठेका छन्। भोलिका दिन आरोपितको अपराध पुष्टि भएमा उनले यसबीच गरेको राष्ट्रको प्रतिनिधित्व, पीडितमा परेको असर लगायतको जिम्मेवारी कसले लिन्छ? यदि उनीमाथि लागेको आरोप निराधार पुष्टि भयो भने उनले भोगेको  तीन महिना कैद र भएको मानमर्दनको जिम्मेवारी कसले लिन्छ? यसबाट देशको न्याय प्रणालीमाथि गम्भीर प्रश्नहरू तेर्सिएका छन्। यसबाट अर्को गम्भीर र जटिल प्रश्न आम दर्शक र जनमानसमा उठेको छ– कसैको न्याय प्राप्ति ठूलो हो कि खेल प्रतियोगिता?


सम्बन्धित सामग्री