Friday, April 26, 2024

-->

जलवायु परिवर्तन: हामी सबै एउटै डुंगामा छौँ

वर्षायाममा बाहेक बागमती, विष्णुमती तथा मनहराजस्ता नदीनालामा बग्ने पानी कन्चन हुने गर्थ्यो, धेरै परबाटै पानीभित्र माछा नाचिरहेका देखिन्थे। पुस–माघभरि नदीका वरपरको वातावरण अन्यत्रभन्दा चिसो हुन्थ्यो।

जलवायु परिवर्तन हामी सबै एउटै डुंगामा छौँ

विश्वव्यापीकरणको विषयमा चर्चा हुँदा अर्थतन्त्र (विशेष गरी व्यापार), आपूर्ति प्रणाली, यातायात,  प्रविधि, ज्ञान–विज्ञान, सामाजिक (शिक्षा), बसाइँसराइ तथा सांस्कृतिकजस्ता विषयले प्राथमिकता पाउने गर्छन्। विश्वव्यापीकरणको उपज जलवायु परिवर्तन र त्यसले पार्ने असरका विषय भने अक्सर ओझेलमै पर्ने गर्छ। जलवायु परिवर्तन आफैँमा एउटा यस्तो विश्वव्यापी चुनौती हो, जसको सम्बोधन विश्व समुदाय सामूहिक रूपमा अग्रसर नहुन्जेलसम्म सम्भव हुँदैन। जबकि, जलवायु परिवर्तन मानवीय क्रियाकलापकै उपज हो भन्ने वास्तविकतालाई आत्मसात् गर्न ढिलाइ गरिँदैछ। त्यसो त अझै एउटा बौद्धिक समूह छ, जो जलवायु परिवर्तनलाई प्राकृतिक र स्वाभाविक प्रक्रिया मान्छ। 

अघिल्लो शताब्दीको शुरूआतदेखि समस्त विश्वलाई अस्तव्यस्त तुल्याउन थालेको जलवायु परिवर्तनबाट हुने नकारात्मक प्रभावबारे वैज्ञानिकहरूले खबरदारी गर्दै आएका थिए। समृद्ध राष्ट्रहरूले वैज्ञानिकले गरेको त्यस्ता खबरदारीलाई नजरअन्दाज गर्दाको परिणाम वर्तमान विश्वले भोग्दै छ। आगामी दशकभित्र जलवायु परिवर्तनका कारण थुप्रँदै गरेका चुनौतीलाई सम्बोधन गर्न ढिलो भए विश्वले अकल्पनीय स्थितिको सामना गर्नुपर्ने निश्चित छ। विश्वका १९६ राष्ट्रले अनुमोदन गरेको 'इन्टर गभर्नमेन्ट पेनाल अन कम्लाइमेट चेन्ज' (चैत ६, २०२३) को छैटौँ प्रतिवेदनले जलवायु परिवर्तनमा तत्कालै पहल कदमीको आवश्यकता औँल्याएको छ।  

पहिलेको उपत्यका
सात दशक उमेर पार गरेको मेरो पुस्ताले जलवायु परिवर्तनको प्रभाव देखेका र भोगेका छौँ। मेरै कुरा गर्ने हो भने, काठमाडौँ उपत्यका आसपासको परिवर्तन देखेको छु। केही दशक अघिसम्म काठमाडौँ उपत्यकामा दशैँ आगमनको पूर्वसूचक बिहानी पखको पातलो हुस्सुसहितको स्वादिलो ठन्डा र रमणीय वातावरण हुने गर्थ्यो। विद्यार्थी जीवनमा मिनपचास (पुष–माघ) बिदा भरी अक्सर बिहान हुस्सु/कुहिरोले उपत्यका ढाक्ने गर्थ्यो। सेताम्मे तुसारो परेको भूमिलाई चम्किलो तथा पारिलो घामले पछ्याउँथ्यो। असार–साउनको वर्षे झरी थामिएपछिका रातहरू चम्किला हजारौँहजार तारा र चन्द्रमाको प्रकाशले आकाश उज्ज्वल पार्थ्यो। भदौ तथा माघमा पर्ने छोटो अवधिका वर्षालाई भदौरे वा माघे झरी भनिन्थ्यो। चैत–वैशाखमा उस्तै हुरी बतास चल्थ्यो।  

उपत्यका घेर्ने निला डाँडापारिको हिमाल प्रायः सबै स्थानबाट छर्लंग देखा पर्थे। धुलिखेल, नगरकोट, ककनी, दामन आदि स्थान पुग्दा देखिने हिमशृंखला, महाभारत तथा हरियाली भन्ज्याङको सौन्दर्य वर्णन जति गरे पनि अधुरो नै हुन्छ। त्यस्ता स्थानहरूबाट देखिने मनोरम हिमशृंखलाको दृश्य सूर्योदयदेखि सूर्यास्तसम्म देखा पर्थे। 

वर्षायाममा बाहेक बागमती, विष्णुमती तथा मनहराजस्ता नदीनालामा बग्ने पानी कन्चन हुन्थ्यो, धेरै परबाटै पानीभित्र माछा नाचिरहेका देखिन्थे। पुस–माघभर नदी वरपरको वातावरण अन्यत्रभन्दा चिसो हुन्थ्यो। 

कात्तिक शुरू भएपछि विशेष गरी बागमती नदी तर्न सहज तुल्याउने हेतुले राजघाट–पचली तथा कुपण्डोल–त्रिपुरेश्वरमा 'फड्के' राखिने गर्थ्यो। बाँस अथवा अग्राख गाडेर त्यसमाथि काठका फलेक राखेर बनाइएको अस्थायी फड्केबाट आवतजावत गरेर बागमती वारपार गर्न मिल्थ्यो। माघमा तुसारोको कारण फड्केसमेत चिप्लो न चिप्लो हुनेगर्थ्यो। उतिखेर बागमती, मनहरा तथा विष्णुमतीलगायत उपत्यकाका नदीको बालुवा अत्यन्त चम्किलो र सफा हुन्थ्यो। निर्माण कार्यका निमित्त, सिमेन्टमा मिलाउनुपूर्व बालुवा धुनु पर्दैन थियो।    

उपत्यका र आसपासको भूगोलमा त्यस बखत नासपाती, मयल, आरु, आरुबखडा, भोगटे आदि खुब फल्थ्यो। वर्तमान कालखण्डमा जस्तो स्वादिलो आँप तथा मेवा भने फल्दैन थिए। मेवा फले पनि पहेँलपूर भएर पाक्दैनथ्यो। बोटमा थोरै गेडा लाग्ने सुन्तला अमिलो हुने गर्थ्यो। 

असार लागेलगत्तै समतल खेतमा धानको रोपाइँ हुने गर्थ्यो। कात्तिकको अन्त्यसम्म धान काटेर गहुँ अथवा आलु, मुला, काउली आदि तरकारीखेतीको चाँजोपाँजो हुन्थ्यो। झरी शुरूआत हुनुपूर्व पाखो बारीमा भने मकै, भटमास तथा बोडी रोपिने प्रचलन थियो। मकै भटमासको बाली भित्र्याएपछि कतै घैया, कोदो, मास त कतै बकुला, केराउ तथा तोरी खेती गरिन्थ्यो। वर्षायामसँगै काठमाडौँमा लामखुट्टेले सताउन थाल्थे। तराईमा हालत झनै खराब हुने नै भयो। लामखुट्टेमार्फत सर्ने औलो रोग एक हदसम्म उन्मुलन भयो। वर्षको तीन महिना (असार, साउन र भदौ) काठमाडौँ उपत्यकामा लामखुट्टे प्रशस्त हुन् गर्थे। तर, लामखुट्टेद्वारा फैलने डेंगु तथा हात्तीपाइले आदि उपत्यकामा थिएनन्।     

अहिले
अहिले अक्सर काठमाडौँ धुलो र धुवाँ मिश्रित बाक्लो तुवाँलोले ढाक्ने गर्छ। तुवाँलोले हिम शिखरलाई घुम्टोले छोपेसरह तुल्याउँछ। विगतमा तराईबाट समेत देखा पर्ने हिम शिखर वर्तमानमा पहाडी जिल्लाका डाँडाकाँडाबाट समेत देख्न कठिन हुन्छ। धुलिखेल, नगरकोट, ककनी, दामन तथा बन्दीपुरबाट हिमाली श्रृंखला देख्न हम्मे-हम्मे पर्छ। वर्षायामको शुरूआत कहिले जेठमै हुन्छ भने कहिले साउनको अन्त्य ढुकेर बस्छ। बाली भित्र्याउने याम (कात्तिक–मंसिर)मा झरी परेर बाली विनाश हुने क्रम बढ्दो छ। लामो सुक्खायाम, अविरल वर्षा,  खण्डित वर्षा, बेमौसममा अविरल वर्षा अब नियति हुन थालेको छ। बाढी–पहिरोले गर्ने भौतिक तथा मानवीय क्षति प्रत्येक वर्ष बढ्ने क्रमले निरन्तरता पाउँदै छ। नदीनालामा उत्खनन् गरिने माटो मिसावट र बालुवा पखाल्दा बग्ने फोहोर पानीले नदीमा हुने जीवलाई सखाप पार्ने गरेको छ। 

हाम्रो वातावरण तथा जलवायुमा आएको परिवर्तनका निमित्त पृथ्वीको बढ्दो तापक्रमको अपार प्रभाव छ। विश्वको कूल हरितगृह ग्यास (कार्बन डाइअक्साइड, मिथेन, नाइट्रस अक्साइडलगायतका ग्यास) उत्पादनमा नेपालको योगदान अंश ०.१ प्रतिशत रहेको अनुमान गरिन्छ। एशियाली विकास बैंक तथा विश्व बैंकले प्रकाशित गरेको संयुक्त जलवायु परिवर्तन जोखिमसम्बन्धी अध्ययन प्रतिवेदनले नेपालको औसत तापक्रम विश्वको औसतभन्दा बढी हुने गरेको पुष्टि गर्छ। उक्त प्रतिवेदनले सन् १९८६–२००० बीचको तापक्रम तथ्यांकलाई आधार तुल्याएर गरेको प्रक्षेपणअनुसार सन् २०८० सम्म नेपालको औसत तापक्रम १.२ देखि ४.२ सेन्टिग्रेटले बढ्ने सम्भावना देखाउँछ। न्यूनतम तथा अत्यधिक तापक्रम बीचको दूरी अझ धेरै हुने अनुमानसमेत गरिएको छ। पृथ्वीको बढ्दो तापक्रमको आलोकमा जलवायु परिवर्तनका कारण पर्ने उच्च जोखिमपूर्ण मुलुकमा नेपाललाई दर्ज गरिएको छ। विश्व समुदायले बढ्दो तापक्रम नियन्त्रण गर्न सकेन भने सन् २०५० देखि नेपालको गार्हस्थ्य उत्पादन ७ प्रतिशत घट्ने अनुमानसमेत उक्त प्रतिवेदनले गर्छ।    

विश्वव्यापीकरण तथा जलवायु परिवर्तनबीचको सम्बन्ध अत्यन्त पेचिलो छ। वस्तुको उत्पादन, प्रशोधन, भण्डारण, ओसारपसार तथा उपयोगजस्ता कार्यमा पर्याप्त इन्धनको प्रयोग हुन्छ। मानवीय स्थानान्तरणकै निमित्त प्रयोग गरिने यातायातका साधनले पनि इन्धनको उपयोग गर्छन्। राष्ट्रिय औद्योगीकरण, कृषि व्यवसाय तथा सेवा प्रदानका काममा पनि इन्धनको प्रयोग हुन्छ। इन्धन उत्पादनको क्रममा प्रज्ज्वलित पेट्रोलियम पदार्थ तथा कोइलाले कार्बन डाइअक्साइड ग्यास उत्पादन गर्छ। मानवीय क्रियाकलाप, कृषि पैदावार तथा पशु उद्योगबाट मिथेन ग्यास उत्पादन हुन्छ। 

वायुमण्डलमा जम्मा भएको ६५ देखि ८० प्रतिशत कार्बन डाइअक्साइड समुद्रमा 'डिजल्भ' हुन २० देखि २०० वर्षसम्म लाग्छ मिथेन ग्यास एक दशकमा विलीन हुन्छ। हरितगृह ग्यासले पृथ्वीको सतहको तापक्रम बढाउने कार्य गरिरहेको छ। तर यसबारे आम सर्वसाधारणमा मात्र होइन, जिम्मवार राज्य सञ्चालकहरूलाई समेत वोध छैन। 

पछिल्लो शताब्दीदेखि अर्थात् औद्योगिक क्रान्ति (सन् १८८०) देखि पृथ्वीको तापक्रम सरदर ०. ०८ डिग्री सेन्टिग्रेड प्रतिवर्षका दरले निरन्तर बढ्दै गरेको छ। तापक्रम वृद्धिदर सन् १९८१ देखि दोबरभन्दा बढी (०.१८ डिग्री) प्रतिवर्षका दरले बढ्न थालेको छ। तथ्यांक संकलन गर्न थालेदेखिकै सन् २०२२ छैटौँ उच्च तापक्रम भएको वर्ष रह्यो। हेक्का रहोस्, सन् २०१० देखि २०२२ बीचको १२ वर्षको अवधिका १० वर्ष विश्व तापक्रम विगतका वर्षको भन्दा उच्च रह्यो। विश्वव्यापीकरणले तीव्र गति लिन थालेपछिका वर्षहरूमा इन्धन खपत बढेको बढ्यै छ। 

यसअघि वायुमण्डलमा थुप्रिँदै गएको ४५० अर्ब टन हरितगृह ग्यासमा सन् २०२२ मा मात्रै ३२ करोड टनभन्दा बढी हरितगृह ग्यास थपिएको अनुमान गरिन्छ। थपिँदै गरेको हरितगृह ग्यासको परिणामलाई घटाएर विश्वको तापक्रम नियन्त्रण गर्ने रणनीति विश्व समुदायले अख्तियार गर्दैछ। वैज्ञानिकहरू सन् २०३० मा औसत विश्व तापक्रम १. ५ डिग्री सेन्टिग्रेटभन्दा बढी हुनु दिनु हुँदैन भन्नेमा एकमत छन्। यदि, तापक्रम १.५ डिग्री नाघेको खण्डमा पार्ने वातावरणीय प्रभाव अकल्पनीय हुन्छ भन्नेमा वैज्ञानिक समाज विश्वस्त छ। हरितगृह ग्यास घटाउने सबैभन्दा उत्तम उपाय हरितगृह ग्यास उत्पादन घटाउने हो। तर हालसम्म हरितगृह ग्यास उत्पादन कटौतीका निमित्त गरिएका प्रयासहरूको प्रतिफल सन्तोषजनक छैनन्। पश्चिमा युरोपेली राष्ट्रहरू हरितगृह ग्यास उत्पादनमा २७ प्रतिशत कटौती गर्न सफल भएका छन्। विश्वको दोस्रो बढी हरितगृह ग्यास उत्पादक अमेरिकाले भने २ प्रतिशत मात्र घटाउन सफल छ।          

यसै प्रसंगमा हरित विकासको अवधारणा चर्चाको विषय भएको छ। पेट्रोलियम तथा कोइलाद्वारा उत्पादन गरिने इन्धनलाई नवीकरण हुन सम्भव वैकल्पिक स्रोतले विस्थापित गर्ने लक्ष्य तय गरिएको छ। सौर्य, हावा, समुद्री छाल, सुरक्षित आणविक  तथा जलविद्युत‍्बाट ऊर्जा निकाल्ने अभियान विश्वव्यापी रूपमा सञ्चालित छ। वायुमण्डलबाट कार्बन डाइअक्साइड ग्यास खिचेर पृथ्वीको सतहमुनि भण्डारण गर्ने तथा हाइड्रोजन इन्धनको उपयोगका विषयमा पनि अध्ययन तथा अनुसन्धान हुँदै छन्। 

संयुक्त राष्ट्र संघीय जलवायु परिवर्तनसम्बन्धी प्यारिस सन्धि (डिसेम्बर १२, २०१५) लाई १९६ राष्ट्रहरूले अनुमोदन गरेका थिए। उक्त सन्धि हस्ताक्षरकर्ता राष्ट्रहरूले सन् २०३० सम्म विश्व तापक्रम १.५ डिग्री सेन्टिग्रेटभन्दा बढी हुन नदिने प्रतिबद्धता जाहेर गरेका छन्। उक्त लक्ष्य हासिल गर्न विश्व समुदायले हरितगृह ग्यास उत्पादनमा ४३ प्रतिशत कटौती गर्नुपर्ने हुन्छ। प्यारिस सम्झौता हस्ताक्षर गर्ने नेपालले सन् २०४५ सम्म कार्बन डाइअक्साइड उत्पादन शून्य प्रतिशत तुल्याउने लक्ष्य राखेको छ। पेट्रोलियम पदार्थलाई जलविद्युत‍्ले विस्थापित गर्ने नेपाली रणनीति हो। 

नेपालका एक पूर्वप्रधानमन्त्रीले केही पहिले पानीबाट अक्सिजन तथा हाइड्रोजन छुट्टाएर नेपालले हाइड्रोजन इन्धन उत्पादन गरेर समृद्धि हासिल गर्ने घोषणा गरेका थिए। निवर्तमान अर्थमन्त्रीले हाइड्रोजन ग्यास निर्यात गरेर राष्ट्रलाई समृद्ध तुल्याउने उद्घोष घोषणा गरे। उनीहरूको लयमा लय मिलाउँदै वर्तमान प्रधानमन्त्रीले हाइड्रोजन ग्यास इन्धन उपयोग गर्ने गाडीमा सवार हुने इच्छा जाहेर गरिसकेका छन्। पानीलाई अक्सिजन तथा हाइड्रोजन ग्यासमा परिणत गर्ने प्रक्रियालाई इलोक्ट्रोलेसिस भनिन्छ। उक्त प्रविधि हालसम्म प्रयोगशालामा सीमित छ। व्यावसायिक रूपमा हाइड्रोजन ग्यास उत्पादनका निमित्त आवश्यक इन्धन, उत्पादित हाइड्रोजनको भण्डारण तथा वितरणलगायत उक्त ग्यासबाट सञ्चालन गरिने यातायातको साधन बजारमा आइपुग्न लाग्ने समय भने अनिश्चित छ। 

चाँदीको घेरा
अनुसन्धान तथा नीति निर्माताहरूको प्रयास तथा जनस्तरबाट जलवायु परिवर्तनतर्फ चनाखो हुन तथा त्यससम्बन्धी दबाबहरू विस्तारै कालो बादलमा देखिने चाँदीको घेराझैँ साबित हुन थालेका छन्। वैज्ञानिकहरू हरितगृह ग्यास उत्पादन घटाउने विविध प्रविधि, वायुमण्डलमा रहेको कार्बन खिच्ने प्रविधि, वैकल्पिक व्यावसायिक इन्धन उत्पादन तथा उक्त कार्यलाई 'ड्रइंगबोर्ड'बाट यथार्थमा परिणत गर्नेमा प्रयत्नशील छन्। 

नीतिनिर्माताहरू उनीहरूको कार्य सहज तुल्याउन तथा उपलब्ध प्रविधिको व्यापक प्रचारप्रसारतर्फ अग्रसर हुँदै छन्। अर्कोतर्फ, विश्वव्यापी रूपमा जलवायु परिवर्तनले प्रस्तुत गरेको चुनौतीको सम्बोधन गर्न कतिपय देश र शहरमा जनस्तरमा अभियानसमेत सञ्चालन हुँदै छन्। यस्ता अभियानमा किशोरकिशोर र युवाको संलग्नता बढ्दो छ। स्विडिस बालिका ग्रेटा थर्नबर्गले १५ वर्षको उमेरमै आफ्नो देशको संसद् सामुन्ने जलवायु परिवर्तनको मुद्दालाई लिएर गरेको प्रदर्शनलाई सकारात्मक नजरले त्यहाँको जनसमुदाय तथा नीति निर्माताहरूले ग्रहण गरे। परिणाम, ग्रेटाले संयुक्त राष्ट्र संघीय महासभा तथा ब्रिटेनको संसद्लाई सम्बोधन गर्ने अवसर पाइन। ग्रेटाले विश्व समुदायलाई युवाहरूको भविष्य जोखिम तुल्याउने अथवा बिगार्ने अधिकार नभएको जिकिर गर्दै आएकी छिन्। ग्रेटाले डाभोस (स्विट्जरल्यान्ड) 'विश्व विकास फोरम'मा पुगेर 'हाम्रो घरमा आगो लागिसकेको छ' भन्ने अभिव्यक्ति वास्तवमै सशक्त थियो।  

जलवायु परिवर्तनको विषयले वर्तमानमा जुन रूपमा विश्वव्यापी महत्त्व पाउँदै छ, त्यसलाई आत्मसात् गर्दा विश्वव्यापीकरणले उब्जाएको यस चुनौतीको सम्बोधन हुन्छ कि भनेर आशा गरौँ। तर हाम्रा तर्फबाट पनि निरन्तर प्रयास गरौँ। किनकि, हामी सबै एउटै डुंगामा छौँ।


सम्बन्धित सामग्री