Thursday, April 18, 2024

-->

द कुरौटे फाइल्स
नव राष्ट्रपतिको एक हप्ते टाइमलाइन : हराएको कोठी, कारकेड र कोर्स करेक्सन

हाम्रा अपेक्षा धेरै हुँदैनन्। कसैले आफैँले खनेको खाल्डो पुर्दा वाहवाही कमाउँछ, गाडी लेनमा चल्दा अचम्म हुन्छ, सांसदले बोल्नैपर्ने कुरा बोल्दा धाप भेट्छ, सरकारी कर्मचारीले घुस‌ नलिए मिसाल बन्छ।

नव राष्ट्रपतिको एक हप्ते टाइमलाइन  हराएको कोठी कारकेड र कोर्स करेक्सन

लामो र संघर्षपूर्ण राजनीतिक यात्राको अन्तिम मोडमा आइपुग्दा नेपाली कांग्रेसका पाका नेता रामचन्द्र पौडेलको ऐतिहासिक बलिदानको अन्ततः उचित कदर हुनपुगेको छ।

हालसम्म प्रतिनिधिसभाका सभामुख, कार्यवाहक प्रधानमन्त्री, उपप्रधानमन्त्री, गृहमन्त्री, नेपाली कांग्रेसका कार्यवाहक सभापति, उपसभापति, महामन्त्री र पटकपटक सांसद मात्र भएका ‘त्यागी नेता’ रामचन्द्र पौडेल लोकतान्त्रिक गणतन्त्र नेपालको तेस्रो राष्ट्रपति चुनिँदा उनको राजनीतिक तपस्याले बल्ल पूर्णता पाएको छ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको मिति तय भएलगत्तै वरिष्ठ नेता पौडेलले नेतृत्व परिवर्तनको मोर्चा सम्हालेका थिए। तर, सभापति निर्वाचन हुने बेला खोइ के कारणले हो त्यस्ता जाबा परिवर्तनलाई ‘बाइबाइ’ भन्दै ‘तटस्थ’ बसिदिएर उनले शेरबहादुर देउवामाथि ठूलो गुन लगाएका थिए। सभापति देउवाले उक्त बलिदानको उच्च मूल्यांकन गर्ने क्रममा पौडेलका लागि राष्ट्रपतिको कुर्सी सुनिश्चित गर्दै संसदीय राजनीतिमा पुनः कमब्याक गरेका छन्। अनि ‘राजनीतिमा कोही पनि स्थायी मित्र वा शत्रु हुँदैन’, खासगरी आफ्नै दलभित्र भन्ने उखान पुनः चरितार्थ गरिदिएका छन् ।

पौडेल राष्ट्रपति निर्वाचित हुनेबित्तिकै देश-विदेशबाट बधाइको ओइरो लाग्यो,‌ खादा र मालाका चाङ लागे, सम्मान गर्नेको होडबाजी चल्यो र पत्रपत्रिका उनको भूत, वर्तमान र सम्भावित भविष्यका कहानीले रंगिए। यसपालि ठ्याक्कै ‘को हुन् रामचन्द्र’ हेडलाइनवाला बायोग्राफी पढ्न नपाइए पनि चुनाव र उनको शपथग्रहणताका मिडियामा धेरै रमाइला किस्साले सजिएका थिए, सजिएकै छन्।

खासगरी 'म राष्ट्रपति भएपछि शीतलनिवासबाट राष्ट्रपति बाहिर निस्कँदा जनताले सास्ती बेहोर्नु पर्दैन' भनेको २४ घण्टा नबित्दै बाचाविपरीत उनको सवारी सडक खाली गराएर पूजाअर्चनाका लागि पशुपति मन्दिर पुगेको थियो ।  

अनि उड्न थाले सामाजिक सञ्जालभरि गिज्याउने, उल्ल्याउने शब्द कोरिएका चंगा... शुरू भए तर, किन्तु, परन्तु, देखिस् त, कान चिरेका जोगी का सिलसिलाहरू ....!

म स्वयंलाई भने यो बेकारमा तिललाई पहाड बनाइएको जस्तो मात्र लाग्यो। यो नेपाल हो, राम नाम गरेको व्यक्ति राष्ट्रपति बन्दैमा ‌रामराज्य नै आइहाल्ने त हैन होला। त्यो पनि प्रधानमन्त्रीय पद्धतिमा चल्ने देशमा‌!

खैर, राष्ट्रपति कार्यालयले शायद यो विकासक्रम पछ्याउँदै थियो, त्यसैकारण ‘ड्यामेज कन्ट्रोल’का लागि त्यही बेलुकी राष्ट्रपति चुनिएका पौडेल स्वयम्भूनाथ दर्शनको लागि जाँदा ‘साधारण’ हिसाबले, सडक खाली नगराइकनै पुगे। केही मिडियाले त बिहानको नागरिक आक्रोश बिर्सिँदै ‘ल हेर्नुस्, कसैलाई केही दुःख नदिई कसरी स्वयम्भू विहार गर्न पुगे रामचन्द्र’ जस्ता फुर्के गाईगान सम्म भ्याउन पुगे। 

यही क्रममा शनिबार एक कदम अघि बढेर उनी बिनाकारकेड नै कुमारी दर्शन गर्न पुगे। यसरी कडा प्रहार गर्न अभ्यस्त ‘हार्ड हिटिङ ब्याटर’ समान आलोचकहरूलाई पुरानै बलले सरप्राइज रिभर्स स्विङ गरी क्लीन बोल्ड पनि गरिदिए हाम्रा राष्ट्रपतिले।

   

बस्! अनि हामी अल्पावधि स्मृतिले ग्रस्त मानुषहरूलाई के चाहियो? ‘सही हो’, ‘यस्तो पो तरिका’ भन्दै थपडी बजाउन थाल्यौँ, ट्विट र रिट्विट गर्न थाल्यौँ।

जे होस्, ‘संस्था’ले चाहे एक हप्ताभित्रै कसरी सकारात्मक बदलावका माध्यमबाट जनभावना आफ्नो पक्षमा पार्न सक्ने रैछ भन्ने स्थापितचाहिँ भयो।

हाम्रो देशको चलन यस्तै-यस्तै हो, हाम्रा अपेक्षा धेरै हुँदैनन्। कसैले आफैँले खनेको खाल्डो पुर्दा वाहवाही कमाउँछ। गाडी लेनमा चल्दा अचम्म हुन्छ, सांसदले बोल्नैपर्ने कुरा बोल्दा धाप भेट्छ, सरकारी कर्मचारीले घुस‌ अस्वीकार गर्दा मिसाल बन्छन्। प्रधानमन्त्रीले निर्देशन दिँदा हेडलाइन बन्छन्। अझ, व्यापक बेतिथिको ‘विकल्प’ कोही छ भन्नेजस्तो उसको समर्थन र गुणगानमा ट्विटर र फेसबुकका भित्तामा केरकार गर्छौं। आफ्नै दिदीभाइ भन्दा धेरै उसको बचाव गरिदिन्छौँ। छोटकरीमा भन्दा कसैले गर्नैपर्ने काम गर्दा यहाँ थपडी बज्छ। हामी औसतभन्दा मुनिको डेलिभरी पाउन शायद यति अभ्यस्त भइसक्यौँ कि न्यूनतम गराई नै उपलब्धि हुनपुग्छ।

राष्ट्रपति कार्यालयले यो सानो सकारात्मक सुधार जारी राख्छ‌ कि नेपाली सेनाको ‘हाम्रो परमाधिपति, हाम्रो जिम्मा’ ट्र्यापमा पर्छ होला? कि उनका पूर्ववर्तीले झैँ उनका उत्तराधिकारले समयक्रममा ‘उहिले राजा राष्ट्रप्रमुख हुँदा नि बाटो छेक्थे अहिले हामीले बडा दुःख गरेर उनलाई हटाई राष्ट्रपति बनेर सडक रोक्दा किन गौरव नगर्ने? मर्यादा राख्ने कि अतिरञ्जना गर्ने?’ भन्ने लाइन समात्लान्? हेर्दै जाऔँ।

ए! ए! पूर्ववर्ती राष्ट्रपतिको कुरा गर्दा अर्को कुरा याद आयो । सवारी चर्चा सेलाउन नपाउँदै ‘राष्ट्रपतिको ट्विटर अकाउन्ट अपहरित’ भएको सूचनाले सबैको किबोर्ड फेरि व्यस्त बनायो। के भएछ भने @PresidentOfNp ह्यान्डलमा चलिरहेको खाता @BidyaDBhandari को नाममा निजीकरण गरिएछ‌। अपहरणकर्ता को भन्दा भूपू राष्ट्रपतिका सहयोगी!

उहाँहरूको तर्क के भने प्रथम राष्ट्रपति रामवरण यादवको पालामा ट्विटरमा कुनै खाता खोलिएको थिएन। र, यो खाता उहाँको उत्तराधिकारी विद्यादेवी भण्डारीको कार्यकालमा उहाँको टिमले बनाएको हुँदा स्वाभाविक रूपमा उनको नाममा सरुवा भयो।

अर्कोतर्फ, केहीको वितर्क रह्यो कि विगतमा उक्त ह्यान्डलबाट व्यक्तिगत रूपमा नभएर राष्ट्रपतिको रूपमा ट्विटहरू गरिएको हुनाले सो खाता व्यक्ति हैन संस्थामा हस्तान्तरण हुनुपर्थ्यो। जस्तो कि सुशील कोइराला प्रधानमन्त्री हुँदा खोलिएको @PM_Nepal ओली निर्वाचित भएपछि उनको टिमलाई हस्तान्तरण गरिएको थियो, त्यसपछि देउवाको सहयोगी टोलीलाई।

झट्ट हेर्दा खासै ठूलो मुद्दा नभए पनि राज्य सञ्चालन गर्ने हरेक तप्कामा जरामै थिति नबसाल्दा संरचना खिइँदै जान्छ भन्ने आधारभूत बुझाइको कमी हुनु निकै नै निराशाजनक स्थिति हो । ‘बामे गर्दै गरेको गणतन्त्र, प्रणाली स्थापना गर्न समय लागिहाल्छ। आलोचना गर्नुहुन्न, विरोधीले तर मार्छन्। आलोचक जति प्रतिक्रियावादी, प्रतिगामी’ जस्ता छेउ न टुप्पाका बहाना पछाडि कहिलेसम्म लुक्ने र लुक्न दिइरहने हो र?

गफ अलि गम्भीर बाटो तिर लाग्यो कि के हो? मलाई पनि त्यस्तै लाग्यो। त्यसैले हाइज्याक भएको ह्यान्डलबाट छिटोछिटो सन्दर्भ मोडौँ योगेश भट्टराईतिर।

राष्ट्रपति (हरू) को चर्चा भइरहँदा योगेश भट्टराई कताबाट आए भनेर भ्रमित नहुनुहोला।

नेकपा एमालेका सांसद भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलको शपथग्रहणका क्रममा भाषिक त्रुटि भएको जिकिर गर्दै हालै ट्विटरमा ‘हाम्रा राष्ट्रपतिले पुनः शपथ लिनु पर्छ कि पर्दैन होला? तपाईंलाई के लाग्छ?’ भन्ने बेहोराको भ़क्स् पप् नै गरे।

नोट: पक्ष-विपक्ष मात्र होइन, ‘अपक्ष’ र ‘मध्यमपक्ष’ पनि अति ध्रुवीकृत भइसकेका सञ्जालहरूमा गरिने यस्ता  ‘सर्वेक्षण’हरूको नतिजा प्रश्न के हो भन्दा प्रश्नकर्ताले कुन पक्षको हो र उसले खोजेको सम्भावित उत्तर के हो भन्नेमा भरपर्छ।

हालांकि मैले सांसद भट्टराईले आफ्ना पार्टीका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो शपथग्रहणका क्रममा यही प्रतिज्ञा भन्ने शब्द नदोहोर्‍याउँदा यस्तो प्रश्न उठाएको ट्विटर अभिलेखमा भेटिनँ‌। यो तथ्य नभएर मेरो शोध-क्षमतामा आएको ह्रास अथवा ट्विटरको बिग्रिएको डाटाबेसको दोष पनि हुनसक्छ। भट्टराई सदा झैँ परिस्थितिको परिबन्दमा परेका पनि हुन सक्छन्।

जेठ २०७८ मा अल्पमतको प्रधानमन्त्री भई तत्कालीन राष्ट्रपति विद्या देवी भण्डारीसँग शपथ लिँदै गर्दा भण्डारीले भनेको वाक्य ‘प्रतिज्ञा गर्छु’ नदोहोर्‍याई ‘त्यो पर्दैन’ भनेर सार्वजनिक रूपमै अवज्ञा गरेका थिए। ‘बैगुनी कमरेड’ भनेर पनि चिनिने भट्टराई एमालेका होनहार सिपाही भन्ने थाहा हुँदाहुँदै पनि यस्तो नैतिक प्रश्न उठाउनुपर्‍यो नै, किनभने हामीलाई कन्टेन्ट अगाडि बढाउनु पर्ने बाध्यात्मक परिस्थिति छ। (कन्टेन्ट बढाउने भन्दैमा उनले उपराष्ट्रपति निर्वाचनका दिन दिएको नितान्तै बेतुका, बोर्डरलाइन रंगभेदी वक्तव्यको चर्चा भने गर्दिनँ।)

यसो भन्दै गर्दा मैले हाल राष्ट्रपतिको शपथग्रहण संवैधानिक थियो, थिएन भनेर आफ्नो विशेषज्ञ-राय प्रकट गरेको होइन। बल्की यसो फुर्सद पाएको बेला एउटा फ्याक्ट चेक गरेर म पनि हल्का बौद्धिक खालको मान्छे नै हो है भनेर स्थापित गर्न खोजेको हो। त्यो पर्दैन भने हामी यो प्रसंगबाट प्रस्थान गरेर कुरा गरौँ कोठीगेट को।

पौडेलको शपथग्रहणसँगै राष्ट्रपति कार्यालयको वेबसाइट अद्यावधिक गर्नेक्रममा अपलोड भएको तस्वीरमा उनी आफ्नो स्वाभाविक स्वरूप भन्दा निकै नै भिन्न देखिए। उक्त तस्वीर देखेपछि धेरै जना गहन सोचमा डुबे, घोत्लिए, अनुमानोलोजी चल्यो, हिसाब लागे। बल्ल पत्ता लाग्यो दालमा केही कालो किन छैन र जारी भयो- कोठी हराएको सूचना!

विश्वभर 'सुन्दरता'का विभिन्न मानकहरू छन्। त्यसमा नेपाल जस्ता दक्षिण एशियाली देशका पनि अपवाद बाहेक आफ्नै विशेष सौन्दर्य स्ट्यान्डर्ड छन्- जस्तो कि उज्यालो, बेदाग मुहार। राष्ट्रपति कार्यालयका सहयोगीहरूलाई‌ पनि लाग्यो होला, हाम्रा यसै चिटिक्क परेका राष्ट्रपतिलाई अझै चटक्क पारेर भारीभरकम सम्पादन गरेको तस्वीर जारी गरिदिम्। शायद उनको नागरिकतामा पनि अटाएको पहिचान उनको गालामा रहेको 'कोठी' हटाएर प्रस्तुत गरिएको तस्वीरले उल्टै कर्मचारीलाई गाल पो पार्‍यो।

अर्जुन भन्दा तिखो दृष्टि भएका सञ्जाल प्रयोगकर्ताले यस्तो स्पष्ट त्रुटि नदेख्ने कुरै भएन। दिनभर को हाहा-हुहु पछि राप कार्यालयले ‘हार स्वीकार’ गर्दै महामहिमको प्राकृतिक तस्वीर जारी गर्‍यो।

सामाजिक सञ्जालमा हुने होहल्लाले राज्यको काम कारबाहीका कति प्रभाव पार्छ, यकिनका साथ भन्न सकिन्न। तर सवारी र कोठी प्रकरण पछि यति भन्न सकिने भयो कि शीतल निवासले ट्विटर, फेसबुकमा उठेका सवाल, आलोचनाबारे हालका लागि खबर‌ राखिरहेको छ।

जस्तो कि मैले अघि नै भनेँ, अधिकतर निराश हामी न्यूनतम अपेक्षा, (बेर मिनिमम) न्यूनतम प्रदर्शनमै अभ्यस्त जनलाई स-सानो कुराले पनि आशावादी बनाउँछ। सानै सकारात्मक थालनीलाई प्रस्थानबिन्दु बनाएर अरूले ‘सिक’ लिनेछन्, अति बिस्तारै भए पनि केही त हुँदैछ भनेर दंग पर्छौं। कसैले खुल्ला राखेर गएको धारा बन्द गर्नेलाई हामी धाप मार्ने छौँ, फोहोर टिपेर फाले थपडी बजाउने छौँ।

तसर्थ, अर्को हप्ता अर्को विषयमा मेरो ज्ञानगुनका कुरा नआइन्जेल निर्देशन दिँदै गर्नुहोला, धाप खाँदै गर्नुहोला ।  

अभिवादन!


सम्बन्धित सामग्री