Saturday, April 20, 2024

-->

रङ : यत्रतत्र सर्वत्र

पशुको टाउको, नजिकै देवताको सानो मूर्ति, पूजा सामग्री र लतपतिएको रातो रगतमाथि अर्को गाढा रातो रङको प्रश्न चिन्ह। मलाई त्यो चित्र बनाएपछि धेरै हदसम्म 'रिलिफ' मिल्यो।

रङ  यत्रतत्र सर्वत्र

रङ एक प्रकारको दृष्टि या दृष्टि चेतना हो। रङले गर्दा नै कुनै वस्तुको अस्तित्व बोध हुन्छ। कुनै मिठो परिकारको वास्ना सुँघ्दा भोजनको रहर उत्पन्न भएझैँ रङ हेर्दा मानिसको मन–मस्तिष्कमा सकारात्मक या नकारात्मक शारीरिक तथा मानसिक प्रतिक्रिया उत्पन्न हुन्छ। रङ प्रकृति र प्राणी जगतको अभिन्न हिस्सा हो। 

हर कोही मानिसदेखि जीवजन्तुमा असङ्ख्य रङ हुन्छ। छालाको एउटा रङ, नसाको अर्को रङ, कपालको बेग्लै रङ, नङको अलग रङ, आँखा र परेलाका भिन्न रङ। शरीर खोतलेर हेर्दा झनै धेरै रङ। एउटै पशुपंक्षीका छाला र प्वाँखमै पनि कति धेरै रङ। एउटै प्राणी र प्राणीको रौँको पनि बेग्लाबेग्लै रङ। आहा, यो जगतमा कति धेरै रङ। 

बिहानीको उज्यालो सूर्यका किरणदेखि रातका निस्पट्ट अँध्यारोमा पनि रङ नै हुन्छ। अँध्यारो पनि एउटा रङ हो। रङका विषयमा बोल्दा छुटाउन नहुने एक पक्ष हो, प्रकाश। प्रकाशबिना रङको अस्तित्व हुन्न। भौतिक दृष्टिकोणबाट प्रकृतिको चारैतिर हेर्ने हो भने रङको महसुस हामीले उज्यालो र सेतो प्रकाशमा मात्र गर्न सक्छौँ। खास रङहरू देखेर मान्छे उत्साही हुन्छन् भने कतिपय रङ देखेर मान्छे बेखुस पनि हुन सक्छन्। उज्याला रङहरू धेरैजसो मान्छेलाई मन पर्छन्। 

कलाकारको लागि रङको परिभाषा 
आम मानिसको जीवनमा प्रत्यक्ष वा परोक्ष रूपमा रङको प्रयोजन भिन्नै रहला, तर हामी कलाकारको जीवनमा रङ सधैँको साथीझैँ रहन्छ। कुन रङलाई म कसरी खेलाऊँ भनेर कलाकार प्राय: सोचमग्न या उद्विग्न रहन्छ। मानव जाति हरपल आफूलाई अभिव्यक्त गर्न चाहन्छ। प्रतिक्रिया जनाउन चाहन्छ। 

मलाई पनि मभित्र उठ्ने भावना र विचारलाई शब्दमा व्यक्त गर्न मन लाग्छ, तर आफूले सही तरिकाले अभिव्यक्ति गर्न सक्दिनँ कि भन्ने एउटा संकोच पनि सँगै पैदा भइरहेको हुन्छ। सामान्य कुराकानीबाहेक गहन विषयमा हुने कुराकानी र संवाद सही रूपमा अभिव्यक्त नहुँदा अपूरा लाग्छन्। खल्लो लाग्छ। मसँग जति अभिव्यक्त गर्नु थियो, त्यो गर्न सकिनझैँ लाग्छ। त्यस्तो अवस्थामा आफ्ना विचार र भावना पोख्ने सशक्त माध्यमका रूपमा रङ छान्छु। 

पशुबली प्रथा सही हो या गलत भन्ने विषयमा मैले मेरो एउटा चित्र बनाएको छु। चित्र बनाउनु पूर्व बली प्रथा सही हो वा गलत भन्ने विषयमा मेरो दिमागमा अनेकन् विचार खेले। मभित्रको विचारलाई कहाँ पोखूँ या भनूँ झैँ भइरहेको थियो। सोही समय मैले क्यानभासमा कुची लिएर कोर्न थाले, त्यसमा रङ भरेँ। क्यानभासमा रातो रङको प्रभुत्व बढी थियो। 

चित्र: अशोकमान सिं

एउटा पशुको काटिएको टाउको, नजिकै देवताको सानो मूर्ति, पूजा सामग्री र लतपतिएको रातो रगतमाथि अर्को गाढा रातो रङको प्रश्न चिन्ह। मेरो दिमागलाई हल्लाइरहेका तमाम भावना सोही चित्रमार्फत व्यक्त भए। मलाई त्यो चित्र बनाएपछि धेरै हदसम्म 'रिलिफ' मिल्यो। मेरा वैचारिक शब्दसँगको खेलाइ रङले प्रतिनिधित्व गर्ने गर्छन्। रङबाट म आफूलाई अलग राख्न सक्दिनँ। यसो भनौँ, रङबाट म टाढा हुन सक्दिन। मेरा रङ्गी-विरङ्गी सोचका अभिव्यक्ति यिनै रङका माध्यमबाट हुने गर्छन्। यस कारण पनि मेरो बुझाइमा रङ कलाकारका लागि अभिव्यक्तिको माध्यम हो। 

फरक रङका आफ्नै अर्थ र प्रयोजन स्थापित छ कलाकार जगतमा। विभिन्न देश, दर्शन, धर्म, समुदाय र राजनीतिक दलहरूका समेत पहिचानका रङहरू हुन्छन्। रङका विषयमा कलाकारको गहन बुझाइ हुन्छ। फरक रङले फरक मनोविज्ञानको प्रतिनिधित्व गर्ने ठानिन्छ। सौन्दर्यका लागि मान्छे मात्र होइन, कतिपय प्राणीसमेत लालायित हुन्छन्। भाले मजुरको रङ्गीन प्वाँखहरूमा पोथी मोहित हुन्छ। त्यसो हुँदा कलाकारले रङसँग खेल्नु भनेको पनि सौन्दर्य खोज्नु हो। खोजी र प्रस्तुतीकरणको लागि उसले रङहरूको प्रयोग गर्छ। चित्रकलाको कम्पोजिसन र स्वरूप देखाउने आधार नै रङ हो। यो त भयो आँखाले तत्काल देखिने विषय।

कलाकृतिमा रङको प्रयोग 'थिम' उजागर गर्नका लागि पनि हुन्छ, जुन देखिनेभन्दा पनि भाववाचक हुन्छ, अर्थात् त्यसलाई बोध गरिन्छ। ‘थिम’ भनेको विषयको प्रस्तुतीकरण हो। कला, कलाको विषय र परिकल्पना थिममार्फत प्रकट हुन्छ। यही कारण पनि आम मानिसको तुलनामा कलाकार रङसँग बेसी बाँधिएका हुन्छन्। उनीहरूमा रङको घनत्व केही बढी हुन्छ। 

त्यस्तै, रङको परिधि चित्रकारले प्रयोग गर्ने पेन्टमा मात्र सीमित हुँदैन। कलाकारिता भनेको  रङ्गमञ्च, साहित्य, सिनेमा, संगीत र सञ्चार क्षेत्र पनि हुन्। जति चित्रकलामा रङको महत्त्व हुन्छ, त्यतिकै रङको महत्त्व कलाकारिताका यी क्षेत्रहरूमा पनि हुन्छ। रङमञ्चमा रङको प्रभाव देखाउन प्रकाशको महत्त्वपूर्ण भूमिका हुन्छ। हामीले रङमञ्चमा देख्ने हरियो रङ पहेँलो र निलो प्रकाशको सम्मिश्रणले हुने गर्छ। यस कारण रङ र प्रकाशको सम्बन्ध महत्त्वपूर्ण छ। 

आजकल प्रयोग हुने 'डिजिटल पेन्ट'मा रङका अप्सन रङ नभई विद्युतीय उपकरणमा पाइने प्रकाशका भेरिअन्ट हुन्। यस्तै: सञ्चारतर्फ ग्राफिक्स पनि रङ र प्रकाशमै आधारित हुन्छ। लामो समय ग्राफिक्समा काम गरेका कारण रङलाई केबल चित्रकारितासँग मात्र जोडेर नहेर्न र यसको महत्तालाई कलाकारितामा मात्रै सीमित राख्न नहुने मत मेरो छ। 

साहित्यकारले पनि आफ्ना कृतिमा रङको मनोविज्ञान पोखेका हुन्छन्। जीवनमा मानिसले हरेक पल, समय र अवस्था अनुसार आफ्ना भावना, चरित्र तथा स्वभावबाट सात्त्विक, तामसिक तथा राजसिक गुण तथा भाव अभिव्यक्त गरिरहेका हुन्छन्। उक्त भाव साहित्यकार तथा डिजाइनरहरूले रङबाट अभिव्यक्ति गर्ने गर्छन्।

रङबाट दया, माया, परोपकार, पवित्रता, शान्ति, दुःख, वेदना, रिस, क्रोध आदि भावहरू व्यक्त गर्न सकिन्छ। उक्त भावलाई काव्य शास्त्रमा समेत नौ विभिन्न रसहरूमा विभाजन गरी वर्णन गरेको पाइन्छ, जसलाई नवरस भनिन्छ। साहित्यभित्रका ती नवरसलाई नौ विभिन्न रङबाट भाव अभिव्यक्त तथा प्रतिनिधित्व गरिएका हुन्छन्। नवरसको नाम तथा त्यसको भाव अभिव्यक्त तथा प्रतिनिधित्व गर्ने नौ रङ यस प्रकारका छन् : 

१) शृङ्गार : सुन्तला रङ। २) वीर : सिम्रिक रातो। ३) करुण: लाल प्याजी। ४) हाँस्य : नीलो। ५) रौद्र : 'क्रिमसन' रातो। ६) भयानक : हरियो वा कालो। ७) बीभत्स : गाढा रातो। ८) अद्भुत: पहेँलो।  ९) शान्त : सेतो।

त्यस्तै, सङ्गीतसँग पनि रङको अन्तर्निहित सम्बन्ध छ। उस्तादहरूले संगीत संयोजन गर्दा सात स्वर र सात तालको संगीत सूत्रसँगै सात रङलाई पनि आत्मसात् गरेका छन्। किनभने सङ्गीतमा उषाको मिरमिरे उज्यालोदेखि सन्ध्या कालको प्राकृतिक परिवर्तनशीलता प्रकट गरिएको हुन्छ।  

होली र रङ : उष्ण मौसमको उष्ण रङ 
हुन त मौसम अनुसार प्रकृतिको आफ्नै रङ र बोली हुन्छ। यसबारे आफ्नो पुस्तक 'रङ'मा विस्तृतमा लेखेको छु। वसन्त ऋतु र होलीको सन्दर्भ हुँदा वसन्त ऋतुकै विषयमा जोड दिएँ। 

शिशिर ऋतुमा नाङ्गिएका वन जंगल, डाँडा पाखाहरूमा वसन्त ऋतुको आगमनसँगै पुनः हरियाली छाउन थाल्छ। रुखहरूमा सेता, पहेँला पालुवा पलाउन थालेको हुन्छ। फिक्का बैजनी रङका फूलहरू ढकमक्क फुल्नुका साथै पलाउन थालेका कलिला पातहरू पहेँला, फिक्का हरियो देखिने हुन्छन्। प्राकृतिक रङ नै रमाइलो देखिन्छ। 

वसन्त ऋतुभर मौसम न्यानो हुन्छ। यस बेला हामी उष्ण समूहका तीन रङ रातो, सुन्तला र पहेँलोको वातावरणीय प्रभाव पाउँछौँ। त्यसैले यस मौसममा उक्त तीन रङ प्राधान्य मानिन्छन्। किनभने यी तीन रङको चारित्रिक गुण वसन्त ऋतुमा पाइने प्राकृतिक रङसँग मिल्दोजुल्दो हुन्छ। यी रङले न्यानो प्रभाव दिनुका साथै हर्ष, उल्लास एवम् रमाइलो अनुभव बोध गराउँछन्। यी रङले मानिसहरूको मनमा उत्साह र जाँगर उत्प्रेरित गराउँछ। 

उष्ण रङमा पर्ने बैजनी, रातो, सुन्तला र पहेँलो रङको प्रभाव यस मौसममा हुने गर्छ। यसरी नै मौसमअनुसार रङको प्राकृतिक रूप देखिन्छ। उष्ण रङको प्रयोग 'भिजिबल' देखिन्छ। होलीमा पनि यही रङको प्रधानता पाइन्छ। 

हरेक धर्ममा रङको महत्त्व छ। हिन्दु धर्मावलम्बीको बाहुल्यता रहेको नेपाली चाडपर्वमध्ये रङको प्रयोग विशेषतः होली र तिहारमा प्राथमिकताका साथ हुँदै आएको छ। यसका आफ्नै 'मिथ' र कथा-कहानी छन्। तिहारमा दिदीबहिनी र  दाजुभाइबीच रङ्गिन टिका आदानप्रदान हुने गर्छ। होलीमा रङ लगाएर साथीभाइ, आफन्तजनसँग खुसी, सद्भाव र सकारात्मक ऊर्जा साटासाट हुन्छ। रङको यो अदृश्य शक्ति साँच्चै अलौकिक छ।

म र मेरो ‘रङ’ पुस्तक 
म सानैदेखि चित्र कोर्न लालायित हुन्थेँ, रङसँग खेल्न रुचि राख्थेँ। बाल्यकालमा रङलाई रङकै परिभाषामा बुझेको थिएँ। तर, ५० वर्षको कलाकारिताको यात्रामा आइपुग्दा रङ नै मेरो परिचय बन्न पुगेको छ।  रङसँगको अभ्यास र सानिध्यले ‘रङ’ नाम पुस्तक प्रकाशित भयो। यो पुस्तक मैले १० वर्ष अघि लेखेको थिएँ। उक्त पुस्तकलाई मैले मेरो कलाकारिताको अनुभव र साधनाको एउटा भौतिक आकार मान्छु। 

त्यसमा रङको वहुआयामिक पक्ष र प्रयोगको विषयमा सकेसम्म विस्तृत रूपमा समेटेको छु। खुसी के लाग्छ भने, आफ्ना अनुभव र ज्ञानलाई भौतिक आकार दिँदा उक्त पुस्तक २०६८ सालको मदन पुरस्कारका लागि मनोनीत भएको थियो। त्यही नै मेरा लागि ठूलो उपलब्धि थियो। त्यस पटक मदन पुरस्कारचाहिँ अमर न्यौपानेजीको ‘सेतो धर्ती’ले पायो। उक्त पुस्तकको पहिलो संस्करणमा भएका केही कमी तथा रङका बारेमा थप जानकारी थप्नु पर्ने भएकाले म दोस्रो संस्करणको तयारी गर्दैछु। 

वरिष्ठ कलाकार सिंहका रङसम्बन्धी 'रङ' र 'ग्राफिक्स सञ्चार' नामक दुई कृति प्रकाशित छन्। उनले विभिन्न उपन्यास र वाल साहित्यसमेत रचना गरेका छन्।


सम्बन्धित सामग्री