Thursday, April 25, 2024

-->

खाना नभएर मात्र होइन, खान नजान्दा पनि हुन्छ कुपोषण

कसैको पोषण राम्रो छैन भन्ने कुरा कतिपय अवस्थामा अनुहारको बनावट र अनुहारबाट हराएको 'ऊर्जा'बाट पनि थाहा हुन्छ। पोषण नपुगेका बच्चा प्राय: अस्वस्थ रहन्छन्, उनीहरूलाई झ्याउ र झिँजो लाग्ने गर्छ।

खाना नभएर मात्र होइन खान नजान्दा पनि हुन्छ कुपोषण

पोषणको विषयमा कुराकानी गर्ने क्रममा सर्वप्रथम मलाई पोषणविद् भनेर गरिने सम्बोधनलाई भने सुधार्न चाहन्छु। म आफूलाई पोषणविद् मान्दिनँ। म एक डाक्टर हुँ। यद्यपि, देशका विभिन्न जिल्ला, विशेषतः सुदूर पश्चिम तथा तराईमा काम गर्दा मैले पोषणका विषयमा जान्न पाएँ। पोषणको मेरो विद्यालय तथा विश्वविद्यालय मेरै हजुरआमाको भान्सा र आमाको सिकाइ हो। महिलालाई कुपोषण भएका बारे सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा कुपोषणसम्बन्धी समाचार आइरहेका छन्। 

साना बच्चाका आमाको दूध नआएका कुरा आइरहेका छन्। दूध नआउनुको मुख्य कारण पोषण अभाव हो। सुदूर पश्चिम र तराईमा काम गर्दा त्यहाँका आमाहरूमा भएको कुपोषणको विषयमा धेरै कोणबाट बुझ्न पाइयो। गरिबीलाई छुट्टै राखेर हेर्न हो भने पनि घरघरमा खानेकुरा हुँदाहुँदै समेत महिला कुपोषित भएको मैले पाएँ। कुपोषित हुनु पोषणको कमी मात्र होइन, घरपरिवारमा महिलालाई गरिने व्यवहारको प्रतिविम्ब पनि हो। महिलालाई घरमा कति खानेकुरा, कति प्राथमिकताका साथ दिइन्छ भन्ने कुराले पनि तिनको पोषणको विषय भर पर्छ। 

पितृसत्तात्मक समाजको चलनमा परिवारका सबै सदस्यले खाना खाएपछि मात्र बुहारी, छोरी अथवा महिलाहरूले खाना खाने गर्थे, अझै पनि धेरै ठाउँमा यो अभ्यास जिउँदै छ। त्यस्ता विभेदयुक्त व्यवहारले महिलाको हकमा खानाको परिमाण र आवश्यक पोषणमा असर पार्‍यो। यस प्रकारको चलनमा कमी आउँदै छ, तर अझै पनि श्रीमती, आमा, छोरी र बुहारीलाई घरमा बाउ या छोराझैँ खानपिन गराइँदैन।

यसको बलियो उदाहरण ‘छोरा पाए खसी, छोरी म पाए फर्सी’ भन्ने लोकोक्ति हो, जुन हामीले पुस्तौँदेखि सुन्दै आएका छौँ। ‘फर्सी’लाई एउटा तरकारीका रूपमा नभई विषयगत रूपमा बुझौँ। फर्सीको पोषणको महत्त्व नबुझेर पनि यसो भनियो होला। फर्सी, इस्कुस, मुलालगायत तरकारी पोसिला तरकारीमा पर्छन्, तर हाम्रो समाजमा सहजै उपलब्ध यी तरकारी अपहेलनमा परे। अपहेलनमा परे भन्नुको अर्थ तिनमा पोषण छ भन्ने ठानिएन। रुचिका साथ खाइएन। 

मासुलगायत जिब्रोको स्वाद केन्द्रित र महँगो खानेकुरालाई मात्र महत्त्वपूर्ण खाना/तरकारी बुझियो। छोरी पाउने सुत्केरी महिलालाई जे खान दिए पनि हुन्छ भनिरहँदा छोरा पाउँदा 'बच्चालाई आमाको दूध बढी खुवाउनु पर्छ, चाँडै तङ्ग्रन लगाउनुपर्छ' भन्ने अभ्यास भने थियो। छोरी पाउँदा हुने यस्ता व्यवहार नेपालका केही भेग र समाजमा अझै छन्। सामाजिक संरचनामा महिला र पुरुषबीच भएको पर्याप्त विभेदले महिलाको पोषण र स्वास्थ्यमा जटिल समस्या पैदा गरिरहेकै छ। 

किशोरावस्थामा पोषण नपुग्दा तिनबाट जन्मने बच्चामा समेत प्रभाव 
गर्भावस्थामा आमा र बच्चा दुवैलाई पोषणको आवश्यकता पर्छ। त्यसो हुँदा, महिलालाई गर्भवती भएपछि मात्र पोषणमा प्राथमिकता दिनु मात्र पर्याप्त हुँदैन। कारण, प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा हाम्रो आमा र हजुरआमाले खाएको पोषणले पारेको वंशाणुगत प्रभाव हामीमा समेत परेको हुन्छ। त्यस कारण भविष्यमा जन्मने नयाँ पीढीका लागि गर्भावस्थाबाट मात्र होइन, बाल्यावस्थादेखि नै खानपिनमा ध्यान दिनुपर्छ। गर्भावस्थामा आमालाई पर्याप्त खानेकुरा नपुग्दा कुपोषण तथा रगतको कमी हुँदा बच्चा पनि त्यस्तै अवस्थाको जन्मन्छ। रगतको कमी भएपछि बच्चा सानो जन्मन्छ। सानो बच्चा बचाउनै गाह्रो हुन्छ। बचिहाले पनि उनीहरूमा अन्य स्वास्थ्यजन्य समस्या देखिन्छ। 

पोषण र मानसिक स्वास्थ्य
पोषण र मानसिक स्वास्थ्य प्रत्यक्ष जोडिएका विषय हुन्। केही समयअघि संयुक्त अधिराज्य बेलायतमा मेरो लामो बसाइँ भएको थियो। त्यस समय पोषण र मानसिक स्वास्थ्यबारे लिएको तालिममा यसबारे अझ विस्तृतमा बुझ्न पाएँ। त्यसअघि मैले पोषण र मानसिक स्वास्थ्यबारे खास बोल्दैन थिएँ। 

कसैको पोषण राम्रो छैन भन्ने कुरा कतिपय अवस्थामा अनुहारको बनावट र अनुहारबाट हराएको 'ऊर्जा'बाट पनि थाहा हुन्छ। पोषण नपुगेका बच्चा प्राय: अस्वस्थ रहन्छन्, उनीहरूलाई झ्याउ र झिँजो लाग्ने गर्छ, जुन मानसिक अस्वस्थताका कारण हुन्छ। यता, पर्याप्त पौष्टिक पदार्थ खान पाएका बच्चाहरू प्राय: सन्तुष्ट र  उज्यालो अनुहारका हुन्छन्। यसबारे धेरै वैज्ञानिक अध्ययन–अनुसन्धान भएका छन्।

बच्चाका मात्र होइन, सबै उमेरका व्यक्तिका पोषणका सन्दर्भमा म सधैँ भनिरहेको हुन्छु: बच्चाहरूलाई बजारको खानेकुरा नखुवाऊँ। आफ्नै भान्सामा बन्न सक्ने सातु बजारको 'सेरलेक'भन्दा उचित हो। तर, सहजताका लागि हामी 'सेरलेक' नै रोज्छौँ, आफ्नै वरपर पाइने स्थानीय फलफूल अम्बा, अमला, हलुवाबेद, स्याउ, सुन्तला लगायतका खानेकुरामा जोड दिँदैनौँ। 

बच्चाहरूको पेट सानो हुन्छ। त्यसो हुँदा उनीहरूलाई एकै पटक खाना कोचेर खुवाउनु पनि हुँदैन। तर यो कोचेर खुवाउने प्रवृत्ति विशेषतः ग्रामीण परिवेशमा हुने गर्छ। दिनभर खेतबारीमा काम गर्नुपर्ने भएकाले गाउँका महिलाहरूलाई बच्चाका लागि पर्याप्त समय हुँदैन। त्यस कारण पनि एक पटकमा दिनभर पुग्ने गरी खाना खुवाउँछन्। बच्चाका पाचन क्रियाका अन्य अङ्गसमेत सानो हुने हुँदा एकै पटक टन्न खाना दिनु हुँदैन। बरु दिनमा ४–५ पटक गरी खुवाउनु पर्छ। 

अर्को कुरा, आजकल बच्चाहरूलाई फकाउन, फुल्याउन बिस्कुट, चाउचाउ र पाउरोटीलगायत खानेकुरा दिइन्छ। बच्चाहरू पनि त्यसैमा अभ्यस्त भएका छन्। बिस्कुट, पाउरोटी र हर्लिक्सलगायत बजारी खाद्यवस्तुमा चिनीको मात्रा धेरै हुन्छ। यस्ता खाद्य बच्चाको स्वास्थ्यको लागि उचित होइन। 

नेपाल सरकार मातहतका प्रारम्भिक बाल विकासदेखि कक्षा पाँचसम्मका सबै विद्यार्थीका हकमा दिवा खाजाका लागि १५ रुपैयाँ प्रति विद्यार्थी व्यवस्था भएको धेरै भएको छैन। तर १५ रुपैयाँले एक गिलास चियासम्म नआउने समयमा पोषणयुक्त खाजाको कल्पनासमेत गर्न सकिन्न।  

म पुगेका कतिपय विद्यालयमा विद्यार्थीलाई चाउचाउ र बिस्कुट खाजा दिएको भेटेँ। विद्यालय सञ्चालकहरूसँग बुझ्दा १५ रुपैयाँले अन्य खाजा व्यवस्था गर्ने स्थिति नभएको बताए। सरकारको यो प्रयासले स्वास्थ्यकर खाजा विद्यार्थीमाझ पुग्न नसकेको देखियो। जुन उद्देश्यले सरकारले दिवा खाना सुरु गरेको थियो, त्यो सफल भएको देखिएन। 

ग्रामीण क्षेत्रमा गरिबी, असमान व्यवहार र कृषि जीवनशैलीका कारण पोषणमा समस्या आइरहँदा सहरी क्षेत्र भने 'जंक फुड' (पत्रु खाना) ले जकडिएको छ। प्राय: बच्चाको खाजामा चाउचाउ र बिस्कुट हुने गर्छ। एउटा बच्चालाई प्रशस्त प्रोटिन र क्याल्सियम आवश्यक पर्छ, जबकि बजारी खानेकुरामा आवश्यक पोषणको पर्याप्त मात्रमा हुँदैन।

जन्मदिनमा हामी व्यक्तिको  दीर्घायु र आरोग्यको कामना गछौँ, तर स्वास्थ्य बिग्रने केकलगायत खाने कुरा जुटाउँछौँ। मैले विरोध गर्दै आएको विषय जन्मदिनमा बच्चाहरूलाई खुवाइने केक पनि हो। स्वास्थ्यका हिसाबले केक स्वास्थ्यवर्धक होइन। 

त्यसै त सहरी बालबालिकामा मोटोपनको समस्या छ, त्यसमाथि मम, चाउमिन, पिजालगायत मैदाजन्य खानपिनले मोटोपनको समस्या थप बढाउँछ। मोटोपनले कालान्तरमा मधुमेह, रक्तचाप र मुटुको समस्या ल्याउँछ। त्यसो भएपछि  सो जनसङ्ख्या ३५–४० उमेर वर्षै नपुग्दै यस्ता रोगका सिकार हुन पुग्छन्।

आम अभिभावक 'बजारी खाना तथा जंक फुड खानबाट बच्चालाई छुटाउनै सकिएन, उनीहरू मान्दै मान्दैनन्' भन्ने गर्छन्। यसमा मेरो जवाफी प्रश्न छ: बच्चाहरूले मान्दैनन् भनेर के तपाईं तिनलाई चुरोट र रक्सी पनि खुवाउनु हुन्छ? बजारी-पत्रु खाना पनि चुरोट र रक्सीभन्दा कम हानिकारक हुँदैनन्। जीवनशैली र गरिबीलाई अर्को पाटोमा राख्ने हो भने हामीमा ज्ञान भएर पनि अज्ञानी व्यवहार गरिरहेका छौँ। व्यस्त दैनिकीमा आम युवाको रोजाइ ‘फास्ट फुड’ हो, तर म त्यसलाई ‘फास्ट डेथ’ (छिटो मृत्यु) निम्त्याउने खाना भन्छु। 

जति नै व्यस्त भए पनि बिहान केही समय चाँडो उठ्ने हो भने पोषणयुक्त खाजा र खाना बनाउन धेरै समय लाग्दैन। चिउरा र सत्तु (सातु/सतुवा) आफैँमा 'फास्ट फुड' नै हो। चिउरा र बदाममा आलु मिसाउँदा त्यो पनि फास्ट फुड हो। उसिनेको आलुमा जिरा हाल्दा मात्रै मिठो हुन्छ। टुसा उमारेका चना र गेडागुडी पनि सहज र सरल फास्ट फुड् हुन्। यस्ता कुरा हाम्रो स्वादको रोजाइ र ज्ञानमा पनि भर पर्छ। खाना बनाउने फुर्सद छैन भनेर पत्रु खाना खानु र खुवाउनु दीर्घकालीन समयमा आफू र आफ्नाहरूको स्वास्थ्यलाई फास्ट डेथतर्फ धकेल्नु हो। नत्र स्वास्थ्यलाई नै दाउमा राखेर जोहो गरिएको 'करिअर' र सम्पत्तिको के काम? 

अहिले खाद्यवस्तुमा बजारको नियन्त्रण छ, जसले गर्दा मानिसको स्वास्थ्य र जीवनशैली कस्तो बनाउने भन्नेबारे कहीँ पनि गहन छलफल हुन सकेको छैन। कोदो, फापर, गहतलगायत हाम्रा स्थानीय अन्न र दालजस्ता खाद्य महिला स्वास्थ्यका लागि मात्र नभएर सबैका लागि उत्तम छन्। छिमेकी देश भारतमा ‘त्रि’ अन्न भनी कोदो, फापर, जुनेलोलाई सरकारी स्तरबाटै  प्रवर्धन गरिएको छ। हामी भने निवारणत्मक भन्दा उपचारात्मक स्वास्थ्य सेवामा केन्द्रित छौँ। वडापिच्छे १५ शय्याको अस्पतालभन्दा पनि पोषणका कार्यक्रमहरू अघि सारे आधा भन्दा धेरै रोग/सङ्क्रमणबाट मानिसहरू जोगिन्छन्। 

(कुराकानीमा आधारित।) 


सम्बन्धित सामग्री