Saturday, April 20, 2024

-->

'डोल्पाका सम्पदा संरक्षणमा स्थानीयसँग सहकार्य आवश्यक'

सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।

डोल्पाका सम्पदा संरक्षणमा स्थानीयसँग सहकार्य आवश्यक

विगत केही वर्षयता काठमाडौँ उपत्यकाभित्रका सम्पदा संरक्षण र सम्वर्द्धनमा सरोकारवालाहरूको विशेष ध्यान केन्द्रित भएको छ। मठमन्दिर, संग्रहालय तथा सांस्कृतिक सम्पदाको धनी काठमाडौँ उपत्यका खुल्ला संग्रहालयको रूपमा संसारभर चर्चित छ। यही सौन्दर्यका कारण पनि सम्पदा चोरी र पैठारीमा पर्ने गरेका छन्। नेपाली सांस्कृतिक कलावस्तु तथा वास्तुकला विदेशका विभिन्न स्थानमा भेटिइने गरेका छन्। नेपालका अन्य स्थानहरूमा झैँ डोल्पाका सांस्कृतिक सम्पदाहरू पनि चोरीको खतरामा छन्। डोल्पामा पुरातन गुम्बा र मूर्तिलगायतका सांस्कृतिक सम्पदाहरू छन्। तर, डोल्पा दशकौँयता मूर्ति चोरको निसानामा परेको छ। ग्रामीण र दूरदराज परिवेशमा डोल्पा रहेकाले सम्पदा संरक्षणमा यहाँ ठूलो चुनौती छ।

पर्यटकहरू पहिले खासगरी त्यहाँको परम्परागत जीवनशैली, जडीबुटी, यार्सागुम्बा, बोन धर्मलगायत विषयमा जान्न र अध्ययन गर्न पुग्थे। तर, केही वर्षयता डोल्पाको सांस्कृतिक सम्पदामा पर्यटकहरूको ध्यान केन्द्रित हुन थालेको छ। यसको एउटा कारण त्यहाँबाट हराएका केही सांस्कृतिक वस्तुहरू विदेशमा भेटिनु हो। 'लस्ट आर्टस् अफ नेपाल' र 'द नेपाल हेरिटेज रिकभरी' नामक अभियानको प्रयासमा हराएका र चोरिएका त्यस्ता सम्पदा फर्काउन सकिएको हो। यो प्रयास अहिले पनि जारी छ। डोल्पाका सांस्कृतिक सम्पदा जोगाउन प्रयासरत युनिभर्सिटी अफ ग्लास्गोकी लेक्चरर डा. इमेलिन स्मिथसँग उकालोकर्मी प्रबिता श्रेष्ठले गरेको कुराकानीको सम्पादित अंश:

डोल्पाप्रति तपाईंको रुचि कसरी जाग्यो?
नेपाल यात्रा गर्ने क्रममा कलाकृति चोरीको समस्या काठमाडौँ उपत्यकाको मात्र नभई देशभर नै रहेको थाहा पाएँ। म अपराधविद् पनि भएका हिसाबले यस्ता कलाकृति कसरी र किन चोरी हुन्छन्, कसरी बाहिर पैठारी हुन्छन् र यसलाई कसरी रोक्न सकिन्छ भन्ने विषयमा रुचि जाग्यो। डोल्पा भ्रमणका क्रममा त्यहाँका सांस्कृतिक तथा प्राकृतिक सम्पदाका सौन्दर्यले मलाई उत्साही तुल्यायो। तर, त्यहाँका मूर्ति चोरीका विषय चिन्ताजनक र सरोकार राख्नुपर्ने खालका थिए। म जुनजुन गुम्बा र चैत्यमा पुगेँ,  त्यहाँका सम्पदा र कलाकृति चोरी भएको पाएँ।

यस्ता चोरी कहाँबाट, कसरी र कस्तो संयन्त्रबाट हुन्छ, त्यसबारे हामीलाई खासै थाहा छैन। पूजा हुने मठमन्दिरबाट चोरिएका यस्ता कलाकृति विदेशका निजी तथा सार्वजनिक संकलनमा हामी पाउँछौँ, जबकि त्यो कलाकृति वास्तविक हकवाला स्थानीयवासीको जीवन्त संस्कृतिमै हुनुपर्थ्यो। यसको लागि अझ धेरै अपराधशास्त्रसम्बन्धी अध्ययन गर्नुपर्ने आवश्यकता छ, जसले गर्दा यस्ता आपराधिक घटनाहरू आगामी दिनमा हुन रोकियोस्।

संरचनात्मक असमानताका कारण मान्छे कहिलेकाहीँ चोर्ने विकल्पमा पुग्छ। यसकारण हामीले सम्पूर्ण सम्बन्धित सरोकारवाला (आर्ट डिलर, र संकलक) लाई समेत राखेर वैधानिक र नैतिक तरिकाले यस्ता वस्तुको व्यापारमा नियन्त्रण गर्न सकियोस् भन्ने कुरा ख्याल गर्नुपर्ने हुन्छ।

आफ्नो लाभांशको स्थान कस्तो छ भन्ने पनि महत्त्वपूर्ण पाटो हो। धेरै अध्येताहरू अनुसन्धान र अध्ययनकै लागि डोल्पा र नेपालका अन्य विकट क्षेत्रमा पुगेका छन्। तर, आफ्नो अध्ययन सकेर फर्कँदा कहिले पनि ती विषयमा दीर्घकालीन समाधानका उपायहरू उल्लेख गरेका छैनन्।

परम्परागत हिसाबमा नेपाल कहिल्यै पनि कसैको उपनिवेश नभए पनि यहाँका सुन्दर र सांस्कृतिक वस्तुहरूको दुरुपयोग भएको छ। सम्पदाको अनधिकृत व्यापार आफैँमा दुरुपयोग हो। यस्ता अमूल्य सम्पदाको मूल्य तोकिनु उचित होइन। संस्कृति चोरी हुनु र हराउनु भनेको देश र समुदायको पहिचान हराउनु हो। म आफ्नो क्षमता, ज्ञान र पाउने अवसर र प्लेटफर्मका माध्यमबाट समुदायको यस्ता चिनारी फिर्ता ल्याउन प्रयासरत छु, रहनेछु। 'द नेपाल हेरिटेज रिकभरी क्याम्पेन', पुरातत्त्व विभागलगायत अन्य सम्बन्धित सरोकारवालाहरूसँग यस विषयमा मैले सहकार्य गरिरहन पाउँदा कृतज्ञ छु। नेपाल फर्काइएका पुरातात्त्विक सम्पदाको संरक्षणमा पनि दीर्घकालीन समाधानसहित अझ प्रभावकारी तवरले कार्यरत सरोकारवालाहरूसँग निरन्तर सम्बन्धमा रहेर काम गरिरहनेछु।

तपाईंले यस विषयलाई किन बाल साहित्यकै रूपमा लेख्ने निधो गर्नुभयो?
सांस्कृतिक सम्पदा चोरीको विषयमा म नयाँ तरिकाले स्थानीय समाजमा चेतना जगाउन चाहन्थे र यस विषयमा बाल साहित्यमा कुनै पुस्तक लेखिएको रहेनछ। अर्को महत्त्वपूर्ण कुरा, डोल्पाका बालबालिकाका लेखिएका पुस्तकहरू अंग्रेजी र नेपाली भाषामा मात्र लेखिएका छन्, जुन कथन र चित्रणमै पनि ग्रामीण डोल्पाको परिवेश सुहाउँदो थिएन।

सोही कारण मैले सन् २०२२ को जुनमा उपल्लो डोल्पाको 'फिल्डवर्क'का क्रममा एउटा पुस्तक लेखेँ, जसलाई ‘पेमा एन्ड द स्टोलन स्ट्याचु फ्रम डोल्पा’ पुस्तकका रूपमा नामकरण गरिएको छ। डोल्पाली समुदायसँगको सहकार्य आनन्ददायी रह्यो। मलाई आशा छ उहाँहरूको संस्कृतिलाई प्रतिनिधित्व गर्ने सवालमा मैले आफ्नो क्षेत्रबाट सक्दो प्रयास गरेको छु। यस पुस्तक लेखनमा डोल्पालीको ठूलो सहयोग छ। उहाँहरूको ज्ञानपूर्ण वार्तालापका लागि म कृतज्ञ छु। डोल्पामा मलाई खुवाइएको मीठो स्थानीय परिकारका लागि पनि हृदयदेखि आभार व्यक्त गर्छु।

मैले लेखेको पुस्तक बौद्धस्थित 'द तारागाउँ नेक्सट'मा गत मंसिर १८ (डिसेम्बर ४)  मा विमोचन उत्सव सरह भयो। उक्त कार्यक्रममा परम्परागत डोल्पाली खाना, संस्कृति र डोल्पाका चार कलाकारको एक हप्ता लामो कला प्रदर्शनीसमेत रहेको थियो। पुस्तकलाई लिएर मानिसहरूमा देखिएको उत्साह ऊर्जाशील थियो। यस कारण पनि प्रतिनिधित्वको सवाल महत्त्वपूर्ण रहन्छ, विशेष गरेर जसको प्रतिनिधित्व न्यून भएको छ।

यस पुस्तकले भिन्न पुस्ताबीच सम्पदा स्वामित्व र संरक्षण कसले गर्ने भन्ने बहस सिर्जना गर्नेमा म आशावादी छु। सोही कारण मैले यो पुस्तक तीन भिन्न भाषा नेपाली, तिब्बती र अंग्रेजीमा लेखेको छु। सो पुस्तक डोल्पाका विद्यालयहरूमा नि:शुल्क वितरण गरिएको छ। यसबाहेक, www.stolenstatues.com मा गएर पनि 'डोनेसन'को रूपमा पनि पुस्तकको प्रति पाउनुहुनेछ। यस पुस्तकका लागि सुन्दर चित्र बनाउने काम आर्टस्टुडियोकी कलाकार कृषा ताम्राकारले गरेकी हुन्। चित्रमार्फत उनले डोल्पाको ऊर्जालाई जीवन्त राख्ने प्रयास गरेकी छन्। साथै, यसै पुस्तकको माध्यमबाट डोल्पाबाहिरका मानिसले डोल्पाको संस्कृति र जीवनशैलीबारे जानकारी पाउने छन् भन्नेमा आशावादी छु। डोल्पामा चोरी भएका मूर्तिबारे यसले सचेतना जगाउनेछ। हामी सबैले डोल्पामा फर्किएका, हराएका वा चोरिएका कलाकृतिको  संरक्षणमा सहयोग गर्नुपर्छ।

डोल्पाका सांस्कृतिक सम्पदा बचाउन गर्नुपर्ने मुख्य काम के हुन्?
डोल्पाका केही गुम्बा तथा चैत्यहरू मात्र सुरक्षित र संरक्षित छन्। बाँकी विकट र अति ग्रामीण क्षेत्रका गुम्बाहरू निकै दयनीय अवस्थामा छन्। यसको अर्थ डोल्पाबाट धेरै सांस्कृतिक वस्तु हराइसकेका छन्। वातावरण परिवर्तनसमेत सम्पदा संरक्षणको चुनौतीको रूपमा थपिएको छ।

यही कारण डोल्पालाई सबैको साथ-सहयोग आवश्यक छ। हरेक समुदायले आफ्नो सांस्कृतिक सम्पदा संरक्षण र संवर्द्धनका लागि सम्पूर्ण सहयोग पाउनुपर्छ : कडा व्यवस्थापकीय विधान, चुस्त कार्यान्वयन र सम्पदा संरक्षणको लागि सक्रियता। डोल्पाजस्तो क्षेत्रमा सुरक्षाका हिसाबले सिसिटिभीभन्दा पनि बलिया ताल्चा र साँचोजस्ता उपकरण उपयुक्त हुने भएका कारण हामीले पुस्तक विमोचन कार्यक्रममै एउटा कोष खडा गरेका छौँ। यस्ता वस्तुको चोरी गरेर बाहिर पैठारी गर्ने निकायबारे अपराधशास्त्रको दृष्टिकोणबाट अध्ययनहरू  गर्न भने बाँकी नै छ।

हामीले स्थानीय समुदायलाई प्राथमिकतामा राखेर अध्ययन गर्नुपर्छ। उदाहरणका लागि  उनीहरू आफ्ना सम्पदालाई के गर्न चाहन्छन्, सम्पदाको स्वामित्व कसरी राख्ने, कसरी संरक्षण गर्ने भन्नेबारे उनीहरूसँग छलफल गर्नुपर्छ। त्यसपछि सरकारले उनीहरूको आवश्यकताअनुसार सक्दो सहयोग र साथ दिनुपर्छ।

अर्को कुरा, विदेशका संग्रहालय घुम्ने क्रममा त्यस्ता सम्पदा भेट्टाउने बित्तिकै संकलनकर्ता र संग्रहालयमाथि हामी तिखो सवाल गर्न सक्छौँ। जस्तै कि यी कलावस्तु कहाँबाट आए? सम्पदाका वास्तविक हकदार-समुदायहरू आफ्ना कलाकृति यसरी प्रदर्शनीमा राख्न मन्जुर छन् या छैनन्? सम्पदाप्रेमीहरूले यस्ता प्रश्न गर्न थाल्ने हो भने संग्रहालय र संकलकहरू थप सचेत हुनेछन्।

सम्पदाका मूल हकदार स्थानीयवासी भए पनि सांस्कृतिक वस्तुको चोरी पैठारीमा नियन्त्रण र रोक्ने जिम्मेवारी सबैको हो, किनकि सम्पदा सबैको साझा हुन्।


[डा. इमेलिन स्मिथको अन्तर्वार्ता हामीले पुनर्लेखन गरेर पुनः प्रकाशित गरेका छौँ। अघिल्लो सामग्रीमा भएको कमजोरीका लागि क्षमाप्रार्थी छौँ। –सम्पादक।
डा. स्मिथ युनिभर्सिटी अफ ग्लास्गो, स्कटल्यान्डमा कला अपराध र अपराधशास्त्र विभागकी प्राध्यापक हुन्। उनी खासगरी नेपालबाट चोरिएर विदेश पुगेका मूर्तिहरू फिर्ता गराउनका लागि कानूनी पाटोबाट समन्वय र सहयोग गर्ने गर्छिन्।]


सम्बन्धित सामग्री