Wednesday, April 24, 2024

-->

गजल-वार्ता
'धर्तीमा नरहुँलाझैँ गरी पेलाजीले यो गजल गाउनुभयो'

'लाली छरी अगाडि छन् फूल फक्रिएकी, के दोष जबकि मेरो रातो मुहार हुन्छ!' यो सेरचाहिँ छुट्न गयो यो गजलमा।

धर्तीमा नरहुँलाझैँ गरी पेलाजीले यो गजल गाउनुभयो

अरबी भाषाबाट शुरू भएर अन्यत्र समेत फैलिएकै काव्यको एक विधा हो गजल। नेपालमा गजल लेखनको अभ्यासको शुरूआत मोतीराम भट्टबाट भएको मानिन्छ। गजलमा प्रायः स्त्री/पुरुषका प्रेम र विछोडका विषय व्यक्त हुन्छन्। खास सूत्र पच्छ्याउने शृंगार रसका कविता हुन् गजल। डा. प्रदीप मैनालीले रचेर तिलकसिंह पेलाले संगीत गरी गाएको गजल 'के लत बस्यो......' अहिले नेपाली भाषी श्रोतामाझ चर्चित छ।  

तीन वर्षअघि लेखिएको यही गजल उतिखेर मैनालीले आफ्नो फेसबुकमा पोस्ट गरेका थिए। पाँच सेर भएको गजलमा पहिले सात सेर थिए। रेकर्ड गर्ने सुर भए पनि मेसो भने मिलेको थिएन। मोती जयन्तीको अवसरमा राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा मैनालीले यो गजल सुनाएपछि श्रोताहरूले यसलाई रेकर्ड गर्ने सुझाव दिए। 

सुझावलाई मनन गर्दै मैनाली संगीत प्रशिक्षक तिलकसिंह पेलाकहाँ पुगेर यो गजल रेकर्ड गराए। गजल सार्वजनिक भएसँगै मैनाली र पेलाको चर्चा एक्कासि चुलिएको छ। सोही सेरोफेरोमा उकालोले गजलकार मैनालीसँग गरेको कुराकानी: 

तपाईं कहिलेदेखि गजल लेखनमा सक्रिय हुनुहुन्छ? कतिवटा रचना रेकर्ड भएका छन्? कति पुस्तक प्रकाशित छन्?
गजलजस्ता गजल हुनु-नहुनु आफ्ना ठाउँमा छन्। मेरा 'तुलसीको पात' र 'नसुतेका रात' शीर्षकका गजलसंग्रह प्रकाशित छन्। छापामा आउने र सर्वसाधारणले देख्ने गरी साहित्यमा कलम चलाएको दश-बाह्र वर्ष भयो।

साहित्यका अलावा अन्य के-केमा संलग्न हुनुहुन्छ?
अर्थशास्त्रमा विद्यावारिधि हो मेरो। अर्थशास्त्रसम्बन्धी विभिन्न अध्ययन-अनुसन्धानमा सक्रिय छु। गजलबाहेक मुक्तक कथा र कविता लेखनमा पनि संलग्न छु।   

कल्पनाको कुनै उर्वशी या मेनकाप्रतिको 'लत' हो कि कुनै शहर या गाउँमा बस्ने वास्तविक अप्सराप्रतिको लत हो यो?
जीवनका भोगाइहरू नै प्रकट हुने हो साहित्यमा। यो काव्य विधा भएकाले यसका सामान्य र विशिष्ट अर्थ हुन्छन्। सबैले बुझ्ने अर्थलाई सामान्य अर्थ भनिन्छ भने विशिष्ट अर्थलाई गजलको भाषामा 'गजलियत' भनिन्छ, कवितामा चाहिँ वक्रोक्ति भनिन्छ। गजलमा भनेको एउटा हुन्छ तर त्यसको प्रहार अन्त कतै हुन्छ। अतः सफल गजलकारले सबैका लागि बहुअर्थी गजल लेख्छन्। 

गजल मुसलसल र गैरमुसलसल हुन्छन्। मुसलसल गजलमा एउटै विषयवस्तु हुन्छन् भने मेरो यो गजलचाहिँ गैरमुसलसल गजल हो। मेरो गजलका प्रत्येक सेरमा फरक भाव छन्। साहित्यको अरूभन्दा बढी प्राविधिक विधा पनि हो गजल। गैरमुसलसलको प्रत्येक सेरमा छुट्टै कथन हुने भएकाले मेरोमै एउटै कथन छैन। 

कुनै पनि सन्देशलाई बालकले आफ्नै किसिमले बुझ्छ, वयस्कले बेग्लै र वृद्धावस्थाकोले अलग ढंगले बुझ्छ। सबैको बुझाइ समेटियोस् भन्ने कुरामा गजलकार र कवि सचेत हुनुपर्छ। अहिले प्राप्त प्रतिक्रियाहरूबाट म त्यसमा सफल भएको छु भन्ने बुझिरहेको छु।    

तर तपाईंको गजलको केन्द्रीय भाव त रसिक-प्रेम नै हो नि? 
जीवनमा लामो संघर्ष गर्नुपर्छ र भएका प्राप्तिहरूले एकै छिन मात्र खुसी दिन्छन् तथा फेरि अरू संघर्ष शुरू हुन्छन्।  प्राप्त खुसी धेरै टिक्दैन। 'साथी रहेछ दुख हरपल सवार हुन्छ'मा मैले सोही भाव व्यक्त गरेको हुँ। यसलाई आफ्नै भाव र अवस्था अनुसार मान्छेले व्याख्या गर्छन्।   

'के लत बस्यो कहिले सुधार हुन्छ? एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ' सेरको पृष्ठभूमि बताइदिनुहाेस् न। 
प्रकृति, प्रेमिका र आमाप्रतिको मेरो प्रेम अथवा आमाले सन्तानलाई गर्ने प्रेमका रूपमा त्यस सेरलाई व्याख्या गर्न सकिन्छ। मैले लेख्दा जुन विषयवस्तुलाई केन्द्रमा राखेँ, त्यो बेग्लै कुरा भयो। तर पाठक आफू जुन कुराको लतमा हुन्छन्, त्यहीअनुसारको व्याख्या गर्छन्। आज यो गजल सबैको भइसकेको छ। मेरो मात्रै कोणबाट व्याख्या गर्नु न्यायोचित पनि हुन्न।  

'साथी रहेछ दुःख, हरपल सवार हुन्छ सुख पाहुना रहेछन् छुट्नै हतार हुन्छ' मा तपाईंले प्रियतमाको कहिलेकाहीँ मात्रै दर्शन गर्न पाइने गरेकोमा गुनासो गर्नुभएको हो? 
जीवनमा कतिपय कुराहरू एकै छिन प्राप्त हुन्छ र ती मिलिक्क भागिहाल्छन् भन्ने भाव हो यो सेरको। तर प्रत्येक सेरको पूर्ण अर्थ मबाट आउँदैन। मैले ठ्याक्कै त्यही परिवेश भनेर उल्लेख गरेँ भने गजल खल्लो हुन जान्छ। 

'पानी परेर धर्ती आकाश हुन्छ सुन्दर, धर्ती बनेर तिम्रो के नै बिमार हुन्छ?' र 'खोला नदी समुन्द्र जे नाम होस् न आखिर, अस्तित्व राखिराख्ने मात्रै किनार हुन्छ' मा चाहिँ तपाईंले के भन्न खोज्नुभएको? 
यसको व्याख्या गर्ने अधिकार पनि श्रोतालाई नै दिउँ। 

'बिन्ती यही छ मेरो सक्छौ अझै लडाउ, लड्दै उठेर हिँड्ने खुट्टा तयार हुन्छ' र 'लाली छरी अगाडी छन् फूल फक्रिएकी, के दोष जबकि मेरो रातो मुहार हुन्छ!'  पहिले लेखेका यी दुई लाइन त छुटेछन् नि तपाईंको गजलमा, किन?
दुई सेर छुटेकै हुन्। 'लाली छरी..' वालाचाहिँ छुटाउनै नहुने थियो तर गायन लामो बन्छ भनेर हटायौँ। नेपालमा गायन ४-५ मिनेटको हुन्छ भन्ने मानसिकता छ। त्यसको प्रभावमा हामीले गजललाई छोट्यायौं। छोट्याउँदा पनि ८ मिनेटको बन्न पुगेको छ यो गायन। लालीवाला राखेको भए १० मिनेटभन्दा बढी लामो हुन्थ्यो। बाध्यताले छोट्याउनु पर्‍यो। 

यो गजलको अलग म्युजिक भिडियो बनाउनेबारे सोच्नुभएको छ? 
उचाइ र गहिराइमा गजलभित्र बहुअर्थ हुन्छ भनेर पहिल्यै भनें। यो गजललाई म्युजिक भिडियोका रूपमा प्रस्तुत गरियो भने त्यसको एउटा मात्रै थिम या अर्थ हुन जान्छ। बहुअर्थी गजललाई एउटै भाव र विषयवस्तुमा कैद गर्न हामीलाई मन थिएन। गजल सुन्ने विधा हो र  हेर्ने विधा होइन।  यसलाई कानले भन्दा पनि हृदयले सुन्नुपर्छ। आँखाले भन्दा पनि बढी हृदयले हेर्ने भएकाले यसको चमकधमकपूर्ण म्युजिक भिडियो बनाउनहुन्न भन्ने हाम्रो मान्यता हो। भोलि के गर्लाउँ, अलग कुरा हो। अहिले गजलमा राखिएको भिडियोसमेत हाम्रो बाध्यता हो। 

हाम्रो उद्देश्य कसैको शरीर र मुहार देखाएर 'भ्युज' बटुल्ने होइन। हेराउन नभएर सुनाउन बनाइएको हुनाले म्युजिक भिडियो बनाउने योजना छैन। हाम्रो तरिका श्रोताले पनि मन पराउनुभएको छ। चलनचल्तीको गीतलाई 'भ्युजलाइज' गर्ने कुराको विद्रोहका रूपमा पनि यसलाई बुझेका छौँ।   

यो गजललाई महिला आवाजमा पनि रेकर्ड गराउनुहुन्छ? 
जसले गाउनुभयो, उहाँ ब्रह्मचारी हुनुहुन्छ। २० औ वर्ष साधना गरेको गायक पनि हो उहाँ। अरूको स्वर राम्रो होला तर पेलाजीले यसमा जुन फिल दिनुभएको छ, त्यो विशिष्ट छ। 'यो धर्तीमा नरहुँलाझैँ' गरी उहाँले गजल यो गाउनुभएको छ। यस्तो भाव अरूबाट नआउन पनि सक्छ। त्यस कारण यो गजललाई महिला आवाज या अरूको आवाजमा गाउन लगाउने कुनै योजना छैन।


सम्बन्धित सामग्री