नेपालमा विगत तीन दशकयता हुँदै गरेका सामाजिक-सांस्कृतिक, आर्थिक-राजनीतिक तथा प्रविधि क्षेत्रका परिवर्तनलाई ख्याल गर्ने हो भने तीव्र गतिमा हुँदै गरेको विश्वव्यापीकरणको प्रभाव देखिन्छ। नेपालमा भइरहेका ती परिवर्तनलाई चार फरक कोणबाट व्याख्या गर्न सकिन्छ:
१. सामाजिक तथा सांस्कृतिक परिवर्तन : विश्वव्यापीकरणले नेपालीको अध्ययन, बसाइँसराइ, रोजगारी, जीवन प्रक्रियामा प्रशस्त प्रभाव पारेका छन्। विद्यालयमा अध्ययनरत प्राय: मेधावी विद्यार्थीको उद्देश्य 'विदेश गएर उच्चशिक्षा हासिल' गर्ने हुन्छ। हालै प्रकाशित एक समाचारअनुसार शिक्षा मन्त्रालयबाट स्वीकृति लिएर विदेश जाने विद्यार्थीले यस आर्थिक वर्षको प्रथम चार महिनामा मात्रै झन्डै २३ अर्ब रुपैयाँ खर्च गरे। राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. गोविन्दराज पोखरेलका अनुसार एक वर्षमा करिब १ लाख २५ हजार १०+ २ गरेका नेपाली विद्यार्थीका लागि राष्ट्रले वार्षिक १ खर्बभन्दा बढी खर्च गर्छ। त्यसरी हेर्दा विदेशी विद्यालयमा नेपालीले गर्ने वास्तविक खर्च यहाँ गर्ने खर्चभन्दा कैयौँ गुणा बढी हुने गरेको देखिन्छ। अन्तर्राष्ट्रिय संघ-संस्थामा कार्यरत नेपाली तथा धनाढ्य व्यापारीले आफ्ना सन्ततिलाई विदेशी विद्यालयमा अध्ययन गराउने क्रममा गरेको खर्चको हिसाब अर्कै हुन जान्छ।
केही दशकअघिसम्म मात्र समुद्र पार अध्ययन गर्नका लागि अधिकांश विद्यार्थी वैदेशिक सहयोगमा उपलब्ध कोलम्बो प्लान लगायतका छात्रवृत्ति तथा सोभियत युनियन, चीन, भारत तथा अमेरिकी सरकारका छात्रवृत्तिमार्फत जान्थे। कलेज अध्ययनका लागि नेपाली विद्यार्थी अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, स्विट्जरल्यान्ड अथवा फ्रान्सजस्ता राष्ट्रमा जाने भन्ने खासै सुनिँदैन थियो। त्यहाँका कलेज तथा विश्वविद्यालयले 'अन्डर ग्र्याजुएट' स्तरको अध्ययनका लागि अन्तर्राष्ट्रिय विद्यार्थीलाई आर्थिक सहयोग नदिने नीति अख्तियार गर्दै थिए। तर, जमाना फेरिएको छ। तिनै कलेज तथा विश्वविद्यालय १२ कक्षा उत्तीर्ण गरेका अन्य देशका मेधावी विद्यार्थीलाई आर्थिक सहयोग प्रदान गरेर आफ्नोमा पढ्न प्रोत्साहित गर्छन्। हार्बर्ड, अक्सफोर्ड, क्याम्ब्रिज, एमआईटी, कोलम्बिया तथा प्रिन्सटनजस्ता विश्वविख्यात विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीको संख्या बाक्लै पाइन्छ।
रोजगारीका निम्ति विदेश पुगेका नेपाली कामदारलाई 'ब्लु कलर ओर्कर'को संज्ञा दिइन्छ। खाडी, मलेसिया, कोरिया, इजरायल आदि देशमा खासगरी शारीरिक श्रम गर्नेलाई यो संज्ञा दिइन्छ। यस कोटीका कामदारले संगठित तथा व्यक्तिगत रूपमा रोजगारीबाट नेपालमा 'विप्रेषण' पठाउँछन्। तिनै कामदारले आफ्नो घर चलाउन पठाउने 'विप्रेषण' रकम भने आधुनिक नेपालको अर्थतन्त्र सञ्चालनको प्रमुख इन्धन साबित हुँदै छ। मजदुरले स्वदेशमा बगाएका पसिनाबाट उत्पादित वस्तु निर्यात गरेर अन्य विकसित राष्ट्रहरू आफ्ना देशलाई समृद्ध तुल्याउँदै छन्। हामीचाहिँ त्यस दिशामा उन्मुख हुनुभन्दा मजदुर निर्यात गरेर आफ्नो राष्ट्रिय अर्थतन्त्र चलायमान तुल्याउँदै छौँ।
उसो त, विश्व जनशक्ति बजारमा 'ह्वाइट कलर ओर्कर'का रूपमा पनि दक्ष नेपालीको उपस्थिति बाक्लिन थालेको छ। संयुक्त राष्ट्रसंघअन्तर्गतका विभिन्न संस्था, बहुराष्ट्रिय वित्तीय संस्था, बहुराष्ट्रिय व्यापारिक संस्था तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्था (आईएनजीओ) मा थुप्रै नेपाली कार्यरत छन्। आप्रवासी नेपालीको संख्या यकिन नभए पनि अमेरिका, क्यानडा, बेलायत, अस्ट्रेलिया, जापानजस्ता मुलुकमा बसोबास गर्दै आएका नेपालीको संख्या दशौँ लाख भएको अनुमान गरिन्छ। विश्वका कुनाकाप्चाका मुलुकहरूमा नेपाली भेटिनु अब सामान्य भइसकेको छ। छोटकरीमा भन्नुपर्दा विश्वको श्रम बजारमा भएको मागअनुरूप बढ्दो संख्यामा नेपालीले रोजगारी पाउन थालेका छन्। विश्वव्यापीकरणमा नेपाली नागरिकको सहभागिता बढ्दै छ।
हाम्रो भेसभुसामा आमूल परिवर्तन हुँदै गएको छ। चोलो, धोती, भोटो र कछाडलाई टिसर्ट तथा पाइन्टले तीव्र गतिमा विस्थापित गर्दैछ। रेडियो नेपाल (एकल रेडियो प्रसारण) मा सुनिने राग, सुगम संगीत तथा लोक धुनलाई सैयौँको संख्यामा सञ्चालित एफएम रेडियो स्टेसनका लोकदोहोरी, बलिउड तथा पश्चिमा संगीतले विस्थापित गरिसकेको छ। सम्भ्रान्त परिवार मात्र होइन, मध्यम आयका परिवारको पहुँच विश्वभर प्रसारण हुने टेलिभिजन कार्यक्रमसँग जोडिएको छ। शहरी क्षेत्रका चलचित्र घरहरूमा हलिउडका सिनेमाहरू देखाइन्छ। कोरियन शृंखला धेरै घरपरिवारको मनोरञ्जनको स्रोत भएको छ। दैनिक बीबीसी, सीएनएन तथा अल्जिजिराबाट प्रसारण हुने समाचार तथा कार्यक्रम हेर्ने प्रबुद्ध वर्ग प्रशस्त छन्। शहरी क्षेत्रका बासिन्दा रेस्टुरेन्टको पकवानतर्फ पहिलेभन्दा बढी नै आकर्षित हुन थालेका छन्। पठनपाठनमा अंग्रेजी भाषाले प्राथमिकता पाउने 'बोर्डिङ स्कुल' अभिभावक र विद्यार्थीको प्राथमिकतामा पर्न थालेको त केही दशक भइसक्यो।
२. आर्थिक तथा वित्तीय परिवर्तन : आर्थिक उन्नति, व्यापार, पर्यटन तथा पुँजी प्रभाव विकास प्रक्रियाको शुरूआत हामीले विसं. २००७ पछि मात्र गरेका हौँ। भौगोलिक समस्या (चार महिनाको अवधिमा अधिकांश वर्षा हुने तथा खेती प्रणाली सिँचाइ निर्भर, खेतीयोग्य भूमिको चरम अभाव तथा आन्तरिक यातायात कठिनाइ आदि), भौगर्भिक जटिलता (कच्चा तथा चञ्चल भौगर्भिक कारणले गर्दा बाढी पहिरोलगायत भूकम्पको उच्च जोखिम), स्रोत (खनिज पदार्थ, दक्ष मानव शक्ति तथा पुँजी)को चरम अभाव तथा सरकारको नीतिगत त्रुटिका कारणले गर्दा आर्थिक उन्नतिका आयाम अवरुद्ध हुँदै आएका थिए।
पञ्चायती प्रणालीको अवसानपूर्व अर्थतन्त्रको आकार वृद्धिदर जनसंख्या वृद्धि दरसँग तँछाडमछाड गर्ने गर्थ्यो। कुनै वर्ष आर्थिक वृद्धिदर बढी त कुनै वर्ष जनसंख्या वृद्धिदर बढी हुने गर्थ्यो। त्यसपछिका वर्षहरूमा भने अर्थतन्त्रको आकारले निरन्तर जनसंख्या वृद्धिदरलाई उछिन्न थालेको हो। त्यसो हुनाका अनेक कारणहरूमध्ये प्रमुखचाहिँ पञ्चायतको अवसान पहिले शुरू गरिएको तर गति लिन नसकेको खुल्ला बजार नीति हो। विश्वव्यापी आर्थिक सुधारका कार्यक्रमको लहरसँगै नेपालले पनि प्रतिस्पर्धात्मक खुल्ला बजार अर्थनीति अख्तियार गर्यो। त्यसपछि देशको अर्थतन्त्र चलायमान हुन थाल्यो। सरकारी तथ्यांकलाई आधार मान्ने हो भने आर्थिक वर्ष २०४५/४६ मा हाम्रो प्रतिव्यक्ति आय अमेरिकी डलर २ सय ४५ प्रति वर्ष थियो। उक्त रकम आर्थिक वर्ष २०७७/७८ सम्म आइपुग्दा झन्डै ५ गुणा बढेर १२ सय डलर पुगेको अनुमान छ।
आन्तरिक बजार खुल्न थालेपछि अन्तर्राष्ट्रिय व्यापार तीव्र गतिले बढ्दै छ। विगत एक दशकको अवधिमा अन्तर्राष्ट्रिय व्यापार १० गुणाले वृद्धि भएको छ। नेपालमा उत्पादित वस्तुलाई भारत, अमेरिका, जर्मनी, बेलायत, चीनलगायत २५ प्रमुख राष्ट्रिय बजारमा उपलब्ध गराउँदा रु १२ हजार ४ सय ४९ मिलियन आर्जन गरेको थियो। त्यसैगरी हामीले भारत, चीन, अर्जेन्टिना, युनाटेड अरब इमिरेट्स, इन्डोनेसिया,अमेरिका, अस्ट्रेलियालगायत उत्तर कोरिया, क्युबालगायत १ सय २० भन्दा बढी राष्ट्रमा आयात गर्ने उत्पादित वस्तुको मूल्य रु १ लाख ५८ हजार ५ सय ७१ मिलियन छ। अन्तर्राष्ट्रिय लगानी रु १९ हजार ५ सय १२ मिलियन छ, जुन अन्य राष्ट्रको दाँजोमा न्यून छ। छोटो समयमा अत्यधिक मुनाफा हुने भएका कारण अन्यत्र वैदेशिक पुँजी भित्रिने गरेको छ। तर हामीकहाँ विभिन्न कारणले गर्दा लगानीको प्रतिफल सुनिश्चित हुने वातावरण बनिन सकेको हुँदा वैदेशिक लगानी न्यून छ।
पर्यटक आगमनतर्फ नजर घुमाउने हो भने आर्थिक वर्ष २०४६/४७ मा ३ लाखभन्दा कम पर्यटक नेपाल आएका थिए। कोभिड प्रकोप शुरू हुनुपूर्व उक्त संख्या ४ गुणाले बढेर १२ लाख हाराहारी पुगेको थियो। भारत, चीन, अमेरिका बेलायत तथा श्रीलंकाबाट धेरैजसो पर्यटक भित्रन्छन्। विश्व हवाई यातायात क्षेत्रमा भएको प्रतिस्पर्धाको कारणले खर्च घट्न जाँदा पर्यटकको संख्या बढेको अनुमान गर्ने प्रशस्त आधार छन्। विश्व नागरिकको औसत आय बढ्दै जाँदा तथा घुमफिरको खर्च घट्दै जाँदा मान्छेहरूको देश-विदेशको भ्रमण दर बढ्ने नै भयो। प्राकृतिक सुन्दरता तथा रमणीय वातावरणको कारणले गर्दा विदेशी पर्यटक नेपालप्रति आकर्षित हुने नै भए।
विगत तीन दशकयता वित्तीय क्षेत्रमा ठूलो विकास भएको छ। पहिले सरकारको प्रमुख स्वामित्वमा दुई वाणिज्य बैंक (नेपाल बैंक लिमिटेड तथा राष्ट्रिय वाणिज्य बैंक) तथा एउटा कृषि विकास बैंक मात्र थिए।३८/३९ सातिर दुई विदेशी बैंक (बार्क्ले तथा इन्डोसुइज) नेपाल प्रवेश गरेका थिए। हाल नेपालमा एक अन्तर्राष्ट्रिय बैंक (स्टान्डर चार्टर) का अतिरिक्त संयुक्त अन्तर्राष्ट्रिय साझेदारीका दुई बैंक (हिमालय तथा एभरेस्ट) कार्यरत छन्। अहिले 'क' वर्गका ३३, 'ख' वर्गका २७ तथा 'ग' वर्गका २५ बैंक सञ्चालनमा छन्। प्राय: सबै 'क' वर्गका बैंकहरूले अन्तर्राष्ट्रिय बैकहरूसँग कारोबार गर्ने गरेका छन्।
३) राजनीतिक परिवर्तन: पञ्चायतको पतन हुनाका धेरै कारण होलान् तर तीमध्ये विश्वव्यापी लोकतान्त्रिक लहर पनि एक हो। बर्लिनको पर्खाल भत्काइनु, पूर्वी युरोपका कम्युनिस्ट तानाशाही शासकहरूको पतन हुनु, सोभियत युनियनको विघटन तथा रोमानियाको चाउचेस्कुको हविगतले पनि उतिखेर नेपाली शासकहरूको मनमा ढ्याङ्ग्रो ठोकेकै हो। संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्र भएको नाताले नेपालले अन्तर्राष्ट्रिय कानुनको पालना गर्नु पर्ने बाध्यात्मक अवस्था थियो। मानवअधिकार संरक्षण तथा सम्बर्द्धन-सन्धिहरूमा प्रतिबद्धता जाहेर गरेर हस्ताक्षर गरेको देशले आन्दोलनमा सेना परिचालन गरेर निहत्था नागरिकको हत्यालाई विश्व समुदायले स्विकार्दैन भन्ने स्थापित मान्यतालाई राजा, सुरक्षाकर्मी तथा पञ्चहरूले आत्मसाथ गर्नुको विकल्प थिएन।
माओवादी-हत्याहिंसा नियन्त्रण गर्ने नाममा प्रतिहिंसाका घटनाहरूप्रति शासक तथा विद्रोहीले जबाफदेहिता बहन गर्नु पर्ने मान्यताको भूमिका पनि सानो छैन। अन्यथा, माओवादीले थोपरेको 'जनयुद्ध' तथा राजतन्त्रको यति चाँडै अन्त्य हुने थिएन होला। सेनाको परमाधिकारी तथा सुरक्षा निकायका उच्च अधिकारीदेखि विद्रोही नेता सबैलाई युद्ध अपराधको आरोपमा दण्डित हुनु पर्ने त्रासले पनि परिवर्तनमा ठुलै भूमिका खेलेको थियो। मानवताविरोधी अपराध गरेबापत गन्तव्य 'हेग'स्थित अन्तर्राष्ट्रिय अदालतमा खडा हुनु पर्ने त्रासले उनीहरूलाई सताएको थियो। उक्त त्रासका कारणले गर्दा पनि शान्ति सम्झौतामा हस्ताक्षर गर्नुपर्ने बाध्यात्मक अवस्था आइलागेको हो। 'मानवताविरुद्धको अपराधको आरोप खेप्नु पर्ने' जोखिमले दोस्रो जनआन्दोलन सफल तुल्याउने कुरामा सानो भूमिका खेलेको थिएन।
४) प्रविधिले ल्याएको परिवर्तन: विश्वव्यापीकरण प्रक्रियामा सबैभन्दा द्रुत गतिमा फैलिएको क्षेत्र हो प्रविधि। हामीहरूले विशेष गरेर सञ्चार, कृषि, स्वास्थ्य, निर्माण तथा विद्युतीय क्षेत्रमा नयाँ प्रविधिहरूको उपभोग गर्न पाएका छौँ। कोभिड महामारीको रोकथामका निमित्त भएका अन्तर्राष्ट्रिय सहयोगको हामीले भरपूर लाभ पायौँ। संक्रमणबाट जोगिन मास्क, खोप तथा संक्रमितलाई जीवनरक्षाका निमित्त स्वास्थ्य सेवा तथा संक्रमण नियन्त्रणका निमित्त आवश्यक ज्ञान र प्रविधि समयमै उपलब्ध भए।
टेलिकम्युनिकेसन तथा इन्टरनेट नेपालमा द्रुत गतिमा फिँजिएको छ। विद्युतीय माध्यमबाट सञ्चालन हुने यी प्रविधिको पहुँच विद्युत् उपलब्ध हुन नसकेका स्थानमा पनि सौर्य किरण तथा ब्याट्रीका माध्यमबाट पुगिसकेका छन्। मोबाइल फोन प्रयोग नगर्ने परिवार सदस्य भेट्न अब मुस्किल छ। पहिले ट्रान्जिस्टर-रेडियोसमेत सीमित घर परिवारमा हुने राष्ट्रमा टेलिभिजन नहुने घर परिवार खोज्नु पर्ने अवस्था छ।
सात दशकअघिसम्म बाहिरी विश्वबाट लुकेर रहेको थियो नेपाल। तर, नेपालमा हुँदै गरेका परिवर्तनमा विश्वव्यापीकरणका पदचिह्नहरू प्रशस्त देखिन्छन्। त्यस्ता परिवर्तन आउनुका कारणहरू यकिन गरेर आन्तरिक तथा बाहिरी कारणको अंश छुट्याउने कार्य हालको अवस्थामा सम्भव छैन। भविष्यका अनुसन्धानकर्ताले निश्चय पनि यस विषयमा अनुसन्धान गरेर विश्वासीला आधार प्रस्तुत गर्ने नै छन्।