Tuesday, April 23, 2024

-->

सत्ता–उन्मादले कांग्रेसको सत्यानाश

चिट्ठा परे झैँ सत्ता प्राप्त भएपछि कांग्रेसमा, खासगरी प्रधानमन्त्री एवं पार्टी सभापति वरिपरि जम्मा भएको समूहले यसबीचमा सत्ताउन्मादी जे-जस्ता क्रियाकलाप गरिरह्यो, आज त्यसकै नतिजा आएको हो।

सत्ता–उन्मादले कांग्रेसको सत्यानाश

कांग्रेसमा जुन सत्ताको उन्माद देखिएको थियो, २०७४ सालको निर्वाचनमा २३ सिट जितेर पनि परिस्थितिले गर्दा सरकार बनाउन पाएपछि जनताको आकांक्षाअनुसार सुधार गर्नुपर्ने जुन कुराहरू थिए, त्यो नै गरेन। देशलाई विकास र जनतालाई सुविधा, राहत दिने, अर्थव्यवस्था सुधार्ने, राजनीति स्थिर बनाउने भन्दा पनि सत्ता–शक्तिको प्रयोगबाट पार्टीभित्रको गुट मात्र बलियो बनाउनेमा कांग्रेसभित्रको ध्यान केन्द्रित भयो। सत्ताको प्रयोग गरेर महाधिवेशन जित्ने, निर्वाचनमा पनि आफ्नो विरोध गर्नेहरूलाई तह लगाउने गरी टिकट नदिने, आफ्ना मान्छेलाई जसरी पनि जिताएर सत्तामा हालीमुहाली गर्न पाइन्छ भनेर त्यही नै गर्ने एक किसिमको अराजनीतिक र अराजक सोच हाबी भयो। आज जे भयो, त्यो यसकै परिणाम हो।  

शेरबहादुर देउवाको वरिपरि केन्द्रित राज्यसत्ता आफूले कमाउने, आफ्नो शक्तिमात्र आर्जन गर्ने र लुट्ने उद्देश्यमा मात्र केन्द्रित भएको थियो। त्यसले यति धेरै महत्वाकांक्षा बढाइदियो कि पार्टी भन्दा एउटा गुट र त्यसका गिरोह हाबी भएका थिए। त्यसले नै दलहरूसँग सहकार्य गर्ने जिम्मा पाएको थियो। बालुवाटारभित्र जुन अति महत्वाकांक्षा जागेको थियो, त्यसले गर्दा पार्टीले आज यत्रो पीडादायी अवस्था बेहोर्नुपर्ने भएको छ। 

गठबन्धनकै कारण हाम्रो पार्टी कांग्रेसमा धेरै साथीहरूले चुनाव लड्न पाएनन्। तर, त्यो त्याग र संघर्ष पनि तहसनहस भएको छ। यसले निर्वाचनमा पार्टीको मत घटायो, त्यति हुँदाहुँदै पनि अगाडि बढाइएको गठबन्धनलाई अति महत्वाकांक्षा र अपरिपक्वताले यो अवस्थामा पुर्‍यायो। पत्याउनै कठिन हुने गरी कांग्रेस सबै तह अर्थात् राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, सबै प्रदेश सरकार गुमाउने अवस्थामा पुगेको छ। कांग्रेस आज एक्लै जस्तो भएको छ। चिट्ठा पाए झैँ सत्ता पायौँ भन्ने सोच र त्यही सत्ताको वरिपरि बसिरहने जुन महत्वाकांक्षा पलायो, त्यसकै आडमा पार्टीमा हैकम जमाउने जुन अराजनीतिक आकांक्षा देखापर्‍यो, त्यसले गर्दा कांग्रेस आज यो स्थितिमा पुगेको छ। 

जसले कांग्रेसलाई यो अवस्थामा पुर्‍याए, उनीहरूलाई अब कार्यकर्तासमक्ष उभ्याउनुपर्छ। तत्काल विशेष महाधिवेशन बोलाएर गएको महाधिवेशनदेखि अहिलेसम्म पार्टी नेतृत्वबाट भएका कामहरूको समीक्षा गर्नुपर्छ। नेतृत्वमा रहेका एउटा सानो गुटले जुन किसिमबाट निर्णयहरू लादेको छ, जस्ता खाले अनैतिक गतिविधि गरेको छ, त्यसलाई दण्डित गर्नुपर्छ। र, कांग्रेसलाई गाउँ–बस्तीबाट जगाएर फेरि बलियो बनाउन पार्टी पंक्ति लाग्नुपर्छ।  

खेर जाने भए पाँच वर्ष 
बालुवाटारमा प्रधानमन्त्रीको वरिपरि जम्मा हुने एउटा समूह छ। त्यो सचिवालय पनि हो, त्यसमा अरू पनि छन्। प्रधानमन्त्री वरिपरि घुमिरहने यो समूहमा छुट्टै महत्वाकांक्षा थियो जसले सत्ताको प्रयोग (दुरुपयोग) गरेर राज्यस्रोतमा लुट मच्चाउने र राज्य शक्तिलाई आफ्नो व्यक्तिगत आकांक्षा पुरा गर्ने साधन बनाएको थियो। त्यही समूहले यो परिवेशलाई अन्दाज नगरीकन खालि प्रधानमन्त्री, प्रधानमन्त्री भनेर बस्यो। 

जबकि, धेरै पटक शेखर कोइरालाले पनि देउवालाई भेटेर प्रधानमन्त्री भन्दा राष्ट्रपति महत्त्वपूर्ण छ भन्नुभएको थियो। तर, प्रधानमन्त्री देउवा र उहाँनजिकको (बालुवाटारमा रहेको) समूहले एक प्रकारको अन्ध महत्वाकांक्षा जगाइदियो। जसले गर्दा आज कांग्रेसको यो अवस्था आयो। 

भूराजनीतिक रूपले संवेदनशील ठाउँमा छ, नेपाल। यहीकारण पनि नेपालमा स्वतन्त्रता चाहने लोकतन्त्रवादीहरू संसारभर छन्। अब उनीहरूलाई फेरि कमजोर बनाउने प्रयास हुन्छ । हाम्रो कूटनीतिमा पनि अब धेरै नै उतारचढाव आउन सक्छ। यसले गर्दा राजनीति थप अस्थिरतातर्फ जाने र देशको राजनीतिक अर्थतन्त्र नसुध्रिने बाटोतिर जाने खतरा बढेर गएको छ। भन्नुको अर्थ थप पाँच वर्ष हामीले खेर फाल्ने भयौँ। 

अस्थिरताको स्रोत के हो भन्ने प्रश्न पनि उठ्ला। अहिलेका लागि यसको सबभन्दा प्रमुख स्रोत कांग्रेसभित्र जागेको एउटा गुटको अनावश्यक महत्वाकांक्षा नै हो। 

शेरबहादुर देउवाले अरू धेरै नराम्रा काम गरे पनि एउटाचाहिँ राम्रै काम गर्नुभएको थियो। अन्तर्राष्ट्रिय सम्बन्धलाई व्यवस्थापन गरेर जाने पाटोमा उहाँको भूमिका परिपक्व र सकारात्मक थियो। अब त्यसमा ब्रेक लाग्न सक्छ र हामी फेरि अस्थिरतातर्फ जाने, त्यसले लगानीको वातावरण बिथोलिने र अन्तर्राष्ट्रिय सम्बन्ध फेरि चुनावी नारा र उत्तेजनापूर्ण भाषणले दिशानिर्देश हुने हो कि भन्ने डर छ। 

ओली पुनरागमनको अर्थ 
धेरै कुरा अहिले नै भनिहाल्न कठिन छ। केपी ओलीले केही न केही ‘लेसन लर्न’ त गर्नुभएकै होला। हिजो गरेका कतिपय कामले पारेको असर र नतिजा महशुस पनि गर्नुभएको होला। मैले गरेका कतिपय कुराहरू ठिक थिएनन् भन्ने पनि परेको होला।  

अहिले तुरुन्तै भन्न त नसकिएला, तर यो देशमा लोकतान्त्रिक शक्तिहरूको फेरि पनि कांग्रेसकै एउटा गुटले मानमर्दन गरेको छ। अर्थराजनीतिक हिसाबले, भूराजनीतिक हिसाबले र विकासको दृष्टिकोणले हामी फेरि अस्थिरतातर्फ जाँदैछौँ। यसले देशलाई दीर्घकालीन रूपमा राम्रो बाटोमा लैजाँदैन।

तर, कहिलेकाहीँ कालो बादलमा चाँदीको घेरा पनि हुन्छ भनेजस्तै आशा गरौँ, केपी ओलीले पहिला जे जस्तो गर्नुभएको थियो, जसरी शासन चलाउनुभएको थियो, त्यसबाट शिक्षा लिएर अब बन्ने सरकारलाई देश र जनताको हितमा ‘फोकस’ गर्नुहुनेछ। उहाँहरूले हिजो अन्तर्राष्ट्रिय सम्बन्धलाई गिजोल्नुभएको थियो, अब त्यो सम्बन्धलाई नगिजोल्नेतिर लाग्नुहुन्छ भन्ने आशा गरौँ, अनुरोध पनि गरौँ। 

राष्ट्रपति संस्था यसबीचमा विवादमा मुछियो। फेरि पनि यो एमालेकै हातमा जाँदैछ। तर, अहिले एउटा सशक्त प्रतिपक्ष त छँदैछ, पहिले भन्दा कांग्रेस बलियो प्रतिपक्ष भएर आएको पनि छ। कांग्रेसले यो संस्थालाई सबै कुरा हिजो जस्तै गर्नलाई अनुमति देला जस्तो त छैन। फेरि पनि पुराना घटनाहरूको पुनरावृत्ति नहोस् भन्ने हाम्रो पनि चाहना हो। पुनरावृत्त भयो भनेचाहिँ राजनीतिक रूपले अस्थिरतातिर लाग्छौँ। 

कांग्रेसको अवस्था र विशेष महाधिवेशन 
कांग्रेस पोहोर मात्र १४ औँ महाधिवेशन गरेर आएको हो। तर, नेतृत्वको अन्धभक्त एउटा पंक्ति जसको डिजाइनमा सम्भवतः कांग्रेसको इतिहासमै पहिलोपटक एक प्रकारले भन्दा दास प्रवृत्तिका मान्छेहरूलाई जम्मा गरेर पार्टी कब्जा गर्ने रणनीति बनाइयो। अब त्यसबाट कांग्रेस र कांग्रेसीलाई मुक्त गर्नुपर्छ। यसमा कांग्रेसको संस्थापन इतर समूह र कांग्रेसभित्र कांग्रेसलाई बचाउन चाहने, कांग्रेसलाई माया गर्ने समूह जाग्न जरुरी छ। 

पार्टीको सुधार र रूपान्तरणमा अवरोध बनिरहेका जुन गलत तत्त्व हाबी भएका छन्, त्यसलाई निस्तेज पार्ने शुरूआत हामीले तुरुन्तै गर्नुपर्छ। विशेष महाधिवेशन त्यसका लागि पहल गर्ने थलो हो। अब तत्कालै विशेष महाधिवेशन बोलाउनुपर्छ।

कांग्रेसलाई यसबीचमा चिट्ठामा परे जस्तो झैँ गरी जसरी सत्ता प्राप्त भएको थियो, त्यो सत्ता जनजीविकाको सवालमा, बेरोजगारीका सवालमा लाग्दै लागेन। लगानी बढाउने र भित्र्याउने कुराभन्दा राज्यसत्तामा सीमित स्वार्थ समूहको लूट मच्चाउनेमा केन्द्रित भयो। जसले गर्दा हामी जहिले पनि सत्तामै हुन्छौँ र हामीले चाह्यौँ भने जे पनि हुन्छ भन्ने मनोवृत्ति विकास भएर गयो। प्रधानमन्त्रीको वरिपरि बस्ने गुटमा त्यो मनोवृत्ति अचाक्ली देखापरेको थियो। त्यो मनोवृत्ति भएका केहीलाई जनताले निर्वाचनबाटै बढारिदिएका थिए। केही चाहिँ अब कांग्रेस सत्ताबाट बाहिर हुँदा पाखा लाग्नेछन्। 

हाम्रो सबभन्दा ठूलो पीडाचाहिँ राष्ट्रपति र सभामुख पनि गुमाउने भयौँ। अहिलेको जस्तो अस्थिर, विभाजित र विभिन्न दृष्टिकोण राखेर आएका दलहरू भएको अवस्थामा राष्ट्रपति र सभामुख पद निकै महत्त्वपूर्ण हुन्छ। अभिभावकीय भूमिका खेल्ने, उनीहरूलाई सुझाव दिने, लोकतन्त्रलाई संस्थागत गर्ने, संविधान कार्यान्वयन गर्ने र देशलाई राजनीतिक स्थिरतातिर लैजाने सवालमा राष्ट्रपति र सभामुखको अभिभावकीय भूमिका हुन्छ। हाम्रो जस्तो लोकतान्त्रिक पार्टीका, प्रधानमन्त्री वरिपरि रहेका राज्यसंस्था लुट्ने गिरोहको उक्साहटमा राखेर प्रधानमन्त्री र पार्टी सभापतिले आज जुन हठ राख्नुभयो, त्यो हठले गर्दा हामीले ती दुई महत्त्वपूर्ण संस्था पनि गुमाएका छौँ। 

(पोखरेलसँगको कुराकानीमा आधारित)


सम्बन्धित सामग्री