Friday, April 19, 2024

-->

जलवायु परिवर्तन : ढिला भइसक्यो, अहिल्यै 'एक्सन'मा जानुपर्छ

जलवायु परिवर्तनका असरहरू विश्वव्यापी रूपमै परिरहेका छन् तर यसबारे जति संवेदनशीलता देखिनुपर्ने हो, त्यति देखिएको छैन।

जलवायु परिवर्तन  ढिला भइसक्यो अहिल्यै एक्सनमा जानुपर्छ

प्रकृतिले पृथ्वीमा एक खालको सन्तुलन राखिरहेको छ। तर त्यो प्राकृतिक सन्तुलनलाई मान्छेका अनेकौँ क्रियाकलापहरूले विगतका वर्षहरूमा व्यापक रूपमा बिगार्दै लगेको छ। मान्छेका अनुचित क्रियाकलापका कारण सिर्जित खतरा सूचक परिवर्तन नै जलवायु परिवर्तन हो। मान्छेले प्रकृतिबाट यति धेरे स्रोतहरू दोहन गर्न थाल्यो कि त्यसबाट पृथ्वीको स्वास्थ्य नै बिग्रन थाल्यो। प्रकृतिको आनीबानी र व्यवहार नै असन्तुलित हुन थाल्यो। त्यसैलाई जलवायु परिवर्तन भनिएको हो।  

बाघ  र मान्छे 
जलवायु परिवर्तनमा मान्छेको अति लोभ र संग्रह गर्ने स्वभाव कति घातक छ भन्ने सन्दर्भमा  एउटा उदाहरण दिन सकिन्छ : दुई जना मान्छे जंगलमा छन्। अचानक बाघले तिनलाई भेट्यो भने दुवैलाई खाला कि एक जनालाई मात्र? अपवादबाहेक बाघले एउटा मात्रै मान्छेलाई खान्छ। जति आवश्यक छ, त्यति मात्रै खान्छ। उसले अनावश्यक दोहन र संग्रह गर्दैन। मान्छेबाहेक प्रकृतिमा रहेका अन्य जनावरले पनि त्यही गर्छन्। चाहिए जति मात्र उपभोग र उपयोग गर्छन्। अधिक दोहन गर्दैनन्।

तर मान्छेले जंगलमा दुई वटा बाघ एकैपटक भेट्यो भने के गर्ला? उसले पक्कै पनि दुई वटै बाघ मार्छ र एउटा चाहिँ पछिका लागि भनेर फ्रिजमा राख्छ। आज कानूनी पाबन्दीलगायतका कारण मान्छेले बाघ मारेर खाँदैन। तर मान्छेले पाउँदा गर्ने त्यही हो। बाघबाहेक अन्य प्राकृतिक स्रोतको हकमा मान्छेले गरिरहेको त्यही हो। विकास, सभ्यता, सहजता र मनोरञ्जनका नाममा हामीले यति धेरै स्रोतहरू दोहन गर्न थाल्यौँ कि सन्तुलित प्रकृति नै खलबलिन थाल्यो। दोहन यति बढ्यो कि प्रकृतिले थेग्न नसक्ने अवस्था आई पुगिसक्यो। त्यसका कारण महामारीलगायत अनेकौँ प्रलयहरूको समेत खतरा बढ्दै गयो। 

पृथ्वीका साधन स्रोतहरू निश्चित परिमाणमा मात्रै छन्। तर हामीले प्रकृतिबाट यति धेरै फोसिल फ्युल (ग्यास, पेट्रोलियम पदार्थ र कोइला) निकालेका छौँ कि त्यसबाट स्रोतको दोहोरो दोहन भइराखेको छ। प्रकृतिले थन्क्याएर राखेको फोसिल फ्युललाई एकातिर हामीले जबरजस्त बाहिर निकालेका छौँ, त्यसलाई बालेर थप प्रकृतिलाई बोझ थपेका छौँ। पृथ्वीको तापक्रम बढाउन मद्दत गरिरहेका छौँ। त्यस्तै, स्वच्छन्दता र मोज मस्तीलाई केन्द्रमा राखेर चर्को उपभोगवादी व्यवहार अपनाउन थालेका छौँ। हाम्रा यस्ता कृत्यहरूका कारण थाहा नपाउने किसिमले पृथ्वीकै व्यवहार बदलिन थालेको छ।

माल्द र आम्रपाली 
जलवायु परिवर्तन हुँदै गएको छ र त्यसको असर कृषिमा समेत देखिन थालेको छ। एउटा उदाहरण: म तराई र चुरेका आँप ल्याएर काठमाडौँमा बेच्छु। हामीले अहिलेसम्म थाहा पाएको कुरा पहाडमा भन्दा तराईमा पहिले आँप पाक्छ। विशेष गरी माल्द आँपको हकमा। चुरेमा आम्रपाली आँप पाइन्छ, तराईको आँपभन्दा त्यो ढिलो पाक्छ। माल्दभन्दा आम्रपाली आँपको छुट्टै स्वाद र  मिठास छ। तर गत साल तराईको माल्द आँप र चुरेको आम्रपाली आँप एकैचोटि पाक्यो। यसो हेर्दा यो सानो कुराजस्तो लाग्छ तर मेरा लागि त्यो गम्भीर विषय बन्यो।

दुवै आँप एकैचोटि तयार हुने भएपछि त्यसलाई बजारमा लैजाने कुरामा नै समस्या आयो। एकैचोटि आँप खानुपर्‍यो। पहिले एक किलो आँप खाइन्थ्यो भने अब दुई किलो एकैचोटि खानुपर्‍यो। एकैचोटि बजारीकरण गर्नुपर्‍यो। अर्को कुरा, पहिले पहिले आम्रपाली आँपको स्वाद जस्तो हुने गर्थ्यो, अघिल्लो साल त्यस्तो भएन। पृथ्वीको तापक्रम बढेका कारण यसो हुन पुगेको हो। जमिनको तापक्रम बढेपछि आँप छिटो पाक्न थाल्यो। यो आँपको मात्रै कुरा होइन, तापक्रमको असर पृथ्वीमा रहेको जैविक-अजैविक सबै विषयमा प्रभाव पर्न थालेका छन्,  बहु आयामिक असरहरू पर्न थालेका छन्। विभिन्न अध्ययनहरूले त्यस्तै देखाएका छन्।

जलवायु परिवर्तनका असरहरू विश्वव्यापी रूपमै परिरहेका छन् तर यसबारे जति संवेदनशीलता देखिनुपर्ने हो, त्यति देखिएको छैन। पृथ्वीको तापक्रम बढेपछि हुनेखानेले त घरमा फ्यान, एसी र कुलर राख्लान्। तर सबैले राख्न सम्भव छैन। फेरि, घरमा एसी राखे पनि बाहिर फेर पनि मान्छे पुग्नैपर्छ। त्यस्तो अवस्थामा सिंगै देश र पृथ्वीमै त एसी राख्न सम्भव छैन। त्यस्तो बेला त मान्छेले शरीरको तापक्रमलाई ब्यालेन्समा राख्नै सक्दैन। यस्ता कुराले सिंगै प्राणी जगत् र जनस्वास्थ्यमा प्रभाव पार्छ। स्मरणीय छ, यसरी एसी र कुलर राख्दै जाने कुराले अन्ततः जलवायु परिवर्तनलाई झनै बढाउँछ। 

प्रकृति र अर्थ 
प्रकृतिलाई अर्थसँग जोडेर बुझाउन खोज्दा जलवायुको कुरा धेरै मान्छेले यो कुरा बुझ्न सक्लान्। जस्तो कि, म अहिले सिन्धुली बस्छु, काठमाडौँबाट १५२ किलोमिटर। जिप चढेर जाँदा ३ हजारको पेट्रोल लाग्छ। तर बिजुली-गाडीमा जाने हो भने ७ सय रुपैयाँकै रिचार्जले पुग्छ। सवारी साधनको कुरा भयो यो। यसमा फाइदाको कुरा जोडेर सर्वसाधारणलाई बुझाउन खोजियो भने तिनले सहजै बुझ्लान्। अर्को कुरा, हामीले कतिपय पुरानो जीवनशैली अपनाउने हो भने पनि जलवायु परिवर्तनका असरलाई कम गर्न सजिलो हुन्थ्यो। मैले यसमा जोड्न खोजेको विषय हाट बजारे संस्कृति हो। छिट्टै बिग्रने र टाढा लैजाँदा खर्च धेरै लाग्ने उत्पादनलाई स्थानीय बजारमै बेच्ने त्यस्तो चलनले यातायातका साधनबाट सिर्जित प्रदूषण पनि कम हुन्थ्यो। जलवायु परिवर्तनमा पनि योगदान हुँदैनथ्यो। 

दुःखको कुरा, शहरमा हाटबजार छैनन्। शहर विस्तार गर्ने नाममा जुत्ता सिलाउने मान्छेहरूलाई समेत शहरबाट हटाइन थालेको छ। त्यसो हुँदा च्यातिएको जुत्ता सिलाएर लगाउने मान्छेहरू जीविकाका लागि अब कहाँ जान्छन्? सिलाएरै काम लाग्ने अवस्थामा समेत नयाँ जुत्ता किन्न बाध्य हुन्छ मान्छे। यो एक जनाको मात्रै कुरा होइन। हजारौँ मान्छेले नयाँ जुत्ता किन्न थालेपछि स्रोत र साधनको दोहन बढ्यो। लाखौँ जुत्ता बनाउनका लागि थप साधन स्रोत, परिश्रम र ऊर्जा खपत हुने भयो। त्यसले पनि पृथ्वीलाई झनै तातो बनाउने नै भयो। 

उपभोक्तावादले बढाएको समस्या
म स्वयं पनि किसान र उद्यमी भएकोले तरकारी या फलफूलको फुड-माइल (खाद्य र अनाज उपभोक्तासम्म आइपुग्न लाग्ने दुरी र लागत) को समेत ख्याल राख्छु। जस्तो कि : म रायोको साग सिन्धुलीबाट काठमाडौँ ल्याएर बेच्दिनँ। एक मुठा सागलाई १ सय ५२ किलोमिटरको दुरी पार गराउनु अनुचित छ। त्यसो हुँदा त्यसको बजार त्यही आसपास सिर्जना गर्नु उचित हुन्छ। एउटा सागलाई यति लामो यात्रा गराएर धेरै भाडा तिराएर र उल्टै प्रदूषण बढाएर काठमाडौँ ल्याउनु गलत छ। तर म जुनार भने सिन्धुलीबाट काठमाडौँ ल्याएर बेच्छु। 

हाटबजार पहिले संस्कृतिकै रूपमा विकसित भएको थियो हाम्रो समाजमा। तर अहिले त्यो प्राय: हटिसक्यो। हाटबजारको अवधारणा वैज्ञानिक थियो र छ। कमसेकम हाटबजारमा सामान हाताहाती बिक्री हुन्थ्यो। अनि कुनै व्यापारीले त्यहाँबाट पैसा नै तिरेरै सामान किन्थ्यो र अलि ठुलो बजारमा लैजान्थ्यो। त्यो खालको बजार प्रणाली त हामीले बिगार्दै गयौँ। अचेल त भएकै हाट पनि हटाउन थालिए। हाटमा सुलभ मूल्यमा र सरलरूपमा पाइने कागती सुपर मार्केटमा प्याकेटका रूपमा किन्नपर्ने भएपछि त्यसको लागत धेरै फरक पर्ने भयो। यो त एउटा उदाहरण मात्रै हो।

प्रणालीगत समस्या  र राजनीतिक मुद्दा
आज हामी जसलाई 'फ्रि-मार्केट' भनिरहेका छौँ, त्योचाहिँ कर्पोरेट र धनाढ्यका लागि मात्रै 'फ्री' भयो। किसान र साना बजारियाहरूका लागि त्यो फ्री भएन। उब्जाएको सामान किसानले फ्री मार्केटमा लगे भने ठुला सुपर मार्केटले ३ महिनापछि मात्रै पैसा दिन्छन्। उनीहरूको 'पेमेन्ट साइकल' नै त्यस्तै छ। तर सुपर मार्केटमा साग किन्नुपर्दा भने क्रेताले हाताहाती नै तिर्नुपर्छ। आजको फ्री-मार्केटको उदाहरण हो यो। यो खासमा कर्पोरेटहरूको दादागिरी या कार्टेलिङ हो। त्यसो हुँदा चाहेर पनि उपभोक्ताले स्थानीय उत्पादनहरू प्रयोग गर्न पाउँदैनन्। किनभने त्यो खालको 'इकोसिस्टम' नै विकसित गरिएको छैन। उल्टै, स्थानीय सामान महँगो पर्छ भनेर हल्ला पिटाइएको छ। 

त्यस कारण, यो त प्रणालीगत समस्या र आफैँमा राजनीतिक मुद्दा हो। केवल व्यक्तिगत र व्यावहारिक जीवनको परिवर्तनको विषय मात्रै होइन, प्रणालीगत परिवर्तनको विषय पनि हो। यदि सरकार जन पक्षीय हुन्थ्यो भने यस्ता विषयमा हस्तक्षेप गर्न सक्थ्यो। सरकारलाई यसबारे बोध र चासो नै छैन। सरकारले पूर्वाधार नै बनाइदिएको छैन। 

सरकार जिम्मेवार हुन्थ्यो भने सार्वजनिक सवारीलाई प्रोत्साहन गर्थ्यो। तर बाध्य भएर मान्छे फोसिल-फ्युलवाला निजी गाडी र बाइक किनिरहेका छन्। सर्वसाधारणलाई निजी सवारी किन्न बाध्य पारिएको हो। आम सर्वसाधारणको यस्तो विवशताको फाइदाचाहिँ केही खास समूहले उठाइरहेका छन्। धेरैको विवशतामा थोरै मान्छेहरूले लुट मच्चाइरहेका छन्। सवारी साधन बेच्ने र तेल बेच्नेहरूले कमाइरहेका छन् र त्यसैलाई हामीहरू विकास भनिरहेका छौँ। 

सिधा असर र हाम्रो भूमिका 
आजैका दिनमा काठमाडौँ उपत्यकाको 'भिजिबिलिटी' हेर्ने हो भने धुवाँ र धुलोले छोपेको छ। तल मैदान र उपत्यकामा सिर्जित धुलो र धुवाँ माथि हिमालमा पुगेको छ। प्लास्टिकका कण सगरमाथाका टुप्पोमा भेटिन थालेका छन्। यदि सरकार र संसारभरका सरकारले तत्कालै कुनै कदम चालेनन् भने पचास वर्षपछि यस्ता वातावरणीय समस्याहरूको अवस्था के होला? हिमाल र महासागरका अवस्था के होलान्? वातावरण नै असन्तुलित हुँदा मान्छे र यहाँ पृथ्वीका अन्य प्राणीको हालत के होला? 

जलवायु परिवर्तनका कारण अहिले नै नयाँ खालका महामारीहरू देखिएका छन्। हामीले ख्याल राख्नुपर्छ, प्रकृतिमाथि मान्छेले गरेको अनुचित हस्तक्षेपकै कारण कोभिड र डेंगुका अवस्था सिर्जना भएका हुन्। गत वर्ष मेलम्ची र मुस्ताङमा आएको बाढी र पहिरोका कारण के हुन्? यी छेउछाउतिर देखिएका असर हुन्। घरघरमै जलवायु परिवर्तनका असर आई नसक्दै हामीले त्यसलाई हल गर्नेतर्फ कदम चाल्न अबेला भइसकेको छ। हरेक सचेत मान्छेले अहिले नै एक्सन लिनुपर्ने भइसक्यो। ढिलो भइसक्यो। 

यो राष्ट्रिय मात्र नभएर अन्तर्राष्ट्रिय  मुद्दासमेत हो। त्यसो हुँदा सरकारहरू मिलेर नै जलवायु परिवर्तनका असरलाई कम गर्ने हो तर व्यक्ति स्वयंले पनि उदाहरणीय बन्ने अभ्यास र प्रयत्न गर्नुपर्छ। कुनै वस्तुको उपभोग गर्दा समेत स्वयं व्यक्तिले म किन उक्त सामान उपभोग गर्दैछु, त्यसको फुडमाइल के हो, कहाँबाट आएको हो बारे सोच्ने अभ्यासले जलवायु परिवर्तनमा हाम्रो योगदान कम हुनेछ। त्यसो हुँदा सकेसम्म लामो यात्रा गराएर ल्याइएका सामान सकेसम्म प्रयोग नगर्नु पर्‍यो। फोसिल फ्युल प्रयोग गरेर अनावश्यक यात्रा गर्नुभएन। समेसम्म स्थानीय सामान किन्नुपर्‍यो। धेरै सामान उपभोग गर्ने आदत हटाउनु पर्‍यो। सम्भव भएसम्म सामानहरू आफैँले उत्पादन गर्नुपर्‍यो।

ग्रामीण उत्पादनलाई बजारसम्म पुर्‍याउने अभियानमा लागेका उद्यमी ढकाल जलवायु परिवर्तनका असर न्युनीकरणका पक्षमा पैरवी गर्छन्।


सम्बन्धित सामग्री