Friday, April 19, 2024

-->

सम्झना
गुमनाम बिदा भए सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर

नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा बर्रे संघर्ष भनिने सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर केशरमणि पोखरेलको ८५ वर्षको उमेरमा मंसिर २४ गते निधन भएको छ।

गुमनाम बिदा भए सामन्तका तमसुक जलाउने आन्दोलनका कमान्डर

केशरमणि पोखरेललाई भेट्न २०७७ वैशाख २८ गते रामग्राम नगरपालिका–१४ पश्चिम नवलपरासी पुग्दा उनी बाख्राको खोर बनाउन व्यस्त थिए। नजिकै करेसाबारीमा तरकारी लगाउने तयारी थियो। ८२ वर्ष पुगिसकेका केशरमणिको सक्रियता प्रशंसालायक थियो।

गएको मंसिर २४ गते नेपाली कम्युनिस्ट आन्दोलनका पुराना नेता उनै केशरमणि पोखरेलको निधन भयो। उनी बिरामी भएर थलिएका थिएनन्। मृत्युको मुखमा पुग्नुभन्दा केही समयअघि पनि श्रम गरिरहेका थिए।

केटाकेटीदेखि नै केशरमणिको नाम सुन्न थालेको थिएँ। भेट्ने चाहना थियो, अवसर मिलेको थिएन। भेटको अवसर कोरोना महामारीका कारण संभव भएको थियो। 

कोरोना संक्रमण रोक्न सरकारले लकडाउन गरेपछि घरबाटै काम गर्न शुरू गरिएको थियो। मानिसहरू घरभित्र थुनिएका थिए। म भने सुरक्षाका उपाय अपनाएर पुराना मान्छे भेटघाट गर्ने र उनीहरूका अनुभव सुन्ने अभियानमा थिएँ। त्यही सिलसिलामा केशरमणिलाई भेट्न पश्चिम नवलपरासी पुगेको थिएँ।

उनको राजनीतिक इतिहास चाखलाग्दो थियो। त्यसैले म त्यो इतिहाससँग लोभिएको थिएँ। उनीबारे ठूलो चर्चा भने २०५१ सालमा भएको थियो।

केशरमणि २०५१ सालको मध्यावधि निर्वाचनका बेला अचानक नेपाली कांग्रेस प्रवेश गरेको खबर गाउँमा फैलियो। त्यति बेलाको राजनीति सौहार्दपूर्ण थिएन। कांग्रेस र एमालेमा लागेकाहरू निर्वाचनको बेला फरक पार्टीमा आश्था राख्ने छिमेकीको घरमा समेत जाँदैन थिए। त्यस्तो पानी बाराबारको अवस्थामा केशरमणि पार्टी प्रवेश गरेको खुसियालीमा गाउँमा स्थानीय कांग्रेस कार्यकर्ताले भोज गरेर खुसियाली मनाएका थिए।

कांग्रेस कार्यकर्ताले यसरी खुसियाली मनाउनुको पछाडि नेपाली कम्युनिस्ट आन्दोलनमा केशरमणिको योगदान नै थियो। कम्युनिस्टहरूले गरेको २०२७ सालको झापा आन्दोलन जति चर्चित छ, २०३० फागुन २८ गते भएको अर्घाखाँचीको बर्रे संघर्ष उति नै चर्चित छ। त्यस संघर्षका कमान्डर थिए, केशरमणि।

२०२५ सालमा पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीको तेस्रो सम्मेलनपछि केशरमणि केन्द्रीय सदस्यमा चुनिए। उनलाई लुम्बिनी अञ्चल इन्चार्ज बनाएर संगठन विस्तारमा खटाइयो। त्यसका अतिरिक्त, राप्तीका दाङ, सल्यान र प्युठान जिल्लाको संगठन विस्तार पनि उनकै जिम्मामा थियो।

तेस्रो सम्मेलनले पारित गरेको नयाँ जनवादी कार्यक्रमअनुसार पार्टीले लुम्बिनी अञ्चलमा किसान आन्दोलन चलाएको थियो। बनारसबाट ‘राजनीतिक दमन बन्द गर’, ‘राजबन्दी रिहा गर’ जस्ता नारा लेखिएको पम्प्लेट ल्याइएको थियो। किसान आन्दोलनको उत्कर्ष २०३० कात्तिक २६ मा भएको थियो। साबिक लुम्बिनी अञ्चलका ६ जिल्लाका किसानहरूको सहभागितामा सबै जिल्ला सदरमुकाममा ठूलो जुलुस प्रर्दशन भएको थियो।

सबै जिल्लामा प्रशासनले धरपकड र दमन गर्‍यो। दमनबाट डराउँदा आन्दोलन झन् कमजोर हुने ठानेर केशरमणिको नेतृत्वको समूहले साहु सुदखोरलाई कारबाही गर्ने अभियान चलायो। 

शोभाखर बेलबासेको घर हालको सिद्धगंगा नगरपालिका अर्थात साबिक सिद्धद्वाराको बर्रेमा पर्थ्यो। त्यही घरमा केशरमणिको नेतृत्वमा भएको आक्रमणको घटनालाई बर्रे संघर्षका नामले चिनिन्छ। 

मसँगको भेटमा पोखरेलले बताएअनुसार शोभाखर पञ्चायतका कार्यकर्ता थिए। उनले नक्कली तमसुक बनाएर स्थानीयलाई दुःख दिएको रिपोर्ट नेकपामा पुगेको थियो। जिल्लाभरका साहु, जसले किसानमाथि चर्को व्याज लिने र नक्कली तमसुक बनाएर शोषण गर्थे, उनीहरूमाथि कारबाही गर्ने पार्टीको निर्णय थियो।

शोभाखरमाथि ‘एक्सन’ गर्ने तयारीस्वरूप केशरमणिको नेतृत्वमा वेदुराम भुसाल, पिताम्बर भुसाल, देवराज भार, बुद्धि रायमाझी, नेत्रप्रसाद ढुंगानालगायत १५ जना उनको घर पुगेका थिए। शोभाखरसँगको बन्दुक नियन्त्रणमा लिन केशरमणि नेतृत्वको समूहले तयारी गरेको थियो। एक्सनका लागि पार्टीको टोली फागुन २७ गते धनचौरको पाँकुबाट सिद्धद्वाराका लागि हिंडेको थियो।

शोभाखरको घरमा पुगेर फागुन २८ गते साँझ उनीहरूले निर्धारित समयमै फायर खोले। संयोगबस घरमा कोही थिएनन्। सबै घरनजिकैको विवाहमा गएका थिए। फायरको आवाजपछि जन्तीसहित ठूलो हुल आएर केशरमणि नेतृत्वको टोलीमाथि जवाफी फायर खोले। तर, नेकपाको टोलीले निरन्तर फायर गरेपछि स्थानीय तितरबितर भए। 

त्यसपछि नेकपाका कार्यकर्ताले तमसुकहरू निकालेर आगो लगायो। अब आइन्दा किसानमाथिको शोषण, दमन र चर्को व्याज असुली बन्द गर्ने र्शतमा शोभाखरलाई माफी मगाएर छोडेको केशरमणिले बताएका थिए। त्यति बेला उनीहरूले नगद र सुनचाँदी गरी करिब २५ हजार मूल्य बराबर धनमाल नियन्त्रणमा लिएका थिए।

जेलमा झापाका आन्दोलनकारीसँग बहस
बर्रेको यो घटनापछि ठूलो हल्लाखल्ला भयो। सबैतिर आक्रमणकारीको खोजी हुन थाल्यो। १५ दिनपछि नै प्रशासनले थालेको अभियानमा नौ जना पक्राउ परे।  केशरमणि चाहिँ चैत दोस्रो साता ढिकुरास्थित नारायण खनालको घरबाट पक्राउ परेका थिए। त्यसपछि उनी तम्घास जेल चलान गरिए। त्यति बेला अर्घाखाँचीमा कारागार थिएन। तीन वर्षपछि केन्द्रीय कारागार चलान गरियो। 

त्यतिबेला जेलमा नेपाली कांग्रेस, झापा संघर्षमा पक्राउ परेका कम्युनिस्टका नेता कार्यकर्ता थिए। सबैको उद्देश्य पञ्चायतलाई फाल्ने थियो। केन्द्रीय कारागारमा झापा आन्दोलनपछि पक्राउ परेका केपी ओली, मोहनचन्द्र अधिकारी र राधाकृष्ण मैनालीलगायत थिए। तर, झापा आन्दोलनका नेतासँग केशरमणिको विचार मिल्दैनथ्यो। 

झापा आन्दोलनका नेतृत्वकर्ता तीनै जनासँग केशरमणिको विवाद भइरहन्थ्यो। केशरमणि नेकपाको पुष्पलाल समूहमा भएकाले पनि विचार नमिलेको हो। उनीहरू पुष्पलाललाई संसोधनवादी भएको आरोप लगाउँथे। “उनीहरू उग्र र चर्का कुरा गर्थे। उनीहरूमा नक्सलाइटको प्रभाव थियो। तर, म चाहिँ शुरूदेखि नै व्यक्ति हत्याको विरोधमा थिएँ। त्यसकारण पनि झापालीसँग विचार मिल्दैनथ्यो,” केशरमणिले भनेका थिए।

करिब सात वर्ष जेल जीवन बिताएर २०३७ सालमा उनी मुक्त भएका थिए।

मार्क्सवादी–माले एकीकरणका अगुवा
केशरमणि तत्कालिन नेकपा माले र नेकपा मार्क्सवादी एकीकरण गर्नेमध्येका अगुवा थिए। पुष्पलालको मृत्युपछि त्यस समूहको नेता सहाना प्रधानले गरेकी थिइन्। पछि मनमोहनको पार्टीसँग एकतापछि नेकपा मार्क्सवादीको नाममा उनीहरू सक्रिय रहे। मार्क्सवादीमा उनी मनमोहन र सहानापछि तेस्रो वरीयतामा थिए।

२०४७ साल पुस २२ गते नेकपा माले र मार्क्सवादी एकीकरण भएर एमाले बनेको थियो। यी दुई पार्टीबीच एकता गर्न मार्क्सवादीले बनाएको वार्ता टोलीमा केशरमणिसहित साहना र भरतमोहन अधिकारी थिए। मालेबाट माधव नेपाल, जीवराज आश्रित र राधाकृष्ण मैनाली थिए।  

श्रीमती विमलाका साथमा केशरमणि।

एकतापछि बनेको एमालेको २७ सदस्यीय केन्द्रीय समितिमा केशरमणिको वरीयता केपी शर्मा ओली, मोदनाथ प्रश्रित, विष्णु पौडेल, वामदेव गौतम, सुरेन्द्र पाण्डेलगायत भन्दा माथि थियो। तर, एमालेको १० सदस्यीय पोलिट ब्यूरोमा नपरेपछि उनी निराश थिए। राजनीतिमा उनी बिस्तारै ओझेलमा पर्न थाले।

१० सदस्यीय पोलिट ब्यूरोमा मार्क्सवादीबाट मनमोहन, सहाना, भरतमोहन, सद्धिलाल सिंह र बलाराम उपाध्याय थिए। मालेबाट मदन भण्डारी, सीपी मैनाली, जीवराज आश्रित, माधव नेपाल र झलनाथ खनाल थिए। “मैले नचाहेको भए पार्टी एकीकरण नै सम्भव थिएन, नेगोसिएटर भएर काम गरेँ। मदन भण्डारीले व्यक्तिगत रुपमा भेटेर एकीकरणलाई छिटो टुंग्याउने गरी काम गर्न मात्र भनेका थिएनन्, पोलिट ब्यूरोमा म पनि पर्ने विश्वास दिलाएका थिए”, केशरमणिले मसँगको भेटमा भनेका थिए, “तर, मलाई अपमान गरियो। मार्क्सवादीबाट मभन्दा जुनियरलाई पोलिट ब्यूरोमा लगेर मलाई पाखा राखियो।” 

पोलिट ब्यूरोमा नपरेपछि विरक्तिएका उनी एमालेमा दुई वर्ष पनि टिक्न सकेनन्। 

कांग्रेसको राजनीतिमा नौ वर्ष
२०४८ सालको निर्वाचनमा एमालेले उनलाई रुपन्देही क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनाएको थियो। उनी कांग्रेसका उम्मेदवार बालकृष्ण खाँणसँग दुई हजार १३८ मतले पराजित भएका थिए। यो पराजयले उनमा नैरश्यता झन् धेरै चुलियो। किनभने उनले गुल्मी–२ बाट उम्मेदवार बनाउन पार्टीमा माग गरेका थिए। तर, त्यहाँ जिवराज आश्रित उम्मेदवार हुने भएका थिए।

उम्मेदवार बनेर रुपन्देही आएपछि उनले पार्टी कमिटीसँग समन्वय नै गरेनन्। छुट्टै निर्वाचन कार्यालय स्थापना गरे। आफ्नै पार्टीका महासचिव मदन भण्डारीविरुद्ध कांग्रेस निकट एक पत्रिकालाई अन्तरवार्ता दिएर गुल्मीबाट टिकट नपाएको रिस पोखे। यो नै आफ्नो हारको कारण भएको उनको दाबी थियो।

एमालेबाट पाखा लाग्न थालेपछि उनी २०५१ सालको निर्वाचनको बेला कांग्रेस प्रवेश गरे। तर, त्यहाँ नौ वर्ष पनि टिक्न सकेनन्। कांग्रेस महाधिवेशन प्रतिनिधि भएका उनी केन्द्रीय समितिमा चुनाव लडेर पराजित भए। नौ वर्षपछि कांग्रेस पनि परित्याग गरेर स्वतन्त्र भएर बसे। तर, राजनीतिको रस छँदै थियो।

उनी २०७० सालमा पुनः एमालेमा फर्किएर केन्द्रीय सल्लाहकार परिषद् सदस्य भए। पछिल्लो समय नेकपा एकीकृत समाजवादीमा आबद्ध थिए। एकीकृत समाजवादीको घोषणा सभामा भाग लिन उनी पश्चिम नवलपरासीबाट काठमाडौँसम्मै आएका थिए। उनलाई एकीकृत समाजवादीले पनि केन्द्रीय सल्लाहकार समितिमा राखेको थियो।

८५ वर्षको उमेरमा पनि केशरमणि सक्रिय जीवन बिताइरहेका थिए। मंसिर २३ गते बिहान उनी पश्चिम नवलपरासीको परासीस्थित आफ्नै घरको करेसाबारीमा काम गर्दागर्दै उनी बेहोस भएर लडेका थिए। होसमा आएपछि उनलाई विमानमार्फत काठमाडौँ ल्याएर शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना गरिएको थियो। तर, शनिबार बिहान ४ बजे डाक्टरले मृत घोषित गरेका थिए।


सम्बन्धित सामग्री